हाम्रो जिल्ला अधिवेशन—सत्यको पक्षमा जोडदार प्रमाण
१. वर्षेनी मनाइने चाडहरूले गर्दा इस्राएलीहरूले कस्ता महत्त्वपूर्ण सत्य मनन गर्ने र छलफल गर्ने मौका पाउँथे?
१ पुरातन समयका इस्राएलीहरू वर्षेनी चाड मनाउन तीन पटक भेला हुन्थें। हुन त पुरुषहरू मात्र यस्ता रमाइला जमघटको लागि यरूशलेम जानु पर्थ्यो तर पूरै परिवार उपस्थित हुन्थें। (व्यव. १६:१५, १६) यस्ता अवसरले बाइबलमा आधारित सत्य मनन गर्न अनि छलफल गर्न मौका मिल्थ्यो। यस्ता केही सत्य के-के हुन्? एउटा हो, यहोवा उद्धार अनि मायालु प्रबन्धक हुनुहुन्छ। (व्यव. १५:४, ५) अनि अर्को हो, सुरक्षा र डोऱ्याइको लागि हामी उहाँमा भर पर्न सक्छौं। (व्यव. ३२:९, १०) यहोवाको नाम वहन गर्ने मानिसहरू भएकोले जीवनको हर पक्षमा यहोवाको स्तरबमोजिम चल्नुपर्ने आवश्यकताबारे विचार गर्ने मौका पनि इस्राएलीहरूले यस्ता जमघटमा पाउँथे। (व्यव. ७:६, ११) त्यसैगरि अहिले पनि हामी वर्षेनी हुने जिल्ला अधिवेशनबाट त्यस्तै फाइदा उठाउन सक्छौं।
२. जिल्ला अधिवेशनको कार्यक्रमले सत्यलाई प्रस्टसित बुझ्न कसरी मदत गर्छ?
२ यस कार्यक्रमले सत्यलाई प्रस्टसित बुझ्न मदत गर्छ: जिल्ला अधिवेशनमा हुने भाषण, नाटक, प्रदर्शन तथा अन्तरवार्ताले हामीलाई बाइबलमा भएका सत्य राम्ररी बुझ्न र त्यसलाई लागू गर्न मदत गर्छ। (यूह. १७:१७) आउँदै गरेको अधिवेशनको लागि थुप्रै काम सिध्याइ सकियो। विशेषगरि अहिले संसारभर व्याप्त परिस्थितिलाई ध्यानमा राखेर नै यहोवाको सङ्गठनले कार्यक्रम तयार गरिरहेको छ। (मत्ती २४:४५-४७) के तपाईं प्रस्तुत गरिने कार्यक्रमहरू हेर्न र सुन्न उत्सुक हुनुहुन्छ?
३. कार्यक्रमबाट लाभ उठाउन हामीले के गर्नै पर्छ?
३ तीनै दिन उपस्थित भयौं र सम्पूर्ण कार्यक्रम ध्यान दिएर सुन्यौं भने प्रशस्त लाभ उठाउन सक्छौं। अधिवेशनको लागि बिदा माग्नुभएको छैन भने हाकिमसित कुरा गरिहाल्नुहोस्। कार्यक्रमको दौडान नझुल्ने हो भने हरेक रात छिट्टै सुत्नुहोस्; मज्जाले सुत्नुहोस्। वक्तालाई हेर्दा र छोटो-छोटो टिपोट लिंदा कार्यक्रममा ध्यान दिन सकेको महसुस थुप्रैले गरेका छन्। तपाईंको मोबाइल फोनले वा पेजरले गर्दा अरूको र तपाईंको ध्यान भङ्ग हुन नपाओस्। कार्यक्रम भइरहेको बेला कुराकानी गर्ने, एसएमएस गर्ने, खानपान नगर्नुहोस्।
४. आमाबाबुले छोराछोरीलाई अधिवेशनबाट लाभ उठाउन कसरी मदत गर्न सक्छन्?
४ विश्राम-वर्षमा इस्राएलीहरू झुप्रो-बासको चाडको दौडान पढिने व्यवस्था सुन्न सम्पूर्ण परिवारसहित भेला हुँदा “बालक” अर्थात् स-साना केटाकेटीले पनि ‘सुनेर सिक्न सकून्’ भनी तिनीहरूलाई सँगै लैजान्थे। (व्यव. ३१:१२) अधिवेशनमा सम्पूर्ण परिवार सँगै बसेको अनि स-साना केटाकेटीले पनि नसुतीकन ध्यान दिई सुनेको देख्न पाउनु साँच्चै प्रोत्साहनदायी हो। कार्यक्रममा आफूलाई असाध्यै रमाइलो लागेको बुँदा र आफ्नो टिपोटबारे हरेक साँझ परिवारसित छलफल गर्नुहोस्। “बालकको हृदयभित्र मूर्खता गाडिएको हुन्छ,” त्यसैले खाजा खाने बेलामा र होटेलमा तपाईं आमाबाबुले स-साना छोराछोरीलाई मात्र होइन, किशोरावस्थाका छोराछोरीलाई पनि “छाडा” छोड्नुको साटो निगरानी गर्नुपर्छ।—हितो. २२:१५; २९:१५.
५. हाम्रो असल आचरणले होटेलमा कसरी सत्यको शोभा बढाउँछ?
५ असल आचरणले सत्यको शोभा बढाउँछ: हाम्रो असल आचरणले अधिवेशन हुने सहरमा सत्यको शोभा बढाउँछ। (ती. २:१०) साक्षीहरूले होटेलका नियमहरू पालन गरेको अनि होटेलका कर्मचारीसित धैर्य भई असल व्यवहार गरेको होटेलका कर्मचारीहरूले याद गर्छन्। (कल. ४:६) शाखा कार्यालयका प्रतिनिधिले गत वर्ष होटेलमा कुरा गर्दा सेल्सकी निर्देशकले यसो भनिन्: “तपाईंहरूको व्यवहारले गर्दा तपाईंहरूलाई हाम्रो होटेलमा स्वागत छ। तपाईंहरू असाध्यै दयालु हुनुहुन्छ अनि असल व्यवहार गर्नुहुन्छ। तपाईंहरू हाम्रा कर्मचारीलाई अनि दिइएका सुविधाको आदर गर्नुहुन्छ।”
६. अधिवेशन हुने सहरमा बसुन्जेल हामीले आफ्नो पहिरनबाट बाइबल सत्यको महिमा कसरी गर्न सक्छौं?
६ जिल्ला अधिवेशनको बिल्ला लगाउँदा हाम्रो अधिवेशनको विज्ञापन हुने र ठाउँ-ठाउँबाट आएका हाम्रा भाइबहिनीलाई हामीले सजिलै चिन्न सक्ने मात्र होइन; हामीलाई देख्नेहरूले पनि साक्षी पाउँछन्। संसारका मानिसहरूले खुम्चिएको, मैलो अनि उत्तेजना जगाउने खालको लुगाफाटा लगाएको तर यसको ठीक विपरीत बिल्ला लगाएका मानिसहरूको पहिरन भने सफा, सुकिलो, भद्र अनि चट्ट मिलेको अधिवेशन हुने सहरका मानिसहरूले याद गर्छन्। (१ तिमो. २:९, १०) त्यसकारण अधिवेशन हुने सहरमा बसुन्जेल मात्र होइन, अधिवेशनको लागि होटेलमा आइपुग्दा पनि हामीले आफ्नो पहिरन कस्तो छ, ध्यान दिनुपर्छ। टिसर्ट र हाफ पाइन्ट लगाएर होटेलमा आइपुग्दा मर्यादित देखिंदैन। अधिवेशन खुल्ला खेल मैदान अर्थात् रङ्गशालामा हुने भए तापनि हाम्रो पहिरन मर्यादित हुनुपर्छ। कार्यक्रम सिद्धिएपछि लुगा फेरेर रेस्टुराँमा खाना खान जाने विचार गरेका छौं भने पनि हामी अधिवेशनका प्रतिनिधि हौं भन्ने तथ्यलाई हामीले बिर्सनुहुँदैन र अत्यन्तै अनौपचारिक देखिने लुगाफाटा लगाउनुहुँदैन।
७. अधिवेशनको बेला के गऱ्यौं भने भाइबहिनीसित सङ्गति गर्न र हाम्रो एकतालाई अझै बलियो बनाउन सक्छौं?
७ इस्राएलीहरू वर्षेनी मनाइने यस्ता चाडमा देशका चारै कुनाबाट अनि संसारका विभिन्न ठाउँबाट आएका सँगी उपासकहरूसित उत्थानदायी सङ्गति गरेर रमाइलो मान्थे र यसले गर्दा तिनीहरूबीच एकता कायम हुन्थ्यो। (प्रेषि. २:१, ५) जिल्ला अधिवेशन हुँदा हाम्रो ख्रीष्टियन भ्रातृत्व कस्तो छ भनेर संसारले देख्छ। आध्यात्मिक प्रमोदवनको यस्तो विशेष अनि रोचक पक्ष देखेर मानिसहरू अक्सर अत्यन्तै प्रभावित भएका छन्। (भज. १३३:१) खाजा खानेबेला अधिवेशनस्थल बाहिर गएर खाजा किन्नुको साटो घरैबाट हलुका खाजा ल्याउनुभयो भने कस्तो राम्रो हुन्छ नि, हैन र? यसो गर्दा सँगै बसेका भाइबहिनीसित गफ गर्दै खाजा खान सकिन्छ।
८. तपाईंको परिस्थिति अनुकूल छ भने अधिवेशनमा स्वयंसेवा गर्ने के-कस्ता कारण पाउनुभयो?
८ हाम्रा अधिवेशन सुव्यवस्थित भएको देख्दा र त्यसमा पनि सम्पूर्ण काम स्वयंसेवकहरूले गरेका हुन् भनेर थाह पाउँदा मानिसहरू अक्सर दङ्ग पर्छन्। के तपाईं अधिवेशनमा काम गर्न “राजीखुसीले आफैलाई अर्पण” गर्न सक्नुहुन्छ? (भज. ११०:३) छोराछोरीलाई पनि राजीखुसीले आफैलाई अर्पण गर्न सिकाउन अक्सर पूरै परिवारले मिलेर स्वयंसेवा गर्छन्। तपाईं लजालु स्वभावको हुनुहुन्छ भने अधिवेशनमा स्वयंसेवा गर्दा ठाउँ-ठाउँबाट आएका भाइबहिनीसित घुलमिल गर्ने मौका पाउन सक्नुहुन्छ। एउटी बहिनीले यस्तो टिप्पणी गरिन्: “मेरो परिवार र केही साथीबाहेक त्यहाँ अपरिचितहरू धेरै थिए। तर सरसफाइमा मदत गर्दा मैले थुप्रै भाइबहिनीलाई भेटें। एकदमै रमाइलो लाग्यो।” अधिवेशनमा सहयोग गरिदिंदा धेरै जनालाई साथी बनाएर ठूलो मनको हुन सक्छौं र यसो गर्दा हामीलाई पनि धेरै रमाइलो लाग्नेछ। (२ कोरि. ६:१२, १३) तर यसअघि कहिल्यै स्वयंसेवा गर्नुभएको थिएन भने स्वयंसेवा गर्न सक्षम हुन के-कस्तो प्रगति गर्नुपर्छ एल्डरहरूलाई सोध्नुहोस्।
९. मानिसहरूलाई अधिवेशनमा उपस्थित हुन कसरी निम्तो दिन सक्छौं?
९ बाइबल सत्यबारे सुन्न अरूलाई निम्तो दिनुहोस्: विगतमा जस्तै यो वर्ष पनि हामी अधिवेशन सुरु हुनुभन्दा तीन हप्ताअघिदेखि नै निम्तो पर्ची बाँड्ने अभियानमा भाग लिने छौं। अधिवेशनको निम्तो बाँडेर मण्डलीका भाइबहिनीले सकेसम्म धेरै इलाका ढाक्ने प्रयास गर्नेछन्। (“हामी कसरी निम्तो दिन सक्छौं?” पेटी हेर्नुहोस्) बाँकी भएको निम्तो पर्ची अधिवेशनमा ल्याउनुहोस्। ठाउँ-ठाउँबाट आएका भाइबहिनीले अधिवेशन हुने सहरमा अनौपचारिक साक्षी दिन ती पर्ची प्रयोग गर्न सक्नेछन्।
१०. वर्षेनी हुने अभियानको नतिजा राम्रो भएको प्रमाण दिने अनुभवहरू बताउनुहोस्।
१० वर्षेनी हुने यस्ता अभियानप्रति मानिसहरूले कस्तो प्रतिक्रिया देखाएका छन्? एउटा अधिवेशनमा परिचारकले एक विवाहित दम्पतीलाई बस्ने ठाउँ खोजिदिएछन्। निम्तो पर्ची पाएको र “निकै रोचक लागेको” कुरा त्यस दम्पतीले परिचारकलाई बताएछन्। अधिवेशनमा उपस्थित हुन तिनीहरू ३२० किलोमिटर टाढादेखि आएका रहेछन्! अर्को घटना यस्तो छ:- एउटी बहिनी घरघरमा प्रचार गरिरहेकी थिइन् र हाम्रो अधिवेशनमा के हुन्छ भनेर निकै चासो देखाएको व्यक्तिलाई एउटा निम्तो पर्ची दिइन् र तिनीसित त्यस पर्चीबाट छलफल गरिन्। केही दिनपछि त्यो लोग्नेमान्छे आफ्नो साथीसित अधिवेशनमा आएको र तिनीहरूले विमोचन भएको नयाँ प्रकाशन हातमा बोकेको हाम्री ख्रीष्टियन बहिनीले देखिन्।
११. वर्षेनी हुने अधिवेशनमा उपस्थित हुनु किन महत्त्वपूर्ण छ?
११ इस्राएलीहरूलाई ‘निष्कपट र सत्यतासाथ यहोवाको सेवा गर्न’ मदत गर्ने यस्ता वार्षिक चाड यहोवाको मायालु प्रबन्ध हो। (यहो. २४:१४) त्यसैगरि वर्षेनी हुने जिल्ला अधिवेशनले हामीलाई ‘सत्यमा चलिरहन’ मदत गर्छ र जिल्ला अधिवेशन हाम्रो उपासनाको महत्त्वपूर्ण भाग हो। (३ यूह. ३) सत्यलाई माया गर्ने सबैले यस अधिवेशनमा उपस्थित हुन र पूरापूर लाभ उठाउन गरेको प्रयासमाथि यहोवाको आशिष् रहोस्!
[पृष्ठ ४-मा भएको ठूलो अक्षरको क्याप्सन]
हाम्रो असल आचरणले अधिवेशन हुने सहरमा सत्यको शोभा बढाउँछ
[पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]
अधिवेशन सुरु हुनुभन्दा तीन हप्ताअघिदेखि नै निम्तो पर्ची बाँड्ने अभियानमा भाग लिने छौं
[पृष्ठ ३-६मा भएको पेटी]
जिल्ला अधिवेशन २०१२ का बेला ध्यान दिनुपर्ने कुराहरू
◼ कार्यक्रमको समय: तीनै दिन बिहान ९:२० बजे कार्यक्रम सुरु हुनेछ। तर अधिवेशन भवन भने बिहान ८:०० बजेदेखि नै खुला हुनेछ। कार्यक्रम सुरु हुनुअघि केही मिनेट धुन बज्दा हामी सबै आ-आफ्नो सिटमा बस्नुपर्छ। यसो गर्दा यहोवाको आदर हुनेगरि व्यवस्थित तरिकामा कार्यक्रम सुरु हुन सक्छ। बिहीबार र शुक्रबार दिउँसो ४:५५ बजे कार्यक्रम विसर्जन हुनेछ भने शनिबारचाहिं दिउँसो ३:४० बजे विसर्जन हुनेछ।
◼ पार्किङ: पार्किङ गर्न छुट्ट्याइएका स्थान पहिला आउनेहरूलाई प्राथमिकता दिएर निश्शुल्क उपलब्ध गराइनेछ। पार्किङ गर्ने ठाउँ साधारणतया सीमित हुने भएकोले सकेसम्म एउटै गाडीमा जति जना अटाउँछ मिलाएर आउनुहोस्।
◼ सिट रोक्ने: एउटै घरमा बस्ने परिवार अथवा एउटै गाडीमा सँगै आउनेहरू अनि तपाईंसित अहिले बाइबल अध्ययन गरिरहेकाहरूको लागि मात्र सिट रोक्न सकिन्छ।—१ कोरि. १३:५.
◼ दिउँसोको खाजा: दिउँसो खाजा खाने बेलामा खानेकुरा किन्न अधिवेशनस्थल छोडेर बाहिर जानुभन्दा हल्का-फुल्का खानेकुरा सँगै लिएर आउनु बेस हुन्छ। सिटमुन्तिर राख्न मिल्ने खाजा बोक्ने झोला ल्याउन सक्नुहुन्छ। तर ठूलो टिफिन बट्टा र काँचका भाँडाकुँडा नल्याउनुहोस्।
◼ अनुदान: अधिवेशनमा विश्वव्यापी कार्यको लागि स्वेच्छिक अनुदान दिएर हामी जिल्ला अधिवेशनको प्रबन्धप्रति आफ्नो कृतज्ञता देखाउन सक्छौं। अधिवेशनमा अनुदानस्वरूप दिइने कुनै पनि चेक “यहोवाका साक्षीहरू समाज”-को नाउँमा भुक्तान गरिनुपर्छ।
◼ दुर्घटना तथा आपत्कालीन अवस्था: अधिवेशनस्थलमा बिरामी भएर वा चोटपटक लागेर आपत्कालीन अवस्था आइपरेमा कृपया नजिकैको परिचारकलाई खबर गर्नुहोस्। तिनले प्राथमिक उपचार विभागलाई तुरुन्त खबर गर्नेछन्। त्यसपछि प्राथमिक उपचारमा दक्ष व्यक्तिले अवस्था कत्तिको गम्भीर छ, पक्का गर्नेछन् र आवश्यक मदत दिनेछन्।
◼ औषधी: यदि डाक्टरले सिफारिस गरेको औषधी सेवन गर्दै हुनुहुन्छ भने त्यो औषधी अधिवेशन स्थलमा उपलब्ध नहुने भएकोले आफूलाई चाहिनेजति औषधी ल्याउन नबिर्सनुहोस्। मधुमेह भएकाहरूले प्रयोग गर्ने सिरिन्ज तथा सुई फ्याँक्दा त्यसैको लागि छुट्ट्याएको भाँडामा फ्याँक्नुहोस्; अधिवेशन स्थलको वा होटेलको अरू सामान्य फोहोर फाल्ने भाँडामा होइन। राम्ररी पोको नपारी जथाभावी फ्याँक्दा अरूलाई घाउ लाग्न सक्छ।
◼ जुत्ता: हरेक वर्ष जुत्ताको कारणले थुप्रैलाई चोटपटक लाग्ने गरेको छ। त्यसकारण भिरालो ठाउँ, भऱ्याङ, अल्झिएर लड्न सक्ने कुनै पनि ठाउँमा हिंड्दा चोटपटक नलागोस् भन्नको लागि भद्र देखिने र साइज मिलेको जुत्ता लगाउनु बेस हो।
◼ सुस्त श्रवण भएकाहरू: हलमा कार्यक्रम एफएम रेडियो फ्रिक्वेन्सीमा प्रसारण गरिनेछ। यो प्रबन्धको फाइदा उठाउन तपाईंले इयरफोनसहितको ब्याट्रीबाट चल्ने सानो रेडियो ल्याउनुपर्ने हुन्छ।
◼ अत्तर: अधिवेशन प्रायः हातैले खोल्नु वा बन्द गर्नुपर्ने भेन्टिलेशनहरू भएका बन्द हलहरूमा हुन्छन्। त्यसैले श्वासप्रश्वाससम्बन्धी वा अन्य समस्या भएकाहरूलाई गाह्रो हुन सक्ने भएकोले कडा बास्ना भएका अत्तर आदिको प्रयोग कम गर्दा दयालु व्यवहार देखाइरहेका हुनेछौं।–१ कोरि. १०:२४.
◼ कृपया भेट्नुहोस् (S-43) फाराम: अधिवेशनमा अनौपचारिक साक्षी दिंदा चासो देखाउने व्यक्तिलाई थप जानकारी दिन कृपया भेट्नुहोस् फाराम प्रयोग गर्नुपर्छ। प्रकाशकहरूले अधिवेशनमा एक/दुइटा फाराम ल्याउनुपर्छ। भरेको फाराम अधिवेशनको साहित्य विभागमा बुझाउन सकिन्छ। अथवा पछि मण्डलीमा सचिवलाई बुझाए पनि हुन्छ।—हाम्रो राज्य सेवा, मे २०११, पृष्ठ ५ हेर्नुहोस्।
◼ रेष्टुराँ: रेष्टुराँमा पनि असल बानीबेहोरा देखाएर यहोवाको नामको सम्मान गर्नुहोस्। चलन छ भने टिप्स दिनुहोस्।
◼ होटेल:
(१) चाहिनेभन्दा बढी कोठाहरू बुकिङ नगर्नुहोस् र अनुमति पाएभन्दा बढी मानिसलाई आफ्नो कोठामा नराख्नुहोस्।
(२) आपत्कालीन अवस्थामा बाहेक बुकिङ रद्द नगर्नुहोस्। रद्द गर्नुपरेमा होटेललाई तुरुन्त खबर गरिहाल्नुहोस्।—मत्ती ५:३७.
(३) पकाउन निषेध गरिएको कोठामा नपकाउनुहोस्।
(४) पाहुनाहरू होटेलमा बसुन्जेल होटेलले निश्शुल्क ब्रेकफास्ट, कफी अथवा आइसक्युब आदिको सुविधा दिएको छ भने त्यस्ता सुविधाको दुरुपयोग नगर्नुहोस्।
(५) होटेलका कर्मचारीहरूसित व्यवहार गर्ने सन्दर्भमा हरेक समय पवित्र शक्तिको फल प्रदर्शन गर्नुहोस्। उनीहरूले होटेलमा आएका थुप्रै पाहुनाको ख्याल गर्नुपरिरहेको हुन्छ। त्यसैले हामीले देखाउने दया, धीरज र व्यावहारिकताको उनीहरू कदर गर्छन्।
(६) आमाबाबुले होटेलमा हरबखत छोराछोरीले के-कसो गरिरहेका छन् निरीक्षण गर्नुपर्छ।
(७) अधिवेशन समितिले सिफारिस गरेका होटेलहरूको सूचीमा एकदिनको कोठा भाडा दिइएको हुन्छ। त्यसमा कर समावेश गरिएको हुँदैन। बढी पैसा लिन खोजेमा त्यस्तो पैसा नतिर्नुहोस् र यसबारे अधिवेशनमा जतिसक्दो चाँडो आवास विभागलाई खबर गर्नुहोस्।
(८) होटेलमा कोठासम्बन्धी समस्या भएमा अधिवेशनमा उपस्थित हुँदा आवास विभागलाई खबर गर्न नबिर्सनुहोस्। यसो गर्नुभयो भने उहाँहरूले तपाईंलाई मदत गर्न सक्नुहुन्छ।
◼ स्वयंसेवा: स्वयंसेवा गर्न चाहनेहरूले अधिवेशनस्थलको स्वयंसेवा विभागलाई जनाउ दिनुपर्छ। अधिवेशनलाई सफल पार्ने काममा १६ वर्षभन्दा कम उमेरकाहरूले पनि आफ्नो आमाबाबु वा उनीहरूले स्वीकृति दिएका कुनै एक वयस्कको निरीक्षणमा रहेर योगदान पुऱ्याउन सक्छन्।
[पृष्ठ ६-मा भएको पेटी]
हामी कसरी निम्तो दिन सक्छौं?
इलाका ढाक्न निम्तो पर्ची दिंदा प्रस्तुति छोटो हुनुपर्छ। हामी यस्तै केही भन्न सक्छौं: “नमस्कार। हामी यो निम्तो संसारभरि नै बाँड्दै छौं। तपाईंलाई पनि निम्तो छ। थप जानकारी तपाईंले यस निम्तोमा पाउन सक्नुहुन्छ।” उत्साहित हुनुहोस्। सप्ताहन्तमा निम्तो पर्ची बाँड्दा उपयुक्त छ भने पत्रिका पनि दिन सकिन्छ।