तपाईंले पहिले नियमित अग्रगामी सेवा गर्नुभएको थियो कि?
१. थुप्रैले कस्तो सुअवसरबाट आनन्द उठाइरहेका छन्? तर कसै-कसैले के गर्नु जरुरी छ?
१ वर्षौंदेखि हजारौंले पूर्ण-समय सेवकको रूपमा ‘सिकाउने र सुसमाचार घोषणा गर्ने’ विशेष सुअवसरबाट आनन्द उठाएका छन्। (प्रेषि. ५:४२) तर विभिन्न कारणले गर्दा कसै-कसैले अग्रगामी सेवा छोड्नुपरेको थियो। यदि तपाईंले पनि पहिले नियमित अग्रगामीको रूपमा सेवा गर्नुभएको थियो भने अब फेरि अग्रगामीको रूपमा सेवा गर्न सकिन्छ कि भनेर अहिलेको आफ्नो अवस्था जाँच्नुभयो?
२. पहिले अग्रगामी सेवा गरेका कसै-कसैले अहिलेको आफ्नो अवस्था किन जाँच्नुपर्छ?
२ अवस्था परिवर्तन हुन्छ: तपाईंले जुन अवस्थाले गर्दा अग्रगामी सेवा छोड्नुपरेको थियो अहिले त्यस्तो अवस्था नहुन सक्छ। जस्तै:- पहिले हरेक महिना ९० घण्टा पुऱ्याउन नसकेर अग्रगामी सेवा छोड्नुभएको थियो भने अहिले ७० घण्टा मात्र पुऱ्याए हुने भएकोले अब फेरि अग्रगामी सेवा गर्न सक्नुहुन्छ कि? अहिले अग्रगामी सेवा गरेको बेलामा जस्तो धेरै काम गर्नुपर्ने वा पारिवारिक जिम्मेवारी पनि धेरै वहन गर्नुपर्ने अवस्था छैन कि? बिरामी परेर अग्रगामी सेवा छोडेकी एउटी बहिनीले ८९ वर्षको उमेरमा फेरि अग्रगामी सेवा सुरु गरिन्। उनी अस्पतालमा भर्ना हुन नपरेको एक वर्षभन्दा धेरै भइसकेको थियो। यसकारण अग्रगामी सेवा सुरु गर्न स्वास्थ्यले साथ दिन सक्छ भनेर तिनले महसुस गरिन्।
३. परिवारका कुनै सदस्यले अग्रगामी सेवा गर्न सकोस् भनेर अरू सदस्यले कसरी सहयोग गर्न सक्छन्?
३ सायद तपाईंले त पहिले अग्रगामी सेवा गर्नुभएको थिएन होला। तर परिवारको कुनै सदस्यको हेरविचार गर्नुपरेकोले तपाईंको परिवारको कसैले अग्रगामी सेवा छोड्नुपरेको हुन सक्छ। जस्तै:- वृद्ध बुबाआमाको हेरविचार गर्नुपरेको हुन सक्छ। (१ तिमो. ५:४, ८) अग्रगामी सेवा छोडेका ती सदस्यलाई मदत गर्न तपाईं वा अरू सदस्यले केही गर्न सक्नुहुन्छ कि? यसबारे सँगै छलफल गर्नुभए हुन्छ नि, होइन र? (हितो. १५:२२) परिवारका सदस्यले आपसमा सहयोग गरेर एक जनाले अग्रगामी सेवा गर्न सकेमा बाँकी सदस्यले तिनलाई सघाएकोमा गर्व महसुस गर्नु जायज हो।
४. तपाईं अहिले नै फेरि अग्रगामी सेवा गर्न सक्नुहुन्न भने पनि के चाहिं गर्न सक्नुहुन्छ?
४ तपाईं फेरि अग्रगामी सेवा सुरु गर्न सक्ने अवस्थामा हुनुहुन्न भने पनि निराश नहुनुहोस्। सेवा गर्ने तपाईंको तत्परता देखेर यहोवा खुसी हुनुहुन्छ। (२ कोरि. ८:१२) अग्रगामी सेवा गर्दा तपाईंले हासिल गरेको क्षमता अहिले पनि प्रचारमा प्रयोग गर्नुहोस्। अग्रगामी सेवा गर्ने तपाईंको इच्छाबारे प्रार्थना गर्नुहोस् र आफ्नो अवस्थामा कुनै छाँटकाँट गर्न सकिएला कि भनेर सजग हुनुहोस्। (१ यूह. ५:१४) सायद समयमा यहोवाले तपाईंको लागि “सेवा गर्ने मौकाको ठूलो ढोका” खोलिदिनुहुनेछ र नियमित अग्रगामी सेवा गर्दा पाइने आनन्द तपाईं फेरि महसुस गर्न सक्नुहुन्छ।—१ कोरि. १६:९.
बुबाआमाहरू हो, के तपाईं छोराछोरीलाई पूर्ण-समय सेवा अँगाल्न प्रोत्साहन दिनुहुन्छ?
१ यहोवाले भन्ने कुनै पनि किसिमको काम गर्ने इच्छुक मनोभाव उहाँका जनहरूको चिनारी हो। (भज. ११०:३) अनि आफूलाई उपलब्ध गराउन सक्ने व्यक्तिहरूलाई अहिले विशेष निमन्त्रणा दिइँदैछ। के तपाईं यशैयाले जस्तै इच्छुक मनोभावसहित यो निमन्त्रणा स्वीकार्न तयार हुनुहुन्छ?—यशै. ६:८.
२ बेथेलमा सेवा गर्न भाइहरूको निरन्तर खाँचो परिरहन्छ। यसको लागि उनीहरूमा राज्य गतिविधिलाई प्राथमिकता दिने तीव्र इच्छा हुनु र विश्वव्यापी प्रचारकार्यलाई सहयोग गर्न आवश्यक कुनै पनि किसिमको काम गर्ने इच्छुकता हुनु जरुरी छ। (मत्ती ६:३३) वास्तवमा बेथेल परिवारको एक जना सदस्यको हैसियतमा सेवा गर्दा तनमनले यहोवाको सेवा गर्ने एउटा विशेष सुअवसर प्राप्त हुन्छ।
३ बेथेल सेवाका आशिष्हरू: बेथेलमा सेवा गर्नेहरूले आफूले पाएका सेवाका सुअवसरहरूबारे कस्तो महसुस गर्छन्? जम्माजम्मी ५९ वर्ष पूर्ण-समय सेवामा र ४३ वर्षभन्दा धेरै समय बेथेल सेवामा बिताएका एक जना भाइले यसो भने: “कसै-कसैले सोचेजस्तो बेथेल गुम्बा होइन। हाम्रो तालिकाबद्ध जीवनशैलीले गर्दा धेरै काम गर्न सक्छौं। . . . अहिलेसम्म काममा आउँदा नरमाइलो लागेको कुनै दिन छैन। किन? किनभने सारा तनमनले यहोवाको सेवा गर्दा ‘हामीले त आफूले जे गर्नुपर्ने हो, त्यो मात्र गरेका हौं’ भनी ढुक्क हुन सकेर हो।”—लूका १७:१०.
४ बेथेलमा सेवा गरिरहेकाहरूका लागि ख्रीष्टका भाइहरूसित घनिष्ठ भएर यहोवाको सेवा गर्न पाउनु एउटा विशेष सुअवसर हो। हाम्रो विश्वव्यापी भ्रातृत्वका आवश्यकताहरू पूरा गर्न आफूलाई उपलब्ध गराउनेहरूले देखाएको आत्मत्यागी मनोभावको परिचालक निकाय कदर गर्छ।—फिलि. २:२०-२२; २ तिमो. ४:११.
५ भौतिक सुखविलासमा नअलमलिनुहोस्: प्रत्येक जवान व्यक्तिले यसरी सोध्नु बेस हुनेछ, ‘स्कूलको पढाइ सिध्याएपछि मैले कस्तो लक्ष्य राखेको छु? पूर्ण-समय सांसारिक पेसामा लाग्ने वा पूर्ण-समय यहोवाको सेवा गर्ने?’ हो, पूर्ण-समय यहोवाको सेवा गर्न त्यागहरू गर्नुपर्नेछ। सांसारिक पेसामा लाग्दा पनि त्यागहरू त गर्नै पर्छ! तर कुन कामले साँच्चै चिरकालीन तथा लाभदायी परिणाम ल्याउँछ? येशूले स्पष्ट जवाफ दिनुभयो। मत्ती ६:१९-२१ अनुसार उहाँले यसो भन्नुभयो: “आफ्नो निम्ति पृथ्वीमा धनसम्पत्ति थुपार्न छोडिहाल, जहाँ त्यसलाई कीरा र खियाले खान्छ अनि चोरहरूले फोरेर लैजान्छन्। बरु, आफ्नो निम्ति स्वर्गमा धनसम्पत्ति थुपार, जहाँ न कीराले न त खियाले नै खान्छ अनि चोरहरूले फोरेर पनि लैजाँदैनन्। किनकि जहाँ तिम्रो धन हुन्छ, त्यहीं तिम्रो मन पनि हुन्छ।” हाम्रो हृदयले हामीलाई तनमनले यहोवाको सेवा गर्नुको सट्टा सांसारिक पेसा वा भौतिक कुराहरू प्राप्त गर्नतर्फ कहिल्यै नडोऱ्याओस्। प्राप्त गर्न लायक एउटै मात्र लक्ष्य भनेको यहोवासितको असल सम्बन्ध हो भन्ने कुरा हामी प्रत्येकले बुझ्नै पर्छ किनभने यसो गरेर हामी उहाँको हृदयलाई प्रसन्न तुल्याउँछौं। (हितो. २७:११) जवान छँदै आफ्नो जीवनमा यहोवालाई प्राथमिकता दिएर हामी कुन कुरालाई महत्त्व दिन्छौं र हाम्रो लागि परमेश्वरको राज्य कत्तिको महत्त्वपूर्ण छ, त्यो देखाउँछौं। नबिर्सनुहोस्, “परमप्रभुको आशिष्ले धन-सम्पत्ति ल्याउँछ, उहाँले तीसित दुःख पठाउनुहुन्न।” (हितो. १०:२२) यहोवाले दिएका सम्पूर्ण कुराको बदलामा उहाँलाई केही असल कुरा दिएर जवानहरूले आफ्नो मन कहाँ छ भन्ने कुरा देखाउने सर्वोत्तम अवसर पाएका छन्। बेथेल सेवाका आवश्यकताहरू पूरा गर्नेहरूका लागि बेथेल सेवाले यस्तो अद्भुत अवसर प्रदान गर्छ।
६ बुबाआमाहरू हो, छोराछोरीलाई प्रशिक्षण दिनुहोस्: केटाकेटीलाई पूर्ण-समय सेवा अँगाल्न प्रोत्साहन दिन बुबाआमाले के गर्न सक्छन्? येशूले यसो भन्नुभयो: “ज-जसले पूरा तालिम पाउँछन् ती सबै आफ्नो गुरु जत्तिकै हुनेछन्।” (लूका ६:४०) विस्तृत तवरमा प्रशिक्षण दिइएका चेलाले आफ्ना समर्पित गुरुका असल गुणहरू प्रकट गर्नु स्वाभाविकै हो। “परमेश्वरको भक्ति” गर्नुलाई आफ्नो “लक्ष्य” बनाउन छोराछोरीलाई प्रशिक्षण दिन कडा मेहनत गर्ने ख्रीष्टियन बुबाआमाहरूले यो सिद्धान्तलाई मनमा राख्नुपर्छ। (१ तिमो. ४:७) आध्यात्मिक कुराहरूप्रति बुबाआमाको मनोवृत्ति कस्तो छ, सो झल्काउने झुकाव छोराछोरीसित हुने भएकोले बुबाआमाले आफैलाई यस्तो सोध्नु बेस हुन्छ: ‘यहोवाको शुद्ध उपासनालाई अघि बढाउन बेथेलमा गरिने कामकुराको के हामी व्यक्तिगत रूपमा कदर गर्छौं? बेथेल प्रबन्धमा यहोवाको आशिष् छ भन्ने कुरा के हामी स्वीकार्छौं? यहोवाको सेवामा जीवन बिताउनु नै छोराछोरीले छनौट गर्न सक्ने सर्वोत्तम पेसा हो भनेर के हामी विश्वास गर्छौं?’ बेथेल सेवा र त्यहाँ गरिने कामकुराप्रतिको हाम्रो हार्दिक कृतज्ञताले हामीलाई हाम्रा छोराछोरीको मन पनि त्यस्तै कृतज्ञताले भरिदिन मदत गर्नेछ।
७ एल्काना र हन्ना साँचो उपासनाको गहिरो कदर गर्थे। आजका ख्रीष्टियन बुबाआमाहरूका लागि तिनीहरूले एउटा उल्लेखनीय उदाहरण बसाले। पुरातन इस्राएलमा इस्राएली पुरुषहरू मात्र बासस्थानमा वर्षको तीनपल्ट “परमप्रभु परमेश्वरको सामने देखा” पर्नु आवश्यक थियो। तापनि एल्काना ‘वर्षेनी’ आफ्नो सम्पूर्ण परिवारसित यहोवाको उपासना गर्ने यस स्थलमा बलिदान चढाउन लगभग ३० किलोमिटर लामो यात्रा सायद हिंडेर नै पूरा गर्थे। (प्रस्थ. २३:१७; १ शमू. १:३, ४, ९, १९; २:१९) यस परिवारको शिरले आध्यात्मिक कुराहरूप्रति आफ्नो व्यक्तिगत चासोमा सम्पूर्ण परिवारले साथ दिएको चाहन्थे भन्ने कुरा स्पष्ट छ।
८ साँचो उपासनाप्रति आफ्नो पतिको चासोलाई हन्नाले समर्थन गरिन्। बासस्थानमा साँचो उपासनालाई सहयोग गर्न योगदान पुऱ्याउनु आफ्नो पनि कर्तव्य हो भन्ने कुरा तिनले महसुस गरिन्। यहोवाले तिनलाई एउटा बालक दिनुभएको खण्डमा त्यस बालकलाई बासस्थानमा सेवाको लागि समर्पण गर्नेछु भनेर हन्नाले भाकल गरिन्। (१ शमू. १:११) मोशालाई दिइएको व्यवस्थाअनुसार पत्नीले कुनै अनुपयुक्त भाकल गरेको खण्डमा त्यसलाई रद्द गर्ने अधिकार पतिसित थियो। (गन्ती ३०:६-८) तथापि साँचो उपासनाको त्यस अभिव्यक्तिलाई आफूले पनि समर्थन गरेको देखाउँदै एल्कानाले हन्नाको भाकललाई समर्थन गरे! (१ शमू. १:२२, २३) बासस्थानमा शमूएलले गर्ने सेवाप्रति एल्काना र हन्नाले देखाएको चासो शमूएलले त्यहाँ कार्यभार वहन गरिसकेपछि त्यतिकैमा सिद्धिएन। शमूएलले पूर्ण-समय सेवा अँगालिसकेपछि पनि प्रोत्साहन तथा सहयोगको लागि तिनीहरू नियमित रूपमा उनलाई भेट्न जान्थे।—१ शमू. २:१८, १९.
९ आजका ख्रीष्टियन बुबाआमाका लागि एल्काना र हन्नाले कस्तो उल्लेखनीय उदाहरण बसाले! जब हाम्रा छोराछोरीले बेथेल सेवा गर्ने सुअवसरप्रति हामीले व्यक्त गरेको कृतज्ञताका हार्दिक अभिव्यक्ति सुन्नुका साथै राज्य गतिविधिलाई अघि बढाउन हामीले देखाउने आत्मत्यागी मनोभाव देख्छन्, तब उनीहरूले पनि अरूको सेवा गर्ने झुकाव भएको हृदय विकास गर्नेछन्। थुप्रै बुबाआमा आफ्ना छोराछोरीको मनमा यस्तो स्वास्थ्यकर झुकाव विकास गर्न सफल भएका छन्।
१० बुबाआमाहरू हो, विगतमा परमेश्वरप्रतिको भक्ति खेती गर्न आफ्ना छोराछोरीलाई प्रोत्साहित गर्ने विश्वासी जनहरूको उदाहरण अनुकरण गर्नुहोस्। (२ पत्रु. ३:११) अनि हामी सबैले हाम्रा जवान भाइबहिनीलाई हाम्रा महान् सृष्टिकर्ताको सेवा यथाशक्य गर्न सघाउन सकौं किनभने “यसमा वर्तमान र भावी दुवै जीवनमा पाइने आशिष्हरूको प्रतिज्ञा समावेश हुन्छ।”—१ तिमो. ४:८; उप. १२:१.
बेथेल सेवाका लागि आधारभूत आवश्यकताहरू
• बप्तिस्मा गरेको कम्तीमा एक वर्ष भएको हुनुपर्छ
• यहोवा र उहाँको सङ्गठनप्रति गहिरो प्रेम भएको एक जना आध्यात्मिक व्यक्ति हुनुपर्छ
• आध्यात्मिक, मानसिक, भावनात्मक तथा शारीरिक तवरमा स्वस्थ हुनुपर्छ
• नेपालको नागरिक हुनुपर्छ वा कानुनी रूपमा नेपालमा बस्ने अनुमति पाएको हुनुपर्छ
• नेपाली भाषा लेखपढ गर्न जान्ने र बोल्न सक्ने हुनुपर्छ
• उमेर १९ देखि ३५ वर्षभित्र हुनुपर्छ