यहोवाको प्रबन्धको कदर गरौं अप्रिल १७ मा येशूको मृत्युको सम्झना गरिनेछ
१. भजनरचयिताको जस्तै मनोभाव देखाउनु स्मरणार्थको अवसरमा किन विशेषगरि उपयुक्त हो?
१ यहोवाले पटक-पटक देखाएको कृपा र थुप्रै पटक दिएको छुटकाराप्रति कृतज्ञ हुँदै भजनरचयिताले यस्तो प्रश्न गरे: “परमप्रभुले गर्नुभएको मेरो उपकारको निम्ति म उहाँलाई के भर्ना चढाऊँ?” (भज. ११६:१२) अहिले यहोवाका सेवकहरूसित उहाँप्रति कृतज्ञ हुने थुप्रै कारण छन्। यी प्रेरित शब्दहरू लेख्न लगाएको शताब्दीऔंपछि यहोवाले मानिसहरूलाई महान् उपहार दिनुभयो। त्यो हो—फिरौतीको प्रबन्ध। जब हामी अप्रिल १७ मा ख्रीष्टको मृत्युको सम्झना गर्न तयार हुन्छौं तब यहोवाप्रति धन्यवादी हुने असल कारण पाउँछौं।—कल. ३:१५.
२. फिरौतीको प्रबन्धप्रति हामी कृतज्ञ हुनुपर्ने कारण के-के हुन्?
२ फिरौतीबाट हामीले पाएका आशिष्हरू: फिरौतीको प्रबन्धले गर्दा हामीले “आफ्ना पापहरूको क्षमा पायौं।” (कल. १:१३, १४) त्यसकारण हामीले शुद्ध अन्तस्करणसहित यहोवाको सेवा गर्न सक्यौं। (हिब्रू ९:१३, १४) यहोवालाई प्रार्थना गर्दा उहाँसित निर्धक्क भई बोल्ने साहस पायौं। (हिब्रू ४:१४-१६) फिरौतीको प्रबन्धमा विश्वास गर्नेहरूसामु अनन्त जीवन पाउने महान् आशा छ।—यूह. ३:१६.
३. फिरौतीको प्रबन्धको लागि हामी यहोवाप्रति कसरी कृतज्ञ हुन सक्छौं?
३ कृतज्ञ हुनुहोस्: हामी एकदमै कृतज्ञ छौं भनेर देखाउने एउटा तरिका स्मरणार्थको बाइबल विवरण पढ्नु र मनन गर्नु हो। हामीले त्यसो गर्न सकोस् भनेर नै दिनहुँ धर्मशास्त्र जाँच्ने पुस्तिकामा स्मरणार्थ बाइबल पढाइ तयार पारिएको हो। प्रार्थना गर्दा पनि हामी फिरौतीको प्रबन्धको एकदमै कदर गर्छौं भनेर यहोवालाई बताउन सक्छौं। (१ थिस्स. ५:१७, १८) येशूको आज्ञा मान्दै स्मरणार्थमा उपस्थित हुँदा हामी कृतज्ञ भइरहेका हुन्छौं। (१ कोरि. ११:२४, २५) त्यसबाहेक हामी यहोवाको अपार मायाको अनुकरण गर्छौं र हामीसँगै स्मरणार्थमा उपस्थित हुन सक्दो धेरैलाई निम्तो दिन्छौं।—यशै. ५५:१-३.
४. हाम्रो सङ्कल्प कस्तो हुनुपर्छ?
४ यहोवाका कृतज्ञ सेवकहरू स्मरणार्थलाई सधैं हुने अरू सभाजस्तै ठान्दैनन्। यो वर्षकै सबैभन्दा महत्त्वपूर्ण सभा हो! स्मरणार्थ नजिकिंदै जाँदा हाम्रो सङ्कल्प पनि भजनरचयिताको जस्तै होस्: “हे मेरो आत्मा, परमप्रभुलाई धन्य भन्, र उहाँका सबै उपकारहरू नबिर्सी।”—भज. १०३:२.