◼ कार्यक्रमको समय: अधिवेशन भवन बिहान ८:०० बजेदेखि खुला हुनेछ। तीनै दिन बिहान ९:२० बजे धुन बज्न सुरु हुनेछ। त्यतिबेला हामी सबै आ-आफ्नो सिटमा बस्नुपर्छ। यसो गर्दा यहोवाको आदर हुनेगरि व्यवस्थित तरिकामा कार्यक्रम सुरु हुन सक्छ। समापनको गीत र प्रार्थना बिहीबार र शुक्रबार दिउँसो ४:५५ मा हुनेछ भने शनिबारचाहिं दिउँसो ३:५० मा हुनेछ।
◼ अन्तरराष्ट्रिय अधिवेशनहरू: केही देशमा अन्तरराष्ट्रिय अधिवेशनहरू आयोजना गरिदैं छ। नबिर्सनुहोस्, शाखा कार्यालयले आफ्नो देशका कुनै-कुनै मण्डली र विदेशमा रहेका केही भाइबहिनीलाई मात्र निम्तो दिएको छ। सिट, पार्किङ क्षेत्र र होटेलको सीमिततालाई ध्यानमा राखेर त्यस्तो प्रबन्ध मिलाइएको हो। त्यसैले अन्तरराष्ट्रिय अधिवेशनमा उपस्थित हुने निम्तो नपाए पनि तपाईं त्यहाँ जानुभयो भने भीडभाड हुन सक्छ। कुनै कारणले गर्दा आफूलाई खटाइएको अधिवेशनमा नभई अर्कैमा जानुपर्ने भयो भने अन्तरराष्ट्रिय अधिवेशनमा चाहिं नजानुहोस्।
◼ पार्किङ: पार्किङ गर्न छुट्टाइएका स्थान पहिला आउनेहरूलाई प्राथमिकता दिएर निश्शुल्क उपलब्ध गराइनेछ। पार्किङ गर्ने ठाउँ साधारणतया सीमित हुने भएकोले सकेसम्म एउटै गाडीमा जति जना अटाउँछ मिलाएर आउनुहोस्।
◼ सिट रोक्ने: अधिवेशनको हरेक बिहान हलको ढोका खोलिंदा अरू भाइबहिनीसित प्रतिस्पर्धा गरे जसरी सिटको लागि तँछाडमछाड नगर्नुहोस्। आफ्नो नभई अरूको हित चिताउनुहोस्। यसले साँचो ख्रीष्टियनको चिनारी दिन्छ अनि त्यहाँ आएकाहरूलाई परमेश्वरको प्रशंसा गर्न उत्प्रेरित गर्छ। (यूह. १३:३४, ३५; १ कोरि. १३:४, ५; १ पत्रु. २:१२) एउटै घरमा बस्ने परिवार अथवा एउटै गाडीमा सँगै आउनेहरू अनि तपाईंसित अहिले बाइबल अध्ययन गरिरहेकाहरूको लागि मात्र सिट रोक्न सकिन्छ। वृद्ध र असक्तहरूका लागि खास सिटहरू छुट्याइएको हुन्छ। यी सिटहरू सीमित भएकोले तिनीहरूलाई मदत गर्न एक वा दुई जना मात्र तिनीहरूसँग बस्न सक्छन्।
◼ दिउँसोको खाजा: दिउँसो खाजा खाने बेलामा खानेकुरा किन्न अधिवेशनस्थल छोडेर बाहिर जानुभन्दा खानेकुरा सँगै लिएर आउनु बेस हुन्छ। सिटमुनि राख्न मिल्ने खाजा बोक्ने झोला ल्याउन सक्नुहुन्छ। तर ठूलो टिफिन बट्टा र काँचका भाँडाकुँडा नल्याउनुहोस्।
◼ अनुदान: अधिवेशनमा विश्वव्यापी कार्यको लागि स्वेच्छिक अनुदान दिएर हामी जिल्ला अधिवेशनको प्रबन्धप्रति कृतज्ञता देखाउन सक्छौं। अधिवेशनमा अनुदानस्वरूप दिइने कुनै पनि चेक “यहोवाका साक्षीहरू समाज”-को नाममा भुक्तान गरिनुपर्छ।
◼ औषधी: यदि डाक्टरले सिफारिस गरेको औषधी सेवन गर्दै हुनुहुन्छ भने त्यो औषधी अधिवेशन स्थलमा उपलब्ध हुँदैन। त्यसैले आफूलाई चाहिनेजति औषधी ल्याउन नबिर्सनुहोस्। मधुमेहका बिरामीहरूले सिरिन्ज तथा सुई प्रयोग गरेपछि त्यो त्यसैको लागि छुट्टाइएको भाँडामा फ्याँक्नुहोस्; अधिवेशन स्थलको वा होटेलको अरू सामान्य फोहोर फाल्ने भाँडामा होइन।
◼ सुरक्षाको विषयमा सावधानी अपनाउनुहोस्: चिप्लेर अनि अल्झेर तपाईंलाई चोटपटक लाग्न सक्छ। त्यसैले पहिल्यै सावधानी अपनाउनुहोस्। विशेषगरि ठूलो हिल भएको जुत्ताले गर्दा हरेक वर्ष धेरै जना घाइते हुने गरेका छन्। त्यसकारण भिरालो ठाउँ, भऱ्याङ, अल्झिएर लड्न सक्ने कुनै पनि ठाउँमा हिंड्दा चोटपटक नलागोस् भन्नको लागि भद्र देखिने र साइज मिलेको जुत्ता लगाउनु बेस हो।
◼ सुस्त श्रवण भएकाहरू: हलमा कार्यक्रम एफ एम रेडियो फ्रिक्वेन्सीमा प्रसारण गरिनेछ। यसको लागि इयरफोन राख्न मिल्ने रेडियो वा मोबाइल ल्याउनुहोस्।
◼ अत्तर: प्रायः हातैले खोल्नु वा बन्द गर्नुपर्ने भेन्टिलेशनहरू भएका बन्द हलहरूमा अधिवेशन हुने गर्छ। त्यसैले श्वासप्रश्वाससम्बन्धी वा अन्य समस्या भएकाहरूलाई गाह्रो हुन सक्ने भएकोले कडा बास्ना भएका अत्तर आदिको प्रयोग कम गर्दा दयालु व्यवहार देखाइरहेका हुनेछौं।—१ कोरि. १०:२४.
◼ कृपया भेट्नुहोस् (S-43) फाराम: अधिवेशनमा अनौपचारिक साक्षी दिंदा चासो देखाउने व्यक्तिलाई थप जानकारी दिन कृपया भेट्नुहोस् फाराम प्रयोग गर्नुपर्छ। भरेको फाराम अधिवेशनको साहित्य विभागमा बुझाउन सकिन्छ। अथवा पछि मण्डलीमा सचिवलाई बुझाए पनि हुन्छ।
◼ रेस्टुराँ: रेस्टुराँमा पनि असल बानीबेहोरा देखाएर यहोवाको नामको सम्मान गर्नुहोस्। ख्रीष्टियन सेवकलाई सुहाउने पहिरन लगाउनुहोस्। चलन छ भने टिप दिनुहोस्।
◼ होटेल:
चाहिनेभन्दा बढी कोठाहरू बुकिङ नगर्नुहोस् र एउटा कोठामा तोकिएको सङ्ख्या भन्दा धेरै जना नबस्नुहोस्।
आपत्कालीन अवस्थामा बाहेक बुकिङ रद्द नगर्नुहोस्। रद्द गर्नुपरेमा होटेललाई खबर गरिहाल्नुहोस्। यसो गर्दा होटेलमा कोठा खोजिरहेका अरूले त्यो प्रयोग गर्न सक्नेछन्। (मत्ती ५:३७)
तपाईंको देशमा चलन छ भने सामान बोक्नेहरूलाई र हाउसकिपरलाई टिप छोडिदिनुहोस्।
पकाउन निषेध गरिएको कोठामा नपकाउनुहोस्।
होटेलका कर्मचारीहरूसित व्यवहार गर्ने सन्दर्भमा हरेक समय पवित्र शक्तिको फल प्रदर्शन गर्नुहोस्। उनीहरूले होटेलमा आएका थुप्रै पाहुनाको ख्याल गर्नुपर्छ। त्यसैले हामीले देखाउने दया, धीरज र व्यावहारिकताको उनीहरू कदर गर्छन्।
आमाबाबुले होटेलमा हरबखत छोराछोरीले के-कसो गरिरहेका छन् निरीक्षण गर्नुपर्छ। जस्तै: लिफ्टमा, पौडी खेल्ने ठाउँमा, लबीमा, कसरत गर्ने ठाउँमा।
अधिवेशन समितिले सिफारिस गरेका होटेलहरूको सूचीमा एकदिनको कोठा भाडा दिइएको हुन्छ। त्यसमा कर समावेश गरिएको हुँदैन। बढी पैसा मागेमा नतिर्नुहोस् र यसबारे अधिवेशनमा जतिसक्दो चाँडो आवास विभागलाई खबर गर्नुहोस्।
होटेलमा कोठासम्बन्धी समस्या भएमा अधिवेशनमा उपस्थित हुँदा आवास विभागलाई खबर गर्नुहोस्। यसो गर्नुभयो भने उहाँहरूले तपाईंलाई मदत गर्न सक्नुहुन्छ।
◼ स्वयंसेवा: स्वयंसेवा गर्न चाहनेहरूले अधिवेशनस्थलको स्वयंसेवा विभागमा रिपोर्ट गर्नुपर्छ। अधिवेशनलाई सफल पार्ने काममा १६ वर्षभन्दा कम उमेरकाहरूले पनि आफ्नो आमाबाबु वा उनीहरूले स्वीकृति दिएका कुनै एक वयस्कको निरीक्षणमा रहेर योगदान पुऱ्याउन सक्छन्।