“परमेश्वरसित हिड्नुहोस्” यहोवाका साक्षीहरूको जिल्ला अधिवेशन सन् २००४
१ कुन कुराले गर्दा तपाईंलाई हाम्रो वार्षिक जिल्ला अधिवेशन विशेष लाग्छ? “विश्वासी र बुद्धिमान दास[ले]” हाम्रो लागि तयार पारेका उत्थानदायी भाषणहरू र नाटकले गर्दा? (मत्ती २४:४५-४७) समसामयिक आध्यात्मिक पोषणले भरिएका नयाँ-नयाँ प्रकाशनहरूले गर्दा? बाइबलले आफ्नो जीवनलाई कसरी सुधाऱ्यो भन्ने भाइबहिनीहरूका अनुभवहरूले गर्दा? अन्य मुलुकहरूमा राज्य प्रचारकार्यमा कसरी प्रगति भइरहेको छ भन्ने रिपोर्टहरूले गर्दा? सबै उमेरका सँगी विश्वासीहरूसितको संगतिले गर्दा? हो, यी तथा अन्य कारणहरूको लागि हामी उत्सुकतासाथ हाम्रा अधिवेशनहरूको प्रतीक्षा गर्छौं!
२ तीनै दिन उपस्थित हुनुहोस्: मोशामार्फत यहोवाले यस्तो आज्ञा दिनुभयो: “सबैलाई भेला गर . . . तिनीहरूले सुनेर . . . सिकून्।” (व्यव. ३१:१२) विश्वासी र बुद्धिमान् दास वर्गमार्फत यहोवाले अधिवेशनको हरेक दिन हाम्रो लागि विशेष शैक्षिक कार्यक्रमको प्रबन्ध मिलाउनुभएको छ। उहाँले ‘हाम्रो फायदाको’ लागि सिकाइरहनुभएको कारण हामी यी सम्पूर्ण निर्देशनको लागि उपस्थित हुन चाहन्छौं। (यशै. ४८:१७) तथापि, गत वर्ष आयोजित “परमेश्वरलाई महिमा दिनुहोस्” जिल्ला अधिवेशनहरूमा शनिबार र आइतबारको तुलनामा शुक्रबारको उपस्थिति निकै कम थियो। यसको अर्थ, हाम्रा थुप्रै भाइहरूले महत्त्वपूर्ण जानकारीहरू प्रस्तुत गर्ने अधिवेशनका भागहरू सुन्न पाएनन्। तिनीहरूले सँगी विश्वासीहरूसितको आनन्दमय संगति पनि गुमाए।
३ अन्य चिन्ताहरूले बाधा नपुऱ्याओस्: जागिर जाला भन्ने चिन्ताले गर्दा कोही-कोही शुक्रबार उपस्थित नभएका हुन सक्छन्। अरू कतिपयले चाहिं आफ्नो छुट्टी बचाउन वा अरू नै उद्देश्यको लागि खर्च जोगाउन चाहेको हुनुपर्छ। हाकिमले बिदा दिंदैन होला भनेर अनुमान गर्नु हुँदैन न त अधिवेशनको एक/दुई दिन छुटेर केही फरक पर्दैन भन्ने निष्कर्षमा नै पुग्नुहुन्छ। हाकिमलाई छुट्टी माग्नुपरेमा नहेम्याहको साहसिक उदाहरण पुछ्याउँदै यहोवालाई प्रार्थना गर्नुहोस् र छुट्टी माग्नुहोस्। (नहे. १:११; २:४) त्यसपछि आध्यात्मिक कुराहरूलाई प्राथमिकता दिनुभयो भने, यहोवाले जीवनका आवश्यकताहरू पूरा गरिदिनुहुनेछ भन्ने कुरा मनमा राख्दै आफ्नो पूरा भरोसा यहोवाका प्रतिज्ञाहरूमाथि राख्नुहोस्। (मत्ती ६:३३; हिब्रू १३:५, ६) साथै, बेग्लै विश्वास भएका परिवारका सदस्यहरूलाई आफ्नो अधिवेशन योजनाहरूबारे सकेसम्म चाँडै खबर गर्नु बेस हुनेछ।
४ सबैभन्दा मुख्य कुरा, “जे उत्तम छ” त्यसको मूल्यांकन गर्नु हो। (फिलि. १:१०, ११, नयाँ संशोधित संस्करण; भज. २७:४) यसो गर्दा यहोवाको यस महत्त्वपूर्ण प्रबन्धबाट पूर्णतया लाभ उठाउन सक्ने गरी योजनाहरू बनाउन यसले हामीलाई उत्प्रेरित गर्छ। अहिल्यैदेखि निश्चित योजनाहरू बनाउन थाल्नुहोस् र तीनै दिन तपाईं त्यहाँ उपस्थित हुन कम्मर कस्नुहोस्!
५ आवास: गत वर्षझैं यस वर्ष पनि आवासको सरल प्रबन्ध गरिनेछ। आवास विभागले होटलको लागि पहिल्यै बुकिङ गर्ने छैन। बरु, यस विभागले मण्डलीहरूलाई सुझावित होटल तथा तिनीहरूको दरसूची उपलब्ध गराउनेछ ताकि होटलमा बस्न चाहने व्यक्तिहरूले होटलका व्यवस्थापकलाई सीधै भेटेर आफूलाई चाहिएजति होटलका कोठाहरू रिजर्भ गर्न सक्नेछन्। अधिवेशन सङ्गठनले डोरमेट्री किसिमका आवासको मात्र प्रबन्ध गर्नेछ। यस विषयमा मण्डलीहरूले अधिवेशन आवास विभागबाट थप जानकारी प्राप्त गर्नेछन्। डोरमेट्री किसिमको आवासको लागि अग्रिम निवेदन पठाउनुहोस्। कृपया पृष्ठ ४ को “तपाईं कसरी आवासका प्रबन्धहरूमा सहयोग गर्न सक्नुहुन्छ” भन्ने पेटीमा दिइएका बुँदाहरू पुनरावलोकन गर्नुहोस्।
६ विशेष आवश्यकताहरू: प्रेरित पावलले गलातीका मण्डलीहरूलाई “सबै मानिसतर्फ, खास गरेर विश्वासका घरानातर्फ, भलाईको काम” गर्न सम्झाए। (गला. ६:१०) वृद्ध-वृद्धा भाइबहिनीहरू, अशक्त, एक्लो आमा अथवा बुबा वा पूर्ण-समय सेवामा लागेकाहरूले तपाईंलाई मदत नमाग्न सक्छन् तर अधिवेशनमा उपस्थित हुनको लागि उनीहरूले केही अप्ठ्यारा परिस्थितिहरूको सामना गर्नुपर्ने हुन सक्छ। के तपाईं उनीहरूप्रति “भलाइको काम” गर्न र केही मदत दिन सक्नुहुन्छ? मसीही नातेदार तथा प्राचीनहरू यस्ता व्यक्तिहरूको परिस्थितिबारे विशेष गरी सजग हुनुपर्छ।
७ कुनै प्रकाशकले स्पेशल निड्स रुम रिक्वेस्ट फाराम बुझाएका छन् भने, फाराममा दिइएका निर्देशनहरू चलाउँदै मण्डलीको सेवा समितिले यसलाई पुनरावलोकन गर्नेछ। आवश्यकतालाई स्थानीय तवरमा हेरविचार गर्न सकिन्छ कि भनेर तिनीहरूले विचार गर्नुपर्छ। यो प्रबन्ध राम्रो नाउँ कमाएका प्रकाशक तथा उनीहरूका असल शीलस्वभाव भएका छोराछोरीको लागि मात्र हो। आवास विभागसित स्पेशल निड्स रिक्वेस्टबारे कुनै पनि किसिमका प्रश्नहरू भए तिनीहरूले मण्डलीका सचिवलाई सम्पर्क राख्नेछन्।
८ अर्को अधिवेशनमा उपस्थित हुने: परिस्थितिले गर्दा तपाईं आफ्नो मण्डलीलाई खटाइएको अधिवेशनमा नभई अर्कै अधिवेशनमा उपस्थित हुनुपर्ने हुन सक्छ। अर्को अधिवेशनबारे जानकारी चाहिएमा कृपया यसबारे मण्डलीका सचिवसित कुरा गर्नुहोस्। भारतमा क्रमअनुसार बेग्ला-बेग्लै मितिमा सम्पन्न हुने चालु वर्षका अधिवेशनहरू र हरेक अधिवेशन मुख्यालयहरूको ठेगाना हाम्रो राज्य सेवकाई-को आगामी अंकमा प्रकाशित हुनेछन्। उपयुक्त ठेगानामा आफ्नो निवेदन पठाउनुहोस् र निवेदन सँगसँगै आफ्नो ठेगाना तथा टिकट टाँसेको खाम पनि राख्नुहोस्। सहरमा दुई वा त्योभन्दा बढी अधिवेशन सम्पन्न हुनेवाला छ भने, निवेदनमा तपाईं उपस्थित हुन चाहनुभएका अधिवेशनका मितिहरू उल्लेख गरिएका छन् कि छैनन् पक्का गर्नुहोस्। अधिवेशन हुने सहरका आवास विभागले तपाईंलाई सुझावित होटलहरू तथा त्यसका दरसूचीको नवीनतम सूची पठाइदिनेछन्।
९ लगभग २,५०० वर्षअघि आयोजित यहोवाका जनहरूको अधिवेशनमा एज्रा अनि तिनका सँगी लेवीहरूले परमेश्वरको वचन पढ्नुका साथै भेला भएका मानिसहरूलाई यसको अर्थ बुझाइदिए। परिणाम? नहेम्याह ८:१२ हामीलाई यसो भन्छ, “सबै मानिसहरू . . . धूमधामसित उत्सव मनाउन गए। किनभने तिनीहरूलाई सम्झाएको कुरा तिनीहरूले बुझे।” एज्रा अनि लेवीहरूले जस्तै अभिषिक्त दास वर्गले परमेश्वरको वचनको अर्थ बुझाउनुका साथै जीवनमा यसलाई कसरी लागू गर्न सकिन्छ भनेर देखाइदिएकोमा के हामी कृतज्ञ छैनौं र? यसो गरेर दासले आफ्ना सम्पूर्ण जनहरूप्रति यहोवाको अनुपम प्रेम र चासो झल्काउँछन्। “परमेश्वरसित हिंड्नुहोस्” जिल्ला अधिवेशनको कुनै पनि दिन नछुटाउने दृढ निश्चय गर्नुहोस्।
[पृष्ठ ३-मा भएको पेटी]
कार्यक्रम समय
शुक्रबार र शनिबार
बिहान ९:३० - लगभग साँझ ५:१० सम्म
आइतबार
बिहान ९:३० - लगभग साँझ ४:०५ सम्म
[पृष्ठ ४-मा भएको पेटी]
तपाईं कसरी आवासका प्रबन्धहरूमा सहयोग गर्न सक्नुहुन्छ
◼ सुझावित होटलहरूको सूचीमा भएका सम्पूर्ण होटलहरूलाई फोन गरिसकेपछि यदि कुनै पनि होटलका कोठाहरू उपलब्ध छैनन् भने अथवा होटलसित केही समस्या भएको खण्डमा आफ्नो मण्डलीका सचिवलाई खबर गर्नुहोस्। तिनले तपाईंको अधिवेशनको आवास विभागसित कुरा गर्नुपर्छ।
◼ साँच्चै प्रयोग गर्नुहुने कोठाहरू मात्र रिजर्भ गर्नुहोस्।
◼ एक चोटि रिजर्भ गरिसकेपछि नबदल्नुहोस्।
◼ आवास विभागले डोरमेट्री किसिमको आवासको मात्र प्रबन्ध मिलाउनेछ। त्यसकारण, कृपया होटल बुकिङ गर्नको लागि आवास विभागलाई पैसा नपठाउनुहोला।
◼ तपाईंहरूको निवेदनअनुसार डोरमेट्रीहरू बुकिङ गरिन्छ। त्यसैले, कृपया तपाईंलाई तोकिएको डोरमेट्रीमै बस्नुहोला। आफ्नो निवेदनमा उल्लेख गरिएभन्दा बढी व्यक्तिहरू डोरमेट्रीमा राख्न सकिन्छ भन्ने आशा नगर्नुहोस्।
◼ अधिवेशनबाट फर्किनुभन्दा अघि आवास विभागलाई आफू बसेको डोरमेट्रीको पूरा रकम बुझाउनुहोस्।