के तपाईं अनौपचारिक साक्षी दिने काममा भाग लिनु हुने छ?
१ मानिसहरू सँग यहोवाबारे कुरा गर्ने निश्चित समयहरू पनि हाम्रो जीवनको नियमित क्रममा समावेश छन्। औपचारिक तवर्मा घरघर गएर साक्षी दिन, पुनः भेटमा जान, तथा गृह बाइबल अध्ययन सञ्चालन गर्नका लागि हामी समय छुट्टाउँछौं। तथापि, मानिसहरू सँग सत्यबारे कुराकानी गर्ने अरू धेरै नै कम औपचारिक अवसरहरू पनि हुन्छन्। यस प्रकारका प्रचारलाई हामी अनौपचारिक साक्षी दिने भन्दछौं।
२ कतिपय प्रकाशकहरूले यस प्रकारका सेवकाईमा भाग लिने धेरै मौकाहरू पाउँदछन्। सम्मेलनहरूबाट आउजाउ गर्दा, बिदामा छँदा, अथवा आफन्तहरूलाई भेट्न जाँदा हामी सबैले यस प्रकारका अवसरहरू प्रति सजग हुने प्रयत्न गर्न सक्तछौं। के तपाईं अनौपचारिक साक्षी दिने मौकाको फाइदा उठाउँनु हुने छ?
३ अग्रिम योजनाहरू बनाउँनु होस्: तयारी तथा अग्रविचार पुऱ्यायौं भने हामी यो अनौपचारिक साक्षी दिने कार्यलाई एउटा प्रभावशाली ढङ्गमा गर्न सक्षम हुने छौं। यसका लागि, हामीलाई मद्दत दिन विभिन्न प्रकाशनहरू हामीलाई उपलव्ध छन्। प्रहरीधरहरा तथा अवेक! बाहेक, मानिसहरूमा चासो जगाउने किसिमका विचारोद्दिपक शीर्षकहरू भएका पर्चाहरू पनि हामीसित छन्। विभिन्न पृष्ठभूमि तथा धर्महरूका मानिसहरूलाई मन पर्ने पुस्तिकाहरू पनि छन्। साथै हामीकहाँ खल्तीमा सजिलै सँग अटाउने पुस्तकहरू पनि छन् जसमा वर्तमान चासोका विषयहरू बारे छलफल गरिएका छन्। कुन चाहिं प्रकाशनको प्रयोग गर्न तपाईंलाई सजिलो लाग्छ? त्यस विषयलाई सपरिवार बसेर विचार गर्नुहोस्। तत्पश्चात उपयुक्त अवसरमा तपाईंले के भन्नु हुने हो, त्यसलाई अभ्यास गर्नु होस्।
४ बिदामा छँदा: अनौपचारिक साक्षी दिने बढिया समय बिदामा छँदा पाइन्छ। के तपाईं हवाई जहाज, रेल, वा बसद्वारा यात्रा गर्ने योजना बनाउँनु हुँदैछ? त्यसो भए आफूसँग एउटा बाइबल लगायत उक्त उल्लेखित प्रकाशनहरू मध्ये कुनै एउटा बोक्नु होस्। सार्वजनिक यातायात साधनहरूमा यात्रा गर्ने बेलामा यस प्रकारका प्रकाशनहरू पढ्दा प्रायः वार्तालापहरू सुरु गर्न सकिन्छ। तपाईं मोटरद्वारा यात्रा गर्नु हुँदै छ भने, ग्यास वा पेट्रोल भर्ने स्टेशनमा वा खाना खाने ठाउँमा रोकिनु हुँदा वा होटलमा बास बस्नु हुँदा, तपाईं के भन्न सक्नु हुन्छ सो विचार गर्नुहोस्। यस्ता अवसरहरूमा, चासो देखाउने मानिसहरूलाई दिन तपाईंले आफूसँग अलिकता पर्चाहरू पनि राख्न सक्नुहुन्छ। तपाईं कुनै सुन्दर दृश्य भएको राजमार्गको बिसाउनीमा हुनुहुन्छ भने, सायद कसैलाई यो प्रश्न सोद्धनु हुँदै तपाईंले साक्षी दिन थाल्न सक्नु हुन्छ: “यदि सारा पृथ्वी यस्तै देखिन्दो हो ता रमाइलो हुने थियो, हैन र?” तपाईं एउटा समुद्रको सुन्दर तट वा पार्कमा हुनुहुन्छ भने पनि सोही प्रकारको परिचयलाई प्रयोग गर्न सकिन्छ।
५ जिल्ला सम्मेलनमा: जिल्ला सम्मेलनमा पनि हामीले अनौपचारिक साक्षी दिने अवसर पाउन सक्छौं। धेरै जनाले मोटेल तथा होटलका कर्मचारीहरू सँग कुराकानी गर्दा वा सडकहुँदो वा बस बिसौनीमा उभिंदा मानिसहरू सँग कुराकानी गर्नमा सफलता प्राप्त गरेका छन्। सम्मेलनभरि एउटा बिल्ला अवश्य लगाउँनु होला। सायद तपाईं स्थानीय खाना खाने ठाउँहरूमा तथा पसलहरूमा किनमेल गर्न जानु हुँदा मानिसहरूले तपाईंको बिल्लाबारे तपाईंलाई सोध्न सक्छन्। परिणामस्वरूप असल साक्षी दिने मौका तपाईंले पाउँन सक्नु हुन्छ।
६ आउँदो महिनाहरूले हामीलाई स्फूर्ति तथा आराम प्रदान गर्न सक्छ होला, तर अनौपचारिक साक्षी दिने मौकाहरूलाई हामी अवहेलना नगरौं। प्रचार गर्ने यो विधि फलदायक हुन्छ। तथा यहोवाका सेवकहरूले यसमा भाग लिनु उचित छ। सङ्गी मानवहरूका लागि हामीमा भएको प्रेमले येशूलाई झैं हामीलाई पनि प्रत्येक उपयुक्त अवसरमा कुरा गर्ने प्रेरणा देओस्!—मत्ती ५:१४-१६.