प्रचार गर्ने मौका छोप्नुहोस्
१ मसीही मण्डलीमा विभिन्न परिस्थिति बोकेका मानिसहरू छन्। तर उनीहरू एउटा कुरामा चाहिं एकै मतका छन्। केमा? यहोवाको प्रशंसा गर्ने संकल्पमा! (भज. ७९:१३) उसोभए बिमारी वा अन्य परिस्थितिले गर्दा सुसमाचार सुनाउन नसक्दा हामी कसरी प्रचार गर्ने मौका छोप्न सक्छौं त?
२ दैनिक कामकुरोमा: येशूले मानिसहरूसित दैनिक भेटघाटकै बेला प्रचार गर्ने मौका छोपिहाल्नुहुन्थ्यो। जस्तै, महसुल उठाउने अड्डा भएर जाँदै गर्दा मत्तीसित, यात्रा गर्दैगर्दा जक्कैसित र आराम गर्दैगर्दा सामरी स्त्रीसित उहाँले कुरा गर्नुभयो। (मत्ती ९:९; लूका १९:१-५; यूह. ४:६-१०) हामी पनि मानिसहरूसित दिनदिनै भलाकुसारी गरिरहेका हुन्छौं। हो, त्यतिनै बेला प्रचार गर्ने मौका छोप्न सक्छौं। पर्चा वा पुस्तिकासँगै बाइबल पनि बोकेका छौं भने साक्षी दिन सजिलो हुन्छ।—१ पत्रु. ३:१५.
३ बिमारी परेर घर-घरको प्रचारमा जान सक्नुभएको छैन कि? त्यसो हो भने, जँचाउन जाँदा डाक्टर, नर्स र अरू स्टाफहरूलाई प्रचार गर्ने प्रयास गर्नुहोस्। (प्रेरि. २८:३०, ३१) घरैभित्र कुच्रिनुपर्ने परिस्थिति छ भने चाहिं टेलिफोन वा पत्रद्वारा साक्षी दिने चेष्टा गर्नुभए कसो होला? एउटी बहिनी विश्वासमा नभएका नातेदारहरूलाई पत्र लेखेर साक्षी दिइरहन्छिन्। उनी बाइबलका प्रोत्साहनदायी कुरा र प्रचार गर्दा बटुलेका अनुभवहरू पनि पत्रमा लेखेर पठाउने गर्छिन्।
४ जागिर वा स्कूलमा: हामीलाई यहोवाको प्रशंसा गर्ने बेहद इच्छा छ। त्यसैले त, जागिर खाने ठाउँ वा स्कूलमा सच्चाइको बीउ छर्ने हर मौका छोप्छौं। एक जना आठ वर्षे प्रकाशकले ब्यूँझनुहोस्! पत्रिकामा चन्द्रमाबारे आफूले पढेको कुरा कक्षामा बताएछन्। उनले त्यो कहाँ पढेको, सो थाह पाएपछि शिक्षकले प्रहरीधरहरा र ब्यूँझनुहोस्! लिन थाले। आफ्नो काम गर्ने ठाउँमा बाइबलले सिकाउँछ पुस्तक अरूले देख्ने गरी राख्दा मात्र पनि साक्षी दिने राम्रो मौका खुल्न सक्छ।
५ दैनिक कामकुरोमा तपाईं अरू कुन-कुन तरिकाले प्रचार गर्ने मौका छोप्न सक्नुहुन्छ? हर परिस्थितिको मौका छोपेर हरेक दिन “स्तुतिको बलिदान परमेश्वरलाई चढाऔं।”—हिब्रू १३:१५.