यहोवाले बढाउनुहुन्छ भनी भरोसा गर्नुहोस्
१ “नयाँ मण्डली खडा गर्न सहयोग गरेर मैले पहिलो पटक अतुलनीय आनन्द अनुभव गरें। यसो गर्न मैले दुइ वर्षसम्म अथक परिश्रम, निरन्तर प्रार्थना र ‘बढाउनुहुने’ यहोवामा भरोसा गर्नुपऱ्यो।” यो अनुभव एक कर्तव्यनिष्ठ अग्रगामीको हो। यहोवाले बढाउनुहुन्छ भनेर भरोसा गर्नुपर्ने रहेछ भन्ने कुरा उनले थाह पाए। (१ कोरि. ३:५-९) आध्यात्मिक झुकाउका मानिसहरूलाई खोज्ने काम फलदायी भएको चाहन्छौं भने, हामीलाई पनि परमेश्वरको सहयोग चाहिन्छ।—हितो. ३:५, ६.
२ बढाउन खेती गर्नुपर्छ: सत्यको बीउ बढाउनु छ भने, खेती गर्नु आवश्यक छ। पहिलो भेटको एकदुइ दिन भित्रै फेरि भेट गर्दा प्रायः राम्रो नतिजा हात पार्न सकिन्छ। स्नेही अनि मित्रैलो हुनुहोस्। मानिसहरूलाई अन्योलमा नपार्नुहोस्। एकोहोरो नफतफताउनुहोस्। तपाईं कस्तो प्रकारको व्यक्ति हुनुहुन्छ, घरधनीलाई पनि बुझ्ने मौका दिनुहोस् र उनीप्रति तपाईंको व्यक्तिगत चासो छ भनेर देखाउनुहोस्।
३ जुलाई र अगस्त महिनाभरि भेटेजति सबैलाई थरिथरिका पुस्तिकाहरू दिने काममा हामी तल्लीन छौं। त्यसो भए तापनि चासो देखाउने र पुस्तिका लिने मानिसहरूलाई ध्यान दिनु पनि उत्तिकै आवश्यक छ। यो काममा पुनःभेट गर्नु र बाइबल अध्ययन गर्नु समावेश छ। (मत्ती २८:१९, २०) यसको लागि चाहनुहुन्छ पुस्तिका प्रयोग गर्नसक्नुहुन्छ। तल दिइएका चार सल्लाहहरू तपाईंलाई मदतकारी लाग्छ होला।
४ संसारको खस्कँदो स्थितिबारे चिन्तित कुनै व्यक्तिसँग पहिले कुरा गर्नुभएको भए, यसो भन्दै तपाईं फेरि आफ्नो कुराकानी चालु राख्न सक्नुहुन्छ:
▪ “मानव समाजका नैतिक पतनप्रति तपाईं पनि म जत्तिकै चिन्तित हुनुहुन्छ भन्ने मलाई लाग्छ। घरेलु हिंसा र त्यसले गर्दा केटाकेटी, आमाबाबु अनि पति वा पत्नीमाथि भइरहेको दुर्व्यवहारबारे हामी दुःखलाग्दा समाचारहरू सुन्छौं। अनि यस्तो लाग्छ, आफ्नो स्वार्थ पूरा गर्न चोर्नु र झूटो बोल्नु भनेको त कैयौं मानिसहरूका लागि केही पनि होइन। के तपाईंलाई मानिसहरूको जीवन बिताउने तरिकाले परमेश्वरलाई फरक पार्छ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] परमेश्वरले मानिसहरूलाई केही स्तरहरू दिनुभएको थियो र ती स्तरहरू साँच्चै भन्ने हो भने कडा छैनन्।” पहिलो यूहन्ना ५:३ पढ्नुहोस्। त्यसपछि, चाहनुहुन्छ पुस्तिका झिक्नुहोस् र पाठ १० पल्टाउनुहोस्। पहिलो अनुच्छेद पढ्नुहोस्। अनुच्छेद २-६ मा तेर्सो अक्षरमा लेखिएका वाक्यांशहरूतर्फ उनको ध्यान खिच्नुहोस् अनि तीमध्ये कुन कुरा समाजको निम्ति एकदमै हानिकारकजस्तो लाग्छ भनी घरधनीलाई सोध्नुहोस्। उनले भनेको कुरासँग मेल खाने अनुच्छेद पढ्नुहोस् र परिस्थिति मिलेमा एक दुइटा शास्त्रपद पढ्नुहोस्। अनुच्छेद ७ पढेर कुराकानी टुंग्याउनुहोस् अनि बाँकी कुरा छलफल गर्न फेरि भेट्ने प्रबन्ध मिलाउनुहोस्।
५ परिवारको चिन्ता गर्नेहरूसँग दोस्रो पटक कुरा गर्नुहुँदा यस्तै केही भन्न सक्नुहुन्छ:
▪ “तपाईंको विचारमा, सफल पारिवारिक जीवन बिताउन परमेश्वरले हामीलाई केही मदत दिनुहोला भनेर आशा गर्नु व्यवहारिक होला?” जवाफ दिने मौका दिनुहोस्। हनुहुन्छ पुस्तिका देखाउनुहोस्, पाठ ८ पल्टाउनुहोस् अनि यसमा परिवारका सबै सदस्यहरूका लागि उपयोगी हुने बाइबलका सिद्धान्तहरू छन् भनेर व्याख्या गर्नुहोस्। उक्त पुस्तिका र बाइबल चलाएर सक्दो फाइदा उठाउन पढ्ने तरिका देखाइदिऊँ कि भनेर सोध्नुहोस्। पुस्तिकाको पृष्ठ २ मा दिइएको निर्देशन पालन गर्नुहोस्। उक्त पाठबाट अझ अध्ययन अघि बढाउन अथवा सुरु गरेको पाठ सिद्धिसकेको भए, उक्त पुस्तिकाबाट घरधनीले छानेको अर्को पाठ अध्ययन गर्न फेरि भेट्ने प्रबन्ध मिलाउनुहोस्।
६ यो चाहिं सोझै बाइबल अध्ययन कार्यक्रममा सम्मिलित गराउन चलाउन सक्नुहुने नमुना हो। “चाहनुहुन्छ” पुस्तिका देखाउनुहोस् र यसो भन्नुहोस्:
▪ “यस पुस्तिकामा बाइबलका आधारभूत शिक्षाहरू समेटिएका पाठ्यक्रमहरू छन्। प्रत्येक पृष्ठमा शताब्दीयौंदेखि मानिसहरूलाई सताइरहेका प्रश्नहरूको तपाईंले जवाफ पाउनुहुनेछ। जस्तै, परमेश्वरले कुन उद्देश्य लिएर पृथ्वी सृष्टि गर्नुभयो?” पाठ ५ पल्टाउनुहोस् अनि पाठको सुरुका प्रश्नहरू पढ्नुहोस्। घरधनीलाई कुनचाहिं प्रश्न सबैभन्दा घतलाग्दो लाग्यो भनी सोध्नुहोस्, त्यसपछि उपयुक्त शास्त्रपदहरू पढ्दै उनले चासो देखाएका अनुच्छेद(हरू) पढ्नुहोस्। अन्य प्रश्नहरूको पनि चित्तबुझ्दो जवाफ यसैगरी सजिलै पाउन सकिन्छ भनी बताउनुहोस्। अर्को प्रश्न र त्यसको जवाफबारे छलफल गर्न फेरि आऊँ कि भनरे सोध्नुहोस्।
७ बाइबल अध्ययन सुरु गर्न तपाईंलाई सरल प्रस्तुति चलाउन मन पर्छ भने, यसो भन्नुभए पनि हुन्छ:
▪ “केही मिनेटमै एउटा महत्त्वपूर्ण प्रश्नको जवाफ पाउन सकिन्छ भनेर के तपाईंलाई थाह छ? जस्तै, . . . ” त्यसपछि पुस्तिकाबाट कुनै एउटा पाठको सुरुमा भएको प्रश्न सोध्नुहोस्, जुन तपाईंको विचारमा त्यस घरधनीलाई मिल्ने किसिमको छ। सोध्न सकिने प्रश्नहरूका लागि हाम्रो राज्य सेवकाई, मार्च १९९७ को “निर्भय भई पुनःभेट गर्नुहोस्” भन्ने परिशिष्टको अनुच्छेद १५ र १६ हेर्न सक्नुहुन्छ।
८ पुनःभेट गर्ने र बाइबल अध्ययन सञ्चालन गर्ने चुनौतीपूर्ण काम आनन्दसाथ स्वीकार्नु परमेश्वरको “सहकर्मी” हुनुकै एउटा भाग हो। (१ कोरि. ३:९) चासो देखाउनेहरूलाई मदत गर्न कडा परिश्रम गऱ्यौं र परमेश्वरले बढाउनुहुन्छ भनी भरोसा राख्यौं भने, अरू कुनै कामबाट प्राप्त हुन नसक्ने सन्तुष्टि हामीले अनुभव गर्नेछौं।