सृष्टिकर्ताको कुरा सुन्न मानिसहरूलाई मदत गर्नुहोस्
१. “परमेश्वरको राज्य आओस्!” विषयक जिल्ला अधिवेशनमा कुन-कुन पुस्तिका विमोचन गरिएका थिए र ती पुस्तिका किन प्रभावकारी हुन सके?
१ “परमेश्वरको राज्य आओस्!” विषयक जिल्ला अधिवेशनमा सृष्टिकर्ताको कुरा सुन्नुहोस् र सधैंभरि बाँच्नुहोस् अनि यसको सरल संस्करण, सृष्टिकर्ताको कुरा सुन्नुहोस् गरी दुईवटा नयाँ पुस्तिका विमोचन गरिएका थिए। ती पुस्तिकामा धेरै शब्द नभएकोले छिटै अनि सजिलैसित अनुवाद गर्न सकिन्छ। वास्तवमा सृष्टिकर्ताको कुरा सुन्नुहोस् र सधैंभरि बाँच्नुहोस् पुस्तिका अङ्ग्रेजी भाषामा विमोचन गरिंदा यसलाई ४३१ भाषामा अनुवाद गर्ने स्वीकृति दिइसकिएको थियो।
२. यी पुस्तिकाबाट कसले लाभ उठाउन सक्छन्?
२ यी पुस्तिकाबाट विशेषगरि कसले लाभ उठाउन सक्छन्? संसारभर प्रायः देखिने यी अवस्था विचार गर्नुहोस्:-
• पहिलो भेटमा होस् या पुनःभेटमा, प्रकाशकले घरधनीसित छलफल गर्दा घरधनीले पढ्न नजानेको वा राम्ररी पढ्न नसकेको याद गर्छन्।
• हामीले कुनै-कुनै प्रकाशन मात्र अनुवाद गरेको वा एउटै पनि प्रकाशन उपलब्ध नभएको भाषामा प्रकाशकले घरधनीसित कुरा गर्छन्। अथवा इलाकाको प्रायः मानिसलाई बोल्न असाध्यै सजिलो लाग्ने भाषामा पढ्नै आउँदैन।
• प्रकाशक आफ्नो इलाकाका बहिराहरूलाई प्रचार गर्न साङ्केतिक भाषा प्रयोग गर्छन्।
• आफ्ना साना केटाकेटीले पढ्न जानिसकेका छैनन् तर आमाबाबु सत्य सिकाउन चाहन्छन्।
३. सृष्टिकर्ताको कुरा सुन्नुहोस् कसरी तयार पारिएको छ?
३ यी पुस्तिकामा के छन्?: सृष्टिकर्ताको कुरा सुन्नुहोस्-मा शब्दहरू थोरै छन्। भनाइको मतलब, वाक्यहरू सरल छन् र प्रत्येक पृष्ठको पुछारमा मुख्य बुँदालाई जोड दिने बाइबल पद दिइएका छन्। किन? कल्पना गर्नुहोस्, कसैले तपाईंलाई पढ्न नआउने सायद तपाईंले नजानेको भाषामा एउटा पुस्तिका दियो। त्यसमा राम्रा चित्रहरू भए तापनि के तपाईंलाई त्यो पढुँ-पढुँ लाग्छ र? पक्कै पनि लाग्दैन। त्यसैगरि पढ्न नआउने मानिसहरू अक्षर भएको प्रकाशन देख्दा पढ्ने मन गर्दैनन्। त्यसैकारण प्रत्येक पृष्ठमा निकै विचार पुऱ्याएर तयार पारिएका चित्रहरू छन् र एउटा चित्रबाट अर्को चित्र छलफल गर्न प्रस्टै देखिने सङ्केत-चिन्ह पनि छन्।
४. सृष्टिकर्ताको कुरा सुन्नुहोस् र सधैंभरि बाँच्नुहोस् कसरी तयार पारिएको छ?
४ सृष्टिकर्ताको कुरा सुन्नुहोस् भन्ने पुस्तिकामा भएकै चित्रहरू सृष्टिकर्ताको कुरा सुन्नुहोस् र सधैंभरि बाँच्नुहोस् भन्ने पुस्तिकामा छन्। यो पुस्तिका अलि-अलि पढ्ने जान्ने वा पढ्न सिकिरहेका मानिसहरूसित अध्ययन गर्नको लागि तयार पारिएको हो। विद्यार्थीलाई सृष्टिकर्ताको कुरा सुन्नुहोस् भन्ने पुस्तिकाबाट छलफल गराइरहेका छौं भने सृष्टिकर्ताको कुरा सुन्नुहोस् र सधैंभरि बाँच्नुहोस् पुस्तिकालाई शिक्षकको प्रतिको रूपमा प्रयोग गर्न सक्छौं। यस पुस्तिकाको प्रत्येक दुई पृष्ठको देब्रे पृष्ठमा सबैभन्दा माथि प्रश्न दिइएको छ र ती दुई पृष्ठमा त्यसको जवाफ दिइएको छ। यसमा चित्र मात्र होइन, चित्रसँगै केही वाक्य पनि लेखिएका छन् र शास्त्रपदहरू पनि उल्लेख गरिएका छन्। प्रायजसो पृष्ठको तलतिर एउटा सानो पेटीमा केही थप बुँदा दिइएका छन् र बाइबल पदहरू पनि उल्लेख गरिएका छन्। अनि विद्यार्थीको क्षमताको आधारमा ती छलफल गर्न सकिन्छ।
५. हामी कसरी र कहिले यी पुस्तिका प्रस्तुत गर्न सक्छौं?
५ यी पुस्तिका कसरी प्रयोग गर्न सकिन्छ?: घरघरको प्रचारकार्यमा यी पुस्तिकामध्ये जुनचाहिं प्रस्तुत गर्दा घरधनीले फाइदा उठाउन सक्छ जस्तो तपाईंलाई लाग्छ, त्यही पुस्तिका दिनुहोस्। यी पुस्तिका तोकिएको महिनामा मात्र होइन, अरू महिनामा पनि प्रस्तुत गर्न सक्नुहुन्छ। (“यी पुस्तिका कसरी प्रयोग गर्न सकिन्छ” भन्ने पेटी हेर्नुहोस्।) पुनःभेटमा चासो देखाउने मानिसलाई ‘तपाईंलाई एउटा पुस्तिका देखाउन चाहन्छु’ भनेर यो पुस्तिका दिन सक्नुहुन्छ।
६. यी पुस्तिका प्रयोग गरेर हामी कसरी बाइबल अध्ययन सञ्चालन गर्न सक्छौं?
६ सृष्टिकर्ताको कुरा सुन्नुहोस्-मा प्रश्नहरू नदिइएकोले बाइबलले सिकाउँछ पुस्तकबाट अध्ययन गर्दा जस्तो हामी प्रश्न-उत्तर गरेर छलफल गर्दैनौं। सबै संस्कृतिका मानिसहरू कथा सुन्न मन पराउँछन्। त्यसैले परमेश्वरबाट प्रेरित बाइबल कथाहरू बताउन चित्रहरू प्रयोग गर्नुहोस्। बताउन खोजिएको कुरा, व्याख्या गर्नुहोस्। उत्साही हुनुहोस्। विद्यार्थीलाई चित्रमा देखेको कुरा र त्यो चित्र हेरेपछि मनमा लागेको कुरा बताउन लगाउनुहोस्। पृष्ठको अन्तमा दिइएको शास्त्रपद पढ्नुहोस् र त्यसमा बताउन खोजिएको कुरा विद्यार्थीसित तर्कपूर्ण ढङ्गमा छलफल गर्नुहोस्। छलफलमा भाग लिन लगाउन तिनलाई प्रश्न सोध्नुहोस् अनि तिनले बुझे, नबुझेको पक्का गर्नुहोस्। विद्यार्थीले सृष्टिकर्ताको कुरा सुन्नुहोस् र सधैंभरि बाँच्नुहोस् पुस्तिका पढ्दै छन् भने प्रत्येक चित्र छलफल गर्दा दिइएका वाक्य तथा शास्त्रपद सँगै पढ्नुहोस्।
७. विद्यार्थीलाई प्रगति गर्न हामी कसरी मदत गर्न सक्छौं?
७ विद्यार्थीलाई प्रगति गर्न मदत गर्नुहोस्: विद्यार्थीलाई आफैले नै परमेश्वरको ज्ञान लिनुपर्ने आवश्यकता महसुस हुनेगरि तपाईंले छलफल गर्नुपर्छ। सायद तपाईंले गरेको छलफलबाट विद्यार्थीमा पढ्ने इच्छा जाग्ला। (मत्ती ५:३; यूह. १७:३) त्यसकारण तपाईंले सृष्टिकर्ताको कुरा सुन्नुहोस्-बाट छलफल गराइरहनुभएको छ र तपाईंलाई अब विद्यार्थी तयार छन् जस्तो लागेमा तिनलाई पढ्न सिकाउन सक्नुहुन्छ। अनि सृष्टिकर्ताको कुरा सुन्नुहोस् र सधैंभरि बाँच्नुहोस्-बाट अध्ययन गराउन सक्नुहुन्छ। तर विद्यार्थीलाई यी पुस्तिकामध्ये जुनचाहिंबाट अध्ययन गराएको भए तापनि पुस्तिका सिध्याउँदैमा विद्यार्थी बप्तिस्माको लागि तयार हुँदैनन्। तपाईंले त्यसपछि बाइबलले सिकाउँछ किताब-बाट अथवा बाइबल पूर्णतया बुझ्न सकिने अरू कुनै सुहाउँदो प्रकाशनबाट अध्ययन गराउनुपर्छ।
८. प्रचारकार्यमा प्रयोग गर्न यी नयाँ साधन पाउँदा तपाईं खुसी हुनुको कारण के हो?
८ मानिसहरू सधैंभरि बाँच्न चाहन्छन् भने तिनीहरूले ब्रह्माण्डकै शासकको कुरा सुन्नै पर्छ। (यशै. ५५:३) अनि यहोवा पढ्न नजान्ने मानिसहरूका साथै “सबै किसिमका मानिसहरूले” उहाँको कुरा सुन्न सिकेको चाहनुहुन्छ। (१ तिमो. २:३, ४) परमेश्वरको कुरा सुन्न मानिसहरूलाई सिकाउन यत्ति राम्रा साधनहरू पाएकोमा हामी औधी खुसी छौं।
[पृष्ठ ३-मा भएको पेटी]
यी पुस्तिका कसरी प्रयोग गर्न सकिन्छ
घरधनीलाई पृष्ठ २-३ देखाउनुहोस् अनि यसो भन्नुहोस्: “के तपाईं यस्तो संसारमा बाँच्न चाहनुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्] सृष्टिकर्ताले चाँडै संसारलाई सुन्दर र शान्त बनाउनुहुन्छ जहाँ कोही पनि गरिब हुनेछैन; बिरामी हुनेछैन भनेर बाइबलमा [अथवा, यो पवित्र शास्त्रमा] प्रतिज्ञा गरिएको छ । त्यहाँ बस्न हामीले के गर्नुपर्छ, याद गर्नुहोस्। [पृष्ठ ३ को सुरुमा दिइएको पद यशैया ५५:३ पढ्नुहोस्] यस पदमा हामीलाई सृष्टिकर्ताकहाँ ‘आउन’ र उहाँलाई ‘सुन्न’ भनिएको छ। तर हामी कसरी सृष्टिकर्ताको कुरा सुन्न सक्छौं?” पृष्ठ ४-५ पल्टाउनुहोस् अनि घरधनीसित जवाफ छलफल गर्नुहोस्। घरधनी व्यस्त छन् भने पुस्तिका छोड्नुहोस् र पछि भेटेर जवाफ छलफल गर्ने प्रबन्ध मिलाउनुहोस्।