के तपाईं अनौपचारिक साक्षी दिन तयार हुनुहुन्छ?
१. अनौपचारिक साक्षी प्रभावकारी हुनसक्छ भनेर कस्तो उदाहरणले देखाउँछ?
१ अनौपचारिक साक्षी धेरै प्रभावकारी हुनसक्छ। अनौपचारिक साक्षी दिंदा राम्रा नतिजा प्राप्त भएका थुप्रै उदाहरणहरू बाइबलमा दिइएका छन्। (यूह. ४:७-१५) यस्तो साक्षी दिने तयारी गर्न हामी के गर्न सक्छौं?
२. हाम्रो बाहिरी रूपले साक्षी दिन कसरी मदत गर्न सक्छ?
२ पहिरन र कोरीबाटी: हर समय आफ्नो पहिरन र कोरीबाटीलाई उचित ध्यान दिंदा निर्धक्क भई अरूलाई आफ्नो विश्वास बताउन सक्नेछौं। (१ तिमो. २:९, १०) यदि हामी आफ्नो बाहिरी रूपप्रति असहज महसुस गर्छौं भने सायद साक्षी दिन पछि हट्नेछौं। त्यसको ठीक उल्टो, यदि हाम्रो रूपरङ चिटिक्क मिलेको सफा छ भने अरूहरू आफै जिज्ञासु भएर त्यसको कारण सोध्न सक्छन्। उदाहरणको लागि, यात्रा गर्दा चट्ट मिलेको लुगा लगाएका एक साक्षी दम्पत्ति एक जना मुस्लिमको छेऊमा बसेका थिए। उनीहरूको बाहिरी रूप देखेर उक्त व्यक्तिले तपाईंहरू ख्रीष्टियान हो भनेर सोधे। यसले गर्दा तीन घण्टासम्म बाइबल छलफल हुनगयो।
३. येशूको उदाहरण पछ्याउँदै तपाईंले कसरी कुराकानी सुरु गर्नुभएको छ?
३ कुराकानी सुरु गर्नुहोस्: येशूले याकूबको इनारनिर सामरी स्त्रीलाई भेट्दा पानी देऊ भन्ने साधारण अनुरोध गरेर कुराकानी थाल्नुभएको थियो। त्यसैगरी, हामीले पनि एक शब्द बोलेर अथवा साधारण प्रश्न सोधेर कुराकानी सुरु गर्न सक्छौं। कहिलेकाहीं हामी हच्किन्छौं होला। त्यसोभए तापनि यहोवाको मदतमा भर पर्दा हामी ‘निर्भयी’ भएर कुराकानी सुरु गर्न सक्छौं।—१ थिस्स. २:२.
४. हामी कसरी अनौपचारिक साक्षी दिन तयार हुन सक्छौं?
४ मौका खोज्नुहोस्: थुप्रै प्रकाशकले अनौपचारिक साक्षी दिने तरिकाहरू भेट्टाएका छन्। आफ्नो वरपरको अवस्थालाई जाँच्नुहोस् र दिनहुँजसो भेटिने मानिसहरूबारे विचार गर्नुहोस्। उपयुक्त साहित्य अनि सम्भव भए बाइबल पनि बोक्नुहोस्। अवलोकी हुनुहोस् र आफू वरपर भएका मानिसहरूप्रति चासो देखाउनुहोस्। दिनभरिमा के-कस्तो मौका भेटिन सक्छ त्यसबारे पहिल्यै सोच्नुभयो भने सायद तपाईं राम्रो साक्षी दिन तयार हुनुहुनेछ।—फिलि. १:१२-१४; १ पत्रु. ३:१५.
५. अनौपचारिक साक्षीलाई हामीले मौका पाएपछि मात्र गरौंला नि भनेर किन छाड्नु हुँदैन?
५ अनौपचारिक साक्षी दिने मौकाको फाइदा उठाउने हामीसित दुईटा राम्रो कारण छ—परमेश्वरप्रतिको प्रेम र छिमेकीप्रतिको प्रेम। (मत्ती २२:३७-३९) प्रचारकार्य यथाशीघ्र गर्नुपर्ने भएकोले अनौपचारिक साक्षी दिने कुरालाई मौका पाएपछि मात्र गरौंला नि भनेर छाड्नु हुँदैन। समय छँदै अरूलाई राज्यको सुसमाचार बाँड्ने हरेक उचित मौकाको फाइदा उठाउन हामी तयार हुनुपर्छ।—रोमी १०:१३, १४; २ तिमो. ४:२.