स्मरणार्थको समय—थप गतिविधिको समय
१. ‘तोकिएको समयमा मनाइने चाडहरूले’ ईश्वरभीरु इस्राएलीहरूमा कस्तो असर पाऱ्यो?
१ वर्षको निश्चित समयमा प्राचीन समयका इस्राएलीहरूले “परमप्रभुका तोकिएका चाडहरू” मनाउँथे। (लेवी २३:२, NRV) आफ्नो परमेश्वरले गर्नुभएको भलाइका कार्यहरूबारे मनन गर्न समय निकाल्दा ठूलो आनन्द प्राप्त हुन्थ्यो र शुद्ध उपासनाको निम्ति जोसिलो हुन यसले तिनीहरूलाई उत्प्रेरित गऱ्यो।—२ इति. ३०:२१-३१:२.
२, ३. स्मरणार्थको समयमा हाम्रो आध्यात्मिक गतिविधि विस्तार गर्नु किन उपयुक्त हो र हामी स्मरणार्थ कहिले मनाउनेछौं?
२ वर्तमान समयमा स्मरणार्थको बेला हरेक वर्ष हाम्रो आनन्ददायी ईश्वरतान्त्रिक गतिविधि तीव्र हुन्छ। यो यस्तो समय हो जतिबेला हामी यहोवाले हाम्रो लागि दिनुभएको अमूल्य उपहार अर्थात् उहाँको एक मात्र पुत्रको विषयमा गहिरिएर मनन गर्छौं। (यूह. ३:१६; १ पत्रु. १:१८, १९) जसै हामी परमेश्वर र उहाँको पुत्रले देखाउनुभएको प्रेमबारे मनन गर्छौं, यहोवाको प्रशंसा गर्न र ईश्वरीय इच्छा पूरा गर्नको लागि मरिमेट्न उत्प्रेरित भएको महसुस गर्छौं।—२ कोरि. ५:१४, १५.
३ यो वर्ष बिहीबार, मार्च २४ का दिन सूर्यास्तपछि प्रभुको साँझको भोज मनाइनेछ। मार्च, अप्रिल र मे महिनाको दौडान हामी कसरी क्षेत्र सेवकाईमा अझ बढी भाग लिन सक्छौं?
४, ५. (क) सुसमाचार लिएर अझ धेरै मानिसहरूसामु पुग्न कोही-कोही व्यक्तिहरूलाई कुन कुराले मदत गरेको छ? (ख) स्थानीय तवरमा तपाईंले कुन तरिका प्रभावकारी पाउनुभएको छ?
४ अझ धेरै मानिसहरूकहाँ पुग्ने: क्षेत्र सेवामा भाग लिनुहुँदा जतिसक्दो धेरै मानिसहरूकहाँ पुग्ने तरिका खोज्नुहोस्। के तपाईं धेरै जसो मानिसहरूलाई घरमा भेटिने समय, जस्तै दिउँसो अलि अबेर वा साँझपख ढोका-ढोकाको काममा भाग लिने योजना बनाउन सक्नुहुन्छ? तपाईंको पुस्तक अध्ययन समूहका कोही-कोही अध्ययनभन्दा अगाडि सेवकाईमा भाग लिन चाहन्छन् भने नजिकैको इलाकामा काम गर्न पुस्तक अध्ययन निरीक्षकले क्षेत्र सेवाको लागि छोटो सभा गर्ने प्रबन्ध मिलाउन सक्छन्।
५ धेरै मानिसहरूकहाँ पुग्ने अर्को तरिका सार्वजनिक ठाउँहरूमा साक्षी दिनु हो। जापानकी एक जना बहिनी पूर्ण-समय जागिर खाइरहेको भए तापनि सहायक अग्रगामी गर्न चाहन्थिन्। एक जना प्राचीनले तिनलाई हरेक दिन काममा जानुअघि रेल स्टेसनको नजिकै सडक साक्षी दिन सकिन्छ भन्ने सल्लाह दिए। सुरुमा त तिनी डराउँथिन् र केही बटुवाहरूले तिनलाई खिसी गर्थे तर पछि तिनले लगभग ४० जना मानिससित पत्रिका रूट कायम गरिन् जसमा बटुवाहरू, स्टेसनका कामदारहरू र नजिकैका पसलेहरू थिए। तिनले हरेक महिना औसतमा २३५ वटा पत्रिका प्रस्तुत गरिन्। मानिसहरूलाई धर्मशास्त्रीय बुँदाहरू बताउन हरेक दिन केही समय बिताएर तिनले छवटा बाइबल अध्ययन सुरु गर्न सकिन्।
६. युवाहरूले कसरी आफ्नो आध्यात्मिक गतिविधि बढाउन सक्छन्?
६ साक्षी दिने मौकाहरू: वर्षको विभिन्न समयहरूमा स्कूल जाने उमेरका थुप्रै प्रकाशकहरूको छुट्टी हुन्छ। सहायक अग्रगामी गर्नको लागि यो उपयुक्त मौका हुन सक्छ। साथै, स्कूलमा साक्षी दिएर पनि मसीही युवाहरूले आफ्नो गतिविधि बढाउन सक्छन्। तपाईंको विश्वासबारे अझ बढी बुझ्न तपाईंका साथीहरू कत्ति धेरै इच्छुक रहेछन् भन्ने कुरा थाह पाउँदा तपाईं तीनछक पर्न सक्नुहुन्छ। कक्षामा हुने छलफल वा स्कूलमा लेख्नुपर्ने निबन्धहरूलाई चलाएर साक्षी दिने मौका छोपे कसो होला? अरू भने हाम्रा भिडिओहरू चलाएर यसो गर्न सफल भएका छन्। कोही-कोहीले आफ्नो कक्षाका साथीहरूसित बाइबल अध्ययन सुरु गरेर समर्पण गर्ने र बप्तिस्मा लिने हदसम्म प्रगति गर्न तिनीहरूलाई मदत गरेका छन्। यो “परमप्रभुको नाउँको प्रशंसा” गर्ने उत्तम तरिका हो।—भज. १४८:१२, १३.
७. (क) एक जना भाइले कसरी अरूलाई साक्षी दिने मौकाको फाइदा उठाए? (ख) के तपाईंसित पनि यस्तै अनुभव छ?
७ तपाईंको दैनिक तालिकामा मानिसहरूसित अद्भुत परमेश्वर र उहाँले गर्नुभएका अचम्मलाग्दा प्रतिज्ञाहरूबारे कुरा गर्ने तरिकाहरू खोज्नुहोस्। सधैं एउटै रेलमा यात्रा गर्ने एक जना भाइ तिनीसँगै यात्रा गर्नेहरूलाई हरेक दिन मौका मिल्ने बित्तिकै साक्षी दिन्छन्। उदाहरणका लागि, एउटा स्टेसनमा रेल पर्खंदै गर्दा तिनले एक जना जवान मानिसलाई हरेक दिन लगभग पाँच मिनेट साक्षी दिए। फलस्वरूप, ती जवान मानिस र तिनको साथी बाइबल अध्ययन गर्न राजी भए। तिनीहरू यात्रा गर्दा रेलमै बाइबल अध्ययन सञ्चालन गरिन्थ्यो। केही समयपछि, तिनीहरूबीच भएको कुराकानी सुनिरहेकी एउटी वृद्धा ती भाइकहाँ आइन् र आफूसित पनि बाइबल अध्ययन गर्न आग्रह गरिन्। ती वृद्धाले रेल यात्रा गर्ने दिनमा उनले पनि बाइबल अध्ययन गरिरहेकी छिन्। यसरी ती भाइले रेलभित्रै दस जना व्यक्तिसित बाइबल अध्ययन गरेका छन्।
८. ढल्कँदो उमेर वा स्वास्थ्य समस्याहरूको कारण सीमित भएकाहरूले सेवाको कुन तरिका चलाएर सेवकाईमा अझ बढी भाग लिन सक्छन्?
८ ढल्कँदो उमेर वा स्वास्थ्य समस्याहरूको कारण सेवकाईमा तपाईंले गर्न सक्नुहुने कामहरू सीमित छन् भने नि? यहोवाको अझ बढी प्रशंसा गर्न सक्ने अरू तरिकाहरू पनि हुन सक्छन्। के तपाईंले टेलिफोन साक्षी दिने कोसिस गर्नुभएको छ? टेलिफोन साक्षी कसरी दिने भनेर तपाईंलाई थाह छैन भने तपाईंको पुस्तक अध्ययन निरीक्षकसित कुरा गर्नुहोस्। तिनले तपाईंसित काम गर्नको लागि यो तरिका चलाएर साक्षी दिने प्रकाशकहरूको प्रबन्ध मिलाउन सक्नेछन्। सँगै काम गर्दा तपाईंहरूले एकअर्काबाट सिक्न र प्रभावकारी साक्षी दिन एकअर्कालाई मदत दिन सक्नुहुनेछ। फेब्रुअरी २००१ को हाम्रो राज्य सेवकाई, पृष्ठ ५-६ मा टेलिफोन साक्षी दिनको लागि राम्रा सुझावहरू पाउन सकिन्छ।
९. मण्डलीसित जनसेवकाईमा भाग लिन योग्य बन्न हामी बाइबल विद्यार्थीहरूलाई कसरी मदत गर्न सक्छौं?
९ स्मरणार्थमा उपस्थित हुँदा यसले नयाँ व्यक्तिहरूलाई अझ बढी यहोवाको प्रशंसा गर्न उत्प्रेरित गर्न सक्छ। क्षेत्र सेवाका सकारात्मक अनुभवहरू बताएर अनि बाइबलका शिक्षाहरू बुझाउन तथा आफ्नो विश्वासको पक्षमा बोल्न क्रमिक ढङ्गमा प्रशिक्षण दिएर औपचारिक रूपमा प्रचारकार्यमा भाग लिनेबारे तिनीहरूको मनमा हुन सक्ने हिचकिचाहट हटाउने मदत दिन सक्नुहुन्छ। (१ पत्रु. ३:१५) बाइबल विद्यार्थीले सुसमाचार प्रचार गर्ने इच्छा व्यक्त गरेमा मण्डलीको अध्यक्षसित कुरा गर्नुहोस्। मण्डलीसित जनसेवकाईमा भाग लिन तिनी योग्य छन् कि छैनन् भन्ने कुरा पक्का गर्न प्राचीनले ती विद्यार्थीसित भेट्ने प्रबन्ध मिलाउनेछन्। विश्वव्यापी विवादमा नयाँ व्यक्तिहरूले आफ्नो पक्ष लिएको देख्दा यहोवाको हृदय कत्ति आनन्दित हुन्छ होला!—हितो. २७:११.
१०. (क) राम्रो तालिकाले हामीलाई सहायक अग्रगामी गर्न कसरी मदत दिन सक्छ? (ख) गत वर्ष स्मरणार्थको समयमा के तपाईंले सहायक अग्रगामी गर्न सक्नुभयो? कसरी यसो गर्न सक्नुभयो?
१० के तपाईं सहायक अग्रगामी गर्न सक्नुहुन्छ? सहायक अग्रगामीले ५० घण्टा पुऱ्याउनुपर्ने कुरालाई गम्भीरतापूर्वक लिनुपर्छ। (मत्ती ५:३७) यसको अर्थ तपाईंले क्षेत्र सेवामा हरेक हप्ता १२ घण्टा बिताउने प्रबन्ध मिलाउनुपर्छ। पृष्ठ ५ मा दिइएको सहायक अग्रगामी गर्न नमुना तालिकाहरूमध्ये कुनै तपाईंको परिस्थितिसित मिल्छ कि? यदि मिल्दैन भने मार्च, अप्रिल वा मे महिनामा सहायक अग्रगामी गर्न सक्ने तालिका तपाईं आफै बनाउन सक्नुहुन्छ कि? सेवकाईमा आफ्नो गतिविधि बढाउने तपाईंको प्रयासमा यहोवाको आशिष् माग्नुहोस्।—हितो. १६:३.
११. सहायक अग्रगामी गर्नेहरूलाई प्राचीन तथा सेवकाई सेवकहरूले कसरी समर्थन गर्न सक्छन्?
११ यसपालिको स्मरणार्थको समयमा यहोवाको विशेष प्रशंसा गर्ने तपाईंको कोसिसलाई प्राचीन तथा सेवकाई सेवकहरूले पूर्ण समर्थन गर्नेछन्। सम्भवतः तिनीहरूमध्ये थुप्रैले सहायक अग्रगामी गर्नेछन्। प्राचीनहरूले दिउँसो अलि अबेर, साँझपख वा सप्ताहन्त जस्ता विभिन्न समयमा आवश्यकताअनुसार क्षेत्र सेवाको लागि थप सभाहरूको प्रबन्ध मिलाउनेछन्। यस्ता सभाहरू कहाँ र कहिले आयोजना गरिनेछ अनि यसमा कसले नेतृत्व लिनेछ भन्ने कुरा पक्का गर्न प्राचीनहरूले अग्रगामी गर्ने पक्का योजना भएकाहरू वा यसबारे विचार गरिरहेकाहरूसित कुरा गर्न सक्छन्। तपाईंले क्षेत्र सेवाको लागि छुट्ट्याउनुभएको दिन र समयमा तपाईंसित काम गर्न अरू प्रकाशकहरू उपलब्ध हुन सकून् भनेर प्राचीनहरूले प्रबन्ध मिलाउने कोसिस गर्नेछन्। यसरी निश्चित योजना बनाउन र राम्रो नतिजा प्राप्त गर्न सकिन्छ।—हितो. २०:१८.
१२. कुन कुराले हामीलाई सधैंभरि यहोवाको प्रशंसा गर्न उत्प्रेरित गर्छ?
१२ यथासक्य गर्नुहोस्: तपाईंको परिस्थितिले गर्दा सहायक अग्रगामी गर्न सक्नुहुन्न भने यहोवाले हाम्रा प्रयत्न तथा त्यागहरू ‘हामीसित नभएअनुसार होइन, तर हामीसित भएअनुसार’ ग्रहण गर्नुहुन्छ भन्ने कुरा नबिर्सनुहोस्। (२ कोरि. ८:१२) हामीले यहोवालाई धन्यवाद दिनुपर्ने कारणहरू थुप्रै छन्। दाऊदले यस्तो लेख्नु उपयुक्त थियो: “हर बखत म परमप्रभुलाई धन्यको भन्नेछु, उहाँको प्रशंसा निरन्तर मेरो मुखमा हुनेछ।” (भज. ३४:१) यस वर्षको स्मरणार्थको बेला हाम्रो कटिबद्धता पनि यस्तै होस्।
[पृष्ठ ३-मा भएको पेटी]
तपाईं आफ्नो गतिविधि कसरी विस्तार गर्नुहुनेछ?
◼ मानिसहरूलाई घरमा भेटिने समयमा प्रचार गरेर
◼ सार्वजनिक ठाउँहरूमा साक्षी दिएर
◼ काम गर्ने ठाउँ वा स्कूलमा साक्षी दिएर
◼ टेलिफोन साक्षी दिएर
◼ सहायक अग्रगामीको रूपमा सेवा गरेर