अधिवेशनको बेला ध्यान दिनुपर्ने कुराहरू
कार्यक्रमको समय: अधिवेशन भवन बिहान ८:०० बजेदेखि खुला हुनेछ। तीनै दिन बिहान ९:२० बजे धुन बज्न सुरु हुनेछ। धुन बज्न सुरु भएपछि हामी सबै आ-आफ्नो सिटमा बस्नुपर्छ। यसो गर्दा व्यवस्थित तरिकामा कार्यक्रम सुरु हुन सक्छ र यहोवाको महिमा हुन्छ। समापनको गीत र प्रार्थना बिहीबार र शुक्रबार दिउँसो ५:०० मा हुनेछ भने शनिबार दिउँसो ४:०० मा हुनेछ।
‘भजन गाएर परमेश्वरको प्रशंसा गरौं’: पुरातन समयमा परमेश्वरका सेवकहरूले गीत गाएर यहोवाको प्रशंसा गर्थे। आज पनि गीत गाउनु परमेश्वरको उपासनाको अभिन्न भाग हो। (भज. २८:७) अधिवेशनमा कार्यक्रम सुरु हुनुअघि धुन बजाइन्छ। हामीले यहोवाबारे सिक्न र उहाँको उपासना गर्न यो धुन तयार पारिएको हो। त्यसैले चेयरम्यानले धुन सुरु हुन लागेको घोषणा गरिसकेपछि आ-आफ्नो सिटमा बस्नुपर्छ। यसो गर्दा सङ्गठनको वाद्यवादन समूहको कदर गर्छौं भनेर हामीले देखाइरहेका हुन्छौं। हामीले धुन सुनेर आनन्द लिन सकोस् भनेर यी दाजुभाइ दिदीबहिनी वर्षको दुई पटक आफ्नै खर्चमा न्यु योर्कको प्याटर्सन आएर धुन तयार पार्छन्। हामीले धुन सुनेपछि राज्य गीत गाएर यहोवाको प्रशंसा गर्नुपर्छ।
पार्किङ: पार्किङ गर्न छुट्टाइएका स्थान पहिला आउनेहरूलाई प्राथमिकता दिएर निश्शुल्क उपलब्ध गराइनेछ। पार्किङ गर्ने ठाउँ साधारणतया सीमित हुने भएकोले सकेसम्म एउटै गाडीमा जति जना अटाउँछ मिलाएर आउनुहोस्।
सिट रोक्ने: अधिवेशनको हरेक बिहान हलको ढोका खोल्ने बित्तिकै अरू भाइबहिनीसित प्रतिस्पर्धा गरे जसरी सिटको लागि तँछाडमछाड नगर्नुहोस्। आफ्नो नभई अरूको हित चिताउनुहोस्। यसले साँचो ख्रीष्टियनको चिनारी दिन्छ अनि त्यहाँ आएकाहरूलाई परमेश्वरको प्रशंसा गर्न उत्प्रेरित गर्छ। (यूह. १३:३४, ३५; १ कोरि. १३:४, ५; १ पत्रु. २:१२) एउटै घरमा बस्ने परिवार अथवा एउटै गाडीमा सँगै आउनेहरू अनि तपाईंसित अहिले बाइबल अध्ययन गरिरहेकाहरूको लागि मात्र सिट रोक्न सकिन्छ। तपाईंले कसैको लागि सिट रोक्नु भएको छैन भने सिटमाथि कुनै सामान नराख्नुहोस्। यसो गर्नुभयो भने सिट खाली छ भनेर अरूले थाह पाउनेछन्। वृद्ध र असक्तहरूका लागि खास सिटहरू छुट्याइएको हुन्छ। यी सिटहरू सीमित भएकोले तिनीहरूलाई मदत गर्न एक वा दुई जना मात्र तिनीहरूसँग बस्न सक्छन्।
भद्र पहिरन: अधिवेशनमा जाँदा हाम्रो पहिरन भद्र अनि ख्रीष्टियनलाई सुहाउने हुनुपर्छ, संसारका मानिसहरूको जस्तो भड्किलो हुनु हुँदैन। (१ तिमो. २:९) अधिवेशनको लागि होटेलमा आइपुग्दा र होटेल छोडेर जाँदा हाम्रो पहिरन अभद्र अनि बेढङ्गी हुनु हुँदैन। साथै कार्यक्रमअघि र पछि पनि हामीले आफ्नो पहिरनमा ध्यान दिनुपर्छ। यसो गऱ्यौं भने मौका पाएको बेला लाज नमानीकन साक्षी दिन सक्नेछौं अनि अधिवेशनको बिल्ला लगाउँदा पनि गर्व महसुस गर्नेछौं। अधिवेशनको बेला हाम्रो रूपरङ र असल आचरणले निष्कपट मानिसहरूलाई जीवन दिने सन्देशतर्फ खिच्ने मात्र नभई यहोवालाई पनि खुसी पारिरहेको हुन्छ।—सप. ३:१७.
विद्युतीय उपकरण चलाउँदा विचार पुऱ्याउनुहोस्: कार्यक्रमको दौडान आफ्नो मोबाइल वा अन्य विद्युतीय उपकरणहरू अरूको ध्यान नखलबलिने तरिकामा मिलाउनुपर्छ। यस्तो गर्दा हामीले राम्रो आनीबानी देखाइरहेका हुन्छौं। फोटो खिच्दा, भिडियो रेकर्ड गर्दा, ट्याब्लेट वा अरू यस्तै उपकरणहरू प्रयोग गर्दा अरूलाई बाधा पुग्ने गरी प्रयोग नगर्नुहोस्। साथै कार्यक्रमको दौडान अनावश्यक मेसेज वा इमेल नलेखेर पनि हामी राम्रो आनीबानी देखाउन सक्छौं।
दिउँसोको खाजा: दिउँसो खाजा खाने बेलामा खानेकुरा किन्न अधिवेशनस्थल छोडेर बाहिर जानुभन्दा खानेकुरा लिएर आउनु बेस हुन्छ। सिटमुनि राख्न मिल्ने खाजा बोक्ने झोला ल्याउन सक्नुहुन्छ। तर ठूलो टिफिन बट्टा र काँचका भाँडाकुँडा नल्याउनुहोस्।
अनुदान: अधिवेशनमा विश्वव्यापी कार्यको लागि स्वेच्छिक अनुदान दिएर हामी अधिवेशनको प्रबन्धप्रति आभार प्रकट गर्न सक्छौं। अधिवेशनमा अनुदानस्वरूप दिइने चेक “यहोवाका साक्षीहरू समाज”-को नाममा दिनुपर्छ।
औषधी: यदि डाक्टरले सिफारिस गरेको औषधी सेवन गर्दै हुनुहुन्छ भने त्यो औषधी अधिवेशन स्थलमा उपलब्ध हुँदैन। त्यसैले आफूलाई चाहिनेजति औषधी ल्याउन नबिर्सनुहोस्। मधुमेहका बिरामीहरूले सिरिन्ज तथा सुई प्रयोग गरेपछि त्यो त्यसैको लागि छुट्टाइएको भाँडामा फ्याँक्नुहोस्; अधिवेशन स्थलको वा होटेलको अरू सामान्य फोहोर फाल्ने भाँडामा होइन।
सुरक्षाको विषयमा सावधानी अपनाउनुहोस्: चिप्लेर अनि अल्झेर तपाईंलाई चोटपटक लाग्न सक्छ। त्यसैले पहिल्यै सावधानी अपनाउनुहोस्। विशेषगरि ठूलो हिल भएको जुत्ताले गर्दा हरेक वर्ष धेरै जना घाइते हुने गरेका छन्। त्यसकारण भिरालो ठाउँ, भऱ्याङ, अल्झिएर लड्न सक्ने कुनै पनि ठाउँमा हिंड्दा चोटपटक नलागोस् भन्नको लागि भद्र देखिने र साइज मिलेको जुत्ता लगाउनु बेस हो।
सुस्त श्रवण भएकाहरू: कार्यक्रम हलभित्र एफएम रेडियो फ्रिक्वेन्सीमा प्रसारण गरिनेछ। यसको लागि एफ एम बजाउन मिल्ने उपकरणका साथै इयरफोन ल्याउनुहोस्।
बच्चालाई राखेर डुलाउने गाडी र बगैंचामा राखिने मेच: बच्चालाई राखेर डुलाउने गाडी र बगैंचामा राखिने मेच अधिवेशन स्थलमा ल्याउनु हुँदैन। तर बच्चालाई राख्न मिल्ने सिट (child-safety seat) भने ल्याउन मिल्छ।
अत्तर: प्रायः हातैले खोल्नु वा बन्द गर्नुपर्ने भेन्टिलेशनहरू भएका बन्द हलहरूमा अधिवेशन हुने गर्छ। त्यसैले श्वासप्रश्वाससम्बन्धी वा अन्य समस्या भएकाहरूलाई गाह्रो हुन सक्ने भएकोले अत्तरको प्रयोग गर्दा विचार पुऱ्याउनुहोस्।—१ कोरि. १०:२४.
कृपया भेट्नुहोस् (S-43) फाराम: तपाईंले अधिवेशनको दौडान अनौपचारिक साक्षी दिने मौका पाउँदा चासो देखाउने व्यक्ति भेट्टाउनुभयो भने कृपया भेट्नुहोस् फाराम प्रयोग गर्नुहोस्। भरेको फाराम अधिवेशनको साहित्य विभागमा बुझाउन सकिन्छ। अथवा पछि मण्डलीमा सचिवलाई बुझाए पनि हुन्छ।
रेस्टुराँ: रेस्टुराँमा पनि असल बानीबेहोरा देखाएर यहोवाको नामको सम्मान गर्नुहोस्। ख्रीष्टियन सेवकलाई सुहाउने पहिरन लगाउनुहोस्। चलन छ भने टिप दिनुहोस्।
होटेल:
(१) चाहिनेभन्दा बढी कोठाहरू बुकिङ नगर्नुहोस् र एउटा कोठामा तोकिएको सङ्ख्या भन्दा धेरै जना नबस्नुहोस्।
(२) आपत्कालीन अवस्थामा बाहेक बुकिङ रद्द नगर्नुहोस्। रद्द गर्नुपरेमा होटेललाई खबर गरिहाल्नुहोस्। यसो गर्दा होटेलमा कोठा खोजिरहेका अरूले त्यो प्रयोग गर्न सक्नेछन्। (मत्ती ५:३७) यदि बुकिङ रद्द गर्नुपऱ्यो भने रद्द गरेको नम्बर लिन नबिर्सनुहोस्। तपाईंले ४८ घण्टाभन्दा कम समयमा बुकिङ रद्द गर्नुभयो भने तपाईंले बुझाउनुभएको रकम फिर्ता हुनेछैन।
(३) कृपया याद गर्नुहोस् होटेलमा रजिस्टर गर्न तपाईंले डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्नुभयो भने तपाईं होटेलमा बस्नुहुने दिनहरूको पैसा उठाउन र सम्भाव्य क्षति वा तपाईं त्यहाँ बसुन्जेल आइपर्न सक्ने परिस्थितिको लागि तपाईंको खाताबाट होटेलले निश्चित रकम छुट्याउनु अर्थात् होल्ड गर्नु सामान्य प्रक्रिया हो। तपाईंले होटेललाई तिर्नुपर्ने सबै पैसा चुक्ता भएपछि मात्र तपाईंले आफ्नो खाताबाट होल्ड गरेको रकम चलाउन सक्नुहुन्छ।
(४) सामान ओसारपसार गर्न प्रयोग गरिने ट्रली चाहिने बेलामा मात्र प्रयोग गरेर तुरुन्तै फिर्ता गर्नुहोस्। यसो गर्दा अरूले पनि प्रयोग गर्न सक्नेछन्।
(५) तपाईंको देशमा चलन छ भने सामान बोक्नेहरूलाई र हाउसकिपरलाई टिप छोडिदिनुहोस्।
(६) पकाउन निषेध गरिएको कोठामा नपकाउनुहोस्।
(७) पाहुनाहरू होटेलमा बसुन्जेल होटेलले निश्शुल्क ब्रेकफास्ट, कफी अथवा आइसक्युब आदिको सुविधा दिएको छ भने ती खानेकुराहरू अधिवेशनमा नलग्नुहोस्।
(८) होटेलका कर्मचारीहरूसित व्यवहार गर्ने सन्दर्भमा हरेक समय पवित्र शक्तिको फल प्रदर्शन गर्नुहोस्। उनीहरूले होटेलमा आएका थुप्रै पाहुनाको ख्याल गर्नुपर्छ। त्यसैले हामीले देखाउने दया, धीरज र व्यावहारिकताको उनीहरू कदर गर्छन्।
(९) आमाबाबुले होटेलमा हरबखत छोराछोरीले के-कसो गरिरहेका छन् निरीक्षण गर्नुपर्छ। जस्तै: लिफ्टमा, पौडी खेल्ने ठाउँमा, लबीमा, कसरत गर्ने ठाउँमा।
(१०) अधिवेशन समितिले सिफारिस गरेका होटेलहरूको सूचीमा एकदिनको कोठा भाडा दिइएको हुन्छ। त्यसमा कर समावेश गरिएको हुँदैन। बढी पैसा मागेमा नतिर्नुहोस् र यसबारे जतिसक्दो चाँडो अधिवेशनको आवास विभागलाई खबर गर्नुहोस्।
(११) होटेलमा कोठासम्बन्धी समस्या भएमा अधिवेशनमा उपस्थित हुँदा आवास विभागलाई खबर गर्नुहोस्। यसो गर्नुभयो भने उहाँहरूले तपाईंलाई मदत गर्न सक्नुहुन्छ।
स्वयंसेवा: स्वयंसेवा गर्न चाहनेहरूले अधिवेशनस्थलको स्वयंसेवा विभागमा नाम लेखाउनुपर्छ। अधिवेशनमा १६ वर्षभन्दा कम उमेरकाहरू पनि काम गर्न चाहन्छन् भने तिनीहरूले आफ्नो आमाबाबुसँगै वा आमाबाबुले स्वीकृति दिएका अर्को वयस्क व्यक्तिसँगै काम गर्नुपर्छ।