ख्रिष्टियन जीवन
के तपाईँ दिनहुँ धर्मशास्त्र जाँच्ने पढेर लाभ उठाउँदै हुनुहुन्छ?
यहोवासित नजिक हुन के तपाईँ दिनहुँ धर्मशास्त्र जाँच्ने-बाट हरेक दिन शास्त्रपद र टिप्पणी पढ्ने गर्नुहुन्छ? यदि गर्नुभएको छैन भने पनि आजैबाट आफ्नो तालिकामा समावेश गर्न सक्नुहुन्छ कि? थुप्रैले दैनिक पद बिहानै पढ्नु लाभदायी पाएका छन्। यसरी बिहानै पढ्दा तिनीहरूले पढेको कुरा दिनभरि मनन गर्न सकेका छन्। (यहो १:८; भज ११९:९७) दैनिक पदको पढाइबाट तपाईँ कसरी अझै लाभ उठाउन सक्नुहुन्छ? बाइबल पद कुन सन्दर्भमा लेखिएको हो भनेर थाह पाउन त्यसको प्रसङ्ग पनि पढ्नुहोस्। शास्त्रपदमा भएको सिद्धान्तलाई जोड दिने बाइबल विवरण सम्झने प्रयास गर्नुहोस्। अनि त्यो सिद्धान्त आफ्नो जीवनमा लागू गर्नुहोस्। परमेश्वरको वचन लागू गर्दै निर्णयहरू गर्नुभयो भने यसले तपाईँको जीवनलाई सही बाटोतर्फ डोऱ्याउनेछ र तपाईँलाई साँच्चै फाइदा पुऱ्याउनेछ।—भज ११९:१०५.
संसारभरका बेथेल परिवार बिहान खाजा खाने बेला दिनहुँ धर्मशास्त्र जाँच्ने छलफल गर्छन्। हालसालैका वर्षहरूमा दैनिक पद छलफल गरिएका थुप्रै भिडियोहरू JW ब्रोडकास्टिङमा कार्यक्रम तथा घटना अन्तर्गत राखिएका छन्। के तपाईँले दैनिक पद छलफल गरिएको भिडियो हालसालै हेर्नुभएको थियो? सायद त्यतिखेर तपाईँलाई चाहिएकै कुनै विषय छलफल गरिएको थियो होला। उदाहरणको लागि, लूतको विवरणले तपाईँले गर्ने निर्णयहरूमा कस्तो प्रभाव पार्छ?
संसारलाई प्रेम नगर्नुहोस् (१यु २:१५) भिडियो हेर्नुहोस् अनि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
यस बिहानको उपासनामा बाइबलको कुन सिद्धान्तलाई जोड दिएको थियो?
लूतको विवरणबाट संसार वा संसारमा भएका थोकहरूलाई प्रेम गर्नुको खतराबारे के सिक्न सक्छौँ?—उत्प १३:१२; १४:१२; १९:३, १२, १३, २४-२६
हामी संसार वा संसारमा भएका थोकहरूलाई नभई यहोवालाई प्रेम गरेको कसरी देखाउन सक्छौँ?
यहोवाको वचनको मोल गरेको कुरा म आफ्नो दिनभरिको गतिविधिमा कसरी देखाउन सक्छु?