गिलियड स्नातक अर्थात् “वास्तविक मिसनरीहरू!”
“मिसनरी भनेको के हो?” झन्डै चार दशकअघि एउटा पत्रिकाको सम्पादकीयमा उक्त प्रश्न सोधिएको थियो। लेखकले साँचो मिसनरीहरू सामाजिक तथा आर्थिक सुधारका माध्यम हुन् भनेर तर्क गरेका थिए। तथापि, आइतबार मार्च ५, १९९५ का दिन यहोवाका साक्षीहरूको जर्सी सिटी सम्मेलन भवनमा एउटा भिन्दै स्पष्ट जवाफ दिइयो। तर कुन समारोहमा? वाचटावर बाइबल स्कूल अफ गिलियडका ९८औं कक्षाको स्नातक समारोहमा। यस स्कूलले विश्वभरि मिसनरीहरू पठाइसकेको छ!
प्रारम्भिक गीत र प्रार्थनापश्चात् परिचालक निकायका अल्बर्ट डि. श्रोडरले उपस्थित ६,४३० सबैलाई स्वागत गरे। आफ्नो वक्तव्यको सुरुमा भाइ श्रोडरले गिलियड स्नातकहरू किन मिसनरी भनौंदा अन्य मानिसहरूभन्दा अलग छन् भनी स्पष्ट गरे। तिनले यसो भने: “गिलियडको प्रमुख पाठ्यपुस्तक बाइबल हो।” गिलियड स्नातकहरूलाई समाजसेवी होइन तर परमेश्वरको वचनको शिक्षक बन्न प्रशिक्षण दिइन्छ। तसर्थ, विदेशी क्षेत्रहरूमा बस्ने मानिसहरूको आध्यात्मिक आवश्यकताहरू परिपूर्ति गर्न तिनीहरू अनुपम ढंगमा प्रशिक्षित छन्।
त्यसपछिका वक्ताहरूले गिलियड स्नातकहरू “वास्तविक” मिसनरीहरू हुन् भनेर पुष्टि दिने विभिन्न क्षेत्रहरू छलफल गरे। चार्ल्स माल्हानले “मिसनरीहरूको हैसियतमा असल फल फलाई रहनुहोस्” भन्ने विषयमा भाषण दिए। कलस्सी १:९, १० मा उल्लिखित पावलका शब्दहरूमा ध्यान केन्द्रित गराउँदै भाइ माल्हानले गिलियडमा बिताएका पाँच महिनाले स्नातकहरूलाई “परमेश्वरको सही ज्ञानमा” प्रगति गर्न मदत गरेको थियो भनेर स्मरण गराए। यसले तिनीहरूलाई दुइ तरिकामा फल फलाउन मदत गर्नेछ: परमेश्वरको आत्माको फल प्रदर्शन गर्न अनि अरूसँग बाइबलका सत्य कुराहरू बाँड्न।
त्यसपछि परिचालक निकायका दानियल सिडलिकले “तपाईंको जीवनलाई खतरामा पार्ने सम्झौता नगर्नुहोस्” शीर्षक भएको विचारणीय विषयमा भाषण दिए। तिनले येशूको यो प्रश्न उल्लेख गरे: “आफ्नो प्राणको बदलामा मानिसले के देला र?” (मत्ती १६:२६) भाइ सिडलिकले यसो भने: “मानिसहरूले सजिलो र आरामदायी जीवनका लागि आफ्नो प्राणसमेत बेचेका छन्।” तथापि, जीवित विश्वास हुनेहरू सतावट र परीक्षाहरू आइपर्दा सम्झौता गर्नसक्दैनन्। हरेक व्यक्ति “दिन” अर्थात् आफ्नो प्राण वा जीवन प्राप्तिका लागि त्याग गर्न इच्छुक हुनैपर्छ भनेर येशूका शब्दहरूले संकेत गर्छ। नयाँ मिसनरीहरूलाई यहोवाको सेवामा सारा प्राण, आफ्नो अत्युत्तम भाग चढाउन सल्लाह दिइयो।
लगत्तै सेवा विभाग समितिका विलियम भान डे वालले “प्रेरित पावल—अनुकरणीय नमुना” भन्ने विषयमा भाषण दिए। भाइ भान डे वालले वर्णन गरे: “पावलले प्रथम शताब्दीमा मिसनरी सेवाको नेतृत्व लिए।” त्यसैकारण आज मिसनरीहरूका लागि पावलले असल नमुना बसालेका चार क्षेत्रहरूमाथि जोड दिइयो: (१) मानिसहरूप्रति पावलको साँचो चासो र प्रेम, (२) तिनको प्रभावकारी सेवकाई, (३) उच्च बन्ने भावनाप्रति तिनको विनम्र अस्वीकृति, (४) यहोवामाथिको सन्देहरहित भरोसा।
परिचालक निकायका अर्का सदस्य लिमन ए. स्विंगलले “तपाईंलाई दिइएको नयाँ जिम्मेवारीमा यहोवाले तपाईंको राम्ररी जाँच गरून्” शीर्षकअन्तर्गत छलफल गरे। समारोह दिनको पद, भजन १३९:१६ चलाउँदै भाइ स्विंगलले नयाँ मिसनरी भएकोले आफूलाई दिइएको जिम्मेवारी पूरा गर्दा समस्याहरूको सामना गर्नुपर्नेछ तर यहोवाले त्यसको समाधान जान्नुहुन्छ भनी स्वीकारे। “उहाँको शरणमा जानुहोस्,” तिनले जोड दिए, “समस्या आइपर्दा उहाँसँग कुरा गर्नुहोस्। उहाँको इच्छा जान्ने कोसिस गर्नुहोस्।”
त्यसपछि परिचालक निकायकै सदस्य जन इ. बारले “तिमीहरूको विश्वास अत्यन्तै बढ़दैछ” विषयमा भाषण दिए। (२ थिस्सलोनिकी १:३) हामी लूका १७:१ मा येशूले यसो भन्नुभएको पाउँछौं: “बाधा नआउनु असम्भव छ।” संगी मिसनरीहरूको व्यक्तित्वले गर्दा केहीले ठोकर खाएका छन्। तर भाइ बारले मिसनरीहरूलाई क्षमाशील बन्न चाहिने विश्वास आफूमा बढाउन प्रोत्साहन दिनुभयो। निस्सन्देह, यस्तै प्रसंगमा येशूका चेलाहरूले यो बिन्ती गरेका थिए: “हामीहरूको विश्वास बढ़ाइदिनुहोस्।” (लूका १७:२-५) विभिन्न संगठनात्मक परिवर्तनहरूले गर्दा मिसनरीहरूको विश्वास पनि परीक्षामा पर्नसक्छ। “यसलाई स्वीकार्न के हामीसँग विश्वास छ अथवा त्यो हाम्रोलागि पहाडसरह बाधा हुनेछ?,” भाइ बारले प्रश्न गरे।
तत्पश्चात् गिलियडका दुइ प्रशिक्षकहरूद्वारा सल्लाह दिइयो। ज्याक रेडफोर्डले स्नातकहरूलाई सकारात्मक मनोवृत्ति राख्न आग्रह गरे। केही संगी मिसनरीहरूले ठट्टा गर्दा एउटी मिसनरीले आफ्नो मिसनरी सेवा नै छाडेकी कुरा तिनले बताए। तथापि, शास्त्रले हामीलाई अनावश्यक रिस नदेखाउन चेताउनी दिन्छ। (उपदेशक ७:९) “सही मनोवृत्ति राख्नुहोस्,” तिनले आग्रह गरे। “अरूका गल्तीहरू तथा असिद्धताहरू क्षमा गर्नुहोस्।”
त्यसपछि गिलियड रजिस्ट्रार यु. भि. ग्लासले प्रश्न गरे: “के तपाईं ‘समय र अवसरको अधीनमा’ बस्न तयार हुनुहुन्छ?” (उपदेशक ९:११) “हाम्रो जीवनपद्धति सधैं परिवर्तन भइरहन्छ र कुनै कुनै परिवर्तन निकै असह्य हुनसक्छ,” भाइ ग्लासले भने। केही मिसनरीहरूले अप्रत्याशित ढंगमा अस्वस्थता, रोगबिमार र पारिवारिक समस्याको सामना गर्नुपर्दा मिसनरी सेवा छाड्नु परेको छ। भाइ ग्लासले भने, “समय र अवसरले गर्दा जस्तोसुकै परिस्थिति आए तापनि यहोवाले जान्नुहुन्छ र हाम्रो ख्याल गर्नुहुन्छ भनेर हामीलाई थाह छ। हामी जान्दछौं, उहाँमाथि भरोसा राख्यौं भने हामी विजयी हुनेछौं!”
बिहान प्रस्तुत गरिएका भाषणहरूको चरमोत्कर्षमा “मिसनरी सेवाका लागि अलग पारिएका” शीर्षक भएको भाषण दिइयो। “मिसनरी भनेको के हो?,” भनेर लेखको प्रारम्भमा सोधिएको प्रश्नमाथि परिचालक निकायका थिओडर जारसले सम्बोधन गरे। जवाफमा तिनले पावल र बर्णाबासको मिसनरी कार्यबारे प्रेरित अध्याय १३ र १४ छलफल गरे। स्पष्टतः तिनीहरूको कार्य समाज सेवा गर्नु नभई ‘खुशीको खबर सुनाउनु थियो।’ (प्रेरित १३:३२) भाइ जारसले प्रश्न गरे: ”पावल र बर्णाबासले साँचो मिसनरी कस्तो हुनुपर्छ भनेर प्रदर्शन गरे भनेर के तपाईं सहमत हुनुहुन्न?” त्यसपछि मेक्सिकोका अनुभवी मिसनरी रबर्ट ट्रेसीलाई सुसमाचारकको हैसियतमा आफूले पाएका हृदयग्राही अनुभवहरू सुनाउन आमन्त्रित गरियो।
अन्तमा भाइ श्रोडरले ४८ स्नातकहरूलाई प्रमाणपत्र दिएपछि बिहानको कार्यक्रम चरमोत्कर्षमा पुग्यो। यी मिसनरीहरूलाई खटाइएको २१ मुलुकहरूको नाउँ सुन्न पाउँदा उपस्थित दर्शकहरू रोमाञ्चित भए। ती मुलुकहरू यसप्रकार छन्: इक्वेडर, इक्वेटोरियल गिनी, इस्टोनिया, कोट डे भ्वा, कोस्टारिका, गिनी-बिसाउ, ताइवान, निकारागुआ, पाराग्वे, पेरू, बार्बाडोस, बेनिन, बोलिभिया, मध्य अफ्रिकी गणतन्त्र, भेनेजुएला, मरिसस, मोजाम्बिक, लाट्भिया, लिवर्ड टापू, सेनेगल र होण्डुरस।
मध्यान्तरको भोजनपश्चात् दर्शकहरू फेरि भेला भए र सेवा विभागका रबर्ट पि. जन्सनद्वारा सञ्चालित प्रहरीधरहरा-को जीवन्त अध्ययनबाट आनन्द उठाए। प्रश्नहरूको जवाफ ९८ औं कक्षाका सदस्यहरूले दिए। त्यसपछि गिलियडका कर्मचारीहरूले पालैसँग तिनीहरूको रमाइलो अन्तर्वार्ता लिए। स्नातकहरूले क्षेत्र सेवामा बटुलेका अनुभवहरू र विदेशी क्षेत्रमा दिइएको जिम्मेवारीप्रति आफ्नो भावना सुनाउँदा दर्शकहरू निकै प्रोत्साहित भएका थिए।
साढे छ वर्षसम्म गिलियड स्कूल वलकील, न्यु योर्कस्थित वाचटावर सोसाइटीको भवनमा अवस्थित थियो। तथापि, अप्रिल १९९५ देखि गिलियड स्कूललाई प्याटर्सन, न्यु योर्कस्थित नयाँ वाचटावर एडुकेसनल सेन्टरमा सारियो। वलकीलका बेथेल परिवारले यो नयाँ परिवर्तनप्रति कस्तो अनुभव गरे? यस स्नातक समारोहमा वलकीलका थुप्रै बेथेल सदस्यहरूको अन्तर्वार्ता लिइयो। तिनीहरूले व्यक्त गरेका मर्मस्पर्शी अभिव्यक्तिहरूले एउटा कुरा भने स्पष्ट देखायो, त्यो हो गिलियडका विद्यार्थीहरूले तिनीहरूमा अमेट छाप पारेको रहेछ। स्पष्ट छ, यी इच्छुक पुरुष तथा स्त्रीहरू वास्तविक मिसनरीहरू हुन्। तिनीहरू नम्र अनि आत्मत्यागी छन् र अरूलाई मदत गर्न गहिरो चासो देखाउँछन्।
स्नातक समारोह समापनमा आइपुग्दा गिलियड स्कूलले ५० वर्षदेखि गर्दै आएको काम अर्थात् वास्तविक मिसनरीहरू तैयार पार्ने काममा त्यस स्कूल आउँदा दिनहरूमा पनि सफल भइरहनेछ भनेर उपस्थित सबै निर्धक्क थिए।
[पृष्ठ १८-मा भएको पेटी]
कक्षाको तथ्यांक:
प्रतिनिधित्व गरिएका देशहरूको संख्या: ८
मिसनरी सेवामा खटाइएका देशहरूको संख्या: २१
विद्यार्थीहरूको संख्या: ४८
औसत आयु: ३२.७२
सच्चाइमा बिताएको औसत वर्ष: १५.४८
पूर्ण-समय सेवकाईमा बिताएको औसत वर्ष: १०.९१
[पृष्ठ १८-मा भएको चित्र]
वाचटावर स्कूल अफ गिलियडको ९८ औं स्नातक कक्षा
देहायबमोजिम सूचीमा दिइएको लहर तथा नाउँहरू क्रमश: अगाडिबाट पछाडि र बायाँबाट दायाँतर्फ सुरु हुन्छ।
(१) इस्लिंगर, ए.; म्यान, टि.; रिभेरा, जि.; बारुएरो, एम.; भाज, एम.; दुर्गा, के.; सिल्भरिक्स एच.; अल्वार्डो, डि.; (२) टथ, बि.; सेगारा, एस.; हार्ट, आर.; रुरिक, आइ.; इस्कोबार, पि.; इस्ट्रप, जे.; स्लाइ, एल.; रिभेरा, इ. (३) आर्कड, डि.; स्नेथ, एस.; मार्सिल, पि.; कोलिअनन, डि.; वाडेल, एस.; ब्ल्याकबर्न, एल.; इस्कोबार, एम.; आर्कड, के.; (४) हार्ट, एम.; टथ, एस.; कोलिअनन, जे.; बर्गम्यान, एच.; म्यान, डि.; ब्ल्याकबर्न, जे.; पार्क, डि.; भाज, एफ.; (५) सेगारा, एस.; स्लाइ, एल.; लेस्ली, एल.; बर्गम्यान, बि.; बारुएरो, डब्ल्यु.; अल्वार्डो, जे.; लेस्ली, डि.; पार्क, डि. (६) सिल्भरिक्स, के.; इस्लिंगर, आर.; वाडेल, जे.; स्नेथ, के.; दुर्गा, ए.; रुरिक, एफ.; इस्ट्रप, सि.; मार्सिल, डि.