हाम्रो आध्यात्मिकता जोगाउन हामीलाई मदत दिने क्षेत्रीय सम्मेलन
१. सुसमाचार फैलाउने जिम्मेवारी पूरा गर्न यहोवाले हामीलाई मदत दिने एउटा प्रबन्ध के हो?
१ यहोवाले हामीलाई सुसमाचार फैलाउने काम सुम्पनुभएको छ र यो काम पूरा गर्न हामीलाई जे-जति जानकारी, तालिम र प्रोत्साहन चाहिन्छ, उदार भएर दिनुहुन्छ। (मत्ती २४:१४; २ तिमो. ४:१७) हाम्रो वार्षिक क्षेत्रीय सम्मेलन यस्तै एउटा प्रबन्ध हो। सन् २०१० सेवा वर्षको नयाँ क्षेत्रीय सम्मेलनको मूल विषय हुनेछ: “आफ्नो आध्यात्मिकता जोगाउनुहोस्।” यो विषय रोमी ८:५ र यहूदा १७-१९ मा आधारित छ। अगस्त ३१, २००९ को हप्तादेखि यो सम्मेलन सुरु हुनेछ।
२. (क) कुनकुन तरिकामा क्षेत्रीय सम्मेलन हाम्रो लागि लाभदायी हुनेछ? (ख) विगतका क्षेत्रीय सम्मेलनहरूले तपाईंलाई प्रचारकार्यमा कसरी मदत गरेको छ?
२ कसरी लाभ पुऱ्याउनेछ?: यस कार्यक्रमले हामीलाई विभिन्न खतराहरूदेखि सजग हुन मदत गर्नेछ। जस्तै: हाम्रो समय र ध्यानलाई साँच्चै महत्त्वपूर्ण कुराबाट अन्तै मोड्न खोज्ने खतरा। यसबाहेक, मनपरी गर्न दिने मनोभावको प्रतिरोध कसरी गर्नसक्छौं र आध्यात्मिक मानिसलाई कसरी चिन्न सक्छौं, त्यसबारे पनि विचार गर्नेछौं। बढ्दो दबाब र विश्वासको कठोर परीक्षासामु व्यक्तिगत रूपमा र पारिवारिक रूपमा कसरी आफ्नो आध्यात्मिकता बलियो बनाउन सकिन्छ, दोस्रो दिनको गोष्ठीले बताउनेछ। यस कार्यक्रमले हामीलाई आफ्नो हृदय सुरक्षित राख्न, आध्यात्मिक रूपमा स्वस्थ भइरहन र आध्यात्मिकता जोगाउनेहरूले पाउने भव्य आशिष्लाई मनमा ताजा राख्न मदत गर्नेछ।
३. तपाईंहरूको आगामी क्षेत्रीय सम्मेलन कहिले हुँदैछ र तपाईंको संकल्प कस्तो हुनुपर्छ?
३ आगामी क्षेत्रीय सम्मेलन कहाँ र कहिले हुनेछ भनेर थाह पाउनेबित्तिकै दुवै दिन उपस्थित हुन र सम्पूर्ण कार्यक्रमलाई ध्यान दिएर सुन्न योजना मिलाउनुहोस्। यस कुरामा विश्वस्त हुनुहोस्, लगनशीलहरूको हातलाई यहोवा आशिष् दिनुहुन्छ।—हितो. २१:५, NRV.
४. आउँदै गरेको क्षेत्रीय सम्मेलनमा कस्तो मदत पाउने कुरामा ढुक्क हुन सक्छौं?
४ निश्चय नै, यस असल वरदानको प्रबन्धकर्ता यहोवा हुनुहुन्छ। विश्वासी दास वर्गले तयार पारेको यस कार्यक्रममा ख्रीष्टियान सेवकको रूपमा अघि बढ्न हामीलाई जस्तो मदत चाहिएको छ, त्यो पाउनेछौं। ‘हाम्रो आशाको स्वीकारलाई नडग्मगाइकन दृढसँग थामिराख्न’ यहोवाले हाम्रो लागि जे-जति प्रबन्ध गर्नुभएको छ, त्यसको लागि हामी यहोवाप्रति आभारी छौं।—हिब्रू १०:२३-२५; याकू. १:१७.