प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • cl chap. २८ pp. २८०-२८९
  • ”तपाईँ मात्र वफादार हुनुहुन्छ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ”तपाईँ मात्र वफादार हुनुहुन्छ”
  • यहोवासित नजिक हुनुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • वफादारी भनेको के हो?
  • यहोवाको अतुलनीय वफादारी
  • यहोवा “आफ्ना वफादार सेवकहरूलाई . . . कहिल्यै त्याग्नुहुन्‍न”
  • यहोवाको अटल प्रेमले उद्धारको ढोका खोल्छ
  • हेर, वफादार जन!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • वफादारीको चुनौती सामना गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • तपाईं कोप्रति वफादार हुनुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • वफादारी यस्को मूल्य के हुने हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
थप हेर्नुहोस्
यहोवासित नजिक हुनुहोस्‌
cl chap. २८ pp. २८०-२८९
राती आकाशमा देखा परेको जून।

अध्याय २८

“तपाईँ मात्र वफादार हुनुहुन्छ”

१, २. राजा दाउद विश्‍वासघातबाट अछुतो थिएनन्‌ भनेर किन भन्‍न सकिन्छ?

राजा दाउदलाई विश्‍वासघात भनेको के हो, राम्ररी थाह थियो। एकपटक उनको शासनकालमा यस्तो समय पनि आयो, जब उनको जनताले उनीविरुद्ध षड्यन्त्र रच्यो। साथै उनका केही घनिष्ठ मित्रहरूले पनि उनलाई धोका दिए। उदाहरणको लागि, दाउदकी जेठी पत्नी मिकलबारे विचार गर्नुहोस्‌। सुरुमा तिनी “दाउदलाई प्रेम गर्थिन्‌” र तिनले उनलाई राजपाठ सम्हाल्न पक्कै पनि मदत गरेकी हुनुपर्छ। तर पछि “तिनले दाउदलाई मनमनै घृणा गर्न थालिन्‌” र उनलाई “मूर्ख मान्छे” समेत भनिन्‌।—१ समुएल १८:२०; २ समुएल ६:१६, २०.

२ दाउदका निजी सल्लाहकार अहितोपेललाई विचार गरौँ। तिनको सल्लाहलाई सीधै यहोवाबाट आएको वचनको रूपमा लिइन्थ्यो र तिनको हरेक सल्लाहको कदर गरिन्थ्यो। (२ समुएल १६:२३) तर दाउदका यी भरोसायोग्य मित्र राजद्रोही भए र उनीविरुद्ध रचिएको षड्यन्त्रलाई समर्थन गरे। यो षड्यन्त्र रच्ने अरू कोही नभई दाउदको आफ्नै छोरा अब्सालोम थिए। दाउदका यी चलाख र मौकावादी छोराले ढोङ गरेर “इस्राएलीहरूको मन जित्दै गए” अनि दाउदको ठाउँमा आफैलाई राजा बनाउन खोजे। अब्सालोमको यो षड्यन्त्र सफल हुँदै गएकोले राजा दाउद आफ्नो ज्यान जोगाउन त्यहाँबाट भाग्न बाध्य भए।—२ समुएल १५:१-६, १२-१७.

३. दाउद कुन कुरामा विश्‍वस्त थिए?

३ त्यसोभए के दाउदप्रति कोही पनि वफादार थिएनन्‌ त? यी सबै सङ्‌कष्ट भोग्नुपर्दा उनले आफूप्रति एक जना व्यक्‍ति वफादार हुनुहुन्छ भनेर महसुस गरे। उहाँ को हुनुहुन्थ्यो? उहाँ स्वयम्‌ यहोवा हुनुहुन्थ्यो। उनले यहोवाबारे यसो भने: “वफादारप्रति तपाईँ वफादार हुनुहुन्छ।” (२ समुएल २२:२६) वफादारी भनेको के हो अनि यो गुण देखाउने सन्दर्भमा यहोवाले कसरी सर्वोत्कृष्ट उदाहरण बसाल्नुभएको छ?

वफादारी भनेको के हो?

४, ५. (क) “वफादारी” भनेको के हो? (ख) वफादार र विश्‍वासयोग्यबीच कस्तो भिन्‍नता छ?

४ हिब्रू धर्मशास्त्रमा “वफादारी“ भनेर अनुवाद गरिएको शब्दलाई प्रेमले उत्प्रेरित भएर कसैसित सम्बन्ध गाँस्नु र ऊसित सम्बन्धित उद्देश्‍य पूरा नहोउन्जेल उसलाई साथ दिइरहनु भनी परिभाषित गर्न सकिन्छ। तर वफादार हुनु भनेको केवल विश्‍वासयोग्य हुनु होइन किनकि कुनै मानिस कर्तव्यबोधले मात्र पनि विश्‍वासयोग्य हुन सक्छ। बरु वफादारीमा प्रेम मुछिएको हुन्छ।a साथै कुनै निर्जीव वस्तुलाई पनि “विश्‍वासयोग्य” भन्‍न सकिन्छ। उदाहरणको लागि, भजनरचयिताले जूनलाई “आकाशमा रहेको विश्‍वासयोग्य साक्षी” भने किनकि यो हरेक रात आकाशमा देखा पर्छ। (भजन ८९:३७) तर जूनलाई वफादार भन्‍न मिल्दैन। किन? किनभने वफादारी प्रेमको अभिव्यक्‍ति हो र निर्जीव वस्तुले प्रेम देखाउन सक्दैन।

जूनलाई विश्‍वासयोग्य साक्षी भनिएको छ तर वफादारीचाहिँ यहोवाको बौद्धिक सृष्टिले मात्र साँचो अर्थमा झल्काउन सक्छ

५ बाइबलमा प्रयोग गरिएको वफादारी भन्‍ने गुणमा प्रेम, स्नेह र कसैप्रतिको लगाव समावेश छ। वफादारी भन्‍ने गुणले जसले वफादारी देखाउँछ र जसलाई देखाइन्छ, ती दुई व्यक्‍तिबीच घनिष्ठ सम्बन्ध छ भन्‍ने कुराको प्रमाण दिन्छ। यस्तो वफादारी अस्थिर हुँदैन। यो हावाको बहावसँगै उर्लिने वा थामिने छालजस्तो हुँदैन। बरु वफादारी वा अटल प्रेम स्थिर र बलियो हुन्छ अनि यसले जस्तोसुकै बाधा-अवरोध पार गर्न सक्छ।

६. (क) मानिसहरूमा वफादारी खासै छैन भनेर किन भन्‍न सक्छौँ? बाइबल यसबारे के भन्छ? (ख) वफादारीमा के-के समावेश छ भनेर जान्‍ने सबैभन्दा राम्रो तरिका के हो र किन?

६ तर आजको संसारमा यस्तो वफादारी खासै देखिँदैन। अक्सर घनिष्ठ साथीहरू एकअर्कालाई ‘बरबाद पार्न समेत पछि पर्दैनन्‌।’ पतिपत्नीले पनि एकअर्कासित सजिलै सम्बन्ध तोड्‌ने गर्छन्‌। (हितोपदेश १८:२४; मलाकि २:१४-१६) अहिलेको संसारमा विश्‍वासघात गर्नु यत्ति सामान्य भइसकेको छ कि हामी पनि भविष्यवक्‍ता मिकाले जस्तै यसो भन्‍ने गर्छौँ: “पृथ्वीबाट वफादार मानिस नष्ट भएको छ।” (मिका ७:२) साधारणतया मानिसहरू वफादारी भन्‍ने गुण देखाउन चुक्छन्‌। तर यहोवाले भने यो गुण देखाउने सन्दर्भमा उत्कृष्ट उदाहरण बसाल्नुभएको छ। वास्तवमा भन्‍नुपर्दा वफादारीमा के-के समावेश छ भनेर जान्‍ने सबैभन्दा राम्रो तरिका यहोवाले आफ्नो प्रेमको यो महत्त्वपूर्ण पक्ष कसरी देखाउनुभएको छ भनी जाँच्नु हो।

यहोवाको अतुलनीय वफादारी

७, ८. यहोवा मात्र वफादार हुनुहुन्छ भनेर हामी किन भन्‍न सक्छौँ?

७ यहोवाबारे बाइबल यसो भन्छ: “तपाईँ मात्र वफादार हुनुहुन्छ।” (प्रकाश १५:४) तर के मानिस र स्वर्गदूतहरूले पनि उल्लेखनीय वफादारी देखाएका छैनन्‌ र? (अय्युब १:१; प्रकाश ४:८) येसु ख्रिष्ट नि? के उहाँ परमेश्‍वरको सबैभन्दा महान्‌ “वफादार जन” हुनुहुन्‍न र? (भजन १६:१०) त्यसोभए यहोवा मात्र वफादार हुनुहुन्छ भनेर हामी किन भन्‍न सक्छौँ?

८ सबैभन्दा पहिला, वफादारी भनेको प्रेमको एउटा पक्ष हो भनेर नबिर्सनुहोस्‌। “परमेश्‍वर प्रेम हुनुहुन्छ” र उहाँ नै यस गुणको मूर्तरूप हुनुहुन्छ। (१ युहन्‍ना ४:८) त्यसैले यहोवाजत्तिको वफादार अरू को छ र? हुनत स्वर्गदूतहरू र मानिसहरूले यहोवाका गुणहरू देखाउन सक्छन्‌ तर उहाँले मात्र सर्वोत्कृष्ट तरिकामा वफादारी देखाउन सक्नुहुन्छ। उहाँ “अतिप्राचीन” हुनुभएकोले स्वर्ग र पृथ्वीमा भएका सम्पूर्ण सृष्टिले भन्दा लामो समयदेखि वफादारी देखाउँदै आउनुभएको छ। (दानिएल ७:९) त्यसैले उहाँ वफादारीको सर्वोत्कृष्ट नमुना हुनुहुन्छ। उहाँले वफादारी देखाउनुभएको केही उदाहरण विचार गरौँ।

९. यहोवा “सबै काम वफादार भई गर्नुहुन्छ” भनेर हामी किन भन्‍न सक्छौँ?

९ यहोवा “सबै काम वफादार भई गर्नुहुन्छ।” (भजन १४५:१७) हामी किन त्यसो भन्‍न सक्छौँ? भजन १३६ ले यसको जवाफ दिन्छ। यस अध्यायमा यहोवाले आफ्ना जनहरूलाई छुटकारा दिनुभएका घटनाहरू उल्लेख गरिएको छ, जसमा उहाँले इस्राएलीहरूलाई लाल समुद्रमा जोगाउनुभएको घटना पनि समावेश छ। उल्लेखनीय कुरा, यस भजनको प्रत्येक पदमा यो वाक्य पाइन्छ: “उहाँको अटल प्रेम कहिल्यै टल्दैन।” यो भजन पृष्ठ २८९ को “मननका लागि प्रश्‍न” पेटीमा पनि समावेश गरिएको छ। यी पदहरूबाट यहोवाले आफ्ना जनहरूलाई अटल प्रेम देखाउनुभएको थुप्रै तरिकाबारे थाह पाउँदा तपाईँ छक्कै पर्नुहुनेछ। हो, यहोवा आफ्ना विश्‍वासी सेवकहरूले गुहार्दा तिनीहरूको पुकारा सुनेर अनि तिनीहरूको निम्ति ठीक समयमा कदम चालेर वफादारी देखाउनुहुन्छ। (भजन ३४:६) आफ्ना सेवकहरू उहाँप्रति वफादार रहुन्जेल उहाँ पनि तिनीहरूप्रति वफादारी देखाइरहनुहुन्छ।

१०. यहोवा आफ्ना स्तरहरूको सन्दर्भमा कसरी वफादारी देखाउनुहुन्छ?

१० यहोवा अर्को तरिकामा पनि आफ्ना सेवकहरूप्रति वफादारी देखाउनुहुन्छ। उहाँ आफ्ना स्तरहरू परिवर्तन गर्नुहुन्‍न किनकि उहाँ आफूखुसी गर्ने र भावनामा बहने मानिसहरूजस्तो हुनुहुन्‍न। उहाँ सही र गलतसम्बन्धी आफ्नो दृष्टिकोण घरीघरी बदल्नुहुन्‍न। प्रेतविद्या, मूर्तिपूजा र हत्याजस्ता कुराहरूप्रति उहाँको दृष्टिकोणमा हजारौँ वर्षको दौडान कुनै परिवर्तन आएको छैन। उहाँले भविष्यवक्‍ता यसैयामार्फत यसो भन्‍नुभयो: “तिमीहरूको बुढेसकालसम्म पनि म उही हुनेछु।” (यसैया ४६:४) त्यसैले परमेश्‍वरको वचनमा पाइने स्पष्ट नैतिक स्तरहरू पालन गर्दा हाम्रै फाइदा हुन्छ भनेर ढुक्क हुन सक्छौँ।—यसैया ४८:१७-१९.

११. यहोवा आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुन्छ भनेर देखाउने केही उदाहरण दिनुहोस्‌।

११ यहोवा आफ्ना प्रतिज्ञाहरू पूरा गरेर पनि वफादारी देखाउनुहुन्छ। उहाँले कुनै कुरा भन्‍नुभएपछि अवश्‍य पूरा गर्नुहुन्छ। उहाँले यसो भन्‍नुभयो: “मेरो मुखबाट निस्कने वचन . . . पूरा नभई मकहाँ त्यसै फर्कँदैन। मैले इच्छा गरेको कुरा त्यसले पूरा गरेरै छोड्‌छ। जुन कामको लागि म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुन्छ।” (यसैया ५५:११) आफ्नो वचन पूरा गरेर उहाँ आफ्ना जनहरूप्रति वफादारी देखाउनुहुन्छ। यहोवा तिनीहरूलाई झूटो आशा देखाउनुहुन्‍न। उहाँबारे यहोसुले यसो भने: “यहोवा परमेश्‍वरले इस्राएलीहरूसित गर्नुभएको असल-असल प्रतिज्ञामध्ये एउटा पनि अपूरो रहेन। उहाँका सबै प्रतिज्ञा पूरा भए।” (यहोसु २१:४५) त्यसकारण यहोवा आफ्नो प्रतिज्ञा पूरा गर्न चुक्नुहोला भनेर हामीले शङ्‌का गर्नै पर्दैन बरु उहाँमा पूर्ण भरोसा गर्न सक्छौँ।—यसैया ४९:२३; रोमी ५:५.

१२, १३. यहोवाको अटल प्रेम कुन-कुन अर्थमा कहिल्यै टल्दैन?

१२ अगाडि छलफल गरिएझैँ बाइबलले “अटल प्रेम कहिल्यै टल्दैन” भनेर बताउँछ। (भजन १३६:१) कुन अर्थमा? एउटा कुरा त हामीले अध्याय २६ मा सिकेझैँ यहोवाले एक पटक हाम्रो गल्ती क्षमा गर्नुभएपछि त्यसलाई घरीघरी कोट्ट्याउनुहुन्‍न बरु सदाको लागि बिर्सनुहुन्छ। बाइबल भन्छ: “सबैले पाप गरेका छन्‌ अनि परमेश्‍वरका गौरवशाली गुणहरू प्रकट गर्न चुकेका छन्‌।” (रोमी ३:२३) त्यसैले हामी सबै जना उहाँको अटल प्रेमको लागि कृतज्ञ हुनुपर्छ।

१३ तर यहोवाको अटल प्रेम अर्को अर्थमा पनि कहिल्यै टल्दैन। धर्मीहरूबारे उहाँको वचन यसो भन्छ: “ऊ खोलाको छेउमा रोपिएको रूखजस्तै हुनेछ, जसले आफ्नो ऋतुमा फल दिन्छ, जसको पात कहिल्यै ओइलाउँदैन। उसले जे गर्छ, त्यसमा ऊ सफल हुन्छ।” (भजन १:३) एउटा हराभरा रूखको कल्पना गर्नुहोस्‌, जसका पातहरू कहिल्यै ओइलाउँदैनन्‌। त्यसैगरि हामी परमेश्‍वरको वचन अध्ययन र मनन गर्न पाउँदा रमाउँछौँ भने दीर्घायु हुनेछौँ अनि हाम्रो जीवनमा शान्ति र समृद्धि छाउनेछ। यहोवाले आफ्ना विश्‍वासी सेवकहरूलाई वफादार भई दिनुहुने आशिष्‌हरू सधैँभरि रहनेछ। हो, उहाँले ल्याउनुहुने नयाँ संसारमा आज्ञाकारी मानिसहरूले उहाँको अटल प्रेमबाट सधैँभरि लाभ उठाउन सक्नेछन्‌।—प्रकाश २१:३, ४.

यहोवा “आफ्ना वफादार सेवकहरूलाई . . . कहिल्यै त्याग्नुहुन्‍न”

१४. यहोवा आफ्ना सेवकहरूको वफादारीको कदर गरेको कसरी देखाउनुहुन्छ?

१४ यहोवाले थुप्रै चोटि आफ्नो वफादारी देखाउनुभएको छ। उहाँ कहिल्यै परिवर्तन नहुने परमेश्‍वर हुनुभएकोले उहाँले आफ्ना विश्‍वासी सेवकहरूप्रति देखाउनुहुने वफादारी पनि कहिल्यै घट्‌दैन। भजनरचयिताले यस्तो लेखे: “म जवान थिएँ, अहिले बूढो भएको छु तर धर्मी मानिसको बिचल्ली भएको र उसका छोराछोरीले खानेकुराको लागि भीख मागेको मैले कहिल्यै देखेको छैनँ। किनकि यहोवा न्याय मन पराउनुहुन्छ; आफ्ना वफादार सेवकहरूलाई उहाँ कहिल्यै त्याग्नुहुन्‍न।” (भजन ३७:२५, २८) सृष्टिकर्ता यहोवा हाम्रो उपासनाको हकदार हुनुहुन्छ। (प्रकाश ४:११) तैपनि हामीले गर्ने सेवालाई उहाँ अनमोल ठान्‍नुहुन्छ किनकि उहाँ वफादार हुनुहुन्छ।—मलाकि ३:१६, १७.

१५. यहोवाले इस्राएलीहरूसित गर्नुभएको व्यवहारमा उहाँको वफादारी कसरी देखियो?

१५ यहोवाको अटल प्रेमले गर्दा उहाँ सङ्‌कष्टमा परेका आफ्ना सेवकहरूलाई मदत गर्न सधैँ अघि सर्नुहुन्छ। भजनरचयिताले यस्तो लेखे: “उहाँले वफादार जनहरूको जीवनको रक्षा गर्नुहुन्छ; उहाँ तिनीहरूलाई दुष्टको हातबाट छुटाउनुहुन्छ।” (भजन ९७:१०) यहोवाले इस्राएल राष्ट्रसित गर्नुभएको व्यवहारबारे विचार गर्नुहोस्‌। तिनीहरूले लाल समुद्रमा चमत्कारपूर्ण ढङ्‌गमा छुटकारा पाएपछि यहोवाको निम्ति यस्तो गीत गए: “आफ्नो अटल प्रेमले गर्दा तपाईँले आफूले उद्धार गरेका मानिसहरूलाई डोऱ्‍याउनुभयो।” (प्रस्थान १५:१३) यहोवाले तिनीहरूलाई लाल समुद्रमा छुटकारा दिनुभएर अटल प्रेम देखाउनुभयो। त्यसैले मोसाले तिनीहरूलाई यसो भने: “तिमीहरू अरू जातिको तुलनामा धेरै भएकोले यहोवा परमेश्‍वरले तिमीहरूलाई माया गर्नुभएको र तिमीहरूलाई छान्‍नुभएको होइन। किनभने त्यसबेला त तिमीहरू अरू जातिभन्दा एकदमै थोरै थियौ। यहोवा परमेश्‍वरले आफ्नो शक्‍तिशाली हात प्रयोग गरेर तिमीहरूलाई दासत्वको घर—मिश्रबाट र फारोको हातबाट छुटाउनुभयो। किनकि यहोवा परमेश्‍वर तिमीहरूलाई माया गर्नुहुन्छ र तिमीहरूका पुर्खाहरूसँग खाएको शपथ उहाँले पूरा गर्नुभएको छ।”—व्यवस्था ७:७, ८.

१६, १७. (क) इस्राएलीहरू यहोवाप्रति कृतज्ञता देखाउन कसरी चुके? तैपनि यहोवाले कसरी तिनीहरूलाई करुणा देखाउनुभयो? (ख) धेरैजसो इस्राएली कसरी “सुधार्नै नसकिने हदसम्मै पुगे”? यसबाट हामी कस्तो चेतावनीमूलक पाठ सिक्न सक्छौँ?

१६ दुःखको कुरा, इस्राएलीहरूले यहोवाले देखाउनुभएको अटल प्रेमप्रति कृतज्ञता देखाएनन्‌। तिनीहरूले लाल समुद्रबाट छुटकारा पाएपछि पनि “उहाँविरुद्ध पाप गर्न छोडेनन्‌, . . . सर्वोच्च परमेश्‍वरको विद्रोह गरिरहे।” (भजन ७८:१७) सयौँ वर्षको दौडान तिनीहरूले बारम्बार यहोवाको विद्रोह गरे। तिनीहरूले उहाँलाई त्यागेर झूटा देवीदेवतालाई पुजे र झूटो धर्मका रीतिथिति अपनाए, जसले गर्दा तिनीहरू झनै भ्रष्ट हुँदै गए। तैपनि यहोवाले तिनीहरूसित गर्नुभएको करार तोड्‌नुभएन। बरु उहाँले भविष्यवक्‍ता यर्मियामार्फत तिनीहरूलाई यस्तो आग्रह गर्नुभयो: “हे विश्‍वासघाती इस्राएल, मतिर फर्क, . . . म तिमीलाई आँखा तर्नेछैनँ किनकि म वफादार छु।” (यर्मिया ३:१२) तर हामीले अध्याय २५ मा सिकेझैँ धेरैजसो इस्राएली यहोवाकहाँ फर्केनन्‌ बरु “तिनीहरूले साँचो परमेश्‍वरका सन्देशवाहकहरूको खिसी गरिरहे, उहाँको वचनलाई तुच्छ सम्झे र उहाँका भविष्यवक्‍ताहरूलाई हाँसोमा उडाए।” नतिजा कस्तो भयो? “आखिरमा तिनीहरू सुधार्नै नसकिने हदसम्मै पुगे। अनि यहोवा परमेश्‍वरको क्रोध उहाँका मानिसहरूमाथि दन्कियो।”—२ इतिहास ३६:१५, १६.

१७ यसबाट हामी के सिक्न सक्छौँ? यहोवा आँखा चिम्लेर जोकोहीप्रति वफादारी देखाउनुहुन्‍न र उहाँलाई कसैले छल्न पनि सक्दैन। उहाँ ‘अटल प्रेमले भरिपूर्ण’ हुनुहुन्छ अनि कसैलाई कृपा देखाउने ठोस आधार छ भने उहाँ त्यसो गर्न पछि हट्‌नुहुन्‍न। तर कुनै व्यक्‍ति सुधार्नै नसकिने हदसम्म भ्रष्ट भयो भने नि? त्यतिबेला उहाँ आफ्नो धार्मिक स्तरअनुसार चल्नुहुन्छ र उसलाई दण्ड दिनुहुन्छ। मोसाले भनेझैँ यहोवा “दोषीलाई सजाय नदिई कुनै हालतमा [छोड्‌नुहुन्‍न]।”—प्रस्थान ३४:६, ७.

१८, १९. (क) यहोवाले दुष्टहरूलाई सजाय दिनु कसरी उहाँको वफादारीको प्रमाण हो? (ख) उहाँले सतावटको कारण ज्यान गुमाउनुपरेका सेवकहरूप्रति कसरी वफादारी देखाउनुहुनेछ?

१८ परमेश्‍वरले दुष्टहरूलाई सजाय दिनु पनि उहाँको वफादारीको प्रमाण हो। कसरी? यसको एउटा सङ्‌केत प्रकाशको किताबमा यहोवाले सात स्वर्गदूतलाई दिनुभएको यस आज्ञामा पाइन्छ: “जाओ, परमेश्‍वरको क्रोधले भरिएका सात वटा कचौरा पृथ्वीमा खन्याओ।” त्यसपछि “तेस्रो स्वर्गदूतले आफ्नो कचौरा नदी अनि पानीका मुहानहरूमा खन्याए र ती रगत भए।” तिनले यहोवालाई यसो भने: “तपाईँ जो हुनुहुन्छ र जो हुनुहुन्थ्यो, तपाईँ वफादार अनि न्यायी हुनुहुन्छ किनकि तपाईँले यी फैसलाहरू जारी गर्नुभएको छ। किनकि तिनीहरूले पवित्र जनहरू र भविष्यवक्‍ताहरूको रगत बगाए अनि तपाईँले तिनीहरूलाई रगत पिउन दिनुभएको छ। तिनीहरू यसकै लायक छन्‌।”—प्रकाश १६:१-६.

१९ याद गर्नुहोस्‌, स्वर्गदूतले न्यायको सन्देश घोषणा गर्ने क्रममा यहोवा “वफादार” हुनुहुन्छ भने। किन? किनभने दुष्टहरूलाई नाश गर्दा उहाँले आफ्ना सेवकहरूप्रति वफादारी देखाइरहनुभएको हुन्छ, जसमध्ये धेरैले सतावटको कारण ज्यान गुमाउनुपरेको छ। यहोवा वफादार हुनुभएकोले तिनीहरू उहाँको सम्झनामा जीवित छन्‌। उहाँ तिनीहरूलाई हेर्न तीव्र इच्छा गर्नुहुन्छ। त्यसैले उहाँले तिनीहरूलाई फेरि जीवित पार्ने उद्देश्‍य राख्नुभएको छ। (अय्युब १४:१४, १५) यहोवाका वफादार सेवकहरूमध्ये कोही अहिले जीवित छैनन्‌ भन्दैमा उहाँ तिनीहरूलाई बिर्सनुहुन्छ भन्‍ने त होइन। बरु “उहाँको लागि तिनीहरू सबै जीवित छन्‌।” (लुका २०:३७, ३८) यहोवाको सम्झनामा भएकाहरूलाई फेरि जीवित पार्ने उहाँको उद्देश्‍यले उहाँको वफादारीको सशक्‍त प्रमाण दिन्छ।

यहोवा वफादार हुनुभएकोले उहाँले मृत्युसम्मै वफादार रहेका आफ्ना सेवकहरूलाई सम्झनुहुनेछ र फेरि जीवित पार्नुहुनेछ

बर्नार्ड लोइम्स (बायाँ) र वोल्फग्याङ कुसेरोलाई (बीचमा) नाजीहरूले मृत्युदण्ड दिए

मोजेज नियामास्सुवालाई (दायाँ) एउटा राजनैतिक समूहले भालाले घोपेर मारे

यहोवाको अटल प्रेमले उद्धारको ढोका खोल्छ

२० “कृपाका भाँडाहरू” को हुन्‌? यहोवा तिनीहरूप्रति कसरी वफादारी देखाउनुहुन्छ?

२० मानव इतिहासको सुरुदेखि नै यहोवाले विश्‍वासी सेवकहरूप्रति उल्लेखनीय वफादारी देखाउँदै आउनुभएको छ। वास्तवमा हजारौँ वर्षदेखि “परमेश्‍वरले विनाशको लायक क्रोधका भाँडाहरूलाई निकै धीरज गरेर [सहनुभएको छ]।” किन? बाइबल भन्छ: “कृपाका भाँडाहरूमाथि प्रचुर मात्रामा गौरव देखाउन सकियोस्‌ भनेर उहाँले त्यसो गर्नुभयो। तिनीहरूले गौरव पाऊन्‌ भनेर उहाँले यी भाँडाहरूलाई पहिल्यै तयार पार्नुभएको थियो।” (रोमी ९:२२, २३) “कृपाका भाँडाहरू” भनेको उचित मनसाय भएका मानिसहरू हुन्‌, जसलाई ख्रिष्टसँगै राज्यको उत्तराधिकारी हुन पवित्र शक्‍तिद्वारा अभिषेक गरिएको छ। यहोवाले यी कृपाका भाँडाहरूको लागि उद्धारको बाटो खोल्नुभएर अब्राहामप्रति वफादारी देखाउनुभयो, जोसित उहाँले यस्तो करार गर्नुभएको थियो: “तिम्रै सन्तानमार्फत पृथ्वीका सबै जातिले आशिष्‌ पाउनेछन्‌ किनभने तिमीले मेरो कुरा सुन्यौ।”—उत्पत्ति २२:१८.

फरक-फरक उमेर र पृष्ठभूमिका खुसी भाइबहिनीहरू।

यहोवा वफादार हुनुभएकोले उहाँका सबै विश्‍वासी सेवकले भविष्यको लागि भरपर्दो आशा पाएका छन्‌

२१. (क) यहोवाले “ठूलो भीड”-प्रति कसरी वफादारी देखाउनुहुन्छ? (ख) यहोवाको वफादारीले तपाईँलाई के गर्न जुरमुऱ्‍याउँछ?

२१ यहोवाले “महासङ्‌कष्ट” पार गरेर सुन्दर प्रमोदवनमा सधैँभरि बाँच्ने आशा पाएको “ठूलो भीड”-प्रति पनि यस्तै वफादारी देखाउनुहुन्छ। (प्रकाश ७:९, १०, १४) आफ्ना सेवकहरू त्रुटिपूर्ण भए तापनि उहाँ तिनीहरूलाई सुन्दर प्रमोदवनमा सधैँभरि बाँच्ने मौका दिनुभएर वफादारी देखाउनुहुन्छ। उहाँले यो कसरी गर्नुहुन्छ? यहोवाको वफादारीको सर्वोत्कृष्ट अभिव्यक्‍ति फिरौतीको प्रबन्धमार्फत। (युहन्‍ना ३:१६; रोमी ५:८) धार्मिकताको लागि भोकाउनेहरू यहोवाको वफादारी देखेर उहाँप्रति आकर्षित हुन्छन्‌। (यर्मिया ३१:३) यहोवाले अहिले देखाउनुभएको र भविष्यमा देखाउनुहुने वफादारीबारे सोच्दा के तपाईँ उहाँसित अझ नजिक भएको महसुस गर्नुहुन्‍न र? हामी यहोवासित नजिक हुन चाहन्छौँ। त्यसैले वफादार भई उहाँको सेवा गर्ने सङ्‌कल्पलाई बलियो बनाइरहौँ अनि उहाँले हामीलाई जसरी प्रेम गर्नुभयो, उहाँलाई पनि त्यसरी नै प्रेम गरिरहौँ।

a रोचक कुरा, २ समुएल २२:२६ मा “वफादार” भनी अनुवाद गरिएको शब्दलाई अन्य पदमा “अटल प्रेम” भनेर अनुवाद गरिएको छ।

मननका लागि प्रश्‍न

  • १ समुएल २४:१-२२ दाउदले कसरी साउलप्रति वफादारी देखाए?

  • एस्तर ३:७-९; ४:६–५:१ एस्तरले आफ्नो ज्यानको जोखिम मोलेर कसरी आफ्ना मानिसहरूप्रति यहोवाले जस्तै वफादारी देखाए?

  • भजन १३६:१-२६ यस भजनले यहोवाको अटल प्रेमबारे के सिकाउँछ?

  • ओबदियाह १-४, १०-१६ विश्‍वासघाती एदोमीहरूलाई सजाय दिन यहोवालाई आफ्ना सेवकहरूप्रतिको वफादारीले कसरी उत्प्रेरित गऱ्‍यो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने