हाम्रो सेवकाई—दया झल्किने काम
१ आफ्ना कुरा सुनिरहेका थुप्रै मानिस “गोठालो नभएका भेडाहरू जस्तै हैरान भई तितर-बितर भएका” येशूले याद गर्नुभयो। (मत्ती ९:३६) उहाँले तिनीहरूलाई कोमलता र प्रेमका साथ यहोवाको तौरतरिका सिकाउनुभयो, सान्त्वना दिनुभयो र दयालुपूर्वक तिनीहरूको आध्यात्मिक आवश्यकता पूरा गर्नुभयो। हामीले येशूको तौरतरिकामा मनन गर्दा उहाँले जस्तै सोच्न र महसुस गर्न सिक्छौं अनि यो दयालु काम सेवकाईमा पनि झल्काउन सक्नेछौं।
२ एकदमै मदत चाहिएकाहरू येशूकहाँ आउँदा उहाँले के गर्नुभयो, एकछिन सोच्नुहोस् त! (लूका ५:१२, १३; ८:४३-४८) विशेष मदतको खाँचोमा परेकाहरूको पनि उहाँले ख्याल राख्नुभयो। (मर्कू. ७:३१-३५) उहाँ अरूका भावनाप्रति सजग हुनुका साथै चासो देखाउनुहुन्थ्यो। उहाँले बाहिरी रूप होइन तर हृदय हेर्नुहुन्थ्यो। (लूका ७:३६-४०) हो, येशूले परमेश्वरको कोमल दया दुरुस्तै झल्काउनुभयो।
३ ‘उहाँ तिनीहरूमाथि टिठाउनुभयो’: गर्नै पर्ने भएकोले मात्र येशूले सेवकाई गर्नुभएको थिएन। उहाँ ‘मानिसहरूमाथि टिठाउनुहुन्थ्यो।’ (मर्कू. ६:३४) त्यसै गरी आज हामी पनि सन्देश सुनाउने मात्र गर्दैनौं तर बहुमूल्य जीवन बचाउने प्रयास गर्छौं। त्यसैले मानिसहरूले जस्तोसुकै प्रतिक्रिया देखाए तापनि त्यस्तो प्रतिक्रिया किन देखाइरहेका हुन्, बुझ्ने कोसिस गर्नुहोस्। तिनीहरू किन चिन्तामा डुबेका छन् वा अलमलमा परेका छन्? कतै झूटो धर्मगुरुहरूबाट अपहेलित पो भएका छन् कि? वा तिनीहरूको झूटो शिक्षाबाट पूरै प्रभावित पो भएका हुन्? हामीले अरूमा साँचो चासो देखाउँदा तिनीहरू सुसमाचार सुन्न उत्प्रेरित हुन सक्छन्।—२ कोरि. ६:४, ६.
४ दयाले हृदय छुन्छ। उदाहरणका लागि, एउटी स्त्री तीन महिनाकी छोरीको मृत्युले गर्दा शोकमा डुबेकी थिइन्। दुई जना साक्षीहरू उनको घरमा आउँदा उनले साक्षीहरूलाई भित्र त बोलाइन् तर उनको मनसाय उनीहरूको कुरा सुन्ने नभई परमेश्वरले किन दुःखकष्ट रहन दिनुहुन्छ भन्ने विषयमा उनीहरूको तर्क गलत साबित गर्नु थियो। तथापि, उक्त स्त्रीले पछि यसो भनिन्: “उनीहरूले एकदमै दया देखाएर मेरो कुरा सुनेकोले कुराकानीको अन्तसम्ममा मेरो मन यत्ति हलुको भयो कि म अर्को भेटको लागि राजी भएँ।” के तपाईं पनि सेवकाईमा भेटेका सबैलाई दया देखाउन प्रयास गर्नुहुन्छ?
५ दयालु हुँदा अरूलाई साँचो सान्त्वनाको सन्देश सुनाउन हामीलाई सजिलो हुन्छ। यसो गर्दा हामीले “कृपाका पिता” यहोवाको महिमा गरिरहेका हुनेछौं।—२ कोरि. १:३.