प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km04 फेब्रुअरी pp. ३-५
  • यहोवाको उदेकका कार्यहरूबारे घोषणा गरिरहनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको उदेकका कार्यहरूबारे घोषणा गरिरहनुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००४
  • मिल्दोजुल्दो सामग्री
  • ‘सुसमाचारको साक्षी दिनुहोस्‌’
    हाम्रो राज्य सेवकाई—२००८
  • ‘परमेश्‍वरको वचन सम्पूर्ण रूपले प्रचार गर्नुहोस्‌’
    हाम्रो राज्य सेवकाई—२००२
  • यहोवा नै सर्वश्रेष्ठ हुनुहुन्छ भनेर घोषणा गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००७
  • ४,००० सहायक अग्रगामीहरू चाहियो
    हाम्रो राज्य सेवकाई—१९९७
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००४
km04 फेब्रुअरी pp. ३-५

यहोवाको उदेकका कार्यहरूबारे घोषणा गरिरहनुहोस्‌

१. तपाईंले खास गरी मूल्याङ्‌कन गर्नुहुने यहोवाको उदेकका कार्यहरूमध्ये केही के-के हुन्‌?

१ हाम्रा महान्‌ परमेश्‍वर यहोवाजस्तो अरू कोही छैन! दाऊदले यस्तो लेखे: “हे परमप्रभु मेरा परमेश्‍वर, तपाईंले गर्नुभएको अचम्मका कामहरू र हामीतर्फको तपाईंको विचार धेरैनै छन्‌। तपाईंको सामने ती सम्झेर क्रमैसँग राख्नसकिंदैन। यदि तिनको विषयमा भनेर मैले बोले भनेता तिनको गन्ती हुनैसक्‍तैन।” (भज. ४०:५) यहोवाको उदेकका कार्यहरूमा ब्रह्‍माण्डको सृष्टि, मसीही राज्य, आफ्ना जनहरूप्रतिको करुणा अनि विश्‍वव्यापी प्रचार अभियान समावेश छन्‌। (भज. १७:७, ८; १३९:१४; दानि. २:४४; मत्ती २४:१४) यहोवाप्रतिको प्रेम र उहाँले गर्नुभएका सम्पूर्ण कुराहरूप्रतिको कृतज्ञताले हामीलाई उहाँको विषयमा अरूलाई बताउन घचघच्याउँछ। (भज. १४५:५-७) मार्च, अप्रिल र मे महिनाको दौडान हामी यसो गर्ने प्रशस्त सुअवसर पाउनेछौं।

२. सहायक अग्रगामी गरेर हामी कसरी व्यक्‍तिगत रूपमा लाभ उठाउन सक्छौं?

२ सहायक अग्रगामीको हैसियतमा: विशेष गतिविधिका यी महिनाहरूमध्ये एक वा त्योभन्दा बढी महिनाको दौडान के तपाईं सेवकाईमा ५० घण्टा बिताउन आफ्नो तालिका मिलाउन सक्नुहुन्छ? तपाईंले आफ्नो तालिकामा गर्नुहुने कुनै पनि छाँटकाँट पक्कै व्यर्थ जानेछैन। (एफि. ५:१६) सहायक अग्रगामी गर्दा आफ्नो सेवकाईको गुणस्तर बढाउन मदत गरेको कुरा थुप्रैले अनुभव गरेका छन्‌। उनीहरूलाई घर-घरको प्रचार गर्न सजिलो लाग्नुका साथै उनीहरूले बाइबल प्रयोग गर्ने धेरै अवसर पाउँछन्‌। सेवकाईमा धेरैभन्दा धेरै समय बिताउँदा आफूले भेट्‌ने इच्छुक व्यक्‍तिहरूलाई पुनःभेट गर्न सजिलो हुन्छ र पहिला बाइबल अध्ययन सञ्चालन गर्न नसकेकाहरूले सहायक अग्रगामी गर्दा एउटा भए पनि अध्ययन सुरु गर्न सकेका छन्‌। सहायक अग्रगामी गर्नुमा अरूलाई मदत गर्न आफू अग्रसर हुनु समावेश भएकोले यो एउटा आनन्दमय गतिविधि हो।—प्रेरि. २०:३५.

३. अप्ठ्यारा परिस्थितिहरूको बावजुद कसै-कसैले कसरी सहायक अग्रगामी गर्न सकेका छन्‌?

३ आफ्नो परिस्थितिले गर्दा सहायक अग्रगामी गर्न सक्दिनँ भन्‍ने निष्कर्षमा तुरुन्तै नपुगिहाल्नुहोस्‌। गत वर्ष सहायक अग्रगामी गरेका एक जना प्राचीनका दुई छोराछोरी छन्‌ र तिनी पूर्ण-समय जागिरे पनि हुन्‌। यी व्यस्त भाइले कसरी अग्रगामी गर्न सके? तिनी हप्तावारी काम गर्ने भएको कारण, तिनले सप्ताहन्तको दौडानचाहिं शनिबार-शनिबार बिहान ७ बजेदेखि नै सडक साक्षी कार्य सुरु गरेर लामो समयसम्म सेवकाईमा समय बिताउने योजना बनाए। त्यस्तै अवस्थामा भएका मण्डलीका अरू थुप्रैले पनि अग्रगामी गरे र उनीहरूले एक-अर्कालाई सहयोग गर्नुका साथै प्रोत्साहन दिए। अर्को मण्डलीमा चाहिं आफ्नी छोरीले सँगै काम गर्न निम्त्याएपछि ९९ वर्षकी एउटी बहिनीले मे महिनामा अग्रगामी गर्ने निधो गरिन्‌। मण्डलीका अरूले यी वृद्ध बहिनीलाई तिनको ह्विलचेयर ठेलिदिएर घर-घरको प्रचार र बाइबल अध्ययनहरूमा जान सघाए। तिनले टेलिफोन साक्षी, सडक साक्षीकार्य र पत्राचार गर्ने काममा पनि भाग लिइन्‌। यो काम तिनको आफ्नै बल-बर्कतमा नभई यहोवाको मदतद्वारा मात्र गर्न सकेको हो भन्‍ने कुरामा तिनी विश्‍वस्त छिन्‌।—यशै. ४०:२९-३१.

४. सहायक अग्रगामी गर्ने तालिका बनाउँदा हामीले कस्ता पक्षहरूलाई विचार गर्नुपर्छ?

४ आफ्नो परिस्थितिसित ठ्याक्क मिल्ने किसिमको तालिका बनाउने प्रयास गर्नुहोस्‌। यसै अंकमा दिइएका नमुना तालिकाहरू मदतकारी साबित हुन सक्छन्‌। के तपाईं पूर्ण-समय जागिरे हुनुहुन्छ वा स्कूल जानुहुन्छ? मुख्यतः सप्ताहन्तहरूको सदुपयोग गर्ने किसिमको तालिका तपाईंको लागि एकदमै व्यावहारिक हुन सक्छ। यदि तपाईंका स्वास्थ्य समस्याहरू छन्‌ र सेवकाईमा लामो समयसम्म काम गर्न सक्नुहुन्‍न भने, हरेक दिन केही समय सेवकाईमा बिताउने तालिका बनाउनु उपयुक्‍त हुन सक्छ। सहायक अग्रगामी गर्ने आफ्नो इच्छाबारे अरूसित कुरा गर्नुहोस्‌। उनीहरूले पनि यसलाई आफ्नो लक्ष्य बनाउन सक्छन्‌।

५. मार्च, अप्रिल र मे महिनाका लागि जवानहरूले कस्ता लक्ष्यहरू राख्न सक्छन्‌?

५ युवाहरूले भाग लिन सक्ने तरिकाहरू: जवानहरूले उहाँका उदेकका कार्यहरूबारे घोषणा गर्दा यहोवालाई खुसी लाग्छ। (भज. ७१:१७; मत्ती २१:१६) यदि तपाईं जवान तथा बप्तिस्माप्राप्त हुनुहुन्छ भने, स्कूल छुट्टी हुने महिनामा तपाईं सहायक अग्रगामी गर्न सक्नुहुन्छ होला। तपाईं सहायक अग्रगामीको रूपमा सेवा गर्न सक्नुहुन्‍न भने पनि यी महिनाहरूको दौडान आफ्नो सहभागिता र आफ्नो सेवकाईको गुणस्तर बढाउन के तपाईं निश्‍चित लक्ष्य तय गर्न सक्नुहुन्छ? आफ्ना आमाबाबुसित सेवकाईमा भाग लिइरहनुभएको छ तर अझसम्म पनि बप्तिस्मा अप्राप्त प्रकाशक हुनुभएको छैन भने, यसको लागि योग्य हुने उपयुक्‍त समय अहिल्यै हुन सक्छ। बाइबलका प्रश्‍नहरूको जवाफ दिन तपाईं निपुण हुनै पर्छ भन्‍ने नठान्‍नुहोस्‌ वा बप्तिस्मा प्राप्त वयस्कहरूलाई जत्तिकै तपाईंलाई पनि थाह हुनै पर्छ भन्‍ने नसोच्नुहोस्‌। के तपाईं बाइबलका आधारभूत शिक्षाहरू बुझ्नुहुन्छ? के तपाईं बाइबलका नैतिक स्तरहरू पालन गर्नुहुन्छ? के तपाईं एक जना यहोवाको साक्षीको रूपमा चिनिन चाहनुहुन्छ? चाहनुहुन्छ भने, यसबारे आफ्ना आमाबाबुसित कुरा गर्नुहोस्‌। तपाईं आवश्‍यकताहरू पूरा गर्न सक्नुहुन्छ कि सक्नुहुन्‍न भन्‍ने कुरा बुझ्न उहाँहरूले तपाईंलाई प्राचीनहरूसित भेटघाट गराउने प्रबन्ध मिलाउनुहुनेछ।— आवर मिनिस्ट्री पुस्तक, पृष्ठ ९८-९ हेर्नुहोस्‌।

६. हामी कसरी बाइबल विद्यार्थीहरूलाई सुसमाचारका प्रकाशकहरू हुन मदत गर्न सक्छौं?

६ प्रचार गर्न अरूलाई मदत गर्ने: आगामी विशेष गतिविधिका महिनाहरूको दौडान प्रगतिशील बाइबल विद्यार्थीहरू प्रकाशकको हैसियतमा हामीसित काम गर्न योग्य हुन सक्छन्‌। यदि तपाईंको राम्रो प्रगति गर्दै गरेको बाइबल विद्यार्थी छ भने, आफ्नो पुस्तक अध्ययन निरीक्षक वा सेवा निरीक्षकको मदत खोज्नुहोस्‌। उहाँहरूमध्ये कोही एक जना विद्यार्थीको प्रगति लेखाजोखा गर्न तपाईंसित अध्ययनमा बस्न सक्छन्‌। यदि विद्यार्थी योग्य छ र ऊसित प्रकाशक हुने इच्छा छ भने, मण्डलीका अध्यक्षले दुई जना प्राचीनलाई तपाईं अनि तपाईंका विद्यार्थीलाई भेट्‌ने प्रबन्ध मिलाउन सक्छन्‌। (नोभेम्बर १५, १९८८, को प्रहरीधरहरा, पृष्ठ १७ हेर्नुहोस्‌।) विद्यार्थी योग्य ठहरिसकेपछि, तुरुन्तै तिनलाई सेवकाईमा प्रशिक्षण दिन थालिहाल्नुहोस्‌।

७. अनियमित तथा निष्क्रिय प्रकाशकहरूलाई कसरी मदत गर्न सकिन्छ?

७ पुस्तक अध्ययन निरीक्षकहरूले आफ्नो समूहका कुनै पनि निष्क्रिय वा अनियमित व्यक्‍तिप्रति विशेष ध्यान दिनुपर्छ। सेवकाईमा सँगै काम गर्न उनीहरूलाई व्यक्‍तिगत रूपमा आमन्त्रित गर्नुहोस्‌। यदि उनीहरू निष्क्रिय भएको धेरै भइसकेको छ भने, उनीहरू योग्य छन्‌ कि छैनन्‌ भन्‍ने कुरा बुझ्न पहिला दुई जना प्राचीनले उनीहरूसित कुरा गर्नु उचित हुन्छ। (नोभेम्बर २००० हाम्रो राज्य सेवकाई-को प्रश्‍न पेटी हेर्नुहोस्‌।) विशेष गतिविधिका यी महिनाहरूको दौडान मण्डलीको जोसले उनीहरूलाई पुनः सेवकाईमा नियमित रूपमा भाग लिन उत्प्रेरित गर्न सक्छ।

८, ९. विशेष गतिविधिको लागि हौसला बढाउन प्राचीनहरूले के गर्न सक्छन्‌?

८ थप गतिविधिको लागि अहिल्यै तयारी गर्नुहोस्‌: प्राचीनहरू हो, सहायक अग्रगामीको लागि मण्डलीमा अहिल्यैदेखि हौसला दिन थाल्नुहोस्‌। आफ्नो सकारात्मक टिप्पणी तथा असल उदाहरणद्वारा तपाईं धेरै मदत गर्न सक्नुहुन्छ। (१ पत्रु. ५:३) गत वर्ष सहायक अग्रगामीको शिखर संख्या कति थियो? के त्यो शिखर यस वर्ष उछिन्‍न सकिन्छ? पुस्तक अध्ययन निरीक्षक तथा उनीहरूका सहायकहरूले समूहका सबैलाई आफ्नो गतिविधि बढाउन प्रोत्साहन दिने तरिकाहरू खोज्नुपर्छ। सेवा निरीक्षकले क्षेत्र सेवाका लागि थप सभाहरूको तालिका मिलाउन सक्छन्‌। के-कस्ता प्रबन्धहरू गरिएका छन्‌, त्यसबारे मण्डलीलाई अग्रिम जानकारी दिनुहोस्‌। दक्ष प्रकाशकहरूलाई नेतृत्व लिन खटाइएको छ कि छैन र सेवाका सभाहरू समयमा सुरु तथा समापन हुन्छन्‌ कि हुँदैनन्‌, पक्का गर्नुहोस्‌। (सेप्टेम्बर २००१ हाम्रो राज्य सेवकाई-को प्रश्‍न पेटी हेर्नुहोस्‌।) सेवा निरीक्षकले पर्याप्त मात्रामा इलाका, पत्रिका र साहित्यहरूको प्रबन्ध पनि मिलाउनुपर्छ।

९ गत वर्ष एउटा मण्डलीका प्राचीनहरूले गतिविधिका महिनाहरू सुरु हुनुभन्दा अघि नै उत्साहपूर्वक सहायक अग्रगामी गर्न प्रोत्साहित गरे र यसका लागि उनीहरूमध्ये कतिपयले आवेदन फाराम बुझाए। उनीहरूले क्षेत्र सेवाका लागि अतिरिक्‍त सभाहरूको प्रबन्ध मिलाए। एउटा सडक साक्षीको लागि बिहान ५:३० बजे भने, अर्को स्कूल छुट्टी भइसकेपछि भेटिनेहरूका लागि अपराह्न ३:०० बजे र तेस्रोचाहिं कामबाट घर फर्किनेहरूका लागि साँझ ६:०० बजे प्रबन्ध मिलाइयो। यसबाहेक, शनिवार-शनिवार क्षेत्र सेवाका लागि तीनवटा सभाको प्रबन्ध मिलाइयो। फलतः त्यस मण्डलीका ६६ जनाले अप्रिल महिनामा सहायक अग्रगामी गरे।

१०. आफ्नो गतिविधि बढाउन परिवारहरूले कसरी तयारी गर्न सक्छन्‌?

१० आगामी महिनाहरूका लागि व्यावहारिक लक्ष्यहरू तय गर्न अर्को चोटि तपाईंको पारिवारिक अध्ययनमा समय छुट्टयाउनुभए कसो होला? राम्रो सहयोग र योजना बनाएको खण्डमा परिवारका केही वा सबै जनाले सहायक अग्रगामी गर्न सक्छन्‌। यदि त्यसो गर्न सम्भव छैन भने, सामान्यतया सेवामा बिताउनुहुने अवधिलाई बढाएर वा अरू समय प्रचार गर्न गएर आफ्नो गतिविधि बढाउने लक्ष्य बनाउनुहोस्‌। पारिवारिक रूपमा यसबारे प्रार्थना गर्नुहोस्‌। यहोवाले तपाईंका प्रयासहरूमा आशिष्‌ दिनुहुनेछ भन्‍ने कुरामा तपाईं ढुक्क हुन सक्नुहुन्छ।—१ यूह. ३:२२.

११. (क) ख्रीष्टको बलिदानले कस्तो उदेकका कार्यहरू पूरा गऱ्‍यो? (ख) स्मरणार्थ उत्सव मनाउने स्थानीय समय र स्थान कुन हो?

११ परमेश्‍वरको सबैभन्दा उदेकको कार्य: हाम्रो खातिर छुडौतीको रूपमा आफ्नो पुत्र वरदान स्वरूप दिनु यहोवाको प्रेमको सबैभन्दा महान्‌ अभिव्यक्‍ति हो। (१ यूह. ४:९, १०) छुडौतीको बलिदान मानवजातिलाई पाप र मृत्युबाट छुटकारा दिलाउने कानुनी आधार हो। (रोमी ३:२३, २४) येशूले बगाउनुभएको रगतले नयाँ करारलाई सदर गर्नुका साथै असिद्ध मानिसजातिको लागि स्वर्गीय राज्यमा परमेश्‍वरका पुत्रहरूको हैसियतमा स्वीकार्य हुने बाटो खोलिदियो। (यर्मि. ३१:३१-३४; मर्कू. १४:२४) सबैभन्दा महत्त्वपूर्ण कुरा त, येशूको पूर्ण आज्ञाकारिताले यहोवाको नाउँलाई पवित्र तुल्यायो। (व्यव. ३२:४; भज. २७:११) आइतबार, अप्रिल ४ मा सूर्यास्तपश्‍चात्‌ सारा संसारभरि येशूको मृत्युको स्मरणार्थ मनाइनेछ।

१२. प्रभुको साँझको भोजको उत्सवमा उपस्थित भएर कसरी इच्छुक व्यक्‍तिहरूले लाभ उठाउन सक्छन्‌?

१२ प्रभुको साँझको भोज मनाउँदा त्यसले यहोवाको उदेकका कार्यहरूको महिमा हुन्छ। भाषणले छुडौतीको प्रबन्ध मिलाउने सन्दर्भमा यहोवाले गर्नुभएका कुराहरूप्रति हाम्रो मूल्याङ्‌कन बढाउँछ। उपस्थित इच्छुक व्यक्‍तिहरूले परमेश्‍वरका अन्य उदेकका कार्यहरू अवलोकन गर्न सक्नेछन्‌। उनीहरूले, यहोवाले आफ्ना जनहरूलाई प्रदर्शन गर्न सिकाउनुभएको एकता र न्यानो प्रेम देख्न सक्नेछन्‌। (एफि. ४:१६, २२-२४; याकू. ३:१७, १८) यस महत्त्वपूर्ण समारोहमा उपस्थित हुने व्यक्‍तिको सोचाइमा जोडदार असर पर्न सक्ने भएकोले सकेसम्म हामी धेरैभन्दा धेरै व्यक्‍तिहरू त्यहाँ उपस्थित हुन चाहन्छौं।—२ कोरि. ५:१४, १५.

१३, १४. हामीले क-कसलाई स्मरणार्थ उत्सवका लागि निमन्त्रणा दिनुपर्छ र कसरी?

१३ उपस्थित हुन अरूलाई निमन्त्रणा दिने: निमन्त्रणा दिनुपर्ने व्यक्‍तिहरूको नामावली बनाएर तयारी गर्ने काम तत्काल सुरु गरिहाल्नुहोस्‌। तपाईंको नामावलीमा परिवारका अर्कै धर्म मान्‍ने सदस्य, छिमेकी, काम गर्ने ठाउँ वा स्कूलका चिनेजानेका व्यक्‍तिहरू, पुराना तथा नयाँ बाइबल विद्यार्थीहरू र तपाईंका सम्पूर्ण पुनःभेटहरू समावेश गर्नुहोस्‌। पुस्तक अध्ययन निरीक्षकहरूले आफ्नो नामावलीमा निष्क्रिय भएका प्रकाशकहरूलाई पनि समावेश गर्नुपर्छ।

१४ स्मरणार्थको निमन्त्रणा दिन छापिएको पर्ची प्रयोग गर्नुहोस्‌ र त्यसमा स्मरणार्थको समय र ठाउँ टाइप गर्नुहोस्‌ वा सफासित लेख्नुहोस्‌। अथवा मार्च १५, २००४, प्रहरीधरहरा वा मार्च २२, २००४, अवेक!-को पछिल्लो आवरण पृष्ठमा दिइएको निमन्त्रणा तपाईं चलाउन सक्नुहुन्छ। अप्रिल ४ नजिकिंदै जाँदा आफ्नो नामावलीमा भएका व्यक्‍तिहरूलाई व्यक्‍तिगत रूपमा भेटेर वा टेलिफोनमार्फत सम्झाउनुहोस्‌।

१५. स्मरणार्थको रात हामी कसरी अतिथिसत्कार देखाउन सक्छौं?

१५ स्मरणार्थमा: स्मरणार्थको रात चाँडै आइपुग्ने कोसिस गर्नुहोस्‌। नयाँ व्यक्‍तिहरूलाई न्यानो स्वागत गरेर अतिथिसत्कार देखाउनुहोस्‌। (रोमी १२:१३) आफूले निमन्त्रणा दिएका अतिथिहरूप्रति तपाईंको विशेष जिम्मेवारी छ। उनीहरूलाई सजिलो महसुस गर्न लगाउनुहोस्‌ र मण्डलीका अरूसित उनीहरूको परिचय गराउनुहोस्‌। आफ्नो छेउमा सिट खोजिदिएर तपाईं उनीहरूलाई मदत गर्न सक्नुहुन्छ। अनि कसैसित बाइबल वा भजनको पुस्तक छैन भने, तपाईंकै वा अरू कसैको हेर्ने प्रबन्ध मिलाउनुहोस्‌। उत्सवपछि, उनीहरूको मनमा उठेका कुनै पनि प्रश्‍नको जवाफ दिन तयार हुनुहोस्‌। यदि कोही-कोही पहिलो चोटि आएका हुन्‌ भने, कतै उनीहरू परमेश्‍वरको वचन र उद्देश्‍यबारे अझ बढी सिक्न चाहन्छन्‌ कि सोध्नुहोस्‌। उनीहरूसित गृह बाइबल अध्ययन सञ्चालन गर्ने प्रस्ताव राख्नुहोस्‌।

१६. स्मरणार्थमा उपस्थित भएकाहरूलाई आध्यात्मिक तवरमा प्रगति गर्न मदत दिन के गर्न सकिन्छ?

१६ उपस्थित भएकाहरूलाई निरन्तर मदत गरिरहनुहोस्‌: स्मरणार्थपछिका हप्ताहरूमा, उपस्थित भएका व्यक्‍तिहरूलाई थप मदतको खाँचो पर्न सक्छ। यस्तो मदतको खाँचो पर्नेहरूमा कुनै बेला सभाहरूमा नियमित रूपमा उपस्थित भएका तर अहिले भने आकलझुकल मात्र मण्डलीसित संगत गर्नेहरू समावेश छन्‌। तिनीहरूले आध्यात्मिक प्रगति गर्न छाड्‌नुको कारण पक्का गर्दै यस्ता व्यक्‍तिहरूलाई ध्यान दिइएको छ कि छैन भन्‍ने कुरामा प्राचीनहरू सजग रहनेछन्‌। अहिले ढिला-सुस्ती गर्ने समय होइन भन्‍ने कुरा उनीहरूलाई बुझाउनुहोस्‌। (१ पत्रु. ४:७) परमेश्‍वरका जनहरूसित नियमित रूपमा एक ठाउँमा भेला हुने धर्मशास्त्रीय सल्लाह पालन गर्नुको लाभ बुझ्न सबैलाई मदत गर्नुहोस्‌।—हिब्रू १०:२४, २५.

१७. हामीले किन यहोवाको उदेकका कार्यहरूबारे घोषणा गरिरहनुपर्छ?

१७ यहोवाका कार्यहरू यत्ति उदेकका छन्‌ कि हामी सधैंभरि बाँच्यौं भने पनि पूर्णतया बुझ्न सक्दैनौं। (अय्यू. ४२:२, ३; उप. ३:११) त्यसकारण, उहाँको प्रशंसा गर्ने कुराहरूको कहिल्यै कमी हुनेछैन। यस स्मरणार्थ समयको दौडान आफ्नो सेवकाई बढाउन विशेष प्रयत्न गरेर यहोवाको उदेकका कार्यहरूप्रति हामी आफ्नो मूल्याङ्‌कन देखाउन सक्छौं।

यीमध्ये कुनै एउटा तालिका चलाएर के तपाईं सहायक अग्रगामी गर्न सक्नुहुन्छ?

मार्च आइ सोम* मंग* बुध* बिही शुक्र शनि महिना जम्मा

हरेक दिन २ १ १ १ १ १ ५ ५१

दुई दिन ० ५ ० ५ ० ० ० ५०

सप्ताहन्तमा मात्र ५ ० ० ० ० ० ८ ५२

सप्ताहन्त र

हप्ताको दुई दिन २ ० ० २ ० २ ६ ५०

अप्रिल आइ सोम मंग बुध बिही* शुक्र* शनि महिना जम्मा

हरेक दिन २ १ १ १ १ १ ५ ५०

दुई दिन ० ० ० ० ५ ५ ० ५०

सप्ताहन्तमा मात्र ५ ० ० ० ० ० ८ ५२

सप्ताहन्त र

हप्ताको दुई दिन २ ० ० २ ० २ ६ ५०

मे आइ* सोम* मंग बुध बिही शुक्र शनि महिना जम्मा

हरेक दिन २ १ १ १ १ १ ४ ५१

दुई दिन ० ५ ० ० ० ० ५ ५०

सप्ताहन्तमा मात्र ३ ० ० ० ० ० ७ ५०

सप्ताहन्त र

हप्ताको दुई दिन २ ० ० २ ० २ ५ ५१

* महिनाको पाँच चोटि

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने