प्रश्न पेटी
▪ लोनाभलास्थित सोसाइटीका भवनहरू अथवा बेंग्लोर निर्माण क्षेत्र हेर्न जाँदा पहिरन तथा कोरीबाटीमा किन विशेष ध्यान दिनुपर्छ?
मसीहीहरूले उचित शिष्टता कायम गरेको आशा गरिन्छ। हाम्रो पहिरन तथा कोरिबाटिले जुनसुकै समयमा पनि यहोवा परमेश्वरका सेवकहरूमा हुनुपर्ने सदाचार र मर्यादा झल्काउनुपर्छ। सोसाइटीको संसारभरिका कुनै पनि शाखा भवनहरू हेर्न जाँदा यो कुरा झनै प्रत्यक्ष हुनुपर्छ।
सन् १९९८ को दौडान संसारका विभिन्न ठाउँमा जिल्ला तथा अन्तरराष्ट्रिय अधिवेशन सम्पन्न हुनेछन्। न्यु योर्कस्थित सोसाइटीको मुख्य कार्यालयका साथै भारतलगायत अरू देशहरूका शाखा कार्यालय हेर्न हजारौं भाइहरू आउनेछन्। ती कार्यालयहरू हेर्न जाँदा मात्र नभई हरेक अवसरमा हामीले उपयुक्त पहिरन र कोरीबाटीलगायत ‘हरेक कुरामा आफैलाई परमेश्वरका सेवकजस्तो देखाउनुपर्छ।’—२ कोरि. ६:३, ४.
उचित पहिरन तथा कोरीबाटीको महत्त्वबारे छलफल गर्दा हाम्रो सेवकाई पूरा गर्न व्यवस्थित (अंग्रेजी) पुस्तकले क्षेत्र सेवकाईमा जाँदा र मसीही सभाहरूमा उपस्थित हुँदा शारीरिक तवरमा स्वच्छ, भद्र पहिरन र कोरीबाटी राम्रो हुनुपर्छ भनेर टिप्पणी गरेको छ। तत्पश्चात्, पृष्ठ १३१ अनुच्छेद २ मा यसो भन्छ: “ब्रूकलिनस्थित बेथेल या सोसाइटीको कुनै पनि शाखा कार्यालय हेर्न जाँदा सोही कुरा लागू हुन्छ। नबिर्सनुहोस्, बेथेलको अर्थ ‘परमेश्वरको घर’ हो। अतः हाम्रो पहिरन, कोरीबाटी र आचरण ठीक त्यस्तै हुनुपर्छ जस्तो उपासनाको लागि राज्यभवनमा उपस्थित हुँदा आशा गरिन्छ।” बेथेल परिवारका सदस्यहरूसँग भेटघाट तथा संगत गर्न र शाखा भवनहरू हेर्न जाँदा स्थानीय इलाकाका वा टाढा टाढाका राज्य उद्घोषकहरू नै किन नहून्, सोही उच्च स्तरअनुरूप चल्नुपर्छ।
अरूले यहोवाको साँचो उपासनालाई कुन दृष्टिकोणले हेर्छन्, त्यो विचार गरेर हामीले आफ्नो पहिरनबाट तिनीहरूमाथि सकारात्मक प्रभाव पार्नुपर्छ। तथापि, सोसाइटीका भवनहरू हेर्न जाँदा केही भाइबहिनीहरूले अति नै अनौपचारिक पहिरन लगाएको देखिएको छ। त्यस्तो पहिरन कुनै पनि बेथेल हेर्न जाँदा लगाउनु उचित होइन। सबै कुरा परमेश्वरकै महिमाको निम्ति गरेर मसीही जीवनका अन्य पक्षहरूमा सरह यस क्षेत्रमा पनि हामी त्यही उच्चस्तर कायम राख्न चाहन्छौं जुन स्तरको कारण परमेश्वरका जनहरू संसारभन्दा अलग्गै छुट्टिन्छन्। (रोमी १२:२; १ कोरि. १०:३१) पहिलो चोटि बेथेल हेर्न आएका बाइबल विद्यार्थी तथा अन्य व्यक्तिहरूलाई पनि यही कुरा बताउनुका साथै उचित पहिरन र कोरीबाटीको महत्त्वबारे सम्झाउनु उपयुक्त हुनेछ।
तसर्थ, सोसाइटीका भवनहरू हेर्न जानुहुँदा आफैलाई सोध्नुहोस्: ‘के मेरो पहिरन तथा कोरीबाटी भद्र छ?’ (मीका ६:८ तुलना गर्नुहोस्।) ‘के यसले मैले उपासना गर्ने परमेश्वरको राम्ररी प्रतिबिम्बित गर्छ? मेरो रूपरंगले अरूलाई बाधा वा ठोक्कर पो पुगिरहेको छ कि? के पहिलो चोटि बेथेल हेर्न आएकाहरूका लागि मैले उचित उदाहरण बसालिरहेको छु?’ हरेक अवसरमा हाम्रो पहिरन तथा कोरिबाटीद्वारा ‘सब कुरामा परमेश्वर हाम्रा उद्धारकर्ताको सिद्धान्तको शोभा बढाउन सकौं।’—ती. २:१०.