“परमेश्वरको वचनका शिक्षकहरू” यहोवाका साक्षीहरूको जिल्ला अधिवेशन सन् २००१
१ अगमवक्ता यशैयाले यहोवालाई महान् शिक्षकको रूपमा वर्णन गरे। यहोवाले हामीलाई पिताले झैं यस्तो आग्रह गर्नुहुन्छ: “बाटो यही हो, यसैमा तिमीहरू हिंड़।” (यशै. ३०:२०, २१) तर हाम्रो फाइदाको लागि यहोवाले बोल्नुभएका शब्दहरू हामी कसरी सुन्छौं? यहोवाले बाइबल तथा “विश्वासी र बुद्धिमान दास[मार्फत]” तयार पारिएका बाइबल आधारित प्रकाशन, सभा, क्षेत्रीय कार्यक्रम र जिल्ला अधिवेशनहरूद्वारा आफ्ना जनहरूसँग बोल्नुहुन्छ। (मत्ती २४:४५) हामी हिंड्नु पर्ने मार्गमा हामीलाई नियमित तवरमा निर्देशनहरू दिनुभएकोमा हामी यहोवाप्रति कृतज्ञ हुनसक्छौं।
२ हरेक वर्ष हुने जिल्ला अधिवेशनमा हामीले सँगीविश्वासीहरूसँगै भेला हुने अनि यहोवाका निर्देशनहरू ध्यान दिएर सुन्ने मौका पाउँछौं। गत वर्ष ३२,३४९ व्यक्तिहरू आध्यात्मिक तवरमा स्फूर्तिदायी “परमेश्वरको वचन पालन गर्ने होओ” नामक जिल्ला अधिवेशनमा उपस्थित भए। सन् २००१ मा देशका विभिन्न भागहरूमा “परमेश्वरको वचनका शिक्षकहरू” नामक जिल्ला अधिवेशनहरू आयोजना गरिनेछ। तपाईं त्यस अधिवेशनमा उपस्थित हुनको लागि तयारी गर्न उत्सुकतासाथ पर्खिरहनुभएको छ भनेर हामीलाई थाह छ। त्यसैले, तपाईंको मदतको लागि हामी निम्न निर्देशनहरू उपलब्ध गराउँदैछौं।
३ बासको व्यस्था: तपाईंलाई जानकारीहरू दिएर मदत गर्न र अधिवेशन हुने शहरमा बासको प्रबन्ध मिलाइदिन हरेक अधिवेशनमा रूमिंग डिपार्टमेन्ट हुन्छ। बस्ने ठाउँको प्रबन्ध मिलाउन पहिल्यै योजना बनाउनुहोस्। तपाईंले मण्डलीको सचिवसित रूम रिक्वेस्ट फारम लिन सक्नुहुन्छ। फारममा आवश्यक जानकारीहरू भरिसकेपछि, उक्त फारम तपाईंले आफ्नो मण्डलीको सचिवलाई दिनुपर्छ र उनले त्यसलाई अधिवेशन हुने मुख्य स्थान अर्थात् जहाँ तपाईं उपस्थित हुने हो त्यहाँ पठाइदिन्छन्। त्यस फारमसँगै आफ्नो ठेगाना लेखिएको खाम र टिकट पनि दिनुहोस्। यदि त्यस शहरमा एकभन्दा धेरै अधिवेशनहरू हुँदैछन् भने तपाईं उपस्थित हुने अधिवेशनको मिति उल्लेख गर्न नबिर्सनुहोस्।
४ यहोवाका साक्षीहरूबारे होटेलका कर्मचारीहरूको कस्तो दृष्टिकोण छ? यहोवाका जनहरूको असल आचरणबारे टिप्पणी गरिसकेपछि मिडवेस्ट, अमेरिकास्थित होटेलका महाप्रबन्धकले यसो भने: “जब यहोवाका साक्षीहरू बिहीबार मेरो होटेलमा बस्न आउँछन्, म सोमबार बिहानसम्मको लागि सप्ताहन्तको छुट्टी मनाउन हिंड्छु। परिआउने कुनै पनि समस्या साधारण हुनेछ भनेर मलाई थाह छ। तपाईंका मानिसहरूलाई हाम्रो होटेलमा राख्न पाउनु हाम्रोलागि सधैं आनन्दको कुरा हो।” होटेलको व्यापार शाखाका एक कर्मचारीले यसो भनिन्: “तपाईंका मानिसहरू प्रशंसा गर्न योग्यका छन्! सबैले प्रायः जसो ‘धन्यवाद’ भन्ने गर्छन्।” के हाम्रा भाइबहिनीहरूबारे गरिएका यस्ता टिप्पणीहरू सुन्दा तपाईंलाई गर्व लाग्दैन? कल्पना गर्नुहोस्, हामीले यसरी यहोवाको नाउँको प्रशंसा हुने गरी काम गरेको देख्दा यहोवा कत्ति खुसी हुनुहुन्छ होला!
५ वृद्ध तथा विशेष रेखदेख गर्नुपर्नेहरूको हेरचाह गर्ने: वृद्ध, अशक्त अथवा विशेष रेखदेखको आवश्यकता परेकाहरूबारे राम्रो जानकारी भएका नातेदारहरू, मण्डलीका प्राचीनहरू तथा अन्य जोसुकैले पनि तिनीहरूलाई अधिवेशनमा उपस्थित हुन मदत गरेर मायालु चासो तथा चिन्ता प्रकट गर्नसक्छन्। (१ तिमोथी ५:४ तुलना गर्नुहोस्।) तिनीहरूले सुनेर पूर्णतया लाभ उठाउन सकून् भन्ने हेतुले आरामदायी ठाउँमा बस्न पाएका छन् कि छैनन् पक्का गर्नुहोस्। भाइ तथा बहिनीहरूले त्यस्ताहरूलाई मदत गर्न अघि सर्नु कत्ति राम्रो कुरा हुनेछ। यसमा तिनीहरूलाई खाना खान मदत गर्नु, तिर्खा लाग्दा पानी ल्याइदिनु र शौचालयमा साथी गइदिनु समावेश छ। धेरै व्यक्तिले यसरी वृद्ध तथा खाँचोमा परेकाहरूको हेरचाह गर्ने सुअवसर स्वीकारेमा दिनरात तिनीहरूको हेरचाह गर्ने नातेदार अथवा मण्डलीका प्रकाशकलगायत सबैले कार्यक्रमबाट फाइदा उठाउनेछन्। यस मायालु निर्देशन पालन गर्दा हाम्रा मसीही भाइहरूप्रति प्रेम प्रकट गर्ने अनि संसारको स्वार्थी मनोवृत्ति त्याग्ने अवसर प्राप्त हुन्छ।—१ कोरि. १०:२४.
६ अन्तमा: जिल्ला अधिवेशनमा उपस्थित हुने समय नजिक हुँदै जाँदा, तीनै दिन उपस्थित हुन र सबै कार्यक्रमबाट सक्दो लाभ उठाउन सकूँ भनी यहोवालाई प्रार्थना गर्नुहोस्। जिल्ला अधिवेशन हुने मिति घोषणा हुने बित्तिकै बिदा माग्नुहोस्। अक्सर अन्तिम घडीमा आएर बिदा माग्दा पाइँदैन। विश्वासी र बुद्धिमान् दासले हामीलाई आध्यात्मिक निर्देशनहरू दिन र हाम्रो विश्वास बलियो बनाउन यस वर्ष “परमेश्वरको वचनका शिक्षकहरू” नामक जिल्ला अधिवेशनको प्रबन्ध गरेको छ। त्यसैले, भजनहारको यस सल्लाह पालन गर्दै अहिलेदेखि नै उपस्थित हुने योजना बनाउनुहोस्: र “ठूलो सभामा परमेश्वरको प्रशंसा” गर्नुहोस्!—भज. ६८:२६, नयाँ संशोधित संस्करण।
[पृष्ठ ३-मा भएको पेटी]
कार्यक्रमको समय
शुक्रबार र शनिबार
बिहान ९:३० बजे–साँझ ५:०० बजे
आइतबार
बिहान ९:३० बजे–साँझ ४:०० बजे