सबैभन्दा महान नाउँको रहस्य पत्ता लगाउनु
मुसलमानी कुरान र मसीही बाइबल दुवैले यस महान नाउँको प्रयोग गर्नु चाखलाग्दो कुरा हो। यस छलफलले यो महान नाउँको अर्थ र महत्त्व वर्णन गर्दछ। यो नाउँले सारा मानवजाति र यस पृथ्वीमा हाम्रो भविष्यलाई कसरी असर गर्दछ भनेर पनि देखाउँछ।
यस पृथ्वीमा लाखौं पुरुष तथा स्त्रीहरू बाँचे र मरेर पनि गए। प्रायजसो ती मानिसहरू सँगसँगै तिनीहरूका नाउँ पनि मरेर गएका छन् र तिनीहरूलाई बिर्सेका छन्। तर केही महान नाउँहरू—आभिसेना, एडिसन, पास्टर, बिथोभिन, गान्धी र न्युटन भने अझै जीवित छन्। यी नाउँहरू तिनीहरूका उपलब्धि, अन्वेषण र आविष्कारहरूसित सम्बन्धित छन्।
यद्यपि, सबै नाउँभन्दा महान एउटा नाउँ छ। यस ब्रह्माण्डमा अतीतका र वर्तमानका सबै अद्भुत कार्यहरू त्यस नाउँसित सम्बन्धित छन्। भनौं भने, मानवजातिको आनन्दित र दीर्घकालीन जीवनको आशा त्यस नाउँसित मुछिएको छ।
धेरै मानिसहरूले यस नाउँबारे जान्न चाहे। तिनीहरूले त्यसको खोजी गरे, प्रश्न गरे तर तिनीहरूले पत्ता लगाउन भने सकेनन्। तिनीहरूको लागि त्यो नाउँ एउटा रहस्य नै रहेको छ। वास्तवमा भन्ने हो भने, त्यस नाउँका अधिपतिले प्रकट नगरेसम्म कसैले यस नाउँबारे पत्ता लगाउन सक्ने छैन। आनन्दको कुरा, यस अतुलनीय नाउँको रहस्य प्रकट भएको छ। परमेश्वर आफैले त्यसो गर्नु भएको छ ताकि उहाँमाथि विश्वास गर्नेहरूले उहाँलाई चिन्न सकोस्। उहाँले आफ्नो नाउँ आदम, त्यसपछि अब्राहाम, मोशा र पुरातन समयका आफ्ना विश्वासी सेवकहरूलाई प्रकट गर्नुभयो।
सबैभन्दा महान नाउँको खोजमा
कुरानले “शास्त्रमा एकदमै पोख्त” एक जना व्यक्तिबारे भन्दछ। (२७:४०) यस पदलाई बुझाउँदै, टाफ्सर झाल्यन नामक टिपोटले भन्दछ: “बर्कियाहका छोरा, असफ धर्मी मानिस थिए। उनलाई परमेश्वरको महान नाउँ थाहा थियो र जुनसुकै बेला त्यस नाउँलाई पुकार्दा उनले उत्तर पाउँथे।” यसले हामीलाई बाइबलको लेखक, आसापको सम्झना गराउँछ। उनले भजनसंग्रह ८३:१८-मा यसो भनेका थिए: “तिनीहरूले जानून्, कि तपाईं जसको नाउँ परमप्रभु [यहोवा न्यु व०] हो, तपाईं सारा पृथ्वीमा सर्वोच्च हुनुहुन्छ।”
कुरान १७:२-मा हामी यसो पढ्छौं: “हामीले मोशालाई शास्त्र दियौं र त्यसलाई इस्राएलीहरूका निम्ति पथ-प्रदर्शक बनायौं।” त्यस शास्त्रमा मोशाले परमेश्वरलाई सम्बोधन गर्दै यसो भन्छ: “हेर्नुहोस्, जब म इस्राएलीहरूलाई गएर भन्नेछु, ‘तिमीहरूका पितापुर्खाका परमेश्वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो,’ तब तिनीहरूले ‘उहाँको नाउँ के हो ता?’ भनेर सोधे भने मैले तिनीहरूलाई के भन्ने?” तब परमेश्वरले मोशालाई भन्नुभयो, “इस्राएलीहरूलाई भन्, ‘तिमीहरूका पिता-पुर्खाका परमप्रभु, [यहोवा न्यु व०] परमेश्वर अर्थात् अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो।’ मेरो नाउँ सदा यही रहनेछ, र सबै पुस्तासम्म मेरो सम्झना यही हुनेछ।”—प्रस्थान ३:१३, १५.
प्राचीन समयमा, परमेश्वरको यस महान नाउँ इस्राएलीहरूलाई थाहा थियो। तिनीहरूको आफ्नो नाउँको पूरकको रूपमा पनि त्यसको प्रयोग गरिन्थ्यो। अब्दुल्लाहको अर्थ “परमेश्वरको सेवक” भएजस्तै प्राचीन इस्राएलमा मानिसहरूको नाउँ ओबादिया राखिन्थ्यो जसको अर्थ हो, “यहोवाको सेवक।” अगमवक्ता मोशाको आमाको नाउँ योकेबेद थियो जसको अर्थ सम्भवतः “यहोवा महिमा” हुनुहुन्छ। यूहन्ना नाउँको अर्थ हो, “परमेश्वर दयालु हुनुभएको छ।” त्यस्तैगरि अगमवक्ता एलियाको नाउँको अर्थ हो, “मेरो परमेश्वर यहोवा हुनुहुन्छ।”
अगमवक्ताहरूलाई यस महान नाउँ थाहा थियो र उनीहरूले गहिरो आदरका साथ त्यसको प्रयोग गरे। यो नाउँ पवित्र शास्त्रमा ७,००० भन्दा बढी पटक प्रयोग भएको पाइन्छ। मरियमका पुत्र, येशू ख्रीष्टले परमेश्वरलाई प्रार्थना गर्नुहुँदा त्यस नाउँलाई यसरी प्रकाश पार्नुभयो: “तपाईंले मलाई दिनुभएका मानिसहरूलाई मैले तपाईंको नाउँ प्रकट गरिदिएँ . . . मैले तिनीहरूलाई तपाईंको नाउँ परिचित गराएँ, औ परिचित गराउनेछु, र जुन प्रेमले तपाईंले मलाई प्रेम गर्नुभयो, त्यो तिनीहरूमा होस्, र म तिनीहरूमा होऊँ।” (यूहन्ना १७:६, २६) कुरानबारे गरिएको चर्चित टिपोटमा कुरान २:८७-मा टिप्पणी गर्दै बिडवी भन्दछन् कि येशूले “परमेश्वरको महान नाउँ प्रयोग गरेर मरेकाहरूलाई बिउँताउनुहुन्थ्यो।”
त्यसो भए, त्यो नाउँ एउटा रहस्य कसरी हुन गयो? त्यस नाउँसित हामी प्रत्येकको भविष्य कसरी सम्बन्धित छ?
त्यो नाउँ कसरी रहस्य हुन गयो?
हिब्रूमा “यहोवा”-को अर्थ “अल्लाह” (परमेश्वर) हो भनी केही व्यक्तिहरू सोच्छन्। तर “अल्लाह” हिब्रू पद इलोहिम सित सम्बन्धित छ जुन गरिमा अर्थात् इलोहा (परमेश्वर) शब्दको बहुबचन हो। यहूदीहरूबीच एउटा अन्धविश्वास उब्ज्यो जसले गर्दा तिनीहरूले ईश्वरीय नाउँ, यहोवा प्रयोग गर्न रोके। तसर्थ, पवित्र शास्त्र पढ्दा यहोवा नाउँ देख्ने बित्तिकै अदोनाई भन्ने चलन तिनीहरूको भयो जसको अर्थ “प्रभु” हो। केही ठाउँहरूमा तिनीहरूले मौलिक हिब्रू पदमा भएको “यहोवा”-लाई परिवर्तन समेत गरेर अदोनाई लेखे।
मसीहजगतका धार्मिक नेताहरूले पनि त्यही मार्ग अपनाए। तिनीहरूले यहोवा नाउँलाई “परमेश्वर” (अरबीमा “अल्लाह”) र “प्रभु”-ले प्रतिस्थापन गरिदिए। यसले पवित्र शास्त्रमा कुनै आधार नभएको त्रिएकको झूटो शिक्षालाई बढाउन योगदान पुऱ्यायो। यसले गर्दा लाखौंले थाहै नपाईकन येशू र पवित्र आत्माको उपासना गर्दछन् र तिनीहरूलाई परमेश्वरको बराबरी ठान्छन्।a
यसर्थ, यहूदी धर्मका र मसीहीजगतका नेताहरू यस महान नाउँको व्यापक अज्ञानताका लागि दोषी छन्। तर परमेश्वरले यसो भनेर भविष्यवाणी गर्नुभएको थियो: “म मेरो नाउँलाई पवित्र पार्नेछु, . . . जाति जातिहरूले जान्नेछन् कि मनै परमप्रभु [यहोवा न्यु व०] हुँ।” हो, यहोवाले सबै जाति जातिहरूमा आफ्नो नाउँ प्रकट गर्नुहुनेछ। किन? किनभने उहाँ केवल यहूदीहरू अथवा कुनै एउटा राष्ट्र अथवा जातिको मात्र परमेश्वर हुनुहुन्न। यहोवा सारा मानवजातिका परमेश्वर हुनुहुन्छ।—इजकिएल ३६:२३; उत्पत्ति २२:१८; भजनसंग्रह १४५:२१; मलाकी १:११.
सबैभन्दा महान नाउँ र हाम्रो भविष्य
पवित्र शास्त्रले यसो भन्छ: “प्रभुको [यहोवा न्यु व०] नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ।” (रोमी १०:१३) न्यायको दिनमा हाम्रो मुक्ति परमेश्वरको नाउँ चिन्नुमा आधारित हुनेछ। उहाँको नाउँ चिन्नुमा उहाँका गुणहरू, कामहरू, उद्देश्यहरू जान्नु र उहाँका उच्च सिद्धान्तअनुरूप जीवन बिताउनु समावेश छ। उदाहरणको लागि, अब्राहामलाई परमेश्वरको नाउँ थाहा थियो र तिनले त्यही नाउँको पुकारा गरे। फलतः, परमेश्वरसित एउटा बलियो सम्बन्धको आनन्द तिनले उठाए, उहाँमाथि विश्वास गरे, भर गरे र उहाँप्रति आज्ञाकारी भए। यसप्रकार अब्राहाम परमेश्वरको मित्र बन्न पुगे। त्यस्तैगरि परमेश्वरको नाउँ चिन्यौं भने हामी पनि उहाँको नजिक हुन्छौं र उहाँको प्रेमको आडमा एउटा व्यक्तिगत सम्बन्ध कायम गर्न त्यसले हामीलाई मदत दिन्छ।—उत्पत्ति १२:८; भजनसंग्रह ९:१०; हितोपदेश १८:१०; याकूब २:२३.
बाइबलमा हामी यसो पढ्छौं: “तब परमप्रभुको [यहोवा न्यु व०] डर मान्नेहरूले आपसमा कुरा गरे, औ परमप्रभुले तिनीहरूका कुरा ध्यान दिएर सुन्नुभयो, औ उहाँको डर मान्नेहरू र उहाँको नाउँको सोच गर्नेहरूका नाउँ सम्झनाको पुस्तकमा उहाँकै सामने लेखियो।” (मलाकी ३:१६) हामीले किन त्यस महान नाउँबारे ‘सोच गर्नुपर्छ?’ यहोवा नाउँको अक्षरस अर्थ “उहाँले हुन दिनुहुन्छ” हो। उहाँले आफूलाई प्रतिज्ञाहरू पूर्ति गर्ने व्यक्ति हुन दिनुहुन्छ भन्ने कुरा यसले प्रकट गर्दछ। उहाँले सदैव आफ्ना उद्देश्यहरूलाई वास्तविक बनाउनुहुन्छ। उहाँ सबै राम्रा गुणहरूले सम्पन्न सर्वशक्तिमान परमेश्वर, एक मात्र सृष्टिकर्त्ता हुनुहुन्छ। परमेश्वरको ईश्वरीय स्वभावलाई वर्णन गर्न सक्ने कुनै एउटा शब्द छैन। तैपनि परमेश्वरले आफ्नो लागि सबैभन्दा महान नाउँ—यहोवा छान्नुभयो र यसले हामीलाई उहाँको सबै गुण र उद्देश्यहरू स्मरण गराउँदछ।
पवित्र शास्त्रमा उहाँले मानवजातिका लागि आफ्नो उद्देश्य बताउनुहुन्छ। यहोवा परमेश्वरले प्रमोदवनमा एउटा अनन्तकालीन आनन्दित जीवन बिताउन मानिसलाई सृष्टि गर्नुभएको थियो। सबै मानिसहरू मिलेर प्रेम र एकतामा बाँधिएको एउटा परिवार बनाओस् भन्ने उहाँको इच्छा छ। परमेश्वरको प्रेमले यस उद्देश्यलाई निकट भविष्यमा पूरा गर्नेछ।—मत्ती २४:३-१४, ३२-४२; १ यूहन्ना ४:१४-२१.
मानवजातिले दुःख भोग्नाको कारण परमेश्वरले बताउनुहुन्छ र मुक्ति सम्भव छ भनी देखाउनुहुन्छ। (प्रकाश २१:४) भजनसंग्रह ३७:१०, ११-मा हामी यसो पढ्छौं: “थोरै बेरपछि, दुष्ट रहनेछैन। तैंले त्यसको ठाउँ राम्ररी हेरे तापनि त्यो पटक्कै रहनेछैन। तर नम्रहरूले देश अधिकार गर्नेछन्। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्।”—कुरान २१:१०५ पनि हेर्नुहोस्।
हो, उहाँको महान नाउँद्वारा परमेश्वर चिनिनु हुनेछ। उहाँको नाउँ यहोवा हो भनेर सारा राष्ट्रहरूले थाहा पाउनै पर्छ। यस महान नाउँ थाहा पाउनु, त्यसको साक्षी दिनु र त्यसमा तल्लीन हुन पाउनु कस्तो महान सुअवसर हो! यसप्रकार हामी प्रत्येकमा परमेश्वरको यस आनन्दमय उद्देश्य पूरा हुनेछ: “उनले मसित प्रेम गरेको हुनाले म उनलाई छुटाउनेछु, उनले मेरो नाउँ जानेको कारण म उनलाई उच्च स्थानमा राख्नेछु। उनले मेरो पुकारा गर्नेछन्, र म उनलाई उत्तर दिनेछु, . . . म उनलाई दीर्घायु बनाएर सन्तुष्ट तुल्याउनेछु, र मेरो उद्धार देखाउनेछु।”—भजनसंग्रह ९१:१४-१६. (w93 11/1)
[फुटनोट]
a त्रिएक बाइबलको शिक्षा होइन भन्ने प्रमाणको लागि सन् १९८९-मा वाचटावर बाइबल एण्ड ट्र्याक्ट सोसाइटीद्वारा प्रकाशित शूड यू बिलिभ इन द ट्रिनिटि भन्ने पुस्तिका हेर्नुहोस्।
[पृष्ठ ५-मा भएको चित्र]
बलिरहेको पोथ्रामा परमेश्वरले आफूलाई ‘यहोवा, अब्राहमको परमेश्वर’ भनी चिनाउनु भयो