के तपाईं छाँटकाँट गर्न तयार हुनुहुन्छ?
१. संसारमा हुने परिवर्तनले गर्दा हामीले कुन-कुन कुरामा छाँटकाँट गर्नुपर्छ?
१ पहिलो कोरिन्थी ७:३१ मा संसारलाई दृश्य र कलाकार परिवर्तन भइरहने रङ्गमञ्चसित तुलना गरिएको छ। संसारमा हुने परिवर्तनले गर्दा हामीले समय-समयमा प्रचार गर्ने तरिकामा, हाम्रो तालिकामा र हाम्रो प्रस्तुतिमा छाँटकाँट गर्नुपर्छ। के तपाईं छाँटकाँट गर्न तयार हुनुहुन्छ?
२. सङ्गठन सँगसँगै अघि बढ्न हामीले किन छाँटकाँट गर्नुपर्छ?
२ तपाईंको प्रचार गर्ने तरिका: ख्रीष्टियन मण्डलीले परिस्थितिअनुसार सधैं छाँटकाँट गरेको छ। सुरुमा येशूले चेलाहरूलाई प्रचार गर्न पठाउँदा खाजाको पोको र पैसाको थैली नलैजाओ भन्नुभयो। (मत्ती १०:९, १०) तर पछि चेलाहरूमाथि आइपर्ने सक्ने विरोध र अरू इलाकामा पनि प्रचारकार्य फैलाउनुपर्ने कुरालाई विचार गर्दै उहाँले ती निर्देशनहरूमा छाँटकाँट गर्नुभयो। (लूका २२:३६) बितेको शताब्दीमा यहोवाको सङ्गठनले प्रचार गर्न विभिन्न तरिका अपनाएको छ। साक्षी दिन समयको मागअनुसार सन्देश कार्ड, रेडियो प्रसारण अनि ध्वनि यन्त्र जोडिएको मोटर गाडी प्रयोग गरियो। आज थुप्रै इलाकामा मानिसहरूलाई घरमा भेट्न एकदमै गाह्रो छ। त्यसैले घर-घरको प्रचारकार्यका साथै सार्वजनिक ठाउँमा र अनौपचारिक प्रचारकार्यमा जोड दिइएको छ। मानिसहरू दिउँसो काममा जान्छन् भने हामीलाई साँझको समयमा घर-घरको प्रचारकार्यमा भाग लिन पनि प्रोत्साहन दिइएको छ। यहोवाको दिव्य रथले आफ्नो मार्गमा छाँटकाँट गर्दा के तपाईं पनि त्यो रथ सँगसँगै अघि बढिरहनुभएको छ?—इज. १:२०, २१.
३. छाँटकाँट गर्न तयार हुँदा कसरी इलाकामा प्रभावकारी हुन सकिन्छ?
३ तपाईंको प्रस्तुति: तपाईंको इलाकाका मानिसहरू अहिले कस्तो कुरामा चिन्तित छन्? पैसा, परिवार वा अपराधको विषयमा चिन्तित छन् कि? आफ्नो इलाकाको समस्या र अवस्थाबारे सजग हुनु राम्रो हो। यसरी सजग हुँदा उपयुक्त प्रस्तुति तयार गर्न सक्छौं। (१ कोरि. ९:२०-२३) घरधनीले आफ्नो विचार व्यक्त गर्दा सुगाले रटेजस्तै एउटै जवाफ दिंदै आफूले तयार पारेको प्रस्तुतिअनुसार कुरा अगाडि बढाउनुको सट्टा तिनीहरूको चिन्ताको विषयलाई समेटेर आफ्नो प्रस्तुतिमा छाँटकाँट गर्नु बेस होइन र?
४. हामीले छाँटकाँट गर्न किन ढिलासुस्ती गर्नु हुँदैन?
४ चाँडै यस संसारको अन्तिम “दृश्य” समापन हुन्छ र महासङ्कष्ट सुरु हुन्छ। “समय थोरै मात्र बाँकी छ।” (१ कोरि. ७:२९) त्यसैले बाँकी भएको थोरै समयमा सक्दो धेरैलाई प्रचार गर्न ढिलासुस्ती नगरी छाँटकाँट गर्नु कत्ति जरुरी छ!