हामी बारम्बार गइरहनैपर्छ
१ सुसमाचारबारे कसैले पहिलोपटक तपाईंसित कुरा गर्दा के तपाईंले राम्ररी सुन्नुभएको थियो? थिएन भने, तपाईं बाइबल अध्ययन गर्न राजी नहोउञ्जेल यहोवाका साक्षीहरू तपाईंकहाँ बारम्बार आइरहेकोमा अहिले अवश्य कृतज्ञ हुनुभएको हुनुपर्छ। आफूलाई खटाइएको इलाकामा दोहऱ्याइ तेहऱ्याइ काम गर्दा यो कुरा सम्झनु राम्रो हो।
२ मानिसको जीवनमा लगातार परिवर्तन भइरहन्छ। तिनीहरूमाथि समस्याहरू ओइरिनसक्छन्, तिनीहरू समाज वा संसारमा भएका नराम्रा घटनाहरू सुन्नसक्छन्, आर्थिक स्थिति गन्जागोल हुनसक्छ वा परिवारमा कोही बिरामी वा कसैको मृत्यु भएकोले विचलित हुनसक्छन्। यस्ता घटनाहरूले गर्दा तिनीहरू यी विपत्तिहरू किन आइपर्छन्, बुझ्न चाहन्छन्। मानिसहरूलाई पिरोल्ने यस्ता समस्याहरू हामीले बुझ्नैपर्छ र बुझेर त्यसैअनुरूप सान्त्वनादायी सन्देश दिनुपर्छ।
३ यो उद्धार कार्य हो: दुर्घटनास्थलमा पुगेका उद्धारकर्मीहरूलाई सम्झनुहोस्। अन्यत्र आफ्ना साथीहरूले उद्धार गरिरहेका ठाउँहरूमा थुप्रै व्यक्तिहरूको उद्धार गरियो तर आफूले खोजिरहेको ठाउँमा केही व्यक्तिहरू मात्र भेट्टाइयो भन्दैमा तिनीहरू सुस्ताउँदैनन्, काम बन्द गर्दैनन्। हामीले गरिरहेको उद्धारकार्य अझै चलिरहेको छ। वर्षेनी “महा संकष्टबाट” जोगिन चाहने लाखौं मानिसहरू भेट्टाइएका छन्।—प्रका. ७:९, १४.
४ “प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ।” (रोमी १०:१३-१५) यी शब्दहरूले हामीलाई प्रचारकार्यमा नबिराई लागिरहन जागरूक पार्नुपर्ने हो। हामीले आफ्नो इलाकामा पहिलो पटक काम गरेदेखिन् यता त्यहाँका केटाकेटीहरू हुर्किसके। तिनीहरू भविष्य र जीवनको उद्देश्यबारे गम्भीरतासाथ सोच्नसक्ने भइसके। कसले कतिखेर हाम्रो कुरा सुन्ला, हामीलाई के थाह? (उप. ११:६) यसबाहेक पहिले विरोध गर्ने थुप्रै व्यक्तिहरूले अहिले सच्चाइ ग्रहण गरेका छन्। हाम्रो काम अरूको आलोचना गर्नु होइन बरु, उनीहरूलाई हाम्रो कुरा सुन्ने मौका दिनु र यस संसारबाट जोगाउनु हो। येशूका प्रारम्भिक चेलाहरूजस्तै हामी मानिसहरूकहाँ बारम्बार ‘जानु’ नै पर्छ र तिनीहरूलाई परमेश्वरको राज्यको सन्देश सुनूँ सुनूँ लाग्ने बनाउन कोसिस गर्नैपर्छ।—मत्ती १०:६, ७.
५ भनौं भने, प्रचार गरिरहने मौका अझै खुला हुनु यहोवाको दयाको अभिव्यक्ति हो। (२ पत्रु. ३:९) अरूलाई यो सन्देश सुन्ने मौका दिएर बारम्बार हामी परमेश्वरको प्रेम प्रकाश पार्छौं र उहाँको प्रशंसा गर्छौं।