नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम
१ सन् १९९७ फेब्रुअरीदेखि सुरु हुने नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रमले “अरूलाई दिंदा प्राप्त हुने अपार आनन्द अनुभव गर्नुहोस्” विषयलाई प्रस्तुत गर्नेछ। (प्रेरि. २०:३५) आनन्दलाई “सुस्वास्थ्य तथा सन्तुष्ट अवस्था” भनेर परिभाषित गरिएको छ। आज प्रायजसो मानिसहरू जसरी हुन्छ जीवनबाट आनन्द प्राप्त गर्न चाहन्छन्। कथम्कदाचित् कुनै आनन्द प्राप्त गरे पनि ती प्रायः अस्थायी हुन्छन्। त्यो साँचो आनन्द होइन। यद्यपि, यहोवाले हामीलाई सधैंभरि लाभान्वित हुने तरिका सिकाउनुहुन्छ। (यशै. ४८:१७; १ यूह. २:१७) आध्यात्मिक तवरले अरूलाई दिंदा हामी कसरी अपार आनन्द उठाउनसक्छौं भन्ने विषयमा यो नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रमले जोड दिनेछ।
२ आफूलाई सेवकाईमा अर्पण गर्ने सम्बन्धमा हामी व्यवहारिक तरिकाहरू सिक्नेछौं। परिभ्रमण निरीक्षकहरूले दिने भाषणहरूका केही शीर्षकहरू यसप्रकार छन्: “अधर्मको धनले मित्रहरू बनाउने,” “‘मानिसहरूमा वरदानको’ ईश्वरीय प्रबन्धको आदर गर्नुहोस्,” र “साँचो आनन्दका विभिन्न रूपहरू अनुभव गर्नुहोस्।” यो सम्मेलनमा बप्तिस्मा लिन चाहनेहरूले मण्डलीको अध्यक्षसँग कुरा गर्नुपर्नेछ ताकि बप्तिस्मा लिने उम्मेदवारहरूलाई सोधिने प्रश्नहरू पुनरावलोकन गर्न अध्यक्षले प्राचीनहरूलाई खटाउन चाँजो मिलाउनेछन्। यहोवासँग स्वच्छ सम्बन्धसाथ सेवा गर्नाले भर्खरै बप्तिस्मा लिनेहरूले अपार आनन्द पाउनेछन्।
३ यहोवाको अख्तियारलाई सही मान्यता दिंदा साँचो आनन्द र सुरक्षा प्राप्त हुन्छ भन्ने कुरा सबैले थाह पाउनु आवश्यक छ। यसकारण, उक्त क्षेत्रीय सम्मेलनको जन सम्बोधनले “परमेश्वरका आनन्दित मानिसहरूसँग एकत्रित हुनुहोस्” भन्ने विषयलाई प्रकाश पार्नेछ। सत्यप्रति चासो देखाउने सबै मानिसहरूलाई यस भाषण सुन्न आउन अवश्य निमन्त्रणा दिनुहोस्। तिनीहरूले शैतानी शक्तिको अधीनमा रहेर मानिसहरूले गरेको शासनबाट यस संसारमा वास्तविक सुरक्षा तथा स्थायी आनन्द पाएका छैनन्। (उप. ८:९) तर यहोवाका आनन्दित मानिसहरूसँगको संगतिबाट तिनीहरूले पक्कै आनन्द प्राप्त गर्नेछन्!—भज. १४४:१५ख.
४ यस रीतिरिवाजको खस्कँदो अवस्थाहरूका बावजूद, आध्यात्मिक तवरले अरूलाई दिंदा प्राप्त हुने अपार आनन्द महसुस गर्ने व्यक्तिहरू परमेश्वरबाट कहिल्यै निराश हुनुपर्ने छैन। (१ तिमो. १:११) यो नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रमले यसलाई सत्य साबित गर्नेछ। यसलाई नगुमाउनुहोस्!