परमेश्वरको प्रेरित वचनलाई वफादारीपूर्वक समर्थन गर्ने
“कपटमा नचलेर, परमेश्वरको वचनमा छलछाम नगरेर, हामीले शर्मका गुप्त कुराहरू त्यागेका छौं।”—२ कोरिन्थी ४:२.
१. (क) मत्ती २४:१४ र २८:१९, २० मा उल्लिखित कार्य पूरा गर्न के गर्नु आवश्यक भएको छ? (ख) अन्तको दिन सुरु हुँदा कुन हदसम्म मानिसहरूलाई बाइबल उपलब्ध भइसकेको थियो?
येशू ख्रीष्टले आफ्नो राजकीय उपस्थिति र यस रीतिरिवाजको अन्तको समयबारे महान् भविष्यवाणी गर्नुहुँदा यसो भन्नुभयो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।” उहाँले आफ्ना अनुयायीहरूलाई यस्तो निर्देशन पनि दिनुभयो: “गएर सबै देशका जातिहरूलाई चेला बनाओ, . . . जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ।” (मत्ती २४:१४; २८:१९, २०) ती भविष्यवाणीहरूको पूर्तिमा थुप्रै कामहरू समावेश छन्। जस्तै बाइबल अनुवाद गरेर छाप्ने, यसको अर्थ के हो मानिसहरूलाई सिकाउने र सिकेको कुरा आ-आफ्नो जीवनमा उतार्न मदत दिने। त्यस्तो कार्यमा भाग लिन पाउनु कस्तो सुअवसर हो! सन् १९१४ सम्म बाइबल वा यसको केही भाग ५७० भाषामा प्रकाशित भइसकेको थियो। तर त्यस समयदेखि यता अझ सयौं औपचारिक तथा उपभाषाहरू थपिएका छन् र थुप्रै भाषाहरूमा त एकभन्दा बढी अनुवादहरू उपलब्ध छन्।a
२. बाइबल अनुवादक तथा प्रकाशकहरूका काममा कस्ता विभिन्न अभिप्रायले प्रभाव पारेको छ?
२ एउटा भाषामा भएको विषयवस्तुलाई अर्को भाषा पढ्ने र सुन्ने मानिसहरूले बुझ्नेगरि अनुवाद गर्ने कार्य जो कोही अनुवादकको लागि पनि चुनौतीपूर्ण हुन्छ। केही बाइबल अनुवादकहरूले तिनीहरूको काम अरू सानोतिनो कामजस्तो नभई परमेश्वरको वचन अनुवाद गरिरहेको हो भनी सजग हुँदै गम्भीरतासाथ काम गरेका छन्। कोही चाहिं आफ्नो बौद्धिकताको जाँच हुने चुनौती देखेर यस कामप्रति रोमाञ्चित भएका छन्। तिनीहरूले बाइबलका विषयवस्तुहरूलाई केवल एउटा बहुमूल्य सांस्कृतिक सम्पदाको रूपमा लिएको हुनसक्छ। अरू कतिपयले धर्मलाई एउटा व्यापारको रूपमा लिन्छन् र अनुवादक वा प्रकाशकको रूपमा आफ्नो नाउँ छापेर जीविका चलाउन खोज्छन्। तिनीहरूको अभिप्राय स्पष्टतः तिनीहरूको काममा पनि झल्कन्छ।
३. नयाँ विश्व बाइबल अनुवाद समितिले आफ्नो कामप्रति कस्तो दृष्टिकोण राख्यो?
३ नयाँ विश्व बाइबल अनुवाद समितिको यस वक्तव्य उल्लेखनीय छ: “पवित्र धर्मशास्त्र अनुवाद गर्नु भनेको यहोवा परमेश्वरको विचार तथा कथनहरू अर्को भाषामा व्यक्त गर्नु हो। . . . यो अत्यन्तै विचारणीय कुरा हो। यस कार्यमा जुटेका अनुवादकहरूले पवित्र धर्मशास्त्रको ईश्वरीय ग्रन्थकारको भय मान्नुका साथै उहाँलाई प्रेम गर्छन्। उहाँका विचार तथा घोषणाहरू सकेसम्म जस्ताको तस्तै व्यक्त गर्न उहाँप्रति विशेष दायित्व महसुस गर्छन्। अनन्त मुक्तिको खोजी गर्न सर्वोच्च परमेश्वरको प्रेरित वचनको अनुवादमा भर पर्ने पाठकहरूप्रति पनि तिनीहरूले जिम्मेवारी महसुस गर्छन्। यस्तै गहन जिम्मेवारीहरूलाई ध्यानमा राख्दै यी समर्पित मानिसहरूको समितिले निकै वर्षको अन्तरालमा पवित्र धर्मशास्त्रको नयाँ विश्व अनुवाद (अंग्रेजी) तयार पारेको छ।” पढ्दा स्पष्ट र बुझ्न सजिलो हुने, मूल हिब्रू तथा युनानी भाषालाई हुबहु पछ्याएकोले सही ज्ञानतर्फ बढ्नको निम्ति आधार प्रबन्ध गर्ने बाइबल अनुवाद प्रकाशित गर्ने यस समितिको उद्देश्य थियो।
परमेश्वरको नाउँलाई के भएको छ?
४. बाइबलमा परमेश्वरको नाउँ कत्तिको महत्त्वपूर्ण छ?
४ बाइबलको प्रमुख उद्देश्यहरूमध्ये एउटा मानिसहरूलाई साँचो परमेश्वर चिन्न मदत दिनु हो। (प्रस्थान २०:२-७; ३४:१-७; यशैया ५२:६) येशू ख्रीष्टले पिताको नाउँ “पवित्र” गराउन वा कलंकित नपार्न प्रार्थना गर्न आफ्ना अनुयायीहरूलाई सिकाउनुभयो। (मत्ती ६:९) परमेश्वरले बाइबलमा ७,००० चोटिभन्दा बढी आफ्नो व्यक्तिगत नाउँ समावेश गर्नुभएको छ। मानिसहरूले उहाँको नाउँ तथा गुणहरू जानून् भन्ने उहाँ चाहनुहुन्छ।—मलाकी १:११.
५. विभिन्न अनुवादकहरूले ईश्वरीय नाउँ कसरी प्रस्तुत गरेका छन्?
५ थुप्रै बाइबल अनुवादकहरूले यस ईश्वरीय नाउँप्रति साँचो आदर देखाएका छन् र उहाँको नाउँ सधैं प्रयोग गर्दै आएका छन्। कोही अनुवादकहरू याहवे चलाउन रुचाउँछन्। अरूले चाहिं हिब्रू पदसँग मिल्दो सम्भवतः लामो समयदेखि चलिरहेको आफ्नो भाषामा स्वीकार्य ईश्वरीय नाउँ छानेका छन्। पवित्र धर्मशास्त्रको नयाँ विश्व अनुवाद-ले यहोवाको नाउँ ७,२१० चोटि चलाएको छ।
६. (क) हालका वर्षहरूमा ईश्वरीय नाउँको सन्दर्भमा अनुवादकहरूले के गरेका छन्? (ख) यो कत्तिको व्यापक छ?
६ तर, हालका वर्षहरूमा बाइबल अनुवादकहरूले बाल र मोलेकजस्ता मूर्तिपूजक देवताहरूको नाउँ यथावत् राखेका छन् र प्रेरित वचनको अनुवादहरूबाट भने साँचो परमेश्वरको व्यक्तिगत नाउँ द्रुत गतिले हटाइरहेका छन्। (प्रस्थान ३:१५; यर्मिया ३२:३५) एउटा व्यापक वितरित अल्बेनियाली संस्करणले मत्ती ६:९ र यूहन्ना १७:६, २६ जस्ता पद्यांशहरूमा “तपाईंको नाउँ” (अर्थात् परमेश्वरको नाउँ) भन्ने युनानी वाक्यांशलाई मानौं नाउँ नै उल्लेख नगरेको जस्तैगरि खालि “तपाईं” मात्र भनी अनुवाद गरेको छ। द न्यु इंगलिश बाइबल र टुडेज इंगलिश भर्सन-ले भजन ८३:१८ मा परमेश्वरको व्यक्तिगत नाउँ नै हटाइदिएको छ अनि परमेश्वरको पनि नाउँ छ भनेर कुनै संकेत पनि दिंदैन। अधिकांश भाषाहरूको हिब्रू धर्मशास्त्रको पुराना अनुवादहरूमा ईश्वरीय नाउँ उल्लेख भए तापनि नयाँ अनुवादहरूले या त नाउँ हटाइदिन्छन् वा ईश्वरीय नाउँको उल्लेख मात्र गर्छन्। अंग्रेजीलगायत युरोप, अफ्रिका, दक्षिण अमेरिका, भारत तथा प्रशान्त महासागरका टापुहरूका अन्य थुप्रै भाषाहरूमा यस्तै भएको छ।
७. (क) केही अफ्रिकी बाइबलका अनुवादकहरूले ईश्वरीय नाउँलाई के गरेका छन्? (ख) तपाईंलाई त्यसबारे कस्तो लाग्छ?
७ केही अफ्रिकी भाषाका बाइबल अनुवादकहरूले अझ बढी हेरफेर गरेका छन्। ईश्वरीय नाउँको साटो खालि परमेश्वर वा प्रभुजस्ता धर्मशास्त्रीय पदवीहरू मात्रै नराखेर तिनीहरूले त स्थानीय धार्मिक विश्वासअनुसारका नाउँहरू घुसाउन थालेका छन्। जुलूमा नयाँ नियम र भजन-मा (१९८६ संस्करण) परमेश्वर पदवी (नकुलुनकुलु) र व्यक्तिवाचक नाउँ (मेभेलेनगांगे) दुइटा उत्तिकै चलाएका छन् र जुलूहरूले त्यसको अर्थ “मानव पुर्खाहरूद्वारा पुजिएका महान् पुर्खाहरू” भन्ने बुझ्छन्। अक्टोबर १९९२ को बाइबल अनुवादक (अंग्रेजी) पत्रिकाको एउटा लेखमा उल्लिखित रिपोर्टअनुसार बुकु लोभेरा भनिने चिचेवा बाइबल तयार पार्दा अनुवादकहरूले यहोवा नाउँको ठाउँमा चाऊता प्रयोग गरेका छन्। त्यस लेखअनुसार चाऊता “तिनीहरूले परापूर्वकालदेखि चिनेका र मान्दै आएका ईश्वर हो।” तर यीमध्ये थुप्रै मानिसहरूले मृतात्मालाई पनि उपासना गर्छन्। यसबाहेक जुनसुकैलाई उपासना गर्ने मानिसहरूले सृष्टिकर्तालाई “सर्वशक्तिमान्” सम्बोधन गर्दैमा तिनीहरूले त्यस “सर्वशक्तिमान्[को]” निम्ति प्रयोग गर्ने जुनसुकै नाउँ “यहोवा[को]” पर्यायवाची नाउँ हुन्छ र? कदापि हुँदैन! (यशैया ४२:८; १ कोरिन्थी १०:२०) परमेश्वरको व्यक्तिगत नाउँको ठाउँमा मानिसहरूलाई तिनीहरूको परम्परा सत्य हो भन्ने भान पार्ने नाउँ राख्दैमा ती मानिसहरूले साँचो परमेश्वरसित घनिष्ठ हुन खास मदत पाउँदैनन्।
८. उहाँको नाउँ सबैलाई चिनाउने परमेश्वरको उद्देश्य किन विफल भएको छैन?
८ तर यस्ता हेरफेरहरूले गर्दा नता परमेश्वरको नाउँ परिवर्तन भएको छ न उहाँको नाउँ सबैलाई चिनाउने यहोवाको उद्देश्य नै विफल भएको छ। युरोपेली, अफ्रिकी, अमेरिकी, पूर्वीय र समुद्री टापुहरूमा अझ यस्ता थुप्रै बाइबलहरू वितरण भइरहेका छन् जसमा ईश्वरीय नाउँ प्रयोग भएको छ। अहिले २३३ राष्ट्र तथा इलाकाहरूमा ५४,००,००० भन्दा बढी यहोवाका साक्षीहरू छन् र तिनीहरूले साँचो परमेश्वरको नाउँ र उहाँको उद्देश्य अरूलाई बताउन सामूहिक रूपमा वर्षेनी एक अरबभन्दा बढी घण्टा बिताउँछन्। ईश्वरीय नाउँ चलाउने अंग्रेजी, चिनियाँ, रूसी, स्पेनी, पुर्तगाली, फ्रान्सेली र डचलगायत पृथ्वीको जनसंख्याको झन्डै ३,६०,००,००,००० मानिसहरूले बोल्ने भाषाहरूमा बाइबल प्रकाशन गरेर वितरण गर्छन्। पृथ्वीको विशाल जनसंख्याले जानेका भाषाहरूमा बाइबल अध्ययन सहायकहरू पनि प्रकाशित गर्छन्। राष्ट्रहरूले “[उहाँ] नै [“यहोवा,” NW] परमप्रभु हुँ भनी जान्नेछन्” भन्ने उहाँको उद्घोषणालाई निर्णायक ढंगमा पूरा गर्न परमेश्वर स्वयंले चाँडै कदम चाल्नुहुनेछ।—इजकिएल ३८:२३.
आ-आफ्नै विश्वासको आधारमा अनुवाद गर्दा
९. परमेश्वरको वचन अनुवाद गर्ने व्यक्तिहरूको काँधमा निकै गम्भीर जिम्मेवारी छ भनेर बाइबलले कसरी संकेत गर्छ?
९ परमेश्वरको वचन अनुवाद गर्ने तथा अरूलाई सिकाउने व्यक्तिहरूको काँधमा निकै गम्भीर जिम्मेवारी हुन्छ। प्रेरित पावलले आफ्नो सेवकाई र सँगी मसीहीहरूबारे यसो भने: “कपटमा नचलेर, परमेश्वरको वचनमा छलछाम नगरेर, हामीले शर्मका गुप्त कुराहरू त्यागेका छौं। तर सत्यलाई सफा देखाउँदै, परमेश्वरको दृष्टिमा, मानिसहरूका विवेकमा, हामी आफैलाई सह्रनी गर्दछौं।” (२ कोरिन्थी ४:२) छलछाम गर्नुको अर्थ बाह्य वा निम्नस्तरीय कुरा मिलाएर अशुद्ध पार्नु हो। पावल, यर्मियाको समयमा इस्राएलका अविश्वासी गोठालाहरूजस्ता थिएनन्। ती गोठालाहरूले परमेश्वरका विचारहरूको साटो आफ्नै विचारधाराहरू प्रचार गरेको हुँदा यहोवाले तिनीहरूलाई हप्काउनुभयो। (यर्मिया २३:१६, २२) तर अहिले आधुनिक समयमा के भइरहेको छ?
१०. (क) आधुनिक समयमा परमेश्वरप्रतिको वफादारीको अलावा अन्य कस्ता विचारहरूले अनुवादकहरूलाई प्रभाव पारेको छ? (ख) अनुचित ढंगमा तिनीहरूले कस्तो भूमिका निर्वाह गरिरहेका थिए?
१० दोस्रो विश्वयुद्धको दौडान धर्मविद् तथा पादरीहरूको समिति “नयाँ नियम”-को संशोधित संस्करण तयार पार्न जर्मनीको नाजी सरकारसित सहमत भयो। यसमा यहूदीहरूबारे सकारात्मक ढंगमा उल्लेख गरिएका कुराहरू र येशू ख्रीष्टको यहूदी पुर्ख्यौलीबारे दिइएको संकेत पनि सबै मेटाइदिए। हालै नयाँ नियम र भजन: एक विस्तृत संस्करण (अंग्रेजी) प्रकाशित गर्ने अनुवादकहरूले बेग्लै कुरा गरे, ख्रीष्टको मृत्यु सन्दर्भमा यहूदीहरू जिम्मेवार छन् भन्ने संकेतहरू सबै हटाउने प्रयास गरे। ती अनुवादकहरूले महिला हकका अधिवक्ताहरूलाई खुशी पार्ने हेतुले परमेश्वरलाई पिता होइन तर पिता-माता र येशूलाई परमेश्वरको पुत्र नभनी उहाँको बच्चा भनी अनुवाद गर्नु बेस होला भन्ठाने। (मत्ती ११:२७) अनि यस्तै कार्यमा लाग्दा तिनीहरूले पतिप्रति पत्नीको अधीनता र आमाबाबुप्रति छोराछोरी आज्ञाकारी हुनुपर्ने सिद्धान्तहरू नै हटाइदिए। (कलस्सी ३:१८, २०) ती अनुवादहरू तयार पार्ने व्यक्तिहरू स्पष्टतः ‘परमेश्वरको वचनमा छलछाम नगर्ने’ भन्ने प्रेरित पावलको निर्णयसित सहमत थिएनन्। अनुवादकको भूमिका नै बिर्सेर तिनीहरूले ग्रन्थकारको ठाउँ लिए अनि बाइबलको असल नाउँलाई कलंकित बनाउँदै आफ्नो विचारहरूको प्रवर्धन गर्ने पुस्तकहरू निकाले।
११. प्राण र मृत्युबारे बाइबलको शिक्षा मसीहीजगत्को शिक्षासित कसरी मेल खाँदैन?
११ साधारणतया मसीहीजगत्का चर्चहरूले मानव प्राण आत्मा हो र यो मरेपछि शरीरलाई छोड्छ र अमर हुन्छ भनी सिकाउँछ। तर त्यसको विपरीत, थुप्रै भाषाका पुराना बाइबल अनुवादहरूले मानिस नै प्राण हो, जनावरहरू पनि प्राण हुन् र ती मर्छन् भनी उल्लेख गरेको पाइन्छ। (उत्पत्ति १२:५; ३६:६; गन्ती ३१:२८; याकूब ५:२०) यसले पादरीहरूलाई अप्ठ्यारोमा पारेको छ।
१२. हालका केही संस्करणहरूले कसरी बाइबलको आधारभूत सत्यलाई अस्पष्ट बनाएको छ?
१२ केही नयाँ संस्करणहरूले यी सत्यहरूलाई अस्पष्ट बनाइदिएको छ। कसरी? तिनीहरूले हिब्रू संज्ञा नेफेश-लाई (प्राण) केही पदहरूमा हुबहु अनुवाद गर्दैनन्। उत्पत्ति २:७ मा (“मानिस जीवित प्राणी भयो”-को साटो) प्रथम मानिस “जीवित भयो” मात्र भन्लान्। वा जनावरहरूको सन्दर्भमा पनि “प्राणी[को]” साटो “जीव” मात्र भनी उल्लेख गर्लान्। (उत्पत्ति १:२१) इजकिएल १८:४, २० जस्ता पदहरूमा (“प्राणी[को]” साटो) “मानिस” वा “व्यक्ति” मर्छ भनी संकेत गर्लान्। शायद, त्यस्ता अनुवादहरू अनुवादकलाई मुनासिब नै लाग्ला। यस्ता व्यक्तिहरू पनि छन् जसले सत्यको निष्कपटतासाथ खोजी गर्छन् तर तिनीहरूको सोचाइ मसीहीजगत्को गैरशास्त्रीय शिक्षाबाट प्रभावित भइसकेको छ। यस्ता व्यक्तिहरूलाई तिनीहरूले कसरी मदत दिनसक्छन्?b
१३. पृथ्वीसम्बन्धी परमेश्वरको उद्देश्य कुनै कुनै बाइबल संस्करणहरूले कसरी लुकाएका छन्?
१३ सबै असल मानिसहरू स्वर्ग जान्छन् भन्ने तिनीहरूको विश्वासलाई समर्थन गर्ने प्रयासमा अनुवादकहरूले वा तिनीहरूको कार्यलाई समालोचना गर्ने धर्मविद्हरूले पृथ्वीको लागि परमेश्वरको उद्देश्यबारे बाइबलले के भन्छ, त्यो नै लुकाउन खोज्छन्। भजन ३७:११ मा थुप्रै संस्करणहरूले नम्रहरूले “भूमि” अधिकार गर्नेछन् भनी अनुवाद गरेका छन्। “भूमि” सम्भवतः, हिब्रू पद्यांशमा चलाइएको शब्दको (इरेट्स) अनुवाद हो। तथापि, टुडेज इंगलिश भर्सन-ले (जुन अन्य थुप्रै भाषाहरूमा अनुवाद गर्न आधार भएको छ) आफ्नो अनुवादमा अझै धेरै हेरफेरहरू गरेका छन्। यस संस्करणले युनानी पद जी-लाई पृथ्वीको रूपमा मत्तीरचित सुसमाचारको पुस्तकमा १७ चोटि अनुवाद गरे तापनि मत्ती ५:५ मा “पृथ्वी[को]” साटो “परमेश्वरले प्रतिज्ञा गर्नुभएबमोजिम” भन्ने वाक्यांश चलाएको छ। चर्चका सदस्यहरूले परमेश्वरले प्रतिज्ञा गर्नुभएको कुरा स्वतः स्वर्ग भन्ठान्छन्। येशू ख्रीष्टले आफ्नो डाँडाको उपदेशमा नम्र, विनम्रहरूले “पृथ्वीको अधिकार पाउनेछन्” भनी भन्नुभएको थियो भनी सही जानकारी चर्चका सदस्यहरूले पाइरहेका छैनन्।
१४. केही बाइबल संस्करणहरूमा कस्ता स्वार्थी अभिप्रायहरू स्पष्टै देखिन्छन्?
१४ प्रचारकहरूले राम्रो तलब पाऊन् भन्ने हेतुले धर्मशास्त्रको कुनै कुनै अनुवादमा जानाजानी हेरफेर गरिएको छ। हो, बाइबलमा “खेताला ज्यालाको योग्य हुन्छ” लेखिएको छ। (१ तिमोथी ५:१८) राम्ररी नेतृत्व गर्ने धर्मगुरुहरू “दोहोरो आदरका योग्य गनिन्छन्” भनेर बाइबलको १ तिमोथी ५:१७ मा लेखिएको छ र कसै कसैको विचारमा उल्लेख गर्न लायकको एक मात्र आदर पैसा दिनु हो। (१ पत्रुस ५:२ तुलना गर्नुहोस्।) अतः द न्यु इंगलिश बाइबल-मा यी प्राचीनहरू “दोहोरो भत्ताका योग्य गनिनुपर्छ” र कन्टेम्पोररी इंगलिश भर्सन-मा “दुइ गुना तलब पाउन योग्य छन्” लेखिएको छ।
परमेश्वरको प्रेरित वचनलाई वफादारीपूर्वक समर्थन गर्ने
१५. कुन चाहिं बाइबल अनुवाद चलाउने हो भनेर हामीले कसरी निर्णय गर्नसक्छौं?
१५ प्रत्येक बाइबल पाठकहरू तथा अरूलाई सिकाउन बाइबल प्रयोग गर्ने व्यक्तिहरूको लागि यी सबै कुराले के अर्थ राख्छ? व्यापक रूपमा चलाइने भाषाहरूमा प्रायजसो एकभन्दा बढी अनुवादहरू उपलब्ध हुन्छन्। बाइबल संस्करणहरू छान्नुहुँदा विवेक चलाउनुहोस्। (हितोपदेश १९:८) यदि कुनै अनुवाद परमेश्वरको सही परिचय दिने सन्दर्भमा वफादार छैन र नानाथरीका बहाना बनाएर उहाँको नाउँ नै हटाइएको छ भने, के ती अनुवादहरू बाइबलको अरू भागमा चाहिं वफादार छन् भन्न सकिन्छ? कुनै अनुवाद जायज छैन जस्तो लागेमा पुराना अनुवादहरूसित तुलना गर्नुहोस्। तपाईं परमेश्वरको वचनको शिक्षक हुनुहुन्छ भने, मूल हिब्रू र युनानीलाई हुबहु पछ्याएको संस्करण रोज्नुहोस्।
१६. परमेश्वरको प्रेरित वचन प्रयोग गर्दा हामी प्रत्येकले कसरी वफादारी प्रदर्शित गर्नसक्छौं?
१६ हामी सबै व्यक्तिगत रूपमा परमेश्वरको वचनप्रति वफादार हुनुपर्छ। हामीले प्रत्येक दिन बाइबल पढेर अनि केही समय लगाएर यसमा भएका विषय सामग्रीप्रति पर्याप्त ध्यान दिएर वफादार छौं भनी प्रदर्शन गर्नसक्छौं। (भजन १:१-३) यसले बताएको कुरा आफ्नो जीवनमा पूर्णतया उतारेर, सही निर्णयहरू गर्नु पर्दा यसमा दिइएका सिद्धान्त तथा उदाहरणहरूलाई आधार मान्न सिकेर पनि हामीले यसप्रति वफादारी प्रदर्शन गर्नसक्छौं। (रोमी १२:२; हिब्रू ५:१४) अरूलाई जोशिलो भई प्रचार गरेर अनि सिकाउँदा यसलाई आफ्ना विचारहरूअनुसार बंग्याउनु वा भए नभएको कुरा थप्नुको साटो होशियारीसाथ प्रयोग गरेर हामी परमेश्वरको वचनको वफादार वकालत गर्नेहरू हौं भनी देखाउँछौं। (२ तिमोथी २:१५) परमेश्वरले गर्नुभएको भविष्यवाणी पक्कै पनि पूरा हुनेछ। उहाँले आफ्नो वचन वफादारीपूर्वक पूरा गर्नुहुनेछ। हामी पनि यसलाई समर्थन गर्दै वफादार होऔं।
[फुटनोटहरू]
a सन् १९९७ मा युनाइटेड बाइबल सोसाइटीले औपचारिक तथा उपभाषाहरूमा प्रकाशित २,१६७ वटा पूरा वा आंशिक बाइबलको सूची निकाल्यो। यस तथ्यांकमा केही भाषाहरूका थुप्रै प्रान्तीय भाषाहरू पनि समावेश छन्।
b यस छलफलले ती भाषाहरूमा ध्यानकेन्द्रित गर्छ जसले प्राणको विवादलाई स्पष्ट पार्नसक्थे तर अनुवादकहरू त्यसो गर्न चाहँदैनन्। केही भाषाहरूमा भाषिक सीमितताले गर्दा अनुवादकहरूले केही गर्न सक्दैनन्। अनि, इमानदार धार्मिक निर्देशकहरूले अनुवादकले नेफेश-को लागि विभिन्न शब्दहरू चलाए तापनि वा ती शब्दहरूमा गैरशास्त्रीय भाव झल्के तापनि मूल भाषामा नेफेश मानव र जनावर दुवैको लागि चलाइन्छ र यसले श्वास फेर्ने, खाने र मर्न सक्ने कुराहरूलाई चित्रित गर्छ भनी बुझाउनेछन्।
के तपाईंलाई सम्झना छ?
◻ आधुनिक समयमा बाइबल अनुवाद कार्यलाई के कस्ता अभिप्रायहरूले प्रभाव पारेका छन्?
◻ उहाँको आफ्नै नाउँको सन्दर्भमा परमेश्वरको उद्देश्यलाई यी आधुनिक अनुवादका लहरहरूले किन विफल तुल्याउन सकेका छैनन्?
◻ केही अनुवादहरूले प्राण, मृत्यु र पृथ्वीबारे बाइबल सत्यलाई कसरी बंग्याउँछन्?
◻ परमेश्वरको वचनलाई वफादारीपूर्वक समर्थन गरेको कुन तरिकाहरूमा प्रदर्शित गर्नसक्छौं?
[पृष्ठ १६-मा भएको चित्र]
तपाईंले चलाउनुपर्ने बाइबल अनुवाद कुन हो?