पवित्र वाणीमा ध्यान दिनुहोस्
१ मानिसले बोलेका जम्मै कुराहरू विशेष ध्यान दिन लायकका छैनन्। तर परमेश्वरले बोल्नुहुँदा सुन्नुपर्ने उचित कारण छ। (व्यव. २८:१, २) खुसीको कुरा, प्रेरित लेखकहरूले हाम्रो फाइदाको निम्ति “परमेश्वरको वाणी” अभिलेख गरेर राखे। (रोमी ३:२) आगामी जिल्ला अधिवेशनले यी वाणीहरू पढेर अनि छलफल गरेर सुन्ने बहुमूल्य अवसर प्रदान गर्नेछ। तपाईंले कसरी ध्यान दिएर सुन्न सक्नुहुन्छ?
२ हरेक दिन चाँडै पुग्नुहोस्: इस्राएलीहरूले यहोवाबाट व्यवस्था सुन्न सिनै पर्वतमा भेला हुनु भन्ने निम्तो पाउँदा तिनीहरू कत्ति उत्साहित भए होलान्, कल्पना गर्नुहोस् त! (प्रस्थ. १९:१०, ११, १६-१९) तपाईंसित पनि जिल्ला अधिवेशनमा यहोवाबाट निर्देशन पाउने सन्दर्भमा त्यस्तै मनोवृत्ति छ भने, हरेक दिन त्यहाँ चाँडै पुग्ने प्रबन्ध मिलाउनुहुनेछ। हामी ढिलो पुगेर ठाउँ खोजिरह्यौं भने अरूलाई बाधा पुग्नसक्छ र आफूले पनि पूरै कार्यक्रम ध्यान दिएर सुन्नसक्दैनौं। अधिवेशन हुने ठाउँका ढोकाहरू बिहान ८:०० बजे नै खोलिनेछन् र कार्यक्रमचाहिं हरेक दिन ९:३० मा सुरु हुनेछ।
३ कोही कोही चाँडै आइपुगे तापनि कार्यक्रम सुरु भइसक्दा पनि आफ्नो ठाउँमा बस्दैनन्। किन? किनभने तिनीहरू अध्यक्षले गीत संख्या घोषणा नगरुञ्जेल आफ्ना साथीहरूसित गफ गरिरहन्छन् र त्यसपछि मात्र आ-आफ्ना सिटमा आउन सुरु गर्छन्। कार्यक्रमको सुरुको गीत गाउनअघि केही मिनेट बजाइने राज्य धुन बजिरहेको बेला अध्यक्ष मञ्चमा आएर बसिसकेको हुन्छ। यो हामीले आफू पनि बस्नुपर्छ भनेर थाह पाउने तरिका हो! त्यसपछि, गीत गाउन आग्रह गरिंदा हामी पनि अरूसँगसँगै यहोवाको प्रशंसा गर्दै गीत गाउन तयार हुनेछौं।
४ एक परिवार भएर सुन्नुहोस्: पवित्र वाणीहरू, भेला भएका इस्राएलीहरू, परिवारहरूलगायत ‘बालकहरूका’ अगाडि पढिन्थ्यो र तिनीहरूले सुनेर त्यसबाट सिक्नुपर्थ्यो। (व्यव. ३१:१२) हाम्रा अधिवेशनहरूमा छोराछोरीहरूलाई ‘छाडा छोड्नु’ हुँदैन। (हितो. २९:१५) आमाबाबु हो, आफ्ना छोराछोरीहरूलगायत सम्पूर्ण परिवार एकै ठाउँमा बस्ने व्यवस्था मिलाउनुहोस्। कोही कोही आमाबाबुले सुरुको गीत सुरु भएपछि आफ्ना छोराछोरीहरूलाई शौचालय लैजाने गर्छन्। यसले केटाकेटीहरूलाई हाम्रो उपासनामा गीत र प्रार्थनाको महत्त्व सिकाउँदैन। सम्भव भएसम्म त्यस्ता आवश्यक कामकुराहरू कार्यक्रम सुरु हुनुभन्दा अगावै सिध्याउनु अति राम्रो हुन्छ!
५ हरेक रात प्रशस्त आराम गर्दा र हरेक दिन टन्न खाना नखाँदा त्यसले हामीलाई राम्ररी सुन्न मदत गर्नेछ। वक्ताले भनेका कुराहरूमा ध्यान दिनुहोस्। तपाईंको मन यताउता डुल्न नदिनुहोस्। वक्ताले शास्त्रपदहरू पढ्दा सँगसँगै बाइबल पल्टाउनुहोस्। छोटो टिपोट लेख्नुहोस्। हरेक भाषणपछि, वक्ताले भनेका कुराहरू पुनःस्मरण गर्ने प्रयास गर्नुहोस् र त्यसलाई कसरी व्यवहारमा उतार्नुहुनेछ भनेर मनन गर्नुहोस्। दिनको अन्तमा सबै परिवार एकसाथ बसेर छलफल गर्नुहोस्। प्रत्येकलाई कुन कुन बुँदा राम्रो लाग्यो? तपाईंको परिवारले यस बुँदालाई कसरी प्रयोगमा ल्याउनसक्छ?
६ परमेश्वरको वचनको आदर गर्नुहस्: अधिवेशनहरूले साथीहरूसित भेटेर कुरा गर्न र उत्थानदायी संगतिको आनन्द उठाउने राम्रो सुअवसर प्रदान गर्छ। त्यहाँ चाँडै पुग्यौं भने कार्यक्रम सुरु हुनु अगावै अरूसित कुराकानी गर्ने समय पाउनेछौं। तैपनि, कोही कोही भने ठूलो भवनमा केही बाधा पुग्दैन भन्ने गलत विचार गर्दै कार्यक्रमको दौडान कुराकानी गरिरहन्छन्। सभाहरू जतिसुकै ठूला ठाउँमा भए तापनि राज्य भवनमा उपस्थित भएर सुनेझैं त्यो पनि सुन्ने समय हो। सेलुलर फोन, पेजर, भिडियो क्यामेरा तथा क्यामेराहरू अरूको ध्यान भंग हुने किसिमले प्रयोग गर्नु हुँदैन।
७ यहोवाको व्यवस्था लिनजाँदा मोशाले “नता केही खाए न पानी पिए।” (प्रस्थ. ३४:२८) त्यसै गरी, अधिवेशनका कार्यक्रमहरू भइरहेको बेला केही खानु र पिउनु अनुपयुक्त हुनेछ। गम्भीर अस्वस्थताको कारण बाहेक यसो गर्ने ‘उचित बेला’ पर्खनुहोस्।—उप. ३:१.
८ कुनै कुनै अधिवेशनमा कार्यक्रमहरूको दौडान थुप्रै भाइबहिनी तथा केटाकेटीसमेत बाहिर घुमिरहेको पाइएको छ। तिनीहरूलाई हलभित्र जान आग्रह गर्न परिचारकहरू खटाइनेछ। विभिन्न विभागहरूमा काम गर्ने स्वयम्सेवकहरू आफ्नो काम सिद्धिने बित्तिकै श्रोताहरूसित सिटमा बसिहाल्नुपर्छ। कुनै अत्यन्त जरुरी जिम्मेवारी नसुम्पिउञ्जेल स्वयम्सेवकहरू कार्यक्रमको दौडान आफ्नो सिटमा बसेर सुनिरहनुपर्छ। तिनीहरू विनाकारण कार्यक्रम सञ्चालन भइरहेको बेला आफ्नो विभागमा बसिरहने वा एकअर्कालाई भेट्ने गर्नुहुँदैन।
९ परमेश्वरको वचन सुन्ने सन्दर्भमा हामी कहिल्यै ‘कान मन्द’ पार्न चाहँदैनौं। (हिब्रू ५:११) आउनुहोस्, हामीहरू आउँदो जिल्ला अधिवेशनमा छलफल गरिने यहोवाका पवित्र वाणीहरू ध्यानसित सुनेर यसलाई आदर देखाउन कटिबद्ध होऔं।