सिकेका कुरा जीवनमा उतार्न मदत दिने स्कूल
१ सन् २००६ को ईश्वरतान्त्रिक सेवकाई स्कूल तालिका राम्ररी पढ्दा बाइबलका शिक्षाहरू आफ्नो जीवन र पवित्र सेवामा लागू गर्न हामी प्रयास गर्छौं। अनि कटिबद्ध पनि हुन्छौं।—यूह. १३:१७; फिली. ४:९.
२ टिप्पणी गर्दा: यसपाली बाइबलका विशेषताहरूमा टिप्पणी गर्न श्रोताले ५ मिनेट पाउनेछन्। त्यसैले, अब वक्ताले ६ मिनेटमा होइन तर ५ मिनेटभित्रै विशेषताहरू बताइसक्नुपर्छ। श्रोताले पनि टिप्पणी गर्दा समयको ख्याल राख्नुपर्छ। राम्रो तयारी छ भने राम्रो टिप्पणी गर्न ३० सेकेन्ड पनि लाग्दैन। पाँच मिनेटभित्र झन्डै १० जनाले अर्थपूर्ण टिप्पणी गर्न सक्छन्।
३ शिक्षामूलक भाषणहरू: बाइबलका विशेषताहरू र निर्देशन भाषणले सेवकाई र जीवनमा लागू हुने व्यावहारिक पक्षलाई जोड दिनुपर्छ। वक्ताले श्रोतालाई सिकेको कुरा जीवनमा उतार्न झकझकाएर मात्र पुग्दैन। के-के गर्नुपर्छ, कसरी गर्नुपर्छ र यसो गर्दा के फाइदा हुन्छ भनेर किटेरै बताउनुपर्छ। वक्ताले भन्न सक्छन्, “. . . यस प्रकार यो बाइबल पदले हामीलाई मदत दिन्छ,” वा “. . . यसरी यी बाइबल पदहरू सेवकाईमा लागू गर्न सक्छौं।” स्थानीय आवश्यकता थाह भएका प्राचीन र सेवकाई सेवकहरूले विषयवस्तुको व्यावहारिक पाठलाई सकभर तोकेरै बताउनुपर्छ।
४ जीवनमा लागू हुने व्यावहारिक पक्षमा जोड दिने एउटा प्रभावकारी तरिका बाइबल पात्र तथा घटनाहरूको उदाहरण दिएर हो। उदाहरण दिएपछि वक्ताले यसो भन्न सक्छन्, “हामी पनि यस्तै परिस्थितिमा नपर्ला भन्न सकिन्न।” तर तिनले के चाहिं पक्का गर्नुपर्छ भने बाइबल उदाहरणबाट सिक्न सकिने पाठ प्रसङ्गसित मिलेको अनि बाइबल सिद्धान्त र “विश्वासी र बुद्धिमान दास[को]” निर्देशनसित मेल खाएको होस्।—मत्ती २४:४५.
५ बुद्धि भनेको ज्ञान र समझ चलाउने क्षमता हो। “सर्वप्रथम कुरा बुद्धि प्राप्त गर्नु हो।” (हितो. ४:७) ईश्वरतान्त्रिक सेवकाई स्कूलबाट व्यावहारिक बुद्धि सिक्दै जाऔं अनि सिकाउने कलामा पनि निपुण बन्दै जाऔं।