आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्?
१. यहोवाको इच्छा पुस्तिकाको अध्ययन कहिलेदेखि सुरु गर्नेछौं? यस पुस्तिकाबाट हामीले कस्तो लाभ उठाउन सक्नेछौं?
१ अक्टोबर २८ मा सुरु हुने हप्तादेखि मण्डली बाइबल अध्ययनमा आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्? पुस्तिका अध्ययन गरिनेछ। ‘आफ्नो हृदय सुरक्षित राख्नुहोस्!’ जिल्ला अधिवेशनमा विमोचन भएको यो नयाँ पुस्तिका बाइबल विद्यार्थीहरूलाई हाम्रो सङ्गठनतर्फ डोऱ्याउन तयार पारिएको हो। यो पुस्तिका अध्ययन गर्दा हामी यहोवाको सङ्गठनको भाग हुन पाएकोमा अझ कृतज्ञ हुन सक्छौं। साथै यस पुस्तिकाले प्रचारकार्यमा अझ सुसज्जित हुन पनि मदत गर्नेछ।—भज. ४८:१३.
२. मण्डलीमा यो पुस्तिका कसरी अध्ययन गरिनेछ?
२ अध्ययन गर्ने तरिका: प्रत्येक पाठ राम्ररी ढाक्न सञ्चालकले समयको हिसाब गर्नुपर्छ। सञ्चालकले प्रत्येक पाठ सुरु गर्दा शीर्षक पढ्नुपर्छ। यस पुस्तिकामा २८ वटै पाठका शीर्षक प्रश्नको रूपमा दिइएको छ। सञ्चालकले अनुच्छेद पढ्ने भाइलाई सुरुको अनुच्छेद पढ्न लगाउनुपर्छ। अनि सुरुको अनुच्छेदको लागि आफूले तयार पारेको प्रश्न श्रोतालाई सोध्नुपर्छ। त्यसपछि गाढा अक्षरमा लेखिएको वाक्यबाट सुरु हुने प्रत्येक अंश छुट्टाछुट्टै पढेर छलफल गर्नुपर्छ। प्रत्येक अंश पढिसकेपछि सञ्चालकले शीर्षकमा दिइएको प्रश्नको जवाफ उक्त अंशले कसरी दिन्छ, सोध्नुपर्छ। पुस्तिकामा टिप्पणी दिन लायकका थुप्रै चित्र पनि छन्। समयले भ्याएमा मुख्य-मुख्य शास्त्रपदहरू पढ्नुपर्छ। अर्को पाठमा जानुअघि सञ्चालकले पृष्ठको पुछारमा भएको प्रश्न सोधेर पुनरावृत्ति गर्नुपर्छ। “अरू कुरा पनि जान्नुहोस्” भन्ने पेटी छ भने अनुच्छेद पढ्ने भाइलाई पढ्न लगाउनुपर्छ र श्रोतालाई बाइबल विद्यार्थीले उक्त पेटीमा दिइएको सुझाव लागू गर्दा कसरी फाइदा उठाउन सक्छन् भन्नेबारे टिप्पणी गर्न आग्रह गर्नुपर्छ। समयले दिएमा अध्ययनको अन्तमा सञ्चालकले पाठको शीर्षक पुनरावृत्ति प्रश्नको रूपमा चलाउन सक्छन्। गृह बाइबल अध्ययन सञ्चालन गर्दा यही तरिका अपनाउनुपर्छ भन्ने छैन भनी कृपया याद गर्नुहोस्।
३. यस पुस्तिका अध्ययन गर्दा हामी कसरी पूरापूर लाभ उठाउन सक्छौं?
३ अध्ययनबाट पूरापूर लाभ उठाउन राम्ररी तयारी गरेर सभामा आउनुहोस्। टिप्पणी दिन सक्दो प्रयास गर्नुहोस्। विषयवस्तु बाइबल विद्यार्थीलाई कसरी लाभदायक छ भनेर छलफलको दौडान विचार गर्नुहोस्। अरूलाई पनि परमेश्वरको इच्छाअनुसार गर्न मदत दिने काममा यो नयाँ पुस्तिकाको अध्ययनले हामीलाई अझै सुसज्जित बनाओस्। यसरी परमेश्वरको इच्छाअनुसार गर्न सिक्दा तिनीहरूले पनि पृथ्वीमा सधैंभरि बाँच्ने आशा पाउन सक्छन्।—१ यूह. २:१७.