‘सबै मानिसहरूलाई’ साक्षी दिने
१ हामी भिन्नाभिन्नै संस्कृति वा धार्मिक पृष्ठभूमिका मानिसहरू भेट्दा “सबै मानिसहरूले उद्धार पाऊन् र तिनीहरू सत्यको ज्ञानमा आऊन्” भन्ने यहोवाको इच्छा सम्झन्छौं। (१ तिमो. २:४) हामीसँग विशेष रूपमा तयार गरिएका अनेकन् पर्चा र पुस्तिकाहरूको अलावा दुइटा उत्कृष्ट प्रकाशनहरू छन्। यी प्रकाशनहरू जुनसुकै समयमा पनि तिनीहरूको धर्मले परमेश्वर र ख्रीष्टबारे सत्य नसिकाएका व्यक्तिहरूलाई मदत गर्न प्रयोग गर्नसक्छौं।
२ आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तकले येशू ख्रीष्टको जीवनी प्रकाश पार्छ। अतः प्रथम शताब्दीका थुप्रै मानिसहरू येशूप्रति आकर्षित भएझैं यस पुस्तकले मानिसलाई परमेश्वरको पुत्रसँग राम्ररी परिचित हुन अनि उहाँप्रति आकर्षित हुन मदत गर्नसक्छ। (यूह. १२:३२) अनन्त जीवनको प्रत्याशाले पनि धेरैलाई आकर्षित गर्छ। यो अद्भुत प्रत्याशा सबैलाई थाह होस् भनेर पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ नामक पुस्तक तयार पारिएको हो। महान पुरुष र सधैंभरि बाँच्न सक्नु हुन्छ दुवै पुस्तक कम मूल्यमा प्रस्तुत गर्न सकिन्छ। उपयुक्त भएमा यी पुस्तकहरू प्रस्तुत गर्नुहुँदा निम्न सुझाउहरू चलाउन सक्नुहुन्छ।
३ कुनै व्यक्तिलाई “महान पुरुष” प्रस्तुत गर्न उपयुक्त लाग्यो भने यस्तो प्रश्न गर्न सक्नुहुन्छ:
▪ “येशू ख्रीष्टबारे विचार गर्नुहुँदा तपाईंको दिमागमा के आउँछ? [जवाफ दिने मौका दिनुहोस्।] थुप्रै इतिहासकारहरूले येशू आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान् पुरुष हुनुहुन्छ भनी स्वीकारेका छन्। [ महान पुरुष पुस्तकको प्रस्तावनाको एउटा उदाहरण उद्धृत गर्नुहोस्।] बाइबलले येशूको जीवन हामीले अनुकरण गर्नुपर्ने नमुना हो भनी देखाउँछ।” पहिलो पत्रुस २:२१ र महान पुरुष पुस्तकको प्रस्तावनाको अन्तिम पृष्ठको पहिलो अनुच्छेद पढ्नुहोस्। घरधनी येशूको विषयमा जान्न इच्छुक छन् भने पुस्तक दिनुहोस्। छुट्टिनुअघि यूहन्ना १७:३ पढेर यस्तो प्रश्न गर्नुहोस्: “अनन्त जीवनतर्फ डोऱ्याउने यो ज्ञान कसरी लिनसक्छौं?” यसको जवाफसहित पुनःभेट गर्ने निश्चित प्रबन्ध मिलाउनुहोस्।
४ जीवनदायी ज्ञान कसरी लिने भन्ने बुझाउन पुनः जानुहुँदा यसो भन्न सक्नुहुन्छ:
▪ “मैले अनन्त जीवनतर्फ डोऱ्याउने ज्ञान कसरी लिनसक्छौं सो बताउन म आउनेछु भनेको थिएँ।” ज्ञान पुस्तक दिनुहोस् अनि पहिलो अध्यायबाट अध्ययन गर्ने तरिका देखाउनुहोस्।
५ “पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ” पुस्तक प्रस्तुत गर्न चाहनुहुन्छ भने यस्तो प्रश्न गर्न सक्नुहुन्छ:
▪ “के सधैंभरि बाँच्ने कुरा तपाईंलाई सपना जस्तो मात्र लाग्छ?” तिनले जवाफ दिएपछि सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकको पृष्ठ ७ खोल्नुहोस्। अनुच्छेद ४ का बुँदाहरू प्रकाश पार्नुहोस्। अनि स्वच्छ संसारमा सधैंभरि बाँच्न पाउनु मनपर्ने कुरा हो कि होइन भनी घरधनीलाई सोध्नुहोस्। पृष्ठ ८ र ९ का चित्रहरू पृष्ठ ११-१३ का चित्रहरूसँग तुलना गर्नुहोस्। अनुच्छेद १३ मा उल्लिखित कुनै एउटा शास्त्रपद पढ्नुहोस्। घरधनीले साँचो चासो देखाएमा पुस्तक प्रस्तुत गर्नुहोस्। छुट्टिनुअघि यस्तो प्रश्न गर्न सक्नुहुन्छ, “तपाईंको विचारमा अनन्त जीवनको प्रत्याशा वास्तविक भएको देख्नपाउन तपाईंले के गर्नुपर्ला?” यसको जवाफ दिन पुनःभेटको प्रबन्ध मिलाउनुहोस्।
६ अनन्त जीवन कसरी वास्तविक हुनेछ सो बताउन जानुहुँदा यस्तो प्रश्न गर्न सक्नुहुन्छ:
▪ “अस्ति तपाईंसँग छुट्टिने बेलामा मैले एउटा प्रश्न गरेको थिएँ नि, तपाईंलाई याद होला। त्यो प्रश्न थियो, “तपाईंको विचारमा अनन्त जीवनको प्रत्याशा वास्तविक भएको देख्नपाउन तपाईंले के गर्नुपर्ला?” [जवाफ दिने मौका दिनुहोस्।] सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकको पृष्ठ १५ खोल्नुहोस् र अनुच्छेद १९ मा उद्धृत यूहन्ना १७:३ पढ्नुहोस्। यो विशेष प्रकारको ज्ञान तिनी र तिनको परिवारका लागि पनि उपलब्ध छ अनि तिनलाई पायक पर्ने समयमा नियमित तवरमा आउन खुसी हुनेछु भनेर घरधनीलाई भन्नुहोस्। उक्त घरधनीसँग नियमित तवरमा भेट्न थाल्नुभएको केही समयपश्चात् चाहनुहुन्छ पुस्तिका वा ज्ञान पुस्तकबाट अध्ययन सुरु गर्न सक्नुहुन्छ।
७ कुराकानी थाल्ने विषयहरू: सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकमा थुप्रै शिक्षण सहायकहरू छन्। त्यसलाई पहिलो भेट वा पुनःभेटमा कुराकानी थाल्ने विषयको रूपमा चलाउन सकिन्छ। एउटा उपयुक्त प्रश्न गर्नुभएर पनि कुराकानी थाल्न सक्नुहुन्छ। उदाहरणका लागि, निम्न प्रश्न तथा ती प्रश्नहरू भएको अध्यायहरूलाई ध्यान दिनुहोस्:
परमेश्वर—उहाँ को हुनुहुन्छ? (४)
के बाइबल परमेश्वरबाट आएको हो? (५)
मृतावस्था हुँदा के हुन्छ? (८)
परमेश्वरले दुष्टता रहिरहने अनुमति किन दिनु भएको? (११)
स्वर्ग को जान्छन् र किन? (१४)
के हामीहरू दस आज्ञाको अधीनमा छौं? (२४)
८ सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकको कुनै पृष्ठ[हरू] छानेर छलफल गरिएको बुँदालाई स्पष्ट पार्न सक्नुहुन्छ। तत्पश्चात्, त्यही बुँदासित मिल्ने प्रश्न गरेर पुनःभेटको प्रबन्ध मिलाउनुहोस्। उक्त प्रश्नको जवाफ चाहनुहुन्छ पुस्तिका वा ज्ञान पुस्तकबाट दिनुहोस्। घरधनीलाई जनभाषणमा उपस्थित हुने निमन्त्रणा दिन नबिर्सनुहोस्। एउटा हाते पर्चा दिइराख्नुहोस्। माथि उल्लिखित पुस्तकहरूका लागि लिइएको चन्दा ती पुस्तकहरू प्रकाशन गर्न लागेको खर्चभन्दा पनि कम हो र हाम्रा सबै कामकुराहरू स्वैच्छिक अनुदानद्वारा चल्छ भनेर बताउनुहोस्।
९ सोझा हृदय भएका सबै मानिसहरूले परमेश्वर र ख्रीष्टबारे सच्चाइ खोजिरहेका छन्। पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्ने कुरा थाह पाएर थुप्रै मानिसहरू छक्क मात्र होइन, खुसी पनि हुन्छन्। हामी ती सबै मानिसहरूलाई साक्षीकार्यद्वारा सहयोग गर्नसक्छौं। अतः “हामी परिश्रम र प्रयत्न गर्दछौं, किनभने हाम्रो आशा जीवित परमेश्वरमा राखिएको छ, जो सबै मानिसका, . . . मुक्तिदाता हुनुहुन्छ।”—१ तिमो. ४:१०.