मार्च १७ देखि स्मरणार्थको निम्तो बाँड्ने अभियान सुरु
१. मार्च १७ देखि कुन अभियान सुरु हुनेछ?
१ येशूको मृत्युको सम्झना गर्ने बेला वर्षेनी उहाँको मृत्युको घोषणा गर्छौं। (१ कोरि. ११:२६) त्यसैले त्यो साँझ मानिसहरू हामीसितै भेला भएको र यहोवाले उपहार स्वरूप प्रबन्ध गरिदिएको फिरौतीबारे सुनेको चाहन्छौं। (यूह. ३:१६) यो वर्ष मानिसहरूलाई स्मरणार्थको निम्तो बाँड्ने अभियान शनिबार, मार्च १७ देखि सुरु हुनेछ। के तपाईं यस अभियानमा पूरापूर भाग लिने विचार गर्दै हुनुहुन्छ?
२. निम्तोपर्ची दिंदा हामी के भन्न सक्छौं?
२ हामी के भन्न सक्छौं: निम्तोपर्ची बाँड्न छोटो प्रस्तुति तयार गर्नु राम्रो हुन्छ। तपाईं यस्तै केही भन्न सक्नुहुन्छ: “नमस्कार! हामी तपाईंको सम्पूर्ण परिवारलाई अप्रिल ५ मा पर्ने येशूको मृत्युको वार्षिकीमा निम्तो दिन चाहन्छौं। त्यतिबेला बाइबलमा आधारित भाषण दिइनेछ। येशूको मृत्युले गर्दा के सम्भव भयो अनि उहाँ अहिले के गर्दै हुनुहुन्छ, त्यस भाषणमा बताइनेछ। सभा हुने स्थान र समय यस पर्चीमा दिइएको छ।” सप्ताहन्तमा निम्तोपर्ची बाँड्दा, उपयुक्त छ भने पत्रिकाहरू पनि प्रस्तुत गर्नुहोस्।
३. हामी कसरी सकेसम्म धेरै मानिसलाई निम्तो दिन सक्छौं?
३ सकेजति धेरैलाई निम्तो दिनुहोस्: हाम्रो उद्देश्य भनेको सकेसम्म धेरै मानिसलाई निम्तो दिनु हो। त्यसकारण तपाईंको बाइबल विद्यार्थी, पुनःभेट, नातागोता, सहकर्मी, सहपाठी अनि चिनेजानेका सबैलाई निम्तो दिन नबिर्सनुहोस्। इलाका ढाक्ने सन्दर्भमा स्थानीय एल्डरहरूले निर्देशन दिनेछन्। स्मरणार्थको निम्तो बाँड्ने वार्षिक अभियानको परिणाम पक्कै पनि राम्रो हुनेछ। गत वर्ष एक जना आइमाई स्मरणार्थमा उपस्थित हुँदा निम्तो दिने प्रकाशकलाई भेट्न चाहन्छिन् कि भनेर परिचारकले तिनलाई सोधे। तर तिनले त्यहाँ कसैलाई पनि नचिनेको र अघिल्लो दिन मात्रै घरघरको प्रचारमा आएका एक जनाबाट निम्तोपर्ची पाएको कुरा बताइन्।
४. यस अभियानमा जोसका साथ भाग लिनुपर्ने के-कस्ता कारण छन्?
४ स्मरणार्थमा आएकाहरूमध्ये कोही-कोही तपाईंले निम्त्याएकाहरू पनि हुन सक्छन्। कसैले तपाईंको निम्तो स्वीकारोस् वा नस्वीकारोस्, तपाईंको अथक प्रयास खेर जाँदैन। तपाईंले बाँडेको निम्तोले येशू अहिले शक्तिशाली राजा हुनुहुन्छ भन्ने साक्षी दिन्छ। यस अभियानमा जोसका साथ भाग लिंदा तपाईंले इलाकाका मानिसहरूलाई, सँगी विश्वासीहरूलाई र विशेषगरि यहोवालाई तपाईं फिरौतीको बलिदानको मोल गर्नुहुन्छ भनेर देखाइरहेको हुनेछ।—कल. ३:१५.