परिवारका सम्पूर्ण सदस्यले कसरी पूरापूर सहयोग गर्छन्—सेवकाईमा
१ पतिपत्नी, आमाबाबु तथा छोराछोरीहरू सँगै मसीही सेवकाईमा भाग लिएर सार्वजनिक रूपमा यहोवाको नाउँ प्रशंसा गरिरहेको हेर्न पाउनुभन्दा हृदयस्पर्शी कुरा अरू के होला र? (भज. १४८:१२, १३) क्षेत्र सेवकाईमा नियमित तवरमा भाग लिन सबै परिवारहरूले राम्रो तालिका बनाउनुपर्छ। के तपाईंको परिवारले सेवकाईमा भाग लिन हप्तामा एक दिन छुट्याएको छ? यदि छ भने, सबैले त्यसैअनुसार योजना बनाउनेछन् र पूरापूर सहयोग गर्नसक्ने छन्।—हितो. २१:५क.
२ सेवकाईमा जाने दिनअधि नै सपरिवार मिलेर प्रस्तुतिहरू तयार गरे कसो होला? सँगै अभ्यास गर्ने समयहरू अत्यन्तै मदतकारी हुनसक्छन् अनि त्यसले परिवारमा एकअर्कालाई मदत गर्ने साँचो मनोभाव विकास गर्नसक्छ। सम्पूर्ण परिवार नै पूरापूर तयारीका साथ क्षेत्र सेवकाईमा भाग लिंदा कस्तो इनामदायी हुन्छ होला!
३ एक परिभ्रमण निरीक्षक पत्रिका वितरण कार्यक्रममा एउटा परिवारसित गए। उक्त परिवारको एउटी छोरीसित घरघरमा गइरहेको बेला तिनले सोधिन्: “तपाईं मसित कति बेरसम्म काम गर्नुहुनेछ?” किनकि तिनले आफू त्यसपछि आफ्नो बुबासित सेवकाईमा जाने बताइन्। सेवकाईमा सँगै भाग लिंदा बुबा छोरीले साँच्चै आनन्द उठाएको प्रस्टै देखिन्थ्यो। यो परिवारको कस्तो राम्रो जोस!
४ केही परिवारहरू सबै मिलेर वर्षमा एक महिना सहायक अग्रगामी गर्नसक्छन् होला। अथवा परिवारको कम्तीमा पनि एक सदस्यले निरन्तर रूपमा सहायक अग्रगामी वा नियमित अग्रगामीको रूपमा समेत सेवा गर्नसक्छन्। राम्रो व्यवस्था तथा सबैको सहयोगमा परिवारका सम्पूर्ण सदस्यले अग्रगामीलाई मदत गर्दा उसले आफ्नो सेवकाईमा अझ बढी गर्नसक्छन्। आफ्नो सेवकाईमा वृद्धि ल्याउँदा त्यस परिवारले निश्चय पनि आशिष् पाउनुका साथै राम्रा राम्रा अनुभवहरूबाट आनन्द उठाउनेछन्।—मला. ३:१०.
५ सुसमाचार प्रचारकार्यमा पूरापूर भाग लिनाले परिवारलाई घनिष्ठ, जोसिलो, फलदायी तथा यहोवाको सेवामा खुसी हुन मदत गर्नेछ!—फिलिप्पी २:१, २ तुलना गर्नुहोस्।