नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम
यस “डरलाग्दो समय[मा]” यहोवाको अनुमोदन प्राप्त गर्न र त्यसलाई कायम राख्न हामीलाई ईश्वरीय बुद्धि चाहिन्छ। (२ तिमो. ३:१) सन् २००५ सेवा वर्षको दौडान हुने क्षेत्रीय सम्मेलन कार्यक्रममा हामी “ ‘माथिबाट आउने ज्ञानद्वारा’ डोऱ्याइनुहोस्” भन्ने मूल विषयको भाषणबाट व्यावहारिक सल्लाह तथा प्रोत्साहन पाउनेछौं।—याकू. ३:१७.
“आफ्नो जीवनमा ‘माथिबाट आउने ज्ञान’ प्रकट गर्ने” विषयको पहिलो गोष्ठीले हामीलाई पवित्र, मिलापी, व्यावहारिक र आज्ञा पालन गर्न तयार हुनुमा के-के समावेश छ भन्ने कुरा बुझ्न मदत गर्नेछ। त्यसपछि क्षेत्रीय निरीक्षकले स्वर्गीय बुद्धिका तीनवटा अन्य पक्षतिर ध्यान दिनेछन्। कसै-कसैले “अपठित र अजान” भने तापनि मसीही सेवकहरू परमेश्वरको बुद्धिका कुराहरू बोल्न कसरी सुसज्जित छन् भनी देखाउँदै जिल्ला निरीक्षकले पहिलो दिनको कार्यक्रम टुङ्ग्याउनेछन्।—प्रेरि. ४:१३.
दोस्रो दिन, “उत्थानदायी कुराहरूको पछि लाग्नुहोस्” भन्ने विषयको गोष्ठीले हामीलाई हाम्रो आध्यात्मिकतालाई खत्तम पार्ने कुराहरू चिन्न र त्यसबाट टाढै रहन मदत गर्नेछ। मण्डलीका सभाहरूमा, क्षेत्र सेवकाईमा र परिवारमा हामी कसरी अरूलाई प्रोत्साहन दिन सक्छौं भन्ने कुरा पनि यसले हामीलाई देखाउनेछ। “ईश्वरीय बुद्धिले हामीलाई कसरी लाभ पुऱ्याउँछ” भन्ने विषयको जनभाषणले जीवनमा ईश्वरीय सिद्धान्तहरू लागू गर्दा हामीले प्राप्त गर्ने लाभहरूप्रतिको हाम्रो मूल्याङ्कनलाई गहिरो बनाउनेछ। “ईश्वरीय बुद्धि अनुरूप चल्दा हाम्रो सुरक्षा हुन्छ” विषयक समापन भाषणले हामीलाई यी अन्तिम दिनमा यहोवाको बुद्धि खोज्ने हाम्रो सङ्कल्पलाई बलियो बनाउनेछ।
हरेक सम्मेलनको एउटा विशेषता भनेको नयाँ चेलाहरूको बप्तिस्मा हो। कार्यक्रममा सम्मेलनको हप्तामा हुने ईश्वरतान्त्रिक सेवकाई स्कूल र प्रहरीधरहरा अध्ययन पनि समावेश गरिनेछ। उहाँले प्रदान गर्ने बुद्धिबाट हामी सबैले लाभ उठाएको यहोवा चाहनुहुन्छ। हाम्रो क्षेत्रीय सम्मेलनबाट प्राप्त गरिने सल्लाह-सुझाव र प्रोत्साहनद्वारा हामी आध्यात्मिक रूपमा लाभान्वित हुनेछौं।—हितो. ३:१३-१८.