सेवाको काममा आफ्ना छोराछोरीलाई प्रशिक्षण दिनुहोस्
१. भजन १४८:१२, १३ ले ख्रीष्टियन आमाबाबुलाई के गर्न बाध्य बनाउँछ?
१ यहोवा केटाकेटीलाई उहाँको प्रशंसा गर्न निमन्त्रणा दिनुहुन्छ। (भज. १४८:१२, १३) त्यसैकारण ख्रीष्टियन आमाबाबुले आफ्ना छोराछोरीलाई बाइबल सत्य र परमेश्वरका नैतिक व्यवस्थाहरू मात्र सिकाउँदैनन्। तिनीहरूले छोराछोरीलाई सुसमाचारको सेवक बन्न पनि प्रशिक्षण दिन्छन्। क्रमिक रूपमा यस्तो कसरी गर्न सकिन्छ?
२. आमाबाबुको उदाहरणले छोराछोरीमा कस्तो प्रभाव पार्न सक्छ?
२ असल उदाहरण: न्यायकर्ता गिदोनले आफ्ना ३०० जना मानिसहरूलाई भने: “मलाई हेर . . . म जसो गर्छु तिमीहरू पनि त्यसै गर।” (न्याय. ७:१७) स्वाभाविक रूपले छोराछोरीले आमाबाबुलाई हेर्छन् र तिनीहरूको नकल गर्छन्। एक जना बुबा राती काम गर्छन् र घर फर्कंदा थकित हुने भए तापनि शनिबारको दिनचाहिं सुत्नुको सट्टा तिनी आफ्ना छोराछोरीलाई क्षेत्र सेवामा लैजान्छन्। आफ्नो कामबाटै क्षेत्र सेवा सबैभन्दा महत्त्वपूर्ण कुरा हो भनी तिनले सिकाइरहेका छन्। (मत्ती ६:३३) के तपाईंका छोराछोरीले तपाईंलाई आनन्दित भई प्रार्थना, बाइबल पढाइ, टिप्पणी दिने र प्रचारकार्यजस्ता उपासनाका विभिन्न पक्षमा भाग लिइहरेको देख्छन्? पक्कै पनि तपाईं सर्वगुणी उदाहरण हुनुहुनेछैन। तर यहोवाको सेवामा तपाईं लगनशील भई लाग्नुभएको तपाईंका छोराछोरीले देखेका छन् भने तपाईंले सिकाउने प्रयास गर्दा तिनीहरूलाई स्वीकार्न सजिलो हुन्छ।—व्यव. ६:६, ७; रोमी २:२१, २२.
३. उपासनासित सम्बन्धित कस्ता क्रमिक लक्ष्यहरू राख्न र प्राप्त गर्न आमाबाबुले छोराछोरीलाई मदत गर्न सक्छन्?
३ क्रमिक लक्ष्यहरू: हिंड्न, बोल्न र आफै लुगा लगाउनजस्ता कुराहरू छोराछोरीलाई सिकाउन आमाबाबुले अथक प्रयास गर्छन्। छोराछोरी बढ्दै जाँदा उमेरअनुसार तिनीहरूसामु आमाबाबुले नयाँ-नयाँ लक्ष्य राखिदिन्छन्। तिनीहरूका आमाबाबु ख्रीष्टियन हुन् भने तिनीहरूको उमेर र क्षमताअनुसार तिनीहरूलाई हाम्रो उपासनासित सम्बन्धित लक्ष्य राख्न र त्यहाँसम्म पुग्न मदत पनि दिन्छन्। (१ कोरि. ९:२६) आफ्नै शब्दमा टिप्पणी दिन र ईश्वरतान्त्रिक सेवा स्कूलमा असाइनमेन्ट पाउँदा आफै तयारी गर्न के तपाईं आफ्ना छोराछोरीलाई सिकाउँदै हुनुहुन्छ? (भज. ३५:१८) सेवाको कामका विभिन्न पक्षमा भाग लिन के तपाईं तिनीहरूलाई प्रशिक्षण दिंदै हुनुहुन्छ? तिनीहरूसामु बप्तिस्मा र पूर्ण-समय सेवाको लक्ष्य राखिदिंदै हुनुहुन्छ कि? तिनीहरूलाई प्रोत्साहन दिने खालका आनन्दित र उत्साही प्रकाशकहरूसित सङ्गत गर्न के तपाईंले सक्रियता साथ प्रबन्ध मिलाइदिनुभएको छ?—हितो. १३:२०.
४. सानैदेखि सेवाको काममा प्रशिक्षण दिने आमाबाबु पाउँदा छोराछोरीले कस्तो लाभ उठाउँछन्?
४ भजनहारले यसो भने: “हे परमेश्वर, बाल्यकालदेखिनै तपाईंले मलाई शिक्षा दिनुभएको छ, र अहिलेसम्म पनि तपाईंको उदेकको कार्यहरू मैले घोषणा गरेको छु।” (भज. ७१:१७) सेवाको काममा आफ्ना छोराछोरीलाई सानैदेखि प्रशिक्षण दिनुहोस्। तपाईंले तिनीहरूलाई बसाल्न मदत गर्नुभएको आध्यात्मिक जगले तिनीहरूलाई पक्कै पनि वयस्क भइसकेपछि पनि मदत गर्नेछ।—हितो. २२:६.