प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w25 अक्टोबर pp. १२-१७
  • परमेश्‍वरको प्रेम अटल छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको प्रेम अटल छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको प्रेम बाइबलको आधारभूत शिक्षा हो भनेर सम्झनुहोस्‌
  • यहोवा तपाईँलाई “माया गर्नुहुन्छ” भन्‍ने कुरामा मनन गर्नुहोस्‌
  • हाम्रो मनमा किन शङ्‌का आउँछ, बुझ्नुहोस्‌
  • वफादार रहने छनौट गर्नुहोस्‌
  • यहोवा तपाईँलाई कोमल स्नेह देखाउनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • यहोवा तपाईँलाई प्रेम गर्नुहुन्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • तपाईँ शङ्‌का-उपशङ्‌काहरूलाई कसरी हटाउन सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • यहोवाको अटल प्रेमले तपाईँको लागि कस्तो अर्थ राख्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
w25 अक्टोबर pp. १२-१७

अध्ययन लेख ४१

गीत १०८ परमेश्‍वरको अटल प्रेम

परमेश्‍वरको प्रेम अटल छ

“यहोवालाई धन्यवाद चढाओ किनकि उहाँ भला हुनुहुन्छ; उहाँको अटल प्रेम कहिल्यै टल्दैन।”—भज. १३६:१.

सिक्न सकिने कुरा

यहोवाको प्रेम बाइबलको आधारभूत शिक्षा हो भन्‍ने कुरा मनमा राख्यौँ भने परीक्षा आइपर्दा हार मान्‍नेछैनौँ।

१-२. आँधीरूपी समस्याको सामना गर्नुपर्दा हामीलाई कस्तो महसुस हुन सक्छ?

यो दृश्‍य कल्पना गर्नुहोस्‌। समुद्रमा बेस्सरी आँधीबेहरी चलिरहेको छ र छालले एउटा जहाजलाई यताउता हुर्ऱ्याइरहेको छ। त्यति नै बेला कसैले समुद्रमा लङ्‌गर झार्छ। त्यसपछि जहाज स्थिर हुन्छ अनि छालले जहाजलाई यताउता हुर्ऱ्याउन पाउँदैन।

२ तपाईँले आँधीरूपी समस्याको सामना गर्दै हुनुहुन्छ भने तपाईँको अवस्था त्यो जहाजको जस्तै हुन सक्छ। तपाईँको मनका भावनाहरू उथलपुथल हुन सक्छ। मानौँ, आज तपाईँ यहोवाको माया अनि साथ पाएको कुरामा ढुक्क हुनुहुन्छ तर भोलिपल्टै ‘कतै यहोवाले मेरो अवस्था यादै गर्नुभएको छैन कि’ भनेर शङ्‌का लाग्न सक्छ। (भज. १०:१; १३:१) यस्तो बेला कोही साथीले तपाईँलाई सान्त्वनाका दुईचार शब्द भन्लान्‌ अनि केही समय त तपाईँले हल्का महसुस गर्नुहोला। (हितो. १७:१७; २५:११) तर पछि फेरि तपाईँको मनमा शङ्‌काका छालहरू उर्लन थाल्छन्‌। यहोवा मलाई माया गर्नुहुन्‍न जस्तो लाग्न सक्छ। यस्तो अवस्थामा तपाईँले लङ्‌गर झार्नुपर्छ। भन्‍नुको मतलब, यहोवा तपाईँलाई माया गर्नुहुन्छ अनि साथ दिनुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त हुनुपर्छ र यस्तो विश्‍वस्तता सधैँ कायम राख्नुपर्छ। तपाईँ कसरी त्यसो गर्न सक्नुहुन्छ?

३. (क) “अटल प्रेम” भनेको के हो? (भजन ३१:७; १३६:१) (ख) अटल प्रेमको उत्कृष्ट उदाहरण यहोवा हुनुहुन्छ भनेर किन भन्‍न सक्छौँ? (चित्र पनि हेर्नुहोस्‌।)

३ परीक्षाको बेला लङ्‌गर झार्ने एउटा तरिका भनेको यहोवाको अटल प्रेमबारे सम्झनु हो। (भजन ३१:७; १३६:१ पढ्‌नुहोस्‌।) “अटल प्रेम” भन्‍ने अभिव्यक्‍तिले दुई जना व्यक्‍तिबीचको गहिरो अनि स्थायी सम्बन्धलाई बुझाउँछ। अटल प्रेमको उत्कृष्ट उदाहरण यहोवा हुनुहुन्छ। त्यसैले त बाइबलमा उहाँ ‘अटल प्रेमले भरिपूर्ण’ हुनुहुन्छ भनी बताइएको छ। (प्रस्थ. ३४:६, ७) बाइबलमा यहोवाबारे यसो पनि भनिएको छ: “तपाईँलाई पुकार्ने सबैलाई तपाईँ प्रशस्तगरि अटल प्रेम देखाउनुहुन्छ।” (भज. ८६:५) त्यसको अर्थ के हो? यहोवा आफ्ना वफादार सेवकहरूलाई कहिल्यै त्याग्नुहुन्‍न। यहोवाको प्रेम अटल छ भनेर सम्झनुभयो भने आँधीरूपी परीक्षा आइपर्दा तपाईँ स्थिर रहन सक्नुहुनेछ।—भज. २३:४.

आँधी चलिरहेको बेला जहाजलाई स्थिर बनाउन समुद्रमा लङ्‌गर झारिएको छ।

आँधी चल्दा लङ्‌गरले जहाजलाई स्थिर राख्छ; त्यसरी नै हामी यहोवाको प्रेममा विश्‍वस्त हुँदा गाह्रो परिस्थितिमा स्थिर रहन सक्छौँ (अनुच्छेद ३ हेर्नुहोस्‌)


यहोवाको प्रेम बाइबलको आधारभूत शिक्षा हो भनेर सम्झनुहोस्‌

४. बाइबलका केही आधारभूत शिक्षाहरू के-के हुन्‌ अनि त्यसमाथिको हाम्रो विश्‍वास सजिलै ढलपल नहुनुको कारण के हो?

४ परीक्षाको बेला लङ्‌गर झार्ने अर्को तरिका भनेको यहोवाको प्रेम बाइबलको आधारभूत शिक्षा हो भनेर सम्झनु हो। “बाइबलको आधारभूत शिक्षा” भन्‍नाले तपाईँ के बुझ्नुहुन्छ? सायद तपाईँ बाइबलमा पाइने शिक्षाहरू सम्झनुहुन्छ होला। जस्तै: परमेश्‍वरको नाम यहोवा हो, येसु परमेश्‍वरको एक मात्र छोरा हुनुहुन्छ, मरेकाहरूलाई केही पनि थाह हुँदैन अनि पूरै पृथ्वी प्रमोदवनमा परिणत हुनेछ र मानिसहरू यहाँ सधैँभरि बाँच्नेछन्‌। (भज. ८३:१८; उप. ९:५; युह. ३:१६; प्रका. २१:३, ४) यी शिक्षाहरूमा विश्‍वास गर्नुभएपछि अरूले जे भने पनि तपाईँको विश्‍वास सजिलै ढलपल भएन। किन? किनभने यी शिक्षाहरू प्रमाणमा आधारित छ भनेर तपाईँले बुझ्नुभयो। यहोवाको प्रेम पनि त्यस्तै एउटा आधारभूत शिक्षा हो। यो कुरा सम्झँदा यहोवा हाम्रो अवस्था याद गर्नुहुन्‍न वा उहाँलाई हाम्रो वास्ता छैन भन्‍ने शङ्‌का हटाउन कसरी मदत मिल्छ, विचार गरौँ।

५. झूटा शिक्षाहरूलाई कसरी उखेल्न सकिन्छ?

५ बाइबल अध्ययन गर्न थालेपछि तपाईँले झूटा शिक्षाहरू कसरी त्याग्न सक्नुभयो? सायद तपाईँले आफ्नो धर्मले सिकाउने कुरालाई बाइबलले सिकाउने कुरासित तुलना गर्नुभयो। एउटा उदाहरण विचार गरौँ। मानौँ, तपाईँ पहिला मान्छे मरे पनि उसको आत्मा जीवितै रहन्छ भनेर विश्‍वास गर्नुहुन्थ्यो। तर बाइबल अध्ययन गर्दै जाँदा तपाईँले आफैलाई यस्तो प्रश्‍न सोध्नुभयो, ‘के यो शिक्षा साँच्चै सही हो?’ बाइबलमा पाइने प्रमाण केलाएपछि तपाईँले त्यो शिक्षा झूटो रहेछ भनेर थाह पाउनुभयो अनि त्यो शिक्षा त्याग्नुभयो। त्यसपछि तपाईँले यो साँचो शिक्षा स्विकार्नुभयो: ‘मरेकाहरूलाई केही पनि थाह हुँदैन’ अनि “धर्मी र अधर्मी दुवै फेरि जीवित हुनेछन्‌।” (उप. ९:५; प्रेषि. २४:१५) हुनत झूटा शिक्षाहरूले “गहिरो जरा गाडेर बसेका” हुन सक्छन्‌, जसलाई उखेल्न सजिलो हुँदैन। (२ कोरि. १०:४, ५) तर एकचोटि उखेलेर फ्याँकेपछि तपाईँ त्यही कुराहरूको पछि लाग्नुभएन।—फिलि. ३:१३.

६. भजन १३६ मा “उहाँको अटल प्रेम कहिल्यै टल्दैन” भन्‍ने अभिव्यक्‍ति किन धेरै चोटि दोहोऱ्‍याइएको छ?

६ यहोवाको प्रेमबारे बाइबलले सिकाउने कुरालाई पनि तपाईँ त्यसरी नै केलाउन सक्नुहुन्छ। यदि परीक्षा भोग्नुपर्दा यहोवाको मायामा शङ्‌का लाग्न थाल्यो भने आफैलाई सोध्नुहोस्‌, ‘के मेरो यो सोचाइ ठीक हो?’ त्यसपछि आफ्नो सोचाइलाई भजन १३६:१ मा लेखिएका शब्दहरूसित तुलना गर्नुहोस्‌, जुन यस लेखको मूल शास्त्रपद पनि हो। यस पदमा यहोवाले किन आफ्नो प्रेम “अटल” छ भन्‍नुभयो? यस भजनमा “उहाँको अटल प्रेम कहिल्यै टल्दैन” भन्‍ने अभिव्यक्‍ति किन २६ पटक दोहोऱ्‍याइएको छ? हामीले अगाडि विचार गरेझैँ यहोवा आफ्ना जनहरूलाई अटल प्रेम देखाउनुहुन्छ भन्‍ने शिक्षा पनि तपाईँले स्विकारिसक्नुभएका अरू आधारभूत शिक्षाहरूजस्तै हो। यहोवा तपाईँलाई कुनै मोलको ठान्‍नुहुन्‍न वा तपाईँलाई माया गर्नुहुन्‍न भन्‍ने कुरा सरासर झूट हो। अरू झूटा शिक्षाहरूलाई तिरस्कार गरेजस्तै यो झूटलाई पनि तिरस्कार गर्नुहोस्‌।

७. यहोवा तपाईँलाई प्रेम गर्नुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त हुन कस्ता शास्त्रपदहरूले मदत गर्छ?

७ यहोवा हामीलाई प्रेम गर्नुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त पार्ने थुप्रै प्रमाण हामी बाइबलमा पाउँछौँ। उदाहरणको लागि, येसुले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “तिमीहरू थुप्रै भँगेराभन्दा बहुमूल्य छौ।” (मत्ति १०:३१) यहोवा आफैले पनि आफ्ना मानिसहरूलाई यसो भन्‍नुभयो: “म तिमीलाई बलियो पार्नेछु र तिमीलाई मदत गर्नेछु। धार्मिकता कायम गर्ने मेरो दायाँ हातले म तिमीलाई पक्रिराख्नेछु।” (यसै. ४१:१०) यी भनाइहरू कत्ति सशक्‍त छन्‌! येसुले ‘तिमीहरू बहुमूल्य छौ होला’ र यहोवाले ‘म तिमीलाई मदत गर्छु होला’ भन्‍नुभएन। बरु उहाँहरूले ‘तिमीहरू बहुमूल्य छौ’ अनि ‘म तिमीलाई मदत गर्नेछु’ भन्‍नुभयो। परीक्षाको बेला यहोवाको मायामा शङ्‌का लाग्यो भने यी पदहरूमा मनन गर्नुहोस्‌। यसो गर्नुभयो भने तपाईँले हल्का महसुस गर्नुहुनेछ। त्यति मात्र नभई तपाईँ यहोवाको प्रेममा विश्‍वस्त पनि हुनुहुनेछ। यी पदहरूमा लेखिएका कुराहरू सत्य हुन्‌। प्रार्थनापूर्वक यी पदहरूमा मनन गर्नुभयो भने तपाईँले पनि यसो भन्‍न सक्नुहुनेछ: “परमेश्‍वर हामीलाई प्रेम गर्नुहुन्छ भनेर हामीले थाह पाएका छौँ र त्यसमा विश्‍वास पनि गरेका छौँ।”—१ युह. ४:१६.a

८. यहोवा तपाईँलाई प्रेम गर्नुहुन्छ भन्‍ने कुरामा अझै शङ्‌का लाग्छ भने तपाईँ के गर्न सक्नुहुन्छ?

८ यहोवा तपाईँलाई प्रेम गर्नुहुन्छ भन्‍ने कुरामा तपाईँलाई अझै शङ्‌का लाग्छ कि? यदि तपाईँ यस्तो महसुस गर्दै हुनुहुन्छ भने त्यसलाई यहोवाबारे आफूलाई थाह भएको कुरासित तुलना गर्नुहोस्‌। हामी जे महसुस गर्छौँ, त्यसमा पूरापूर भरोसा गर्न सक्दैनौँ। तर यहोवा हामीलाई प्रेम गर्नुहुन्छ भन्‍ने कुरा बाइबलले सिकाउने सत्य हो, जसमा हामी पूरा भरोसा गर्न सक्छौँ। हामी यो कुरामा विश्‍वास गर्दैनौँ भने “परमेश्‍वर प्रेम हुनुहुन्छ” भन्‍ने कुरा झूटो हो भनिरहेका हुनेछौँ।—१ युह. ४:८.

यहोवा तपाईँलाई “माया गर्नुहुन्छ” भन्‍ने कुरामा मनन गर्नुहोस्‌

९-१०. “बुबा आफैले तिमीहरूलाई माया गर्नुहुन्छ।” येसुले यो कुरा कुन प्रसङ्‌गमा भन्‍नुभएको थियो? (युहन्‍ना १६:२६, २७) (चित्र पनि हेर्नुहोस्‌।)

९ येसुले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “बुबा आफैले तिमीहरूलाई माया गर्नुहुन्छ।” (युहन्‍ना १६:२६, २७ पढ्‌नुहोस्‌।) यसमा मनन गऱ्‍यौँ भने यहोवाको प्रेमबारे हामी अझ धेरै कुरा सिक्न सक्छौँ। प्रसङ्‌ग विचार गर्ने हो भने येसुले यी शब्दहरू चेलाहरूलाई खुसी बनाउन मात्र भन्‍नुभएको थिएन बरु उहाँले फरक विषयबारे कुरा गर्दै हुनुहुन्थ्यो। त्यो थियो, प्रार्थना।

१० येसुले चेलाहरूलाई उहाँलाई होइन बरु उहाँको नाममा प्रार्थना गर्न भन्‍नुभयो। (युह. १६:२३, २४) यो कुरा तिनीहरूले राम्ररी बुझ्नुपर्थ्यो। येसु फेरि जीवित हुनुभएपछि उहाँलाई नै प्रार्थना गरूँ जस्तो चेलाहरूलाई लाग्न सक्थ्यो। किनभने तिनीहरू येसुसित साथीजस्तै घनिष्ठ भएका थिए। येसुले तिनीहरूलाई असाध्यै माया गर्नुहुने भएकोले तिनीहरूको बिन्ती सुनिदिनुहुन्छ अनि बुबासम्म पुऱ्‍याइदिनुहुन्छ भनेर तिनीहरूले तर्क गर्न सक्थे। तर तिनीहरूले त्यस्तो सोचेको येसु चाहनुहुन्‍नथ्यो। किन? किनभने उहाँले तिनीहरूलाई भन्‍नुभयो: “बुबा आफैले तिमीहरूलाई माया गर्नुहुन्छ।” यो कुरा येसुले प्रार्थनासम्बन्धी निर्देशन दिनुहुँदा भन्‍नुभएको थियो। यसले तपाईँको लागि कस्तो अर्थ राख्छ, विचार गर्नुहोस्‌। बाइबल अध्ययन गर्दै जाँदा तपाईँले येसुलाई चिन्‍नुभयो अनि उहाँलाई प्रेम गर्न थाल्नुभयो। (युह. १४:२१) तर येसुका चेलाहरूले जस्तै तपाईँले पनि ‘यहोवा आफैले तपाईँलाई माया गर्नुहुन्छ’ भन्‍ने कुरा बुझ्नुभएको छ। त्यसैले तपाईँ ढुक्क भई उहाँलाई प्रार्थना गर्न सक्नुहुन्छ। हरेक चोटि यहोवालाई प्रार्थना गर्दा तपाईँले यी शब्दहरूमा विश्‍वास गरेको देखाइरहनुभएको हुनेछ।—१ युह. ५:१४.

चित्रहरूको सँगालो: एक भाइ बाहिर बेन्चमा बसेर तीन वटा महत्त्वपूर्ण विषयबारे ढुक्क भई यहोवालाई प्रार्थना गर्दै छन्‌। १. तिनी आफ्नी बिरामी पत्नीको लागि ओछ्यानमै खाना ल्याइदिन्छन्‌। २. तिनकी सानी छोरी खुसी भएर तिनीसित अध्ययन गर्दै छिन्‌। ३. तिनी बिलहरू हेर्दै छन्‌।

‘यहोवा आफैले तपाईँलाई माया गर्नुहुन्छ’ भन्‍ने कुरा बुझेकोले तपाईँ ढुक्क भई उहाँलाई प्रार्थना गर्न सक्नुहुन्छ (अनुच्छेद ९-१० हेर्नुहोस्‌)b


हाम्रो मनमा किन शङ्‌का आउँछ, बुझ्नुहोस्‌

११. यहोवाको प्रेममा शङ्‌का गऱ्‍यौँ भने सैतान किन खुसी हुन्छ?

११ यहोवाको प्रेममा शङ्‌का लाग्नुको कारण के हो? तपाईँ भन्‍नुहोला, सैतान। अनि त्यो केही हदसम्म सही पनि हो। त्यसले हामीलाई ‘निल्न’ खोजिरहेको छ। (१ पत्रु. ५:८) त्यसैले हामीले यहोवाको प्रेममा शङ्‌का गर्दा त्यो खुसी हुन्छ। एकछिन सोच्नुहोस्‌ न, प्रेमले उत्प्रेरित भएर यहोवाले हाम्रो लागि फिरौतीको प्रबन्ध गर्नुभयो। तर हामी त्यसको लायकै छैनौँ भनेर सोचेको सैतान चाहन्छ। (हिब्रू २:९) त्यसोभए यहोवाको प्रेममा शङ्‌का गऱ्‍यौँ भने को खुसी हुन्छ? सैतान। अनि परीक्षा आउँदा हार मान्यौँ भने कसको उद्देश्‍य पूरा हुन्छ? सैतानको। वास्तवमा यहोवाले प्रेम नगर्नुहुने हामीलाई होइन, सैतानलाई हो। तर त्यसले उल्टै यहोवा हामीलाई प्रेम गर्नुहुन्‍न र हामीलाई स्विकार्नुहुन्‍न भनेर महसुस गराउन खोज्छ। यो सैतानको एउटा “दाउपेच” हो। (एफि. ६:११) सैतानले के गर्न खोज्दै छ भनेर बुझ्यौँ भने त्यसको “विरोध” गर्ने हाम्रो सङ्‌कल्प अझ बलियो हुनेछ।—याकु. ४:७.

१२-१३. हामीले जन्मजात पाएको त्रुटिपूर्ण अवस्थाले गर्दा हामीलाई किन यहोवाको प्रेममा शङ्‌का लाग्न सक्छ?

१२ हामीलाई अर्को कारणले गर्दा पनि यहोवाको प्रेममा शङ्‌का लाग्न सक्छ। त्यो के हो? हामीले जन्मजातै पाएको पापी अवस्था। (भज. ५१:५; रोमी ५:१२) पापले गर्दा परमेश्‍वरसितको मानिसहरूको सम्बन्ध बिग्रिएको छ। यसले तिनीहरूको सोचाइ, भावना र शरीरलाई पनि नराम्रो असर गरेको छ।

१३ पापले गर्दा हामीलाई दोषी भावना, चिन्ता, लाज र डरजस्ता नकारात्मक भावनाहरूले सताउँछ। हुनत पाप गरेपछि हामीमा यस्ता भावनाहरू आउँछन्‌। तर हामी जन्मजातै पापी भएकोले पनि कहिलेकाहीँ यस्ता भावनाहरू आउन सक्छन्‌। तर परमेश्‍वरले हामीलाई सृष्टि गर्नुहुँदा हाम्रो अवस्था यस्तो होस्‌ भन्‍ने चाहनुभएको थिएन। (रोमी ८:२०, २१) गाडीको टायर पन्चर हुँदा त्यो राम्रोसित गुड्‌न सक्दैन। त्यसरी नै हामी जन्मजातै त्रुटिपूर्ण भएकोले सबै कुरा राम्रोसित गर्न सक्दैनौँ। त्यसैले त यहोवा हामीलाई प्रेम गर्नुहुन्छ भन्‍ने कुरामा बेलाबेला शङ्‌का लाग्न सक्छ। त्यस्तो शङ्‌का लाग्दा हामीले यो कुरा बिर्सनु हुँदैन: ‘यहोवा महान्‌ र आश्‍चर्यजनक कामहरू गर्ने परमेश्‍वर हुनुहुन्छ अनि उहाँलाई प्रेम गर्ने र उहाँको आज्ञा पालन गर्नेहरूलाई अटल प्रेम देखाउनुहुन्छ।’—नहे. १:५.

१४. यहोवाको प्रेममा शङ्‌का लाग्दा हामीले किन फिरौतीको बलिदानबारे मनन गर्नुपर्छ? (रोमी ५:८) (“‘पापको भ्रामक शक्‍ति’-देखि होसियार हुनुहोस्‌” भन्‍ने पेटी पनि हेर्नुहोस्‌।)

१४ कहिलेकाहीँ हामीलाई आफू यहोवाको प्रेम पाउन लायक छैनँ जस्तो लाग्न सक्छ। अनि सीधै भन्‍ने हो भने हामी लायक पनि छैनौँ। त्यसैले त यहोवाले हामीलाई देखाउनुभएको प्रेम विशेष छ। हामी आफ्नै बलबर्कतमा यहोवाको प्रेम कमाउन सक्दैनौँ। तैपनि उहाँ हामीलाई असाध्यै प्रेम गर्नुहुन्छ। त्यसैले हाम्रो लागि फिरौतीको प्रबन्ध गर्नुभयो। यही फिरौतीले गर्दा हामीले पापहरूको क्षमा पाउन सम्भव भएको छ। (१ युह. ४:१०) यो कुरा पनि सम्झनुहोस्‌: येसु त्रुटिरहित व्यक्‍तिहरूको लागि होइन, पापीहरूको लागि मर्नुभयो। (रोमी ५:८ पढ्‌नुहोस्‌।) हामीमध्ये कोही पनि सबै कुरा ठीकसित गर्न सक्दैनौँ अनि यहोवा पनि त्यस्तो आशा गर्नुहुन्‍न। हाम्रो पापी अवस्थाले गर्दा यहोवा हामीलाई प्रेम गर्नुहुन्छ भन्‍ने कुरामा कहिलेकाहीँ शङ्‌का लाग्न सक्छ। यो कुरा बुझ्यौँ भने शङ्‌कालाई तुरुन्तै हटाइहाल्ने हाम्रो सङ्‌कल्प अझ बलियो हुन्छ।—रोमी ७:२४, २५.

“पापको भ्रामक शक्‍ति”-देखि होसियार हुनुहोस्‌

बाइबलमा “पापको भ्रामक शक्‍ति”-बारे बताइएको छ। (हिब्रू ३:१३) पापी अवस्थाले गर्दा हामी गलत काम गर्ने प्रलोभनमा पर्छौँ। त्यति मात्र नभई यसले गर्दा नै हामीलाई यहोवाको प्रेममा बेलाबेलामा शङ्‌का लाग्न सक्छ वा त्यस्तो शङ्‌का हाम्रो मनमा लामो समयसम्म रहन सक्छ। हो, पापको ‘शक्‍ति भ्रामक’ छ।

अहिले संसारमा ठग्न खप्पिस व्यक्‍तिहरूको बिगबिगी छ। तिनीहरू अनेक जुक्‍ति लगाएर अरूबाट पैसा धुत्न खोज्छन्‌। ‘मलाई त कसैले झुक्क्याउन सक्दैन’ जस्तो हामीलाई लाग्ला। तर होसियार भएनौँ भने हामी त्यस्ता व्यक्‍तिहरूको जालमा फस्न सक्छौँ र हामीले ठूलो मोल चुकाउनुपर्ने हुन सक्छ।

त्यसरी नै हाम्रो पापी अवस्थाले हामीलाई ठग्न खोज्छ। यसको मतलब, यहोवा हामीलाई प्रेम गर्नुहुन्‍न भनेर हामीलाई विश्‍वास दिलाउन खोज्छ। त्यसैले हामी होसियार हुनुपर्छ। साथै हाम्रो पापी अवस्थाले हामीलाई आफ्नो कमीकमजोरी र गल्तीहरूमै घोरिएर बस्न लगाउन सक्छ। तर त्यो पापको “भ्रामक शक्‍ति” हो र हामीले त्यसलाई तिरस्कार गर्नुपर्छ।

वफादार रहने छनौट गर्नुहोस्‌

१५-१६. यहोवाप्रति वफादार रहिरह्‍यौँ भने हामी कुन कुरामा ढुक्क हुन सक्छौँ र किन? (२ समुएल २२:२६)

१५ यहोवा हामी ‘उहाँप्रति वफादार रहेको’ चाहनुहुन्छ। (व्यव. ३०:१९, २०) त्यसो गऱ्‍यौँ भने उहाँ पनि हामीप्रति वफादार हुनुहुनेछ। (२ समुएल २२:२६ पढ्‌नुहोस्‌।) हामी यहोवाप्रति वफादार रहिरह्‍यौँ भने जीवनमा जस्तोसुकै गाह्रो अवस्था आइपरे पनि उहाँ हामीलाई मदत गर्नुहुन्छ भन्‍ने कुरामा ढुक्क हुन सक्छौँ।

१६ यस लेखमा सिकेझैँ गाह्रो अवस्थाको सामना गर्नुपर्दा हामीले लङ्‌गर झार्नुपर्छ। भन्‍नुको मतलब, यहोवा हामीलाई प्रेम गर्नुहुन्छ र साथ दिनुहुन्छ भन्‍ने कुरामा हामी ढुक्क हुनुपर्छ। बाइबलले पनि त्यही कुरा सिकाउँछ। उहाँको प्रेममा शङ्‌का लाग्दा हामी कस्तो महसुस गर्दै छौँ, त्यसमा होइन बरु उहाँको प्रेमबारे हामीलाई के थाह छ, त्यसमा मनन गर्नुपर्छ। त्यसैले यहोवाको अटल प्रेम कहिल्यै टल्दैन भन्‍ने सत्यमा सधैँ विश्‍वस्त रहिरहौँ।

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • यहोवाको प्रेम बाइबलको आधारभूत शिक्षा हो भनेर सम्झँदा हामीलाई कस्तो फाइदा हुन्छ?

  • जन्मजातै पाएको पापी अवस्थाले गर्दा हामीलाई किन यहोवाको प्रेममा शङ्‌का लाग्न सक्छ?

  • यहोवाको प्रेममा शङ्‌का लाग्दा हामी के गर्न सक्छौँ?

गीत १५९ महिमा गर्छु यहोवाको

a यहोवाको प्रेममा विश्‍वस्त हुन मदत गर्ने अन्य केही पदहरू: व्यवस्था ३१:८, भजन ९४:१४ र यसैया ४९:१५

b चित्रको व्याख्या: एक भाइ आफ्नी बिरामी पत्नीको हेरविचार गर्न, परिवारको भौतिक आवश्‍यकता पूरा गर्न र छोरीलाई यहोवालाई प्रेम गर्न सिकाउन यहोवासित प्रार्थनामा मदत माग्दै छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने