असल हृदय भएकाहरूलाई मदत गर्नुहोस्
१. हाम्रो समयमा यहोवा आफैले कसलाई जम्मा गरिरहनुभएको छ?
१ मानिसको लाक्षणिक हृदयमा जे जरा गाढेर बसेको हुन्छ, त्यही नै उसको स्वभावमा झल्किन्छ। (मत्ती १२:३५) बाइबलले हृदय वा “मनमा चाहिं लडाइँ” हुने व्यक्तिबारे पनि बताउँछ। (भजन ५५:२१) कोही-कोहीचाहिं “गरम-मिजास भएको” हुन्छन्। (हितो. २९:२२) तर कोही-कोही भने “अनन्त जीवनका लागि नियुक्त भएकाहरू” पनि हुन्छन्। (प्रेरि. १३:४८) हाम्रो समयमा, यहोवाले यस्ता नियुक्त भएका व्यक्तिहरूलाई आफै जम्मा गरिरहनुभएको छ। (हाग्गै २:७) हामी कसरी तिनीहरूलाई यहोवाका उपासकहरू हुन मदत गर्न सक्छौं?
२. चेला बनाउने हाम्रो कार्यभार पूरा गर्नुमा कुन कुरा समावेश छ?
२ कर्तव्यनिष्ठ भई पुनःभेट गर्नुहोस्: चेला बनाउने हाम्रो कार्यभार पूरा गर्नको निम्ति पुनःभेटप्रति सही दृष्टिकोण राख्नु महत्त्वपूर्ण छ। (मत्ती २८:१९, २०) के हामी चासो देखाउने व्यक्तिलाई पुनःभेट गर्न लगनशील छौं? के हामी साहित्य स्वीकार्ने वा सुसमाचारप्रति चासो देखाउने सबै व्यक्तिहरूलाई फेरि भेट्न जान्छौं? के हामी उनीहरूलाई आध्यात्मिक तवरमा बढ्न निरन्तर मदत गरिरहन्छौं? जीवन मुछिएको हुनाले, आफूले भेट्ने इच्छुक व्यक्तिहरूको चासोलाई कायमै राख्न हामीले कोसिस गर्नुपर्छ।
३. सेवकाईमा कसैसित कुराकानी गरिसकेपछि हामीले के गर्नुपर्छ?
३ जिज्ञासु व्यक्तिसित गरेको कुराकानी तपाईंको मनमा ताजा हुँदै तिनको नाउँ तथा ठेगाना टिपिहाल्नुहोस्। छलफल गरिएको विषय, पढिएका कुनै पनि शास्त्रपद र प्रस्तुत गरिएको साहित्यबारे टिप्नुहोस्। त्यसपछि, जति सक्दो चाँडै पुनःभेट गर्न नभूल्नुहोस्।
४. हामी कसरी प्रभावकारी पुनःभेट गर्न सक्छौं?
४ पुनःभेट गर्ने: पुनःभेट गर्नुहुँदा, न्यानो तथा मित्रैलो हुनुका साथै घरधनीप्रति निष्कपट व्यक्तिगत चासो देखाउनु मदतकारी हुन्छ। छलफललाई सरल बनाउनुहोस् र धर्मशास्त्रीय विषयमा छलफल गर्नुहोस्। छलफलको लागि चाखलाग्दो बाइबल विषय तयारी गर्नुहोस् र पहिलो भेटको अन्तमा अर्को चोटि जवाफ दिने किसिमले एउटा प्रश्न सोध्नुहोस्। घरधनीले व्यक्त गर्ने गैरधर्मशास्त्रीय विचारधाराबारे अनावश्यक वादविवाद नगर्नु नै बेस हुन्छ। दुवैको सहमति भएका विषयमा कुरा गर्ने प्रयास गर्नुहोस्।—कल. ४:६.
५. एक जना अग्रगामीले कस्तो प्रयास गरे र त्यसको परिणाम कस्तो भयो?
५ पुनःभेट गर्न प्रयास चाहिन्छ तर त्यसो गर्दा पाइने इनाम सन्तोषप्रद हुन्छ। जापानका एक जना अग्रगामीले हरेक महिना धेरैभन्दा धेरै पुनःभेट गर्ने लक्ष्य राखे। उनले घर-घरको सेवकाईमा भेटेका सबै व्यक्तिको रेकर्ड राख्न थाले र सात दिनभित्र तिनीहरूकहाँ पुनःभेटको लागि गए। आफूले भन्नुपर्ने कुरा उनले राम्ररी तयारी गरे र आफूले सुनाउने सन्देशमा पूर्ण विश्वस्त हुँदै आफ्नो सेवकाईमा लागे। यस्तै एउटा पुनःभेटमा उनले एक जना व्यक्तिसित अध्ययन सुरु गर्न सके, जसले यसो भनेका थिए: “मैले पहिला-पहिला तपाईंहरूलाई सधैं त्यतिकै फर्काइदिन्थें। आजै हो मैले पहिलो चोटि तपाईंहरूको कुरा सुनेको।” उक्त अग्रगामीको मायालु लगनशीलताले असल परिणाम ल्यायो। महिनाको अन्तमा उनले दसवटा बाइबल अध्ययन रिपोर्ट गरेका थिए।
६. हामी किन पुनःभेट गर्ने सन्दर्भमा निरन्तर लागिरहनै पर्छ?
६ मानिसहरूको परिस्थिति सधैं परिवर्तन भइरहेको हुन्छ। (१ कोरि. ७:३१) इच्छुक व्यक्तिलाई तिनको घरमा फेरि भेट्नको लागि थुप्रै चोटि प्रयास गर्नुपर्ने हुन्छ। कर्तव्यनिष्ठ भई पुनःभेट गरेर हामी अनन्त जीवनको बाटोमा हिंड्न नियुक्त भएकाहरूलाई मदत गर्न सक्छौं।—मत्ती ७:१३, १४.