प्रशंसाले स्फूर्ति दिन्छ
१ सुत्ने बेलामा एउटी सानी बच्ची “के म आज ज्ञानी भइनँ?” भन्दै रोई। त्यस प्रश्नले उनकी आमालाई छक्कै पाऱ्यो। त्यो दिन आफ्नी छोरीले ज्ञानी हुने कोसिस गरेको देख्दा-देख्दै पनि आमाले प्रशंसाको एक शब्द पनि मुखबाट निकालेकी थिइनन्। प्रशंसा नपाएपछि रोएकी उक्त सानी बच्चीको घटनाले चाहे हामी जवान हौं या वृद्ध, सबैलाई प्रशंसा चाहिन्छ भन्ने कुरा सम्झाउँछ। के हामी आफू वरपरका मानिसहरूले गर्ने असल कामको लागि प्रशंसा व्यक्त गरेर उनीहरूलाई स्फूर्ति प्रदान गर्छौं?—हितो. २५:११.
२ सँगी मसीहीहरूले उनीहरूको प्रशंसा गर्ने थुप्रै जायज कारणहरू दिन्छन्। प्राचीन, सेवकाई सेवकहरू र अग्रगामीहरूले आफ्ना जिम्मेवारीहरू पूरा गर्न कडा मेहनत गर्छन्। (१ तिमो. ४:१०; ५:१७) ईश्वरभीरु आमाबाबुले आफ्ना छोराछोरीलाई यहोवाको मार्गमा हुर्काउन सक्दो कोसिस गर्छन्। (एफि. ६:४) मसीही युवाहरूले “संसारको आत्मा[को]” प्रतिरोध गर्न कडा संघर्ष गर्छन्। (१ कोरि. २:१२; एफि. २:१-३) अरूले चाहिं वृद्धावस्था, स्वास्थ्य समस्या वा अन्य परीक्षाहरूको बावजुद विश्वासी भई यहोवाको सेवा गर्छन्। (२ कोरि. १२:७) यस्ता व्यक्तिविशेषहरू सबै नै प्रशंसा गरिन लायक छन्। के हामी तिनीहरूको प्रशंसायोग्य प्रयासको मूल्यांकन गर्छौं?
३ व्यक्तिगत तथा तोकेरै: मञ्चबाट गरिने प्रशंसाको हामी सबै जना साँच्चै मूल्यांकन गर्छौं। तथापि, व्यक्तिगत रूपमा हाम्रो प्रशंसा गरिंदा त्यो झनै स्फूर्तिदायी हुन्छ। उदाहरणका लागि, रोमीहरूलाई लेखेको आफ्नो पत्रको १६ औं अध्यायमा पावलले फिबी, प्रिस्का र अक्वीला, त्रिफेना र त्रिफोसा तथा परसीसजस्ता व्यक्तिहरूबारे तोकेरै प्रशंसाका शब्दहरू व्यक्त गरे। (रोमी १६:१-४, १२) ती विश्वासी जनहरूका लागि तिनका शब्दहरू कत्ति स्फूर्तिदायी साबित भएको हुनुपर्छ! यस्तो प्रशंसाले हाम्रा भाइबहिनीहरूलाई उनीहरूको आवश्यकता छ भन्ने कुराको आश्वासन दिनुका साथै यसले हामीलाई उनीहरूसँग घनिष्ठ बनाउँछ। के तपाईंले हालै कसैको व्यक्तिगत रूपमा तोकेरै प्रशंसा गर्नुभएको छ?—एफि. ४:२९.
४ हृदयदेखि नै: साँच्चै स्फूर्तिदायी हुनको लागि प्रशंसा निश्छल हुनै पर्छ। हामीले साँच्चै हृदयदेखि भनिरहेका छौं वा ‘सर्काइ’ मात्र रहेका छौं भन्ने कुरा मानिसहरूले छुट्याउन सक्छन्। (हितो. २८:२३) जसै हामी अरूमा असल गुणहरू खोज्न आफूलाई प्रशिक्षण दिन्छौं, हाम्रो हृदय प्रशंसा गर्न उत्प्रेरित हुनेछ। “ठीक बेलामा भनिएको कुरा झन् कति असल हुन्छ” भन्ने कुरालाई मनमा राख्दै हामी साँचो प्रशंसा गर्न कन्जुस्याइँ नगरौं!—हितो. १५:२३.