प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • be study ३६ p. २०९-p. २११ par. १
  • मूल-विषय विस्तार गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मूल-विषय विस्तार गर्नुहोस्‌
  • ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • रूपरेखा बनाउने तरिका
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • मुख्य बुँदालाई जोड दिने
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • मुख्य बुँदालाई जोड दिनुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • आफ्नो दिमाग सुरक्षित राख्नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१२
थप हेर्नुहोस्
ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
be study ३६ p. २०९-p. २११ par. १

अध्याय ३६

मूल-विषय विस्तार गर्नुहोस्‌

तपाईंले के गर्नुपर्छ?

मूल-विषय बताउनुपर्छ र त्यसलाई भाषणभरि विभिन्‍न तरिकामा विस्तार गर्नुपर्छ।

यसो गर्नु किन महत्त्वपूर्ण छ?

यसले तपाईंको प्रस्तुतिलाई आपसमा गाँस्छ र श्रोतालाई तपाईंले भनेको कुरा बुझ्न र सम्झन मदत गर्छ।

अनुभवी वक्‍ताहरूले मूल-विषयको महत्त्व बुझेका हुन्छन्‌। भाषणको तयारी गर्दा मूल-विषयले कुनै खास जानकारीमा मात्र ध्यान दिन र सोही विषयमा गहिरिएर विचार गर्न तिनीहरूलाई मदत गर्छ। यसले गर्दा तीनथुप्रो बुँदा सरसरती बताउनुको साटो तिनीहरू श्रोतालाई सबैभन्दा धेरै फाइदा गर्ने जानकारी विस्तार गर्न सक्छन्‌। प्रत्येक मुख्य बुँदा मूल-विषयसित सीधै मेल खान्छ र त्यस बुँदाले मूल-विषयलाई विस्तार गर्न मदत गर्छ भने श्रोताले पनि ती बुँदाहरू सम्झन र त्यसको महत्त्व बुझ्न मदत पाउँछन्‌।

तपाईं जुन विषयमा कुरा गर्दै हुनुहुन्छ, त्यसलाई मूल-विषय पनि भन्‍न सकिन्छ। तर उक्‍त विषयको कुनै खास पक्षलाई व्याख्या गर्नुभयो भने तपाईंको भाषणको गुणस्तर बढ्‌नेछ। परमेश्‍वरको राज्य, बाइबल, पुनर्जीवन आदि विस्तृत तवरमा व्याख्या गर्न सकिने विषय हुन्‌। यी विषयबाट नै विभिन्‍न मूल-विषय निकाल्न सकिन्छ। जस्तै:- “परमेश्‍वरको राज्य वास्तविक सरकार हो,” “परमेश्‍वरको राज्यले पृथ्वीलाई प्रमोदवन बनाउनेछ,” “बाइबल परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो,” “बाइबलले अहिलेको लागि पनि व्यावहारिक डोऱ्‍याइ दिन्छ,” “शोकाकुलहरूलाई पुनर्जीवनले आशा दिन्छ” र “पुनर्जीवनको आशाले हामीलाई खेदोमा पर्दा दृढ रहन मदत गर्छ।” यी मूल-विषयलाई फरक-फरक तरिकाले विस्तार गर्न सकिन्छ।

पृथ्वीमा छँदा येशू ख्रीष्टले बाइबलको मूल-विषयलाई जोड दिंदै यसरी प्रचार गर्नुभयो: “स्वर्गको राज्य नजिकै आएको छ।” (मत्ती ४:१७) यो मूल-विषयलाई कसरी विस्तार गरियो? सुसमाचारको चारवटा पुस्तकमा उक्‍त राज्यबारे ११० भन्दा धेरै पटक चर्चा गरिएको छ। तर येशूले “राज्य” भन्‍ने शब्द मात्र दोहोऱ्‍याएको दोहोऱ्‍याइ गर्नुभएन। तिनीहरूमाझ उपस्थित व्यक्‍ति येशू आफै नै परमेश्‍वरको पुत्र र मसीह हो अनि परमेश्‍वरले राज्य सुम्पने व्यक्‍ति पनि आफू हो भनेर येशूले आफ्नो शिक्षा र चमत्कारबाट स्पष्ट पार्नुभयो। उहाँले गर्दा नै अरूले उक्‍त राज्यमा सहभागी हुने मौका पाउँछन्‌ भनेर पनि उहाँले देखाउनुभयो। त्यो मौका पाउने व्यक्‍तिहरूले कस्ता गुण प्रकट गर्नुपर्छ त्यो पनि उहाँले बताउनुभयो। आफ्नो शिक्षा अनि शक्‍तिशाली कामद्वारा येशूले परमेश्‍वरको राज्य मानिसहरूको लागि महत्त्वपूर्ण छ भनेर देखाउनुभयो। त्यतिमात्र होइन, परमेश्‍वरको शक्‍तिको मदत पाएर दुष्ट स्वर्गदूतहरूलाई धपाउनु पनि उहाँको कुरा सुन्‍नेहरूमाझ ‘परमेश्‍वरको राज्य आइसकेको’ प्रमाण हो भनेर औंल्याउनुभयो। (लूका ११:२०) येशूले त्यही राज्यबारे साक्षी दिन आफ्ना अनुयायीहरूलाई अह्राउनुभएको थियो।—मत्ती १०:७; २४:१४.

उपयुक्‍त मूल-विषय प्रयोग गर्नुहोस्‌। बाइबलमा मूल-विषयलाई जसरी विस्तार गरिएको छ तपाईंले पनि त्यसरी नै विस्तार गर्नुपर्छ भन्‍ने छैन। तर एउटा उपयुक्‍त मूल-विषय हुनै पर्छ।

तपाईं आफैले मूल-विषय छान्‍नुपर्छ भने भाषण दिनुको उद्देश्‍य के हो, सबैभन्दा पहिला त्यो विचार गर्नुहोस्‌। त्यसपछि रूपरेखा तयार पार्न मुख्य बुँदाहरू छान्‍नुहोस्‌ र ती बुँदाले तपाईंले छानेको मूल-विषयलाई समर्थन गर्छ कि गर्दैन पक्का गर्नुहोस्‌।

मूल-विषय पहिल्यै दिइएको छ भने आफ्नो विषयवस्तुलाई कसरी विस्तार गर्नुपर्छ, होसियारीसाथ जाँच्नुहोस्‌। मूल-विषयको महत्त्व बुझ्न अनि त्यस मूल-विषयअन्तर्गत के-के भन्‍न सकिन्छ, थाह पाउन मेहनत गर्नुपर्छ। दिइएको मूल-विषय विस्तार गर्न आवश्‍यक विषयवस्तु आफैले छान्दै हुनुहुन्छ भने मूल-विषय ओझेलमा नपर्नेगरि विषयवस्तु छान्‍नुहोस्‌। तर विषयवस्तु दिइएको छ भने मूल-विषयसित मेल खानेगरि उक्‍त विषयवस्तु कसरी प्रस्तुत गर्ने, त्यो केलाउनुपर्छ। त्यस विषयवस्तुले श्रोतालाई कस्तो फाइदा पुऱ्‍याउँछ र विषयवस्तु प्रस्तुत गर्दा तपाईंको लक्ष्य के हुनुपर्छ, त्यसमा पनि विचार पुऱ्‍याउनुपर्छ। यसो गर्दा आफ्नो भाषणमा कुन कुरालाई जोड दिने हो, पक्का गर्न सक्नुहुन्छ।

मूल-विषयलाई कसरी जोड दिने? मूल-विषयलाई ठीक तरिकाले जोड दिन तपाईंले विषयवस्तु छान्दा र त्यसलाई क्रमबद्ध तरिकाले मिलाउँदा नै तयारी गर्नुपर्छ। तपाईंको मूल-विषयसित मेल खाने बुँदा मात्र प्रयोग गर्नुभयो र राम्रोसँग रूपरेखा बनाउने तरिका पछ्याउनुभयो भने तपाईंले स्वतः मूल-विषयलाई जोड दिनुहुनेछ।

मूल-विषयलाई जोड दिन दोहोऱ्‍याउनुपर्छ। उदाहरणका लागि माया-प्रीतिका गीतहरूलाई लिनुहोस्‌। गायकले गीतभरि एउटै मूल-विषय अर्थात्‌ मायालुप्रतिको माया व्यक्‍त गर्छन्‌। तिनी उक्‍त मूल-विषयलाई विभिन्‍न तरिकामा दोहोऱ्‍याउन सक्छन्‌। “प्रेम” शब्दका अनेक रूप प्रयोग गर्न सक्छन्‌। तिनी उस्तै अर्थ लाग्ने अर्को शब्द, उपमा, प्रतीक, कवितात्मक शैली आदि पनि प्रयोग गर्न सक्छन्‌। जे होस्‌, सम्पूर्ण गीत एउटै मूल-विषय वरिपरि केन्द्रित हुन्छ। भाषणको मूल-विषय पनि त्यस्तै हुनुपर्छ। माया-प्रीतिको छनक दिने भाव गीतभरि दोहोऱ्‍याएझैं मूल-विषयमा प्रयोग गरिएको मुख्य शब्द तपाईं भाषणभरि दोहोऱ्‍याउन सक्नुहुन्छ। विविधता झल्काउन मुख्य शब्दको अर्थसँग मिल्ने अर्को शब्द प्रयोग गर्न सक्नुहुन्छ अथवा मूल-विषयलाई अर्कै तरिकाले दोहोऱ्‍याउन सक्नुहुन्छ। यसरी विभिन्‍न तरिकाले दोहोऱ्‍याउँदा श्रोताले मूल-विषयलाई मुख्य विचारको रूपमा पछिसम्म सम्झन सक्छन्‌।

यी सिद्धान्त मञ्चबाट भाषण दिंदा मात्र होइन प्रचारमा छलफल गर्दा पनि लागू हुन्छ। मूल-विषय प्रस्ट हुनेगरि बताइएको छ भने छोटो कुराकानी पनि अविस्मरणीय हुन्छ। बाइबल अध्ययन सञ्चालन गर्दा मूल-विषयलाई जोड दिइएको छ भने सिकेको कुरा पछि सजिलै सम्झन सकिन्छ। सुहाउँदो मूल-विषय छान्‍न र त्यसलाई विस्तार गर्न तपाईंले गरेको मेहनतले गर्दा तपाईं अझै कुशल वक्‍ता हुन सक्नुहुन्छ र परमेश्‍वरको वचनको प्रभावकारी शिक्षक हुन सक्नुहुन्छ।

महत्त्वपूर्ण किताबको मूल-विषय

मूल-विषय प्रयोग गर्ने सम्बन्धमा यहोवा परमेश्‍वरले बसालेको उदाहरण अध्ययन गर्नु मदतकारी हुन्छ। उहाँले मानव लेखकहरू प्रयोग गरेर लेख्न लगाएको बाइबलका ६६ वटा पुस्तकभरि एउटै मूल-विषय छ। बाइबलभरि नै चर्चा गरिएको मूल-विषय मानवजातिमाथि शासन गर्ने यहोवाको अधिकारलाई समर्थन गर्नु अनि उहाँको राज्यले उहाँको मायालु उद्देश्‍य पूरा गर्नु हो।

यो मूल-विषयलाई उत्पत्तिको पुस्तकमा सुरुका अध्यायदेखि नै क्रमशः खुलाइयो र पछि यसका विभिन्‍न पक्षलाई बाइबलभरि विस्तार गरियो। बाइबलमा परमेश्‍वरको नामतर्फ बारम्बार ध्यान खिचिएको छ। भनौं भने ७,००० भन्दा धेरै चोटि उल्लेख गरिएको छ। यहोवाले मानिसजातिमाथि शासन गर्नु न्यायोचित छ भनेर सृष्टिको विवरणबाट थाह हुन्छ। उहाँको शासनलाई चुनौती दिइएको कारण कस्तो नतिजा भयो त्यो पनि बाइबलमा बताइएको छ। मानिसहरू अनाज्ञाकारी भएको कारण त्यसको परिणाम एकदमै अनर्थकारी भयो। यहोवाको महान्‌ प्रेम, बुद्धि, न्याय अनि सर्वोच्च शक्‍ति उहाँले सम्पूर्ण सृष्टिसित गरेको व्यवहारबाट प्रकट हुन्छ। परमेश्‍वरको आज्ञा पालन गर्दा नतिजा राम्रो हुन्छ अनि उहाँको आज्ञा उल्लङ्‌घन गर्दा विपत्ति आइपर्छ भन्‍ने कुरालाई अनगिन्ती उदाहरणद्वारा बुझाइएको छ। पाप र मृत्युको नामोनिसान मेटाउन यहोवाले येशू ख्रीष्टमार्फत गरेको प्रबन्धबारे वर्णन गरिएको छ र यो लागू गर्ने तरिका पनि देखाइएको छ। सम्पूर्ण सृष्टिमाथि उचित शासन गर्ने यहोवाको अधिकारलाई तिरस्कार गर्ने दुष्ट स्वर्गदूतहरू र मानिसहरूलाई नष्ट गर्ने स्वर्गीय सरकारबारे एक-एक विवरण खुलाइएको छ। यहोवाको उद्देश्‍य पृथ्वीलाई प्रमोदवनमा परिणत गरेर एक मात्र साँचो परमेश्‍वरलाई प्रेम अनि उपासना गर्ने र एक-अर्कालाई पनि माया गर्ने मानिसहरूले भर्नु हो। यही उद्देश्‍यलाई त्यस राज्यले सार्थक पार्नेछ भनेर बाइबलमा प्रस्ट पारिएको छ।

यसो कसरी गर्न सकिन्छ?

  • भाषण बनाउँदा मूल-विषयलाई विस्तार गर्न मदत दिने मुख्य बुँदा र समर्थन गर्ने विषयवस्तु छान्‍नुहोस्‌।

  • भाषणको अभ्यास गर्दा मूल-विषयलाई कहाँ र कसरी जोड दिने भनेर सोचविचार गर्नुहोस्‌। यसरी जोड दिन चाहेको बुँदालाई आफ्नो रूपरेखामा चिनो लगाउन पनि सक्नुहुन्छ।

  • भाषण दिंदा मूल-विषयमा भएका मुख्य शब्दहरू वा विचारहरूलाई बारम्बार दोहोऱ्‍याउनुहोस्‌।

अभ्यास गर्नुहोस्‌:- प्रचारको लागि हालसालैको प्रहरीधरहरा वा ब्यूँझनुहोस्‌! पत्रिकामा दिइएको कुनै लेखसित मेल खाने एउटा मूल-विषय रोज्नुहोस्‌। परिचय दिंदा नै त्यस विषयमा चासो जगाउने प्रयास गर्नुहोस्‌। छलफलको दौडान एउटा वा दुइटा बुँदा विस्तार गर्नुहोस्‌ र समापनमा त्यसको महत्त्वलाई जोड दिनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने