चाहनुहुन्छ पुस्तिकाबाट अध्ययन थाल्ने
१ संसारभरबाट प्राप्त रिपोर्टहरूअनुसार परमेश्वर हामीबाट के चाहनुहुन्छ? पुस्तिका मानिसहरूलाई सत्य सिकाउन शक्तिशाली साधन साबित भएको छ। हप्तैपिच्छे यो पुस्तिकाबाट हजारौं बाइबल अध्ययनहरू सुरु भइरहेका छन्। के तपाईंले चाहनुहुन्छ पुस्तिकाबाट बाइबल अध्ययन थाल्न र सञ्चालन गर्न सक्नुभएको छ?
२ थुप्रैले यो पुस्तिका सजिलै वितरण गरे तापनि बाइबल अध्ययन थाल्न के भन्नुपर्ने हो भनेर कसै कसैलाई असजिलो लाग्छ। चाहनुहुन्छ पुस्तिका प्रयोग गरेर बाइबल अध्ययन थाल्न अरूले कस्ता तरिकाहरू प्रभावशाली पाएका छन्? निम्न सुझाउहरू मदतकारी हुनुपर्ने हो।
३ अध्ययन गर्ने तरिका देखाउनुहोस्: पहिलो भेट वा पुनःभेट गर्दा घरधनीसँग बाइबल अध्ययन गर्ने प्रस्ताव मात्र राख्नुको सट्टा बाइबल अध्ययन गर्ने तरिका देखाउनसक्छौं। यसो गर्दा “अध्ययन” शब्दले थुप्रै घरधनीहरूको मनमा उब्जेको शंका उपशंका हराउँछ। एकपल्ट अध्ययन गर्ने तरिका देखाउन सिकेपछि सरल परिचय प्रस्तुत गरेर पनि अध्ययन थाल्नसक्छौं।
४ तयारी महत्त्वपूर्ण छ: बाइबल अध्ययन थाल्ने हाम्रो जोस हामीले कति राम्रो तयारी गर्छौं, त्यससित प्रत्यक्ष सम्बन्धित छ। अग्रिम तयारी गर्नाले बाइबल अध्ययन गर्दा हामी हिचकिचाउने छैनौं। प्रस्तुतिलाई दोहऱ्याई तेहऱ्याई अभ्यास गरेर हामी आफ्नै शब्दमा स्वाभाविक ढंगमा राम्ररी कुराकानी गर्नसक्छौं। यसो गर्नाले हामी आफैलाई सजिलो हुनुका साथै घरधनीलाई पनि अप्ठ्यारो लाग्नेछैन।
५ प्रस्तुति अभ्यास गर्दा कति समय लाग्छ भनेर याद गर्नु मदतकारी हुन्छ। समय याद गर्नुभयो भने, तपाईं अध्ययन गर्ने तरिका प्रस्तुत गर्न यति समय लाग्छ भनी घरधनीलाई बताउन सक्नुहुन्छ। एक जना भाइले आफ्नो परिचय दिएपछि यसो भने: “अब म तपाईंलाई हाम्रो निश्शुल्क बाइबल अध्ययन गर्ने तरिका देखाउँछु है। यो तरिका देखाउन करिब पाँच मिनेट मात्र लाग्छ। तपाईंसँग पाँच मिनेट समय होला?” चाहनुहुन्छ पुस्तिकाको पाठ १ बाट पाँच मिनेटभित्रमा अध्ययन गर्ने तरिका देखाउन सकिन्छ। निस्सन्देह, यो छोटो समयावधिमा कुनै कुनै पदहरू मात्र पढ्न भ्याइन्छ। तर केही मिनेटभित्रै पहिलो पाठ अध्ययन गरी सिध्याएपछि घरधनीले प्रथम अध्ययनको अनुभव गर्नेछन्। त्यसपछि अर्कोपाली पाठ २ अध्ययन गर्दा १५ मिनेट मात्र समय लाग्छ भनेर बताउनुहोस्।
६ निम्न प्रस्तुति प्रभावशाली साबित भएको छ:
◼ “म तपाईंलाई यो, परमेश्वर हामीबाट के चाहनुहुन्छ पुस्तिकाबाट सरल तर छरितो ढंगमा बाइबल अध्ययन गर्ने तरिका देखाउन चाहन्छु। सोह्र हप्तासम्म हप्तैपिच्छे १५ मिनेट अध्ययन गर्नाले बाइबलका यी महत्त्वपूर्ण प्रश्नहरूको चित्तबुझ्दो धर्मशास्त्रीय जवाफ पाउन सकिन्छ भनेर थुप्रैले अनुभव गरेका छन्।” संक्षेपमा विषयसूची देखाउनुहोस्। पाठ १ पल्टाएर यसो भन्नुहोस्: “पाँच मिनेट समय दिन सक्नुभयो भने हामी तपाईंलाई अध्ययन गर्ने तरिका देखाउन चाहन्छौं। पाठ १ को शीर्षक छ, ‘परमेश्वरले चाहनुहुने कुरा तपाईं कसरी पत्ता लगाउन सक्नुहुन्छ।’ ” त्यसपछि, तीनवटा प्रश्नहरू पढ्नुहोस् अनि कोष्ठकभित्रका संख्याहरू बुझाउनुहोस्। अनुच्छेद १ पढ्नुहोस् अनि घरधनीलाई जवाफ भेट्टाउने तरिका बताउनुहोस्। घरधनीलाई अनुच्छेद २ पढ्न लगाउन सक्नुहुन्छ। त्यसपछि तिनलाई सोध्नुहोस्: “यहाँ दिइएको जानकारीको आधारमा यस प्रश्नको जवाफ कसरी दिनुहुन्छ? [प्रश्न दोहऱ्याएर पढ्नुहोस् अनि घरधनीलाई टिप्पणी गर्ने मौका दिनुहोस्।] तपाईं प्रत्येक अनुच्छेदमा केही पदहरू देख्नुहुन्छ। बाइबलले यी प्रश्नहरूको जवाफ कसरी दिन्छ, ती पदहरूले हाम्रो ध्यानाकर्षित गर्छ। उदाहरणका लागि, २ तिमोथी ३:१६, १७ पढौं अनि बाइबलको ग्रन्थकारबारे तपाईंले दिनुभएको जवाफलाई यसले समर्थन गर्छ कि गर्दैन, हेरौं।” अनुच्छेद ३ पढ्न, प्रश्न छलफल गर्न अनि यूहन्ना १७:३ पढ्न सिद्धयाएपछि पाठ १ पुनरावलोकन गरेर घरधनीले प्राप्त गरेको ज्ञानबारे तिनको ध्यानाकर्षित गराउनुहोस्। तब पाठ २ पल्टाएर “परमेश्वरबारे सिक्ने दुइ तरिका के के हुन्?” भन्ने अन्तिम प्रश्न पढ्न सक्नुहुन्छ। त्यसपछि सोध्नुहोस्: “पाठ २ छलफल गरेर जवाफ पत्ता लगाउन १५ मिनेट जति समय कहिले निकाल्न सकिएला?”
७ सरल तरिकामा छलफल गर्नु अनि उपयुक्त अवसरमा घरधनीको प्रशंसा गर्नु महत्त्वपूर्ण छ। अर्कोपल्ट भेट्ने प्रबन्ध मिलाउँदा फेरि अध्ययन गर्न चाहनुहुन्छ भन्नुको सट्टा फेरि यसरी नै अध्ययन गरौं है भनेर प्रोत्साहन दिनुहोस्। तिनीकहाँ तपाईं फेरि आउन चाहनुहुन्छ भनी बताउनुहोस्। केही प्रकाशकहरूले समय मिलाउन गाह्रो हुँदा टेलिफोनमा एउटा पाठ अध्ययन गर्ने प्रस्ताव राखेका छन्। तपाईं पनि आफ्नो विद्यार्थीलाई दराजमा वा भेट्टाउन सजिलो पर्ने ठाउँमा पुस्तिका राख्ने प्रोत्साहन दिनुहोस् ताकि अर्कोपल्ट जानुहुँदा खोजतलास गरिरहन नपरोस्।
८ संकल्प गर्नुहोस्: बाइबल अध्ययन थाल्ने कुञ्जी तयारी भए तापनि हामीले तयारी गरेअनुसारै कदम चाल्ने संकल्प गर्नुपर्छ। केही मिनेटभित्र एउटा पाठ सिकाउनु चुनौतीपूर्ण कार्य हो। तसर्थ, अध्ययन गर्ने तरिका प्रस्तुत गर्दा नअकमकाइकन सरर्र भन्न सक्नको लागि प्रस्तुतिलाई दोहऱ्याई तेहऱ्याई अभ्यास गर्ने संकल्प गर्नुहोस्। तपाईंले घर-घर, अनौपचारिक अनि टेलिफोन साक्षीकार्यमा भेट्नुभएका सबैलाई बाइबल अध्ययन गर्ने तरिका प्रस्तुत गर्ने प्रयास गर्नुहोस्। बाइबल अध्ययन थाल्न गाह्रो भइरहेको छ भने, निरुत्साहित नहुनुहोस्। बाइबल अध्ययन थाल्न सफल हुन दृढ संकल्प र अरूलाई सत्य बताउने निष्कपट चासो चाहिन्छ।—गला. ६:९.
९ यी सुझाउहरू प्रयोग गर्दै चाहनुहुन्छ पुस्तिकाबाट बाइबल अध्ययन थाल्नुका साथै सञ्चालन गर्नुभएर तपाईंले पनि कसै कसैलाई जीवनको बाटोमा डोऱ्याउन मदत गर्ने विशेषाधिकार पाउन सक्नुहुन्छ।—मत्ती. ७:१४.