“हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित”
१ आज यहोवाका जनहरूले प्रशस्त मात्रामा आध्यात्मिक भोजन पाइरहेका छन्। (यशै. २५:६) व्यक्तिगत तथा पारिवारिक अध्ययन अनि मण्डलीका सभा, सम्मेलन र अधिवेशनहरू मार्फत अनेकौं धर्मशास्त्रीय विषयहरू बुझ्न सकिन्छ। तर हामीले “हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित भई सिद्ध” हुने चाहना राखेर के यी प्रबन्धहरूबाट पूर्णतया फाइदा उठाइरहेका छौं त?—२ तिमो. ३:१७.
२ सन् १९९८ को आध्यात्मिक भोजन सूचीलाई यसो विचार गर्नुहोस्! आधा वर्ष त बितिसक्यो। अब बाँकी आधा वर्षमा हामी मण्डलीका साप्ताहिक सभाहरूमा मसीही युनानी धर्मशास्त्रका २३ वटा पुस्तकका विशेषताहरू केलाउँछौं, प्रहरीधरहरा-का मुख्य अध्ययन लेखहरूका साथै विविध बाइबल ज्ञान र मसीही गुनहरूबारे २२ वटा लेखहरू अनि हामीलाई क्षेत्र सेवकाईमा मदत दिने ४८ वटा चर्चाको लागि विषयहरू छलफल गर्छौं। साथै, पूरै ज्ञान पुस्तक र पारिवारिक आनन्द पुस्तक एक एक अनुच्छेद गरेर अनि सभाहरूमा लगभग ६० पृष्ठ छलफल गरेर पुनरावलोकन गर्छौं। यसबाहेक, हाम्रो राज्य सेवकाई-का १२ वटा अंक, प्रहरीधरहरा-का ५२ वटा अध्ययन लेख अनि विभिन्न बाइबल विषयहरूमा आधारित जनभाषणबाट पनि त्यति नै मात्रामा पोष पाइरहेका छौं। यस अलावा, प्रशस्त आध्यात्मिक भोजन पाइने अधिवेशन र सम्मेलन पनि छन्। हाम्रो लागि कत्ति प्रशस्तगरि असल आध्यात्मिक भोजनहरू उपलब्ध छन्!
३ यहोवाका प्रबन्धहरूको मूल्यांकन गर्नुहोस्: पूर्णतया फाइदा उठाउने हो भने यहोवाले यत्ति प्रशस्तगरि आध्यात्मिक भोजन जुटाई दिनुभएको उद्देश्य बुझ्नुपर्छ। यस्ता असल आध्यात्मिक भोजन खायौं भने विश्वासमा दृढ हुनुका साथै उहाँसँगको हाम्रो सम्बन्ध प्रगाढ हुनेछ। (१ तिमो. ४:६) तथापि, हाम्रै शिक्षाको लागि मात्र आध्यात्मिक भोजन जुटाइएको होइन। यसले अरूलाई सच्चाइ सुनाउन हामीलाई उत्प्रेरित गर्छ। साथै, सुसमाचारको सेवकको हैसियतमा प्रभावकारी हुन सुसज्जित बनाउँछ।—२ तिमो. ४:५.
४ आफ्नो आध्यात्मिक आवश्यकतालाई हेलचेक्य्राइँ नगरौं। बरु, यहोवाको टेबलमा पाइने मूल्यवान् र आध्यात्मिक तवरमा तृप्त बनाउने प्रबन्धहरूको तृष्णा गरिरहौं। (मत्ती ५:३; १ पत्रु. २:२) यी प्रबन्धहरूबाट पूर्णतया फाइदा उठाउन नियमित तवरमा व्यक्तिगत तथा पारिवारिक बाइबल अध्ययन गर्नु अनि सभाहरूमा उपस्थित हुनुजस्ता महत्त्वपूर्ण कुराका लागि यथेष्ट समय निकाल्नुपर्छ। (एफि. ५:१५, १६) यसो गऱ्यौं भने पावलले विश्वासी हिब्रू मसीहीहरूलाई हिब्रू १३:२०, २१ मा दिएको प्रेरित प्रोत्साहनमा जस्तै आनन्द पाउनेछौं।