प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने
भाग ११: पुनःभेट गर्न बाइबल विद्यार्थीलाई मदत गर्ने
१ बाइबल विद्यार्थीले प्रचारकार्यमा भाग लिन थालेपछि तिनले सुसमाचारमा चासो देखाउने मानिसहरू भेट्नेछन्। प्रभावकारी ढङ्गमा पुनःभेटहरू गर्न र इच्छुक व्यक्तिको चासो विकास गर्न हामी कसरी नयाँ प्रकाशकलाई मदत दिन सक्छौं?
२ पुनःभेटको लागि तयारी गर्ने काम पहिलो भेटदेखि नै सुरु हुन्छ। आफूले कुरा गर्ने व्यक्तिहरूप्रति निष्कपट चासो राख्न विद्यार्थीलाई प्रोत्साहन दिनुहोस्। (फिलि. २:४) घरधनीलाई आफ्नो मनको कुरा व्यक्त गर्न लगाउन, उनीहरूको कुरा सुन्न र उनीहरूलाई चिन्ता लाग्ने कुरा याद गर्न बाइबल विद्यार्थीलाई क्रमिक रूपमा प्रशिक्षण दिनुहोस्। कसैले चासो देखाएमा नयाँ प्रकाशकलाई भेटसित सम्बन्धित जानकारी लेखेर राख्न सिकाउनुहोस्। थप छलफलको योजना बनाउन तिनलाई मदत गर्न त्यो जानकारी चलाउनुहोस्।
३ पुनःभेटको लागि तयारी गर्ने: पहिलो भेटमा भएको कुराकानी पुनरावृत्ति गर्नुहोस् र विद्यार्थीलाई घरधनीको मन छुने किसिमको राज्यसन्देशको कुनै एउटा पक्ष छान्ने तरिका देखाउनुहोस्। (१ कोरि. ९:१९-२३) एउटा बाइबल पद र अध्ययन गर्ने प्रकाशनको एउटा अनुच्छेद समेटिएको एउटा संक्षिप्त प्रस्तुति सँगै तयार गर्नुहोस्। साथै, अर्को भेटको लागि आधार तयार पार्न छलफलको अन्तमा सोध्न सकिने एउटा प्रश्न पनि तयार गर्नुहोस्। हरेक भेटमा घरधनीलाई परमेश्वरको वचनको ज्ञान अझ बढी सिकाउने तरिका नयाँ प्रकाशकलाई सिकाउनुहोस्।
४ पुनःभेटमा जाँदा विद्यार्थीलाई सरल परिचय चलाउन सिकाउनु पनि मदतकारी हुन्छ। घरधनीलाई अभिवादन गरिसकेपछि तिनले यसो भन्न सक्छन्: “अस्ति तपाईंसित भेटेर कुरा गर्न पाउँदा मलाई एकदमै रमाइलो लाग्यो र आजचाहिं तपाईंलाई . . . बारे [विषय बताउनुहोस्] बाइबलको थप जानकारी बताउन आएको छु।” अर्कै व्यक्तिसित भेट भएको खण्डमा कसरी कुरा गर्ने भन्ने विषयमा पनि तपाईंले नयाँ प्रकाशकलाई सिकाउनुपर्ने हुन सक्छ।
५ पुनःभेट गर्न लगनशील हुनुहोस्: चासो देखाउने सबै व्यक्तिकहाँ सकेसम्म छिटो पुनःभेट गर्न जाने सन्दर्भमा असल उदाहरण बसाल्न विद्यार्थीलाई प्रोत्साहन दिनुहोस्। मानिसहरूलाई घरमा भेट्टाउन लगातार पुनःभेट गरिरहनुपर्ने हुन सक्छ। पुनःभेट गर्ने व्यवस्था कसरी मिलाउन सकिन्छ विद्यार्थीलाई सिकाउनुहोस् र आफूले वचन दिएअनुसारै पुनःभेट गर्न जानुपर्ने आवश्यकता बुझ्न तिनलाई मदत गर्नुहोस्। (मत्ती ५:३७) भेडा खाले व्यक्तिहरू खोज्ने तथा उनीहरूको चासो विकास गर्ने सन्दर्भमा नयाँ प्रकाशकलाई दयालु, विचारशील तथा आदर देखाउन प्रशिक्षण दिनुहोस्।—ती. ३:२.