उन्नतशील गृह बाइबल अध्ययन सञ्चालन गर्ने
१ तान्जानियाकी परिचारिका, अर्जेन्टिनाकी ठिटी र लाटभियाकी आमाबीच के कुरा मिल्दोजुल्दो छ? वार्षिक पुस्तक १९९७-को (पृष्ठ ८, ४६ र ५६) (अंग्रेजी) रिपोर्टअनुसार ती तीनै जनाले आफ्नो गृह बाइबल अध्ययनमा तीव्र प्रगति गरे। कारण, तिनीहरूले प्रत्येक हप्ता दुइ वा त्योभन्दा धेरै पटक ज्ञान पुस्तकबाट अध्ययन गर्ने इच्छा प्रकट गरे। एकचोटि अध्ययन गर्दा सम्भव भएसम्म एक अध्याय पूरै सिध्याउने प्रयत्न गर्नु भनेर सल्लाह दिइएको छ। त्यसोभए तापनि कतिपयलाई त्यसो गर्न अलि चुनौतीपूर्ण नै लागेको छ। हुन त यसमा धेरैजसो कुरा उक्त विद्यार्थीको परिस्थिति र मनोवृत्तिमै भर पर्ने भए तापनि अनुभवी शिक्षकहरूले तल उल्लिखित सल्लाहहरू पालना गर्दा सफलता हासिल गरेका छन्।
२ जून १९९६ को हाम्रो राज्य सेवकाई परिशिष्टमा छलफल गरिएझैं, तपाईंको विद्यार्थीलाई अध्ययनको लागि तयारी गर्न प्रशिक्षण दिनु जरुरी छ। सुरुमै तयारी गर्ने तरिकाबारे बताउनुका साथै गरेरै देखाइदिनु बेस होला। तिनीहरूलाई तपाईंको ज्ञान पुस्तकको व्यक्तिगत प्रति देखाउनुहोस्। पहिलो अध्याय सँगै मिलेर तयारी गर्नुहोस्। सोधिएको प्रश्नको सोझै जवाफ दिने शब्द वा वाक्यहरू पत्ता लगाउन मदत गर्नुहोस् र त्यसमा चिह्न लगाउन सिकाउनुहोस्। कुनै कुनै प्रकाशकले आफ्ना विद्यार्थीहरूलाई चिह्न लगाउने वा कच तान्ने कलमसमेत दिएका छन्। अध्ययनको लागि तयारी गर्दा सबै शास्त्रपदहरू हेर्न प्रोत्साहित गर्नुहोस्। त्यसो गर्दा तपाईंले तिनीहरूलाई मण्डली पुस्तक अध्ययन र प्रहरीधरहरा अध्ययनको लागि तयारी गर्न पनि सिकाइरहनुभएको हुनुहुनेछ।—लूका ६:४०.
३ सिपालु शिक्षक आफू मात्र बोलिरहँदैनन् तर विद्यार्थीलाई पनि भावनाहरू व्यक्त गर्न प्रोत्साहित गर्छन्। उनी सानातिना बुँदाहरूमै अल्मलिरहने गर्दैनन्। उनी थप कुराहरू फाट्ट फुट्ट मात्र जोडजाड गर्छन्। उनी मुख्य बुँदाहरू प्रकाश पार्न जोड दिन्छन्। कसै कसैले आफ्ना विद्यार्थीहरूलाई प्रश्नको जवाफ खोज्न थप साहित्यहरू जुटाइदिने गर्छन्। साथै, जिज्ञासुहरूले मण्डली सभाहरू धाएर पनि विस्तृत जानकारी लिनेछन्।
४ अध्यायमा भएका सबै शास्त्रपदहरू पढ्न जरुरी नहुन पनि सक्छ। कुनै कुनै महत्त्वपूर्ण बुँदाहरू उद्धरण गरिएका शास्त्रपदहरूबाट पनि बताउन सकिन्छ। पुनरावलोकन गर्नुहुँदा छलफल गरिएका मुख्य मुख्य शास्त्रपदहरू प्रकाश पार्नुहोस् र विद्यार्थीलाई सम्झिरहने प्रोत्साहन दिनुहोस्।
५ हरेक पटकको अध्ययन कति समय लामो हुनुपर्छ?: अध्ययन ठ्याक्क एक घण्टाकै हुनुपर्छ भन्ने छैन। कुनै कुनै घरधनीसँग समय छ भने, बढी समयसम्म अध्ययन गर्न तिनलाई मन पर्ला। अथवा विद्यार्थी हप्तामा दुइ तीन पटक अध्ययन गर्न चाहलान्। त्यस्तो गर्नसक्नेहरूलाई फाइदा नै हुनेछ।
६ यशैया ६०:८ ले चित्रित गरेझैं, “बादलझैं उड़ने र ढुकुरझैं तिनीहरूका झ्यालमा उड़ने” यहोवाका लाखौं नयाँ प्रशंसकहरू आज उहाँका मण्डलीतिर ओइरिरहेका छन्। जसै यहोवाले भेडाखाले मानिसहरूलाई जम्मा गर्ने कामको गति बढाउनुहुन्छ, हामी पनि उहाँसँगसँगै काम गरेर आ-आफ्नो जिम्मेवारी पूरा गरौं।—यशै. ६०:२२.