के अहिले तपाईंको लागि अग्रगामीको ढोका खुला भएको छ?
लक्ष्य: १००० नियमित अग्रगामी!
१ हाम्रो १९९९ को वार्षिक पदले हामी अझै पनि यहोवाको “उद्धारको दिन” मा छौं भन्ने कुराको सम्झना गराउँछ। (२ कोरि. ६:२) तर चाँडै उहाँको उद्धारको दिनको अन्त हुनेछ। त्यसपछि उहाँको “इन्साफको दिन” सुरु हुनेछ। (२ पत्रु. २:९) यहोवाले मानिसजातिको उद्धारको निम्ति मौका खोलीदिनुभएकोले आज थुप्रैले सत्यलाई स्वीकारिरहेको देख्न पाउनु कत्ति रोमाञ्चकारी कुरा!
२ ढिला हुनुअघि नै यहोवाका जनहरू सत्यप्रति चासो देखाउनेहरूकहाँ पुग्न हर प्रयास गरिरहेका छन्। यसैअनुरूप थुप्रै राज्य प्रकाशकहरू अग्रगामी सेवामा सामेल भएका छन्। के अहिले तपाईंको लागि अग्रगामीको ढोका खुला भएको छ? हामीले यो प्रश्न गर्नुको कारण के हो?
३ मूल्यांकनका अभिव्यक्तिहरू: जनवरी १९९९ को हाम्रो राज्य सेवकाई-मा नियमित र सहायक अग्रगामीहरूले बुझाउनुपर्ने घण्टा कम गरिएको घोषणा गरियो। यो नयाँ प्रबन्धअनुसार नियमित अग्रगामीहरूले प्रत्येक महिना ७० घण्टा अर्थात एक सेवा वर्षभरि जम्मा ८४० घण्टा बिताउनु पर्छ। सहायक अग्रगामीहरूले प्रत्येक महिना ५० घण्टा बिताउनेछन्। यस्तो प्रबन्धको मूल्यांकन व्यक्त गरेका थुप्रै अभिव्यक्तिहरू मध्ये केही यस प्रकार छन्:
“हाम्रो स्वर्गमा हुनुहुने पिताबाट कति ठूलो उपहार!”
“यो प्रबन्धका लागि हर्ष, प्रेम र कृतज्ञताको भाव प्रकट गर्ने शब्द नै छैन!”
“यसले हाम्रो तालिकाअनुसार काम गर्न धेरै सजिलो बनाउनेछ!”
“हामी अझ थुप्रैले पूर्ण-समय सेवक भएर यहोवाको सेवा गर्दा पाइने अझ बढी आशिष्हरू पाऊन् भनेर प्रार्थना गर्दछौं।”
४ हामी जसै परमेश्वरको उद्धारको दिनको चरम सीमामा पुग्छौं, मानिसहरूले जोडतोडसाथ ठूलो स्वरले प्रशंसा गरेको उहाँ चाहनुहुन्छ। यसरी सुसमाचार विस्तार हुनु र तीव्र गतिले बढ्नुको कारण (१) राज्य उद्घोषकहरूको लगातार वृद्धि र (२) राज्य प्रचारको काममा हरेकले सकेभन्दा बढी भाग लिएर हो। यहोवाले नै ‘बढाउनु’ भएर अनि मुक्ति पाउन अघि सरेकाहरूलाई आशिष् दिनुभएर दुवैतर्फ सफल गराउनु भएको छ।—१ कोरि. ३:६, ७; भज. ११०:३.
५ मौका व्यर्थै जान नदिनुहोस्: यहोवाको उद्धारबारे पावलले सँगी मसीहीहरूलाई यस्तो चेताउनी दिए: “औ उहाँसँगै [यहोवा] काम गर्दै हामी तिमीहरूलाई आग्रहपूर्वक बिन्ती पनि गर्छौं, कि परमेश्वरको अनुग्रह व्यर्थैमा ग्रहण नगर।” यदि हामी हर समयलाई मानिसको उद्धारको लागि “ग्रहणयोग्य समय” ठान्छौं भने हामी यस समयलाई ‘व्यर्थ हुन दिंदैनौं।’ (२ कोरि. ६:१, २) पावलका शब्दहरू अहिले झनै महत्त्वपूर्ण छन्। यहोवालाई हृदयबाटै प्रेम गर्ने मसीहीहरूले उहाँबाट पाएको काम अर्थात् सेवकाईको काम गर्न पाउनु विशेषाधिकार सम्झन्छन्। तपाईं पनि अहिले नियमित अग्रगामी गरेर सेवकाईमा अझ धेरै भाग लिन सक्नुहुन्छ कि?
६ यो लक्ष्य व्यावहारिक छ: भारतमा, सेप्टेम्बर १ सम्ममा १००० जना नियमित अग्रगामी पुऱ्याउने लक्ष्य छ। यो लक्ष्य उचित छ र असम्भव छैन भनेर हामी विश्वस्त छौं। हामी किन यति विश्वस्त छौं? मार्च १९९७ मा १,७१५ साथै अप्रिल १९९८ मा झन्डै २,१७० जना भाइबहिनीहरूले सहायक अग्रगामी गरेका पाइयो। धेरैले ६० घण्टाको रिपोर्ट बुझाए। नियमित अग्रगामीको नयाँ प्रबन्धअनुसार १० घण्टा मात्र कम। यो सेवा वर्षको अन्तसम्ममा पहिला सहायक अग्रगामी गर्नेहरूमध्ये २०० जनाले मात्र नियमित अग्रगामी गरेको खण्डमा पनि सेप्टेम्बर महिना १००० भन्दा बढी पूर्ण-समय अग्रगामीहरूले सुरु गर्नसकिन्छ।
७ तालिका चाहिन्छ: तपाईंलाई क्षेत्र सेवकाईमा ७० घण्टा बिताउन अझ पनि नसकिने जस्तो लाग्छ कि? हप्तामा १७ घण्टाको तालिका बनाउनु भयो भने सायद सजिलो होला। अर्को पृष्ठमा दिइएको नमुना तालिका प्रयोग गरेर तपाईंको व्यक्तिगत परिस्थितिलाई मिल्ने नियमित अग्रगामीको तालिका बनाएर हेर्नुहोस्। तपाईंको तालिकाअनुसार काम गर्दै व्यक्तिगत र पारिवारिक जिम्मेवारी सम्हाल्दै अग्रगामीको कामलाई सन्तुलित ढंगमा गर्नसकेका एक अनुभवी अग्रगामीको सुझाउ र राय लिनुहोस्। तपाईंको क्षेत्रीय निरीक्षकलाई उनको क्षेत्रमा अग्रगामीहरूले हरेक हप्ता सेवाको काममा कसरी समय मिलाउँछन्, सोध्नुहोस्। त्यसपछि तपाईंको अग्रगामी गर्ने योजनामा यहोवासँग आशिष् माग्नुहोस्।—हितो. १६:३.
८ यसलाई पारिवारिक योजना बनाउनुहोस्: के तपाईंले अग्रगामीलाई पारिवारिक योजना बनाउने विचार गर्नुभएको छ? परिवारको एक वा दुई सदस्यले कसरी अग्रगामी गर्न सक्छन्। परिवारका सबैजना बसेर राम्रो सरसल्लाह गरिकन होसियारीसाथ योजना बनाउन छलफल गर्न सक्नुहुन्छ। कतिपयले भने आफ्नो परिस्थितिलाई राम्ररी केलाइसकेपछि पनि हाल नियमित अग्रगामी गर्न नसक्ने हुन्छन्। त्यसो हो भने भविष्यमा अग्रगामी गर्ने लक्ष्य राख्नुहोस्। तर अहिलेदेखि नै नियमित अग्रगामी यसै दिनदेखि सुरु गर्नेछु भनेर योजना बनाउन सुरु गरिहाल्नुहोस्। बिस्तार बिस्तारै नियमित अग्रगामीको लक्ष्यमा पुग्न सायद तपाईं यही वर्षको दौडान पनि धेरै चोटि सहायक अग्रगामी गर्न सक्नुहुन्छ कि।
९ भारतमा, हाल ८०० जना नियमित अग्रगामीहरूका विभिन्न परिस्थितिहरू छन्। एक सय जना जति अविवाहित छन् र झन्डै २०० जना ५० वर्षभन्दा बढी उमेरका छन्। करिब ५०० जनाचाहिं २० देखि ५० वर्षकाहरू छन् र तिनीहरूमध्ये धेरैले परिवार र मण्डलीका जिम्मेवारीहरू पनि निर्वाह गर्दैछन्। यिनीहरू सबैले अग्रगामी गर्न “समयको अवसर विचार गरेर” सरल तर सन्तोषजनक जीवन बिताइरहेका छन्।—कल. ४:५.
१० के तपाईंको जीवनलाई सरल बनाउनु खाँचो छ? सरल जीवन नै तपाईंलाई अग्रगामी गर्न सम्भव तुल्याउने प्रमुख खुड्किलो हुनसक्छ। एउटा ठूलो घरमा अनावश्यक कोठा र सरसजावटहरू छन् भने त्यसको स्याहारसुसार गर्न गाह्रो पर्छ अनि समय र खर्च पनि धेरै लाग्छ। के तपाईंको जीवन पनि त्यस्तै छ? यदि त्यस्तै छ भने अनावश्यक कुराहरूलाई काँटछाँट गर्नुभयो भने अग्रगामी गर्न सम्भव हुनसक्छ। आफ्नो जागिरबाट केही समय निकाल्न सक्नुहुन्छ कि? के अनावश्यक कामहरूबाट समय निकाल्न सक्नुहुन्छ अर्थात् मनोरञ्जनका समयहरूप्रति सन्तुलित दृष्टिकोण राख्न सक्नुहुन्छ कि?
११ बाइबलले १ तिमोथी ६:८ मा यसो भन्छ: “खान र लाउन भएपछि हामी त्यसमा सन्तुष्ट हुनेछौं।” थोरै कुरामा सन्तुष्ट भएर हामीले यथाशक्य यहोवाको सेवा गर्नु अनि आध्यात्मिक कुरालाई प्राथमिकता दिनु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। (मत्ती ६:२२, ३३) १९९८ वार्षिक पुस्तक, पृष्ठ १०४ मा जापानको विषयमा दिइएको रिपोर्टमा त्यहाँ कसरी अग्रगामी काममा जोसिलाहरू छन् भन्ने विषयमा राम्रा राम्रा उदाहरणहरू दिएका छन्। यस कुरालाई ध्यान दिनुहोस्: “साधारणतया जापानी घरहरू साना चिटिक्क परेका हुन्छन्। यसैले स्याहारसुसार गर्न समय कम लाग्छ साथै अधिकांश जीवन परम्परागत साधारण हुन्छ।” पहिलो तिमोथी ६:८ को मूल अर्थ यही होइन त?
१२ विश्वभरि परमेश्वरका सेवकहरू यहोवाको उद्धारको दिनको अन्त आउनुअघि सुसमाचार प्रचार गर्ने काम अझ जोडतोडका साथ गरिरहेका छन्। प्रशंसनीय कुरा के छ भने गत वर्ष हरेक महिना विभिन्न समयहरूमा करिब ७,००,००० जनाले अग्रगामी सेवामा भाग लिए। के तपाईं पनि जीवनमा काँटछाँट गरेर तिनीहरूसँगै सहभागी हुन सक्नुहुन्छ? हामी तपाईंहरूलाई होसियारीसाथ अनि प्रार्थनापूर्वक आफ्नो परिस्थिति केलाउनुहोस् र त्यसपछि यो प्रश्नको जवाफ दिनुहोस् भन्ने आग्रह गर्छौं: “के अहिले तपाईंको लागि अग्रगामीको ढोका खुला भएको छ?”