प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने
भाग १०: घर-घरको सेवकाईमा विद्यार्थीलाई प्रशिक्षण दिने
१ कुनै बाइबल विद्यार्थी बप्तिस्मा अप्राप्त प्रकाशक बन्न योग्य छन् भन्ने कुरा प्राचीनहरूले पक्का गरिसकेपछि तिनले मण्डलीसित मिलेर जन प्रचारकार्यमा भाग लिन थाल्न सक्छन्। (अर्गनाइज्ड टु डु जेहोभाज् विल, पृ. ७९-८१ हेर्नुहोस्।) घर-घरमा प्रचार गर्दा आइपर्ने चुनौतीको सामना गर्न हामी कसरी विद्यार्थीलाई मदत गर्न सक्छौं?
२ सँगै तयारी गर्ने: राम्रो तयारी अत्यावश्यक छ। हाम्रो राज्य सेवकाई र रीजनिङ पुस्तकमा सुझावित प्रस्तुतिहरू कहाँ पाउन सकिन्छ, विद्यार्थीलाई देखाउनुहोस् र स्थानीय इलाकामा व्यावहारिक हुने खालको सरल परिचय छान्न तिनलाई मदत गर्नुहोस्। सेवकाईमा बाइबल चलाउन तिनलाई सुरुदेखि नै प्रोत्साहन दिनुहोस्।—२ तिमो. ४:२.
३ सँगै पूर्वाभ्यास गर्नु नयाँ प्रकाशकको लागि निकै लाभदायी हुन्छ। विद्यार्थीले प्रस्तुति पूर्वाभ्यास गर्दा, प्रचार इलाकाका मानिसहरूले अक्सर देखाउने प्रतिक्रियाको कसरी कौशलतासाथ सामना गर्न सकिन्छ, देखाउनुहोस्। (कल. ४:६) घरधनीले सोध्न सक्ने हरेक प्रश्नको जवाफ मसीही सेवकहरूलाई थाह हुनै पर्छ भन्ने छैन भनेर तिनलाई ढुक्क पार्नुहोस्। अनुसन्धान गरेर थप छलफलको लागि फेरि आउनेछु भन्नु यस्ता प्रश्नहरूको जवाफ दिने उत्तम तरिका हो—हितो. १५:२८.
४ सँगै प्रचार गर्ने: विद्यार्थीले पहिलो चोटि घर-घरको सेवकाईमा भाग लिंदा तपाईंहरू दुवै मिलेर तयार पारेको प्रस्तुति तपाईंले प्रस्तुत गर्नुहुँदा तिनलाई हेर्न लगाउनुहोस्। त्यसपछि तिनलाई पनि प्रचार गर्न लगाउनुहोस्। कुनै-कुनै अवस्थामा नयाँ प्रकाशकलाई प्रस्तुतिको थोरै अंश मात्र प्रस्तुत गर्न दिनु बेस हुन्छ; जस्तै: शास्त्रपद पढेर त्यसबारे टिप्पणी गर्न लगाउने। विद्यार्थीको व्यक्तित्व अनि क्षमतालाई विचार गर्नुहोस्। (फिलि. ४:५) प्रचारकार्यको विभिन्न पक्षमा तिनलाई प्रगतिशील ढङ्गमा प्रशिक्षण दिनुहुँदा तिनको सराहना गर्न कन्जुस्याइँ नगर्नुहोस्।
५ सेवकाईमा भाग लिनको लागि नियमित तालिका बनाउन नयाँ प्रकाशकलाई मदत गर्नु महत्त्वपूर्ण छ र सम्भव भए हप्तैपिच्छे यसो गर्नु बेस हुन्छ। (फिलि. ३:१६) सेवकाईमा सँगै काम गर्ने निश्चित प्रबन्ध मिलाउनुहोस् र अरू जोसिला भाइबहिनीहरूसँग पनि काम गर्न तिनलाई प्रोत्साहन दिनुहोस्। उनीहरूको उदाहरण अनि संगतिले तिनलाई आफ्नो कौशलता विकास गर्न र घर-घरको प्रचारकार्यबाट आनन्द प्राप्त गर्न मदत गर्नेछ।