‘सुसमाचारको साक्षी दिनुहोस्’
१. हामीसित कस्तो सुसमाचार छ?
१ राम्रो समाचार सुन्न नपाएर जुग बित्न लागेको बेला हामीले भने “परमेश्वरको अनुग्रहको सुसमाचारको साक्षी” दिने विशेष मौका पाएका छौं। (प्रेरि. २०:२४) अब छिट्टै “आखिरी दिन” सकिएपछि परमेश्वरको नयाँ धार्मिक संसार बसालिनेछ, जहाँ “पहिलेका कुराहरू बितिसकेका” हुनेछन्। (२ तिमो. ३:१-५; प्रका. २१:४) त्यतिखेर रोगबिमार हुनेछैन। (यशै. ३३:२४) मरिसकेका प्रियजनहरू फेरि जीवित हुनेछन् र परिवार अनि मित्रहरूलाई भेट्नेछन्। (यूह. ५:२८, २९) पूरै पृथ्वी सुन्दर प्रमोदवन बनाइनेछ। (यशै. ६५:२१-२३) यी हामीसित भएको सुसमाचारका केही नमुना मात्र हुन्।
२. स्मरणार्थ उत्सवको मौसम सुसमाचार सुनाउने राम्रो मौसम किन हो?
२ मार्च, अप्रिल र मे महिना यस्तो सुसमाचार सुनाउने राम्रो मौका हो। संसारका धेरैजसो ठाउँमा यी महिनाहरूमा दिन लामो अनि मौसम पनि अनुकूल हुने भएकोले प्रचार कार्यमा धेरै समय बिताउन सकिन्छ। यसबाहेक, मार्च २२ तारिख शनिबारको दिन सूर्यास्तपछि हामी वर्षकै सबैभन्दा महत्त्वपूर्ण चाड स्मरणार्थ उत्सव मनाउँदैछौं। त्यसैले यी तीन महिना धेरैभन्दा धेरै समय प्रचार गरेर बिताउन हामी अहिलेदेखि तयारी सुरु गरौं।
३. परिवारको सबै जनाले साबिकभन्दा धेरै समय प्रचारमा बिताउन के गर्न सक्छन्?
३ सहायक अग्रगामी: के तपाईं एक, दुई वा तीन महिना सहायक अग्रगामी सेवा गर्न सक्नुहुन्छ? अर्को पटक पारिवारिक अध्ययन गर्दा यसबारे छलफल गरे कसो होला? सबैले सहयोग गरेमा परिवारको कुनै एक जनाले वा सोभन्दा धेरैले सहायक अग्रगामी सेवा गर्नु सम्भव हुन सक्छ। (हितो. १५:२२) कृपया यसबारे प्रार्थना गर्नुहोस् र यहोवाले कस्तो बाटो देखाउनुहुन्छ, हेर्नुहोस्। (हितो. १६:३) परिवारमा सहायक अग्रगामी सेवा गर्न सक्ने अवस्थामा कोही छैन भने पनि परिवारका सबै सदस्यले यी तीन महिना अरू बेलामा भन्दा धेरै समय प्रचार कार्यमा बिताउने एउटा निश्चित लक्ष्य बनाउन सक्छन् र मण्डलीमा अग्रगामी सेवा गर्न सक्ने भाइबहिनीसित काम गर्न सक्छन्।
४. दिनभरि जागीर खाने व्यक्तिले समेत के गरेर सहायक अग्रगामी सेवा गर्न सक्छन्?
४ यदि तपाईं दिनभरि जागीर खानुहुन्छ भने, राम्रो तालिका बनाएर सहायक अग्रगामी सेवा गर्ने समय निकाल्न सक्नुहुन्छ। जस्तै, दिउँसो खाजा खाने समयलाई प्रचार कार्यमा लगाउन सकिन्छ। अथवा घर या अफिस नजीकैको इलाका लिएर काम सुरु हुनुअघि अनि सिद्धिएपछि एक दुई घण्टा प्रचार गर्न सकिन्छ। त्यसैगरि, कम महत्त्वपूर्ण कामहरूलाई अर्को महिनातिर सारेर पनि तपाईंले थप समय निकाल्न सक्नुहुन्छ भने शनिबार वा आइतबार दिनभरि प्रचार गर्न सक्नुहुन्छ। अझ कसै-कसैले एक-दुई दिन छुट्टी लिएर पनि समय पुऱ्याएका छन्।
५. वृद्ध वा अशक्त भाइबहिनीलाई सहायक अग्रगामी सेवा गर्न तपाईं कसरी मदत गर्न सक्नुहुन्छ?
५ यदि तपाईं निकै उमेर पाकिसकेको प्रकाशक हुनुहुन्छ र बुढेसकालले गर्दा त्यति हिंडडुल गर्न सक्नुहुन्न अनि छिट्टै थाक्नुहुन्छ भने हरेक दिन थोरै-थोरै प्रचार गरेर सहायक अग्रगामी सेवा गर्न सक्नुहुन्छ। यहोवासित “सर्वश्रेष्ठ शक्ति” माग्नुहोस्। (२ कोरि. ४:७, NRV) हाम्री एउटी बहिनीले १०६ वर्षको उमेरमा पनि सहायक अग्रगामी सेवा गर्न सकेकी छिन्। आफ्ना मसीही नातेदार अनि मण्डलीका अरू भाइबहिनीको मदत लिएर तिनले घर-घर प्रचार गरिन्, पुनःभेट अनि बाइबल अध्ययनमा गइन् र अरू विभिन्न तरिकाले प्रचार कार्यमा भाग लिइन्। तिनको मदतले गर्दा दस जना मान्छेसित बाइबल अध्ययन सुरु गर्न सकियो। सहायक अग्रगामी सेवा गरेर आफूले पाएको आनन्दबारे तिनी यसो भन्छिन्: “सहायक अग्रगामी सेवा गर्ने यस्तो राम्रो मौकाले गर्दा यहोवा, उहाँको पुत्र अनि उहाँको मायालु संगठनप्रति मेरो माया अनि कृतज्ञता अझ बढेको छ। मलाई यस्तो राम्रो मौका दिएकोमा म यहोवालाई हृदयदेखि धन्यवाद दिन्छु।”
६. स्कूलमा पढ्दै गरेका बप्तिस्माप्राप्त केटाकेटीले पनि कसरी सहायक अग्रगामी सेवा गर्न सक्छन्?
६ स्कूलमा पढ्दै गरेका बप्तिस्माप्राप्त केटाकेटीले पनि सहायक अग्रगामी सेवा गर्न सक्छन्। दिनभरि जागीर खाने भाइबहिनीले जस्तै स्कूलमा पढ्ने केटाकेटीले पनि विशेषगरि शनिबार वा आइतबार पूरै दिन प्रचार गरेर अग्रगामी सेवा गर्न सक्छन्। यसबाहेक कुनै-कुनै दिन छुट्टी भएपछि साँझतिर एक-दुई घण्टा प्रचार गर्न सक्छन्। अथवा सार्वजनिक बिदाको दिनमा पनि प्रचारमा जान सकिन्छ। यदि तपाईं यसरी सहायक अग्रगामी सेवा गर्न चाहनुहुन्छ भने, आमाबुबासित कुरा गर्नुहोस्।
७. स्मरणार्थ उत्सवको बेला भाइबहिनीको हौसला बढाउन प्राचीनहरूले के गर्न सक्छन्?
७ हौसला बढाउनुहोस्: प्राचीनहरू आफैले उदाहरण बसालेर मण्डलीका भाइबहिनीको हौसला बढाउन सक्छन्। (१ पत्रु. ५:२, ३) बिहान सबेरै अथवा स्कूल वा अफिसपछि प्रचारमा जान चाहने भाइबहिनीका लागि प्राचीनहरूले क्षेत्र सेवाको सभा सञ्चालन गर्ने योजना बनाउन सक्छन्। सेवा निरीक्षकले यी सभाहरू सञ्चालन गर्न योग्य प्रकाशक खटाउनुपर्छ र तीन महिनासम्म चल्ने यस्तो विशेष प्रचार अभियानका लागि पर्याप्त इलाका, पत्रिका अनि साहित्यको व्यवस्था मिलाउनुपर्छ।
८. एउटा मण्डलीको उदाहरणबाट हामी के सिक्न सक्छौं?
८ एउटा मण्डलीका प्राचीनहरूले स्मरणार्थ उत्सव हुनुभन्दा केही महिना अघिदेखि नै भाइबहिनीलाई सहायक अग्रगामी सेवा गर्न प्रोत्साहन दिन थालेछन्। मण्डलीमा कति जनाले सहायक अग्रगामी सेवा गर्ने सुअवसर पाए, ती प्राचीनहरूले हरेक हप्ता घोषणा पनि गराएछन्। साबिकभन्दा धेरै समय प्रचारमा बिताउन चाहने भाइबहिनी यस्तो घोषणाले गर्दा प्रचारमा जानेबेला साथी नपाउने समस्या नहुने रहेछ भनेर ढुक्क हुन सके। यसबाहेक, ती प्राचीनहरूले बिहान सबेरै अनि साँझपख प्रचारमा जान चाहने भाइबहिनीको निम्ति क्षेत्र सेवाको सभा सञ्चालन गर्ने प्रबन्ध पनि मिलाए। प्राचीनहरूले यस्तो राम्रो अगुवाइ लिएको हुनाले अप्रिल महिनामा ५३ जनाले अर्थात् मण्डलीको झण्डै आधा प्रकाशकले सहायक अग्रगामी सेवा गरे। तथापि, कुनै-कुनै इलाकामा हाम्रा भाइबहिनीले विरोधको सामना गरिरहेका छन्। यस्ता ठाउँका प्राचीनहरूले आफ्नो मण्डलीलाई धेरै प्रोत्साहन दिनुपर्छ। खुलेआम घर-घर प्रचार गर्न मिल्ने परिस्थिति नभएकोले पत्राचार वा टेलिफोन गरेर साक्षी दिने वा त्यस्तै अन्य तरिका सेवा सभामा प्रदर्शनी देखाउन सकिन्छ।
९. सुसमाचारको प्रचारक बन्न योग्य व्यक्तिहरूका लागि स्मरणार्थ उत्सवको मौसम किन प्रकाशक बन्ने राम्रो मौका हो?
९ प्रचारमा भाग लिन मदत गर्नुहोस्: हाम्रा बाइबल विद्यार्थी अनि केटाकेटी, प्रकाशक बन्न योग्य भइसकेका छन् भने तिनीहरूलाई अनुभवी प्रकाशकहरूसित प्रचारमा जान निम्त्याउन सकिन्छ। स्मरणार्थ उत्सवको बेला थुप्रै भाइबहिनीले प्रचार कार्यमा धेरै समय बिताउने हुँदा यो मौसम पारेर हाम्रा विद्यार्थी अनि केटाकेटीलाई प्रकाशक बनाउनु राम्रो हुन सक्छ। के तपाईंको प्रगतिशील बाइबल विद्यार्थीले यहोवाको धार्मिक स्तरबमोजिम जीवन बिताइरहेको छ? के तपाईंको छोराछोरीको बानिबेहोरा राम्रो छ? अनि के उसले प्रकाशक बन्न चाहिने उन्नति गरिरहेको छ? यदि तपाईंको बाइबल विद्यार्थी र छोराछोरी बप्तिस्मा अप्राप्त प्रकाशक बन्न इच्छुक छन् र उनीहरू योग्य छन् भन्ने लाग्छ भने, कुनै एक प्राचीनलाई खबर गर्नुहोस्। त्यसपछि, मण्डलीका अध्यक्षले दुई जना प्राचीनलाई खटाउनेछन् र तिनीहरूले तपाईं अनि तपाईंको बाइबल विद्यार्थी वा छोराछोरीसित बसेर बप्तिस्मा अप्राप्त प्रकाशक हुन के-के गर्नुपर्छ, त्यो छलफल गर्नेछन्।
१०. निष्क्रिय प्रकाशकहरूलाई प्राचीनहरूले कसरी मदत गर्न सक्छन्?
१० निष्क्रिय भइसकेका प्रकाशकहरूका लागि पनि आउँदा महिनाहरू पुनः सक्रिय भएर भाइबहिनीसित प्रचारमा जाने राम्रो मौका हो। यस सन्दर्भमा मण्डली पुस्तक अध्ययन निरीक्षक अनि अरू प्राचीनले चासो लिएर निष्क्रियहरूलाई भेट्ने सक्दो कोसिस गर्नुपर्छ र तिनीहरूलाई आफूसँगै प्रचारमा जाने न्यानो निमन्त्रणा दिनुपर्छ। तर निष्क्रिय भएको निकै समय भइसकेको छ भने पहिला दुई जना प्राचीनले भेटेर तिनी प्रचारकार्यमा भाग लिन योग्य छन् कि छैनन् भनेर पक्का गर्नुपर्छ।—km-NP ११/०० पृ. ३.
११. “परमेश्वरको अनुग्रह”-को सर्वोत्तम अभिव्यक्ति के हो?
११ स्मरणार्थ उत्सवको लागि तयारी गर्नुहोस्: छुटकाराको बलिदान “परमेश्वरको अनुग्रह”-को सर्वोत्तम अभिव्यक्ति हो। (प्रेरि. २०:२४) मार्च २२ तारिख शनिबारको दिन सूर्यास्तपछि संसारभरिका लाखौं कृतज्ञ मानिसहरू ख्रीष्टको मृत्युको स्मरणार्थ उत्सव मनाउन भेला हुनेछन्। यहोवाले मानवजातिमाथि देखाएको अतुलनीय अनुग्रहको प्रमाण दिने यस्तो महत्त्वपूर्ण उत्सवमा सबै सोझा मानिसलाई हामी निमन्त्रणा दिन चाहन्छौं।
१२. हामीले क-कसलाई स्मरणार्थ उत्सवको निम्तो दिनुपर्छ?
१२ क-कसलाई निम्तो दिने सूची बनाउनुहोस्। तपाईं आफ्नो नातेदार, छिमेकी, अफिस वा स्कूलका साथी, भूपू बाइबल विद्यार्थी अनि अहिले तपाईंसित अध्ययन गरिरहेका व्यक्तिलगायत नियमित भेटघाट भइरहने सबैलाई निम्तो दिन सक्नुहुन्छ। निम्तो दिंदा यदि कसैले स्मरणार्थ उत्सवबारे सोध्यो भने, बाइबलले सिकाउँछ किताबको पृष्ठ २०६-२०८ पल्टाएर प्रभुको साँझको भोजबारे त्यहाँ के लेखिएको छ, बताउन सक्नुहुन्छ। हामी यही किताब चलाएर बाइबल अध्ययन गर्छौं। त्यसैले यसरी किताब खोलेर देखाउँदा तिनीहरूसित बाइबल अध्ययन सुरु गर्ने बाटो खोलिन सक्छ।
१३. स्मरणार्थ उत्सवमा अरूलाई निम्तो दिने कोसिस गर्ने दुई प्रकाशकहरूलाई यहोवाले कसरी आशिष् दिनुभयो?
१३ हाम्रो एक जना मसीही बहिनीले क-कसलाई निम्तो दिने भनेर सूची बनाउँदा ४८ परिवारको नाउँ जम्मा भएछ। त्यसपछि तिनले पालैसित निम्तो दिन थालिन् र निम्तो दिएपछि आफ्नो सूचीमा निम्तो दिएको मिति लेखेर चिनो लगाउने गरिन्। तिनको यस्तो प्रयासले गर्दा स्मरणार्थ उत्सवमा २६ जना निम्तालुहरू उपस्थित भए! त्यसैगरि एक जना भाइले आफ्नो पसलमा काम गर्ने एक जना कामदार—चर्चको भूपू पास्टरलाई निम्तो दिएछन्। स्मरणार्थ समारोहपछि ती कामदारले खुसी हुँदै यसो भने, “क्याथोलिक चर्चमा मैले बितेको ३० वर्षमा बाइबलबारे जतिसिकें त्योभन्दा धेरै त यहाँ एक घण्टामै सिकें।” यसको केही समयभित्रै तिनले बाइबलले सिकाउँछ किताबबाट बाइबल अध्ययन गर्न थाले।
१४. मार्च १ तारिखदेखि कस्तो विश्वव्यापी अभियान सुरु हुनेछ?
१४ अभियान: मार्च १ तारिख शनिबारदेखि मार्च २२ तारिखसम्म सारा संसारभरि स्मरणार्थ उत्सवको विशेष निमन्त्रणा पर्चा वितरण गर्ने अभियान चल्नेछ। यस्तो महत्त्वपूर्ण अभियानमा सबै भाइबहिनीले दिलोज्यानले भाग लेऊन् भनेर हामी चाहन्छौं। अभियानको बेला सकेसम्म घरधनीलाई भेटेरै पर्चा दिनु बेस हुन्छ। तर इलाका ठूलो छ भने भेटघाट हुन नसकेका घरधनीहरूको घर-घरमा अरूले नदेख्ने गरी पर्चा छोडेर जान मिल्छ कि मिल्दैन प्राचीनहरूले विचार गरेर मण्डलीलाई सूचना दिन सक्छन्। शनिबार वा आइतबार सार्वजनिक बिदाको दिन हामी यो निम्तो पर्चासँगै ताजा पत्रिकाहरू पनि दिनेछौं।
१५. हामी कसरी स्मरणार्थ उत्सवको निम्तो दिन सक्छौं?
१५ हामीले तोकिएको समयभित्रै निम्तो बाँड्नुपर्ने भएकोले घरधनीसित सकेसम्म छोटो कुरा गर्नु बेस हुन्छ। घरधनीसित मित्रैलो अनि उत्साही भएर कुरा गर्नुहोस्। घरधनी हाम्रो कुरा सुन्न इच्छुक छन् भन्ने पक्का भएपछि तपाईं यसो भन्न सक्नुहुन्छ: “मार्च २२ तारिख हामी एउटा महत्त्वपूर्ण उत्सव मनाउँदैछौं र हामी तपाईं, तपाईंको परिवार अनि साथीभाइलाई त्यसको निम्तो दिन चाहन्छौं। उत्सवको समय र स्थान यो निम्तो पर्चामै दिइएको छ।” हामीले यसरी निम्तो दिंदा कुनै-कुनै घरधनीले सायद केही प्रश्न गर्न सक्छन् अथवा केहीले चाहिं निम्तो स्वीकारेर उपस्थित हुने वचन दिन सक्छन्। जे-होस्, चासो दिने घरधनी भेट्टाउनुभयो भने तिनको नाउँ टिपेर फेरि भेट्ने समय मिलाउनुहोस्।
१६. स्मरणार्थ उत्सवको निम्तो दिने अभियान, जोडतोडले भाग लिनुपर्ने अभियान हो भनेर कस्तो उदाहरणले प्रकट गर्छ?
१६ गत वर्षको कुरा हो, एक जना सिपाहीले आफ्नो घरको ढोकामा स्मरणार्थ उत्सवको निम्तो फेला पारेछन्। निम्तो पढेपछि तिनले आफ्नो अफिसरको अनुमति लिएर उपस्थित हुने विचार गरे। निम्तो पर्चा देखाउँदा त अफिसर हुन्छ/हुँदैन केही जवाफ नदिई केही बेर घोरिएर पो बसेछन्। त्यसपछि ती अफिसरले ‘मेरा बुबाआमा पनि यहोवाका साक्षी हुन्, म पनि पहिले-पहिले उहाँहरूसँगै सभामा जाने गर्थें’ भने। खुसीको कुरा, उक्त अफिसरले ती सिपाहीलाई अनुमति दिए र आफू पनि सँगै स्मरणार्थ उत्सवमा गए।
१७. परमेश्वरको अनुग्रहलाई व्यर्थैमा लिएका छैनौं भनेर हामी कसरी देखाउन सक्छौं?
१७ आभार व्यक्त गर्नुहोस्: सन् २००८ सालको स्मरणार्थ उत्सव अब धेरै टाढा छैन। त्यसैले यहोवाको अनुग्रह सम्झँदै, के गर्ने हो, हामी अहिलेदेखि योजना बनाउन सुरु गरौं। “हामी तिमीहरूलाई आग्रहपूर्वक बिन्ती पनि गर्छौं, कि परमेश्वरको अनुग्रह व्यर्थैमा ग्रहण नगर” भनेर प्रेरित पावलले लेखे। (२ कोरि. ६:१) यहोवाको अनुग्रहलाई व्यर्थैमा लिएका छैनौं भनेर हामी कसरी देखाउन सक्छौं? पावलले यसरी जवाफ दिए: “तर हरतरहले हामी आफैलाई परमेश्वरका सेवकहरू हौं भन्ने देखाउँछौं।” (२ कोरि. ६:४, NRV) त्यसैले आउनुहोस्, यहोवाले दिएको अमूल्य उपहारका लागि कत्तिको धन्यवादी छौं भनेर हामी आफ्नो असल आचरणद्वारा अनि जोसिलो भई सुसमाचार प्रचार गरेर देखाऔं। अब सुरु हुने स्मरणार्थ उत्सवको मौसम सुसमाचारको साक्षी दिएर हाम्रो गतिविधी बढाउने सर्वोत्तम मौका हो भनेर हामी नबिर्सौं।
[पृष्ठ ७-मा भएको पेटी]
क-कसले सहायक अग्रगामी सेवा गर्न सक्छन्?
◼ परिवारले
◼ दिनभरि जागीर खानेले
◼ उमेर पाकिसकेका भाइबहिनीले
◼ स्कूलमा पढ्ने भाइबहिनीले
[पृष्ठ ८-मा भएको पेटी]
स्मरणार्थ उत्सवको निम्तो दिंदा:
◼ छोटो कुरा गर्नुहोस्; उत्साही भएर बोल्नुहोस्
◼ चासो दिने घरधनीको नाउँ टिप्नुहोस्, फेरि भेट्न जानुहोस्
◼ शनिबार वा आइतबार, सार्वजनिक बिदाको दिन पर्चासँगै पत्रिका पनि दिनुहोस्