प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने
भाग २: अध्ययन सञ्चालन गर्न तयारी गर्ने
१ बाइबल अध्ययन गर्दा प्रभावकारीसाथ सिकाउनुमा दिइएको विषयवस्तु छलफल गर्नु र उद्धृत शास्त्रपदहरू पढ्नु मात्र पर्याप्त छैन। हामीले विद्यार्थीको हृदय छुने किसिमले जानकारी प्रस्तुत गर्नु आवश्यक छ। यसको लागि विद्यार्थीलाई ध्यानमा राख्दै विस्तृत तयारी गर्नु जरुरी छ।—हितो. १५:२८.
२ कसरी तयारी गर्ने: विद्यार्थी र तिनका आवश्यकताहरूबारे यहोवालाई प्रार्थना गरेर तयारी सुरु गर्नुहोस्। विद्यार्थीको हृदयसम्म पुग्न यहोवासँग मदत माग्नुहोस्। (कल. १:९, १०) मूल विषयलाई स्पष्टसित बुझ्न अध्याय अथवा पाठको शीर्षक, उपशीर्षक र कुनै पनि किसिमको दृश्य सहायकलाई एकछिन विचार गर्नुहोस्। आफैलाई सोध्नुहोस्, ‘विषयवस्तुको मूल उद्देश्य के हो?’ यसले तपाईंलाई अध्ययन सञ्चालन गर्दा मुख्य बुँदाहरूमा ध्यान केन्द्रित गर्न मदत गर्नेछ।
३ एक-एक अनुच्छेद गर्दै होसियारीपूर्वक विषयवस्तु पुनरावलोकन गर्नुहोस्। छापिएका प्रश्नहरूको जवाफ पत्ता लगाउनुहोस् र मुख्य शब्द तथा वाक्यांशहरूमा मात्रै चिनो लगाउनुहोस्। उद्धृत शास्त्रपदहरू कसरी अनुच्छेदमा दिइएको मुख्य बुँदासित सम्बन्धित छन् विश्लेषण गर्नुहोस् र अध्ययनको दौडान कुन-कुन शास्त्रपद पढ्ने हो, सो निधो गर्नुहोस्। प्रकाशनको छेउमा शास्त्रपदबारे छोटो नोट लेख्नु तपाईंको लागि मदतकारी हुन सक्छ। आफूले सिकिरहेको कुरा परमेश्वरको वचनबाट हो भन्ने कुरा विद्यार्थीले स्पष्टसित बुझ्नुपर्छ।—१ थिस्स. २:१३.
४ पाठलाई विद्यार्थीका आवश्यकताहरू अनुरूप ढाल्नुहोस्: अर्को कुरा, कुनै खास विद्यार्थीलाई ध्यानमा राखेर पाठ विचार गर्नुहोस्। तिनले सोध्न सक्ने प्रश्नहरू र तिनलाई बुझ्न वा स्वीकार्न गाह्रो भइरहेका बुँदाहरूबारे पहिल्यै विचार गर्ने प्रयास गर्नुहोस्। आफैलाई सोध्नुहोस्: ‘आध्यात्मिक प्रगति गर्न तिनले कुन कुरा बुझ्नु वा कुन कुरामा सुधार ल्याउनु आवश्यक छ? म कसरी तिनको हृदयसम्म पुग्न सक्छु?’ त्यसपछि त्यसै अनुरूप आफ्नो शिक्षालाई ढाल्नुहोस्। कहिलेकाहीं, विद्यार्थीलाई कुनै बुँदा वा शास्त्रपदको अर्थ बुझ्न मदत गर्नको लागि तपाईंले दृष्टान्त, विवरण अथवा थुप्रै प्रश्नहरू तयार गर्नुपर्ने हुन सक्छ। (नहे. ८:८) तर मूल विषयलाई खासै समर्थन नगर्ने थप जानकारी भने समावेश नगर्नुहोस्। अध्ययनको अन्तमा छोटकरीमा पुनरावलोकन गर्दा तिनले मुख्य बुँदाहरू सम्झिन मदत पाउनेछन्।
५ यहोवाको प्रशंसाको निम्ति नयाँ व्यक्तिहरूले धार्मिकताको फल फलाउँदा हामी साँच्चै आनन्दित हुन्छौं! (फिलि. १:११) तिनीहरूलाई त्यस लक्ष्यसम्म पुग्न मदत गर्नको लागि अध्ययन सञ्चालन गर्न प्रत्येक चोटि राम्रोसँग तयारी गर्नुहोस्।