आनन्दित मनले स्मरणार्थको लागि तयारी गर्नुहोस्
१. स्मरणार्थको समयमा हामीले के गर्ने मौका पाउँछौं?
१ मार्च २६, मङ्गलबारको दिन मनाइने स्मरणार्थ उत्सवमा परमेश्वरले हाम्रो उद्धारको निम्ति गरिदिनुभएको प्रबन्धको लागि आनन्दित हुने सुनौलो मौका हामी पाउँछौं। (यशै. ६१:१०) स्मरणार्थ उत्सवले हाम्रो लागि विशेष अर्थ राख्छ। तर त्यसअघिको समय पनि हाम्रो लागि आनन्दमय हुनुपर्छ। हामी कसरी तयारी गर्न सक्छौं?
२. स्मरणार्थ उत्सवको लागि तयारी गर्न हामीलाई कुन कुराले जुरमुऱ्याउँछ?
२ स्मरणार्थ उत्सवको लागि तयारी गर्ने: प्रभुको साँझको भोज एकदमै महत्त्वपूर्ण उत्सव हो। तर यो साधारण तरिकाले मनाइन्छ। तैपनि सबै कुरा सुचारु होस् भनेर पहिल्यै योजना बनाउनुपर्छ। (हितो. २१:५) समय पक्का गर्नुपर्छ। उपयुक्त स्थान पनि छान्नुपर्छ। स्मरणार्थमा चाहिने प्रतीकहरूको प्रबन्ध गर्नुपर्छ। सभा हुने स्थान सफा गरेर तयार बनाउनुपर्छ। भाषण दिने वक्ताले राम्रोसित तयारी गर्नुपर्छ। रोटी र दाखमद्य पास गर्ने भाइहरूलाई र परिचारकहरूलाई स्पष्ट निर्देशन दिनुपर्छ। यीमध्ये कतिपय तयारी त तपाईंहरूले गरिसक्नुभयो होला। फिरौतीको बलिदानप्रति हामी कृतज्ञ छौं। त्यसैले यस पवित्र अवसरको लागि राम्ररी तयारी गर्न हामी जुरमुरिन्छौं।—१ पत्रु. १:८, ९.
३. प्रभुको साँझको भोजको लागि हामी कसरी मनको तयारी गर्न सक्छौं?
३ मनको तयारी गर्ने: स्मरणार्थको महत्त्वलाई राम्ररी बुझ्न मनको तयारी गर्नु पनि एकदमै महत्त्वपूर्ण छ। (एज्रा ७:१०) स्मरणार्थको विशेष बाइबल पढाइ गर्न र पृथ्वीमा येशूले बिताउनुभएको अन्तिम दिनहरूबारे मनन गर्न पनि समय निकाल्नुहोस्। येशूले देखाउनुभएको आत्मत्यागी मनोभावबारे मनन गर्दा हामी उहाँको अनुकरण गर्न उत्प्रेरित हुन्छौं।—गला. २:२०.
४. फिरौतीको बलिदानले दिने कस्तो लाभले तपाईंलाई अथाह आनन्द दिन्छ?
४ ख्रीष्टको मृत्युले यहोवाको सार्वभौमिकतालाई उच्च पार्छ। यसले हामीलाई पाप र मृत्युबाट छुटकारा दिन्छ। (१ यूह. २:२) परमेश्वरसित शान्तिपूर्ण सम्बन्ध राख्न मदत गर्छ। अनन्त जीवनको लागि पनि बाटो खोलिदिन्छ। (कल. १:२१, २२) यसले समर्पणअनुरूप जीवन बिताउने हाम्रो सङ्कल्पलाई बलियो बनाउँछ। येशूको चेलाको हैसियतमा अडिग रहन पनि मदत गर्छ। (मत्ती १६:२४) स्मरणार्थको लागि तयारी गर्दा र त्यस दिन उपस्थित हुँदा तपाईंको आनन्द अझै बढोस्!