आफ्नो दिमाग सुरक्षित राख्नुहोस्
१. सेवा वर्ष २०१३ को क्षेत्रीय सम्मेलनको मूल विषय के हो र यस कार्यक्रमको उद्देश्य के हो?
१ यहोवालाई सारा मनले, ज्यानले र दिमागले प्रेम गर्नू भनी येशूले आफ्ना चेलाहरूलाई निर्देशन दिनुभयो। (मत्ती २२:३७, ३८) आउँदा अधिवेशन तथा सम्मेलनहरू हामी वास्तवमै कस्ता मानिस हौं भनी बुझेर बलियो हुन तयार पारिएको छ। तपाईंहरूलाई यादै होला, हाम्रो जिल्ला अधिवेशनको विषय हो: ‘आफ्नो हृदय सुरक्षित राख्नुहोस्!’ सेवा वर्ष २०१३ को विशेष सम्मेलन दिन कार्यक्रमको मूल विषय हो: “आफ्नो अन्तस्करण सुरक्षित राख्नुहोस्।” अनि शृङ्खलाबद्ध क्षेत्रीय सम्मेलनहरूको मूल विषय हो: “आफ्नो दिमाग सुरक्षित राख्नुहोस्।” अनि यो मत्ती २२:३७ मा आधारित छ। आफ्नो सोचाइलाई यहोवाले चाहेको आकारमा ढाल्न दिन यो कार्यक्रम तयार पारिएको छ।
२. कार्यक्रममा हामीले कस्ता प्रश्नको जवाफ खोज्नुपर्छ?
२ कस्ता जानकारीहरू प्रस्तुत गरिनेछन्: क्षेत्रीय सम्मेलनमा ध्यान दिएर सुन्दा हामीले यी प्रश्नको जवाफ खोज्नुपर्छ। यी प्रश्नले मुख्य-मुख्य बुँदा प्रस्ट्याउँछ:-
• हामी कसरी ‘मानिसको सोचाइ’ राख्नदेखि जोगिन सक्छौं?
• विश्वास नगर्ने मानिसहरूको दिमागलाई अन्धो तुल्याइदिने घुम्टो हटाउन हामी कसरी मदत गर्न सक्छौं?
• हामी कस्तो मनोभाव राख्न चाहन्छौं?
• राम्ररी मनन गर्दा के-कस्ता फाइदा हुन्छ?
• हामी कसरी आफ्नो सोचाइलाई यहोवाले चाहेको आकारमा ढालिन दिन सक्छौं?
• पति, पत्नी, आमाबाबु र छोराछोरीले पारिवारिक आनन्दको लागि कसरी योगदान पुऱ्याउन सक्छन्?
• हामी यहोवाको दिनको लागि कसरी तयार हुन सक्छौं?
• कम्मर कस्नु भनेको के हो?
• सिकेको कुरा लागू गर्नेहरूले के-कस्ता आशिष्हरू पाउनेछन्?
३. दुवै दिन उपस्थित हुनु, ध्यान दिनु र सिकेको कुरा लागू गर्नु किन महत्त्वपूर्ण छ?
३ हाम्रो दिमाग र सोचाइलाई भ्रष्ट पार्न सैतान जोडतोडले लागेको छ। (२ कोरि. ११:३) त्यसैले यहोवालाई खुसी बनाउन हामीले आफ्नो दिमाग र सोचाइलाई सुरक्षित राख्नै पर्छ। हामीले ख्रीष्टको सोचाइ झल्काइरहनुपर्छ र यस भ्रष्ट संसारको प्रभावविरुद्ध लड्नै पर्छ। (१ कोरि. २:१६) त्यसैले क्षेत्रीय सम्मेलनको दुवै दिन उपस्थित हुन प्रबन्ध मिलाउनुहोस्। ध्यान दिनुहोस्। प्रस्तुत गरिएको महत्त्वपूर्ण जानकारी लागू गर्दा राज्य सेवामा जोसिलो भई लाग्न आफ्नो कम्मर कस्न मदत पाउनेछौं।—१ पत्रु. १:१३.