अप्रिल—सुकर्ममा जोसिलो हुने समय!
१ धेरै मानिस बसोबास गर्ने ठाउँमा तुफान आउँदैछ भने मानिसहरूलाई त्यसबारे जानकारी दिनु जरुरी हुन्छ। तुफान जति जति नजिक आउँछ झन् झन् जोडसित चेताउनी दिनुपर्ने हुन्छ। किन? किनभने तिनीहरूको जीवन खतरामा छ! केही मानिसहरूले पहिले दिइएको चेताउनी नसुनेका हुनसक्छन्। अरूले चाहिं सुनेर पनि बेवास्ता गरेका हुनसक्छन्। परमेश्वरको धार्मिक क्रोधको “आँधी-बेह्री[ले]” यस दुष्ट संसारको नामोनिसान मेटाउनुअघि सबैलाई हामीले सुनाउनु पर्ने ईश्वरीय चेताउनी पनि त्यस्तै हो। (हितो. १०:२५) अरबौं मानिसहरूको जीवन खतरामा छ! त्यो चेताउनी सुनाउनै पर्छ। हामी “सुकर्ममा जोशिलो” हुनैपर्छ।—ती. २:११-१४.
२ दशकौंदेखि यहोवाका जनहरू स्मरणार्थ उत्सवताक विशेष गरी सेवकाईमा जोसिलो हुने गरेका छन्। हाल हाम्रो राज्य सेवकाई नामले छापिने इन्फर्मेन्ट १९३९ गृष्म ऋतुको अंकले यस्तो प्रोत्साहन दियो: “गृष्म ऋतु अनि राम्रो मौसम आउनै लागेकोले प्रकाशकहरूले पहिलेभन्दा दुई गुणा बढी क्षेत्रमा भाग लिनेछन् र अग्रगामीहरूले पनि आफ्नो घण्टा बढाउनेछन् भनी हामीले आशा गर्नुपर्छ। अप्रिल, पाँचवटा आइतबार पर्ने महिना हो। यसमा शनिबार पनि पाँचैवटा पर्छ। अप्रिलका सबै शनिबार र आइतबारलाई . . . विशेष साक्षी दिने समयको रूपमा प्रयोग गर्नुहोस्।” त्यो ६० वर्षअघि भाइहरू सामु राखिएको एउटा चुनौतीपूर्ण लक्ष्य थियो! यस वर्ष पनि १९३९ मा जस्तै पाँचवटा बिदाका दिनहरू पर्छन्। यस महिना तपाईंको कस्तो योजना छ? तपाईंले सन् २००० अप्रिल महिनाका लागि आफ्नो भित्ते पात्रोमा के के काम टिप्नुभएको छ? आध्यात्मिक क्रियाकलापले भरिपूर्ण यस विशेष महिनामा यहोवाका सँगी साक्षीहरूसित सुकर्ममा भाग लिने योजना बनाउनुहोस्।
३ हामीले पूरा गर्नचाहेको कुरा: सन् २००० को सबैभन्दा विशेष दिन यसै महिनामा पर्छ। त्यो हो अप्रिल १९. यस दिन हामी येशूको मृत्युको वार्षिकोत्सव मनाउँछौं। आउनुहोस्, यस स्मरणार्थ उत्सवमा धेरैभन्दा धेरै मानिसलाई निम्तो दिने विशेष प्रयास गरौं। गत महिना सुझाउ दिइएझैं स्मरणार्थ उत्सवमा उपस्थित हुनसक्ने सम्भावित सहभागीहरूको नामावली तयार पार्नुहोस् र कोही छुटेको छ छैन पक्का गर्नुहोस्। निम्तो पाउनेहरूमा निष्क्रिय प्रकाशक, सबै बाइबल विद्यार्थी, पुनःभेट, पहिले अध्ययन गर्ने, कामगर्ने ठाउँका साथी, सहपाठी, छिमेकी, नातेदार र अरू चिनजानका मानिसहरू समावेश हुनुपर्छ। आफ्नै सवारीसाधन हुनेहरूले खाँचो परेकाहरूलाई प्रेमपूर्वक मदत गर्न सक्छन्। हामी सबैले स्मरणार्थ मनाइने साँझ, उपस्थित हुनेहरू सबैलाई न्यानो स्वागतको आभास गराउने विशेषाधिकार पाएका छौं। स्मरणार्थपछि पनि, जिज्ञासु व्यक्तिहरूलाई हामीले थप आध्यात्मिक मदत दिन सक्छौं।
४ स्मरणार्थ दिनअघि र पछि “सुकर्ममा जोशिलो” हुनु, उहाँले हाम्रोलागि गर्नुभएको हरेक कुराहरूका लागि हामीले यहोवालाई मूल्यांकन देखाउने राम्रो मौका हो। दिन लामो हुने भएकोले हामी प्रचार कार्यमा अझ धेरै मेहनत गर्नसक्छौं। तपाईं सहायक अग्रगामी हुनुहुन्छ भने ५० घण्टा वा त्योभन्दा धेरै समय सेवकाईमा बिताउन चाहनुहुन्छ होला। (मत्ती ५:३७) महिनाको सुरुमा बनाउनुभएको तालिकाअनुसारै चल्ने प्रयास गर्नुहोस्। (उप. ३:१; १ कोरि. १४:४०) बाँकीले चाहिं अग्रगामीहरूलाई प्रोत्साहन दिएर र क्षेत्रमा सँगै काम गरेर सहयोग गर्न सक्छन्। (२ राजा १०:१५, १६ तुलना गर्नुहोस्।) हामीले अप्रिलको दौडान जोसिलो भई छऱ्यौं भने ठूलो आनन्द अनि यहोवाको आशिष्को आशा गर्नसक्छौं। (मला. ३:१०) सायद यो नियमित तवरमा सहायक अग्रगामीको काम गरिरहने वा नियमित अग्रगामीको काम सुरु गर्ने मौका साबित हुनसक्छ। हामीले अप्रिल महिनामा कमाएको आध्यात्मिक जोस अरू महिना पनि कायमै रहोस् र हामी नियमित प्रकाशकहरू भइरहन सकौं।
५ निस्सन्देह, यहोवाका हजारौं जनहरूले यस महिना धेरैभन्दा धेरै गृह बाइबल अध्ययन सुरु गर्नेछन्। के तपाईं पनि अध्ययन सुरु गर्न चाहनुहुन्छ? अध्ययनहरू पाउन सकूँ भनेर तोकेरै प्रार्थना गर्नुहोस् र प्रार्थनाअनुरूप काम गर्नुहोस्। सिकाउनका लागि सोझा मानिसहरू खोज्ने तपाईंको प्रयासलाई सफल पारिदिनुहोस् भनेर गर्नुभएको विनम्र अनुरोधको यहोवा मूल्यांकन गर्नुहुन्छ भनेर तपाईं ढुक्क हुन सक्नुहुन्छ।—१ यूह. ३:२२.
६ वार्तालाप सुरु गर्न धेरै हदसम्म सफलतासाथ प्रयोग गरिएका केही तरिकाहरू तल उल्लेख गरिएको छ। तपाईंले यस प्रश्नद्वारा कुराकानी सुरु गर्न सक्नुहुन्छ: “अहिलेको युवापिंढीले गर्दै आएका हिंसात्मक कामहरू केले गर्दा भइरहेका छन् जस्तो तपाईंलाई लाग्छ? पैशाचिक कामले होला कि पारिवारिक शिक्षाको कमीले?” जवाफको लागि पर्खनुहोस्। यदि उक्त व्यक्तिले “पैशाचिक कामले गर्दा” भन्ने जवाफ दिए भने प्रकाश १२:९, १२ पढेर संसारमा यस्तो गोलमाल मच्चाउन दियाबलले खेलिरहेको भूमिका प्रस्ट पार्नुहोस्। त्यसपछि चाहनुहुन्छ पुस्तिकाको पाठ ४ पल्टाएर दियाबल कहाँबाट आयो भनेर कहिल्यै सोच्नुभएको छ भनी सोध्नुहोस्। पहिलो दुई अनुच्छेदहरू पढेर छलफल सुरु गर्नुहोस्। यदि उक्त व्यक्तिले स्कूलमा हुने हिंसा “पारिवारिक शिक्षाको कमीले” गर्दा हो भन्ने जवाफ दिए भनेचाहिं २ तिमोथी ३:१-३ पढ्नुहोस् र यस्ता समस्याहरू उत्पन्न गर्ने कारणहरूबारे टिप्पणी गर्नुहोस्। त्यसपछि चाहनुहुन्छ पुस्तिकाको पाठ ८ पल्टाएर ५ अनुच्छेद पढेर छलफल सुरु गर्नुहोस्। तपाईंले पुनःभेट गर्ने समय मिलाउन सक्नुभयो भने नियमित बाइबल अध्ययन सुरु गर्ने मौका खुल्नसक्छ। त्यस पछिको भेटहरूमा तिनले सिकिरहेका कुराहरू सुन्न इच्छुक अरू कुनै व्यक्ति छन् कि भनेर सोध्नुहोस्।
७ अप्रिलमा “सुकर्ममा जोशिलो” हुने अर्को तरिका प्रचार गर्ने विभिन्न तरिकाहरूमा भाग लिनु हो। तपाईंले पार्क अथवा गाडी पार्क गर्ने कुनै ठाउँमा साक्षी दिनेबारे सोच्नु भएको छ कि? बस बिसौनी वा रेलवे स्टेशनमा नि? अथवा तपाईं टेलिफोन, सडक वा व्यापारिक क्षेत्रमा साक्षी दिन चाहनुहुन्छ? यी चाहनाहरूलाई यो महिनामा वास्तविकता बनाएर हेरे कसो होला? यहोवाले तपाईंलाई आवश्यक साहस बटुल्न मदत गर्नुहुनेछ। (प्रेरि. ४:३१; १ थिस्स. २:२ख) सेवकाईका यी पक्षहरूमा अनुभवी भइसकेका अग्रगामी वा प्रकाशकसित काम गर्न समय मिलाउन सक्नुहुन्छ भने त झनै बेस।
८ साक्षी दिने कार्यमा बढीभन्दा बढी भाग लिन चाहने व्यक्तिहरूले अनौपचारिक साक्षी कार्यमा पनि भाग लिन चाहन्छन्। प्रायजसो यसो गर्न मित्रैलो कुराकानी गरे पुग्छ। पारस्परिक चासोका विषयहरू उठाउनुहोस्। तपाईंले अनुच्छेद ६ मा उल्लेख गरिएको तरिका अपनाउन सक्नुहुन्छ। कुनै पनि मौका गुम्न नदिई सानोतिनो मौकाको पनि फाइदा उठाउने प्रयास गर्नुहोस्। पाँच मिनेट, दस मिनेट अथवा पन्ध्र मिनेट मात्र भए पनि उपलब्धिमूलक अनौपचारिक साक्षी किन नदिने?
९ मनन गर्ने मय: सन् १९९९-२००० को “परमेश्वरको भविष्यसूचक वचन” जिल्ला अधिवेशनको नाटकमा प्रस्तुत गरिएका सशक्त बुँदाहरू विचार गर्नुहोस्। हाम्रो आध्यात्मिक सम्पदाको मूल्यांकन गर्ने विषयक नाटकले हामीलाई याकूब र एसावबीचको भिन्नताहरू होसियारीपूर्वक विचार गर्न उत्प्रेरित गऱ्यो। एसावले याकूबले जस्तै आध्यात्मिक कुराहरूमा चासो लिएको छु भने तर तिनका कामहरूले त्यो प्रकट गरेन। (उत्प. २५:२९-३४) हाम्रो लागि कस्तो सशक्त चेताउनी! याकूबजस्तै हामी पनि यहोवाका आशिष्हरूका लागि संघर्ष गरौं। अझ कुस्ती नै लडौं। (उत्प. ३२:२४-२९) हाम्रो जोस नवीकरण गर्न र अद्भुत आध्यात्मिक सम्पदालाई कहिल्यै हल्कासित नलिन अप्रिल र आउँदा महिनाहरूको सदुपयोग गरे कसो होला?
१० “परमप्रभुको भयानक दिन नजीकै छ, नजीकै, त्यो चाँड़ै आउँदैछ।” (सप. १:१४) राज्यको सुसमाचार घोषणा गर्नैपर्छ। जीवन खतरामा छ! विशेष गरी यो महिना हामी यहोवाका सबै जनहरू एकताबद्ध भएर “सुकर्ममा जोशिलो” हुनसकौं।
[पृष्ठ ४-मा भएको पेटी]
स्मरणार्थका सम्झौटोहरू
सभाको समय निर्धारण गर्दा स्मरणार्थका प्रतीकहरू सूर्य अस्ताउनुअघि पास गर्नुहुन्न भन्ने कुरा बिर्सनुहुँदैन।
▪ वक्ता र अरू सबैलाई उत्सव हुने स्थान र समयको सही जानकारी दिनुपर्छ।
▪ उचित प्रकारको रोटी र दाखमद्यको प्रबन्ध मिलाउनुपर्छ र तयार राख्नुपर्छ।—फेब्रुअरी १५, १९८५ को प्रहरीधरहरा पृष्ठ १९ अंग्रेजी अंक हेर्नुहोस्।
▪ प्लेटहरू, गिलासहरू, ठिक्कको टेबल र टेबलपोस पनि सभा गर्ने भवनमा ल्याउनुपर्छ र पहिले नै मिलाएर राख्नुपर्छ।
▪ राज्यभवन होस् या अरू कुनै सभा गर्ने स्थान, पहिले नै सरसफाइ गर्नुपर्छ।
▪ परिचारकहरू र प्रतीक वितरण गर्ने भाइहरू पहिले नै छान्नुपर्छ अनि कार्यक्रम र उनीहरूको जिम्मेवारीबारे पहिले नै निर्देशन दिनुपर्छ।
▪ अशक्तताको कारण उपस्थित हुन नसक्ने कुनै पनि अभिषिक्त जनलाई प्रतीकहरू पुऱ्याउने प्रबन्ध मिलाउनुपर्छ।
▪ एउटै राज्यभवनमा एकभन्दा बढी उत्सव मनाउने तालिका राखिएको छ भने मण्डलीहरूबीच राम्रो समझदारी हुनुपर्छ ताकि भवनको मूलढोका, सार्वजनिक बाटोघाटो अनि सवारी साधन बिसाउने ठाउँमा अनावश्यक भीड नहोस्।