प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • od chap. ९ pp. ८७-१०४
  • सुसमाचार प्रचार गर्ने तरिकाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सुसमाचार प्रचार गर्ने तरिकाहरू
  • यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • घरघरको प्रचारकार्य
  • योग्य व्यक्‍तिहरू खोज्नुहोस्‌
  • पुनःभेट
  • गृह बाइबल अध्ययन
  • जिज्ञासु व्यक्‍तिहरूलाई यहोवाको सङ्‌गठनतर्फ डोऱ्‍याउनुहोस्‌
  • बाइबलमा आधारित प्रकाशनहरू प्रयोग गर्नुहोस्‌
  • अनौपचारिक साक्षी
  • इलाका
  • सबै भाषाका मानिसलाई साक्षी दिन मिलेर काम गर्नुहोस्‌
  • दाजुभाइ दिदीबहिनीसँगै मिलेर प्रचारकार्यमा भाग लिनुहोस्‌
  • विदेशी भाषा बोल्नेहरूको क्षेत्र विकास गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००९
  • घरधनीले अर्कै भाषा बोल्दा
    हाम्रो राज्य सेवकाई—२००८
  • विभिन्‍न भाषा बोलिने इलाकामा मिलेर प्रचार गर्नुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • प्रचार गर्नुअघि खोज्नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१२
थप हेर्नुहोस्
यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
od chap. ९ pp. ८७-१०४

अध्याय ९

सुसमाचार प्रचार गर्ने तरिकाहरू

येसु जोसिलो भई सुसमाचार सुनाउनुहुन्थ्यो। यसरी उहाँले आफ्ना अनुयायीहरूको निम्ति उदाहरण बसाल्नुभयो। उहाँ आफै घरघरमा अनि मानिसहरू भेटिने सार्वजनिक ठाउँहरूमा गएर प्रचार गर्नुभयो र तिनीहरूलाई सिकाउनुभयो। (मत्ति ९:३५; १३:३६; लुका ८:१) येसुले व्यक्‍तिविशेषसित कुरा गर्नुभयो, चेलाहरूलाई एकान्तमा सिकाउनुभयो र हजारौँको सङ्‌ख्यामा रहेको ठूलो भीडलाई पनि सिकाउनुभयो। (मर्कु. ४:१०-१३; ६:३५-४४; युह. ३:२-२१) हरेक मौकाको फाइदा उठाउँदै उहाँले अरूलाई प्रोत्साहन र आशा दिनुभयो। (लुका ४:१६-१९) उहाँले साक्षी दिने कुनै पनि मौका खेर फाल्नुभएन। यहाँसम्म कि थकाइ मेट्‌न आराम गरिरहेको समयमा र भोकाएको बेला पनि उहाँले साक्षी दिनुभयो। (मर्कु. ६:३०-३४; युह. ४:४-३४) येसुको सेवाको कामबारे बाइबलमा दिइएको विवरण पढ्‌दा के हामी उहाँको अनुकरण गर्न उत्प्रेरित हुँदैनौँ र? उहाँका प्रेषितहरूजस्तै हामी पनि उहाँको अनुकरण गर्न उत्प्रेरित हुन्छौँ।—मत्ति ४:१९, २०; लुका ५:२७, २८; युह. १:४३-४५.

२ येसु ख्रिष्टले झन्डै २ हजार वर्षअघि सुरु गर्नुभएको यो काममा आज ख्रिष्टियनहरूले कसरी भाग लिने मौका पाइरहेका छन्‌, विचार गरौँ।

घरघरको प्रचारकार्य

३ घरघरमा गएर व्यवस्थित तरिकामा सुसमाचार प्रचार गर्नु कत्ति महत्त्वपूर्ण छ भन्‍ने कुरा हामी यहोवाका साक्षीहरूले बुझेका छौँ। हामी घरघरको प्रचार धेरै जान्छौँ। त्यसैले यो नै हाम्रो चिनारी बनेको छ। घरघरको प्रचारकार्यबाट प्राप्त भएका थुप्रै राम्रा नतिजाहरूलाई विचार गर्दा यो तरिका छोटो समयमा लाखौँ मानिसलाई सुसमाचार सुनाउने एउटा प्रभावकारी माध्यम हो भन्‍ने कुरा स्पष्ट हुन्छ। (मत्ति ११:१९; २४:१४) घरघरको प्रचारकार्य हामी यहोवा र छिमेकीलाई प्रेम गर्छौँ भनेर देखाउने एउटा राम्रो तरिका साबित भएको छ।—मत्ति २२:३४-४०.

४ घरघरको प्रचारकार्य वर्तमान समयका यहोवाका साक्षीहरूले सुरु गरेको नयाँ तरिका होइन। प्रेषित पावलले मानिसहरूको घरघरमा गएर प्रचार गरेको कुरा बताएका छन्‌। तिनले एफिससका निरीक्षकहरूलाई आफूले गरेको प्रचारकार्यबारे बताउँदै यस्तो लेखे: “एसिया प्रान्तमा पाइला टेकेको दिनदेखि . . . तपाईँहरूको लाभ हुने कुरा बताउन म पछि हटिनँ न त तपाईँहरूलाई जनसमक्ष र घरघरमा सिकाउन नै पछि हटेँ।” तिनले घरघरमा गएर अनि अरू विभिन्‍न तरिकामा “यहुदी र ग्रीक दुवैलाई पश्‍चात्ताप गरेर परमेश्‍वरतर्फ फर्कने र हाम्रा प्रभु येसुमा विश्‍वास गर्ने विषयमा राम्ररी साक्षी” दिए। (प्रेषि. २०:१८, २०, २१) त्यतिबेला रोमी सम्राट्‌हरूले मूर्तिपूजालाई बढावा दिएकोले धेरै मानिस ‘देवीदेवताहरूको भक्‍ति’ गर्ने भएका थिए। त्यसैले मानिसहरूले “सारा संसार अनि त्यसमा भएका सबै थोक बनाउनुहुने परमेश्‍वर” र ‘पश्‍चात्ताप गर्नुपर्छ भनेर सबै ठाउँका मानिसहरूलाई’ भन्‍नुहुने परमेश्‍वरलाई खोज्नु अत्यन्तै जरुरी थियो।—प्रेषि. १७:२२-३१.

५ मानिसहरूलाई सुसमाचार सुनाउनु आज झनै जरुरी छ। यस दुष्ट युगको अन्त एकदमै नजिक छ। त्यसैले हामी सुसमाचार प्रचार गर्ने काममा अझै जोडतोडले लाग्न उत्प्रेरित हुन्छौँ। सत्यको लागि भोकाएकाहरूलाई खोज्ने सर्वोत्तम तरिका घरघरको प्रचारकार्य हो भनेर इतिहासले प्रमाणित गरिसकेको छ। यो तरिका येसु र प्रेषितहरूको समयमा जत्ति प्रभावकारी थियो, आज पनि त्यत्तिकै प्रभावकारी छ।—मर्कु. १३:१०.

६ के तपाईँ परिस्थितिले दिएसम्म घरघरको प्रचारकार्यमा पूरापूर भाग लिँदै हुनुहुन्छ? लिँदै हुनुहुन्छ भने यो देखेर यहोवा खुसी हुनुहुन्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। (इज. ९:११; प्रेषि. २०:३५) घरघरमा गएर प्रचार गर्नु सजिलो नहुन सक्छ। हुन सक्छ, तपाईँ बिरामी वा शारीरिक रूपमा अशक्‍त हुनुहुन्छ अथवा तपाईँ सुसमाचार सुन्‍न नचाहने मानिसहरू धेरै भएको इलाकामा प्रचार गर्दै हुनुहुन्छ। सायद सरकारले तपाईँले सेवा गरिरहनुभएको देशमा प्रचारकार्यमा कडिकडाउ गरेको छ। अथवा तपाईँ लजालु स्वभावको हुनुहुन्छ होला र नचिनेका मानिसहरूसित कुरा गर्न अप्ठ्यारो लाग्छ होला। त्यसैले हरेक चोटि प्रचारमा जाँदा तपाईँलाई डर लाग्छ होला। तर हरेस नखानुहोस्‌। (प्रस्थ. ४:१०-१२) हाम्रा थुप्रै दाजुभाइ दिदीबहिनीले तपाईँले जस्तै चुनौतीहरूको सामना गर्दै छन्‌।

७ येसुले आफ्ना चेलाहरूलाई यस्तो प्रतिज्ञा गर्नुभयो: “हेर! यस युगको आखिरी समयसम्म म सधैँभरि तिमीहरूसितै छु।” (मत्ति २८:२०) यो प्रतिज्ञाबाट चेला बनाउने काममा लागिरहन बल पाउँछौँ। हामी प्रेषित पावलजस्तै महसुस गर्छौँ। तिनले यसो भने: “जसले मलाई शक्‍ति दिनुहुन्छ, उहाँद्वारै म सबै कुरा गर्ने बल पाउँछु।” (फिलि. ४:१३) घरघरको प्रचारकार्यको लागि मण्डलीले मिलाएको प्रबन्धमा सक्दो भाग लिनुहोस्‌। अरूसँगै प्रचारमा जाँदा तपाईँले प्रोत्साहन र मदत पाउनुहुनेछ। जस्तोसुकै चुनौती आए तापनि त्यसको सामना गर्न यहोवालाई प्रार्थना गर्नुहोस्‌ र जोडतोडले सुसमाचार प्रचार गर्नुहोस्‌।—१ युह. ५:१४.

८ अरूलाई सुसमाचार सुनाउँदा तपाईँले आफ्नो “आशाको कारणबारे” बताउने मौका पाउनुहुनेछ। (१ पत्रु. ३:१५) परमेश्‍वरको राज्यको आशा भएका र नभएका मानिसहरूबीच कस्तो भिन्‍नता छ भनेर तपाईँले अझ स्पष्टसित बुझ्नुहुनेछ। (यसै. ६५:१३, १४) येसुले चेलाहरूलाई “मानिसहरूसामु तिमीहरूको ज्योति चम्कोस्‌” भन्‍ने आज्ञा दिनुभएको थियो। प्रचारकार्यमा भाग लिएर येसुको यो आज्ञा पालन गरिरहेको छु भनेर महसुस गर्दा तपाईँले सन्तुष्टि पाउनुहुनेछ। साथै प्रचारकार्यमा भाग लिँदा तपाईँले यहोवालाई चिन्‍न अरूलाई मदत गर्ने र अनन्त जीवनतर्फ डोऱ्‍याउने बाइबलको सत्यबारे सिकाउने सुअवसर पनि पाउनुहुनेछ।—मत्ति ५:१६; युह. १७:३; १ तिमो. ४:१६.

९ घरघरको प्रचारकार्यको लागि सप्ताहन्त र हप्ताको अरू दिनमा प्रबन्ध मिलाइएको हुन्छ। मानिसहरूलाई बिहान अथवा दिउँसो घरमा भेट्‌न नसकिने इलाकाहरूमा केही मण्डलीले साँझपख प्रचार गर्ने प्रबन्ध मिलाउँछन्‌। मानिसहरू बिहानभन्दा साँझपख कुरा गर्न अझ धेरै इच्छुक हुन सक्छन्‌।

योग्य व्यक्‍तिहरू खोज्नुहोस्‌

१० येसुले आफ्ना चेलाहरूलाई योग्य व्यक्‍तिहरू “खोज” भनेर निर्देशन दिनुभएको थियो। (मत्ति १०:११) उहाँले योग्य व्यक्‍तिहरूलाई घरघरमा गएर मात्र खोज्नुभएन। उहाँले औपचारिक रूपमा होस्‌ वा अनौपचारिक रूपमा, मौका पाउनेबित्तिकै साक्षी दिनुभयो। (लुका ८:१; युह. ४:७-१५) प्रेषितहरूले पनि विभिन्‍न ठाउँमा मानिसहरूलाई साक्षी दिए।—प्रेषि. १७:१७; २८:१६, २३, ३०, ३१.

हाम्रो लक्ष्य सम्भव भएसम्म हरेक व्यक्‍तिलाई राज्यको सन्देश सुनाउनु हो

११ त्यसैगरि हाम्रो लक्ष्य पनि सम्भव भएसम्म हरेक व्यक्‍तिलाई राज्यको सन्देश सुनाउनु हो। यसको लागि हामीले येसु र उहाँका चेलाहरूले प्रचार गर्न चलाउनुभएको तरिका अनुकरण गर्नुपर्छ। साथै बद्‌लिँदो समय अनि मानिसहरूको परिस्थितिलाई विचार गर्दै प्रचार गर्ने आफ्नो तरिकामा छाँटकाँट गर्नुपर्छ। (१ कोरि. ७:३१) जस्तै, थुप्रै प्रकाशकले व्यापारिक इलाकामा प्रचार गरेर राम्रो नतिजा हासिल गरेका छन्‌। थुप्रै देशमा सडक साक्षीकार्य र पार्क, पार्किङ्‌ स्थललगायत मानिसहरू भेटिने जुनसुकै ठाउँमा प्रचार गर्नु प्रभावकारी साबित भएको छ। केही मण्डलीले आफ्नो इलाकामा टेबुल वा ट्रली राखेर सार्वजनिक साक्षीकार्य गरेका छन्‌। यसबाहेक शाखा कार्यालयले धेरै मानिस आवत्‌जावत्‌ गर्ने सहरमा विशेष महानगरीय सार्वजनिक साक्षीकार्यको प्रबन्ध गर्न सक्छ। यसको लागि शाखा कार्यालयले विभिन्‍न मण्डलीका प्रकाशकहरूलाई छान्‍न सक्छ। यसरी विभिन्‍न तरिकामा साक्षी दिँदा घरमा नभेटिने मानिसहरूले पनि सुसमाचार सुन्‍ने मौका पाउन सक्छन्‌।

१२ सार्वजनिक ठाउँहरूमा बाइबलको सन्देशप्रति चासो देखाउने मानिसहरूलाई भेट्‌दा हामी तिनीहरूलाई उपयुक्‍त प्रकाशन प्रस्तुत गर्न सक्छौँ। इच्छुक व्यक्‍तिको चासोलाई कायम राख्न तपाईँ तिनलाई आफ्नो सम्पर्क जानकारी दिन सक्नुहुन्छ र पुनःभेटको लागि प्रबन्ध मिलाउन सक्नुहुन्छ। तिनलाई jw.org बारे बताउन सक्नुहुन्छ। साथै नजिकैको सभाभवनको ठेगाना पनि दिन सक्नुहुन्छ। सेवाको कामलाई विस्तार गर्ने एउटा राम्रो तरिका सार्वजनिक साक्षीकार्य पनि हो भनेर तपाईँ आफैले अनुभव गर्न सक्नुहुन्छ।

१३ तर आज ख्रिष्टियनहरूले गर्नुपर्ने काम भनेको मानिसहरूलाई सुसमाचार सुनाउनु मात्र होइन। जीवनतर्फ डोऱ्‍याउने सत्य अँगाल्न अरूलाई मदत दिन चाहन्छौँ भने हामीले चासो देखाउने व्यक्‍तिहरूलाई बारम्बार भेट्‌नु पनि आवश्‍यक छ। यसो गऱ्‍यौँ भने तिनीहरूले परिपक्व ख्रिष्टियन बन्‍नको लागि उन्‍नति गर्दै जान सक्नेछन्‌।

पुनःभेट

१४ येसुले आफ्ना अनुयायीहरूलाई यसो भन्‍नुभयो: “पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा तिमीहरूले मेरो साक्षी दिनेछौ।” (प्रेषि. १:८) तर उहाँले तिनीहरूलाई यसो पनि भन्‍नुभयो: “त्यसैले जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ; . . . मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा तिनीहरूलाई पालन गर्न सिकाओ।” (मत्ति २८:१९, २०) पुनःभेट गर्नु यहोवाको सेवाको एउटा रमाइलो पक्ष हो। पहिलो भेटमा चासो देखाउने व्यक्‍तिहरूलाई फेरि भेट्‌न गयौँ भने तिनीहरू खुसी हुन सक्छन्‌। पुनःभेटमा तिनीहरूलाई बाइबलबाट थप जानकारी दिएर तपाईँले परमेश्‍वरप्रति तिनीहरूको विश्‍वास बलियो बनाउन र तिनीहरूलाई आफ्नो आध्यात्मिक आवश्‍यकताबारे सचेत हुन पनि मदत दिन सक्नुहुन्छ। (मत्ति ५:३) पुनःभेटको लागि राम्ररी तयारी गर्नुभयो र तिनीहरूलाई मिल्ने समयमा भेट्‌ने प्रबन्ध मिलाउनुभयो भने तपाईँ बाइबल अध्ययन सुरु गर्न सफल पनि हुन सक्नुहुन्छ। पुनःभेट गर्नुको उद्देश्‍य बाइबल अध्ययन सुरु गर्नु हो। हामी सत्यको बिउ रोप्ने मात्र गर्दैनौँ तर त्यसमा पानी पनि हाल्छौँ।—१ कोरि. ३:६.

१५ कसै-कसैलाई पुनःभेट गर्न गाह्रो लाग्न सक्छ। तपाईँलाई नि? सायद घरघरको प्रचारमा छोटो प्रस्तुति चलाएर सुसमाचार सुनाउन तपाईँ सिपालु भइसक्नुभयो र सेवाको कामको यो पक्ष तपाईँलाई रमाइलो पनि लाग्छ होला। तर पुनःभेटमा घरधनीसित बाइबलबाट छलफल गर्नुपर्छ भनेर सोच्दासमेत तपाईँलाई अत्यास लाग्न सक्छ। तर राम्रो तयारी गर्नुभएको छ भने तपाईँ अझ विश्‍वस्त हुन सक्नुहुनेछ। मध्यहप्ताको सभामा दिइने व्यावहारिक सल्लाहहरूको सदुपयोग गर्नुहोस्‌। साथै अनुभवी प्रकाशकहरूलाई तपाईँसँगै जान आग्रह पनि गर्न सक्नुहुन्छ।

गृह बाइबल अध्ययन

१६ धर्म परिवर्तन गरेर यहुदी बनेका एक जना व्यक्‍ति परमेश्‍वरको वचन पढिरहेका थिए। प्रचारक फिलिपले उनलाई सोधे: “के तपाईँले आफूले पढिरहेको कुरा साँच्चै बुझिरहनुभएको छ?” ती व्यक्‍तिले यस्तो जवाफ दिए: “कसैले नबुझाईकन म कसरी बुझ्न सक्छु र?” त्यसपछि फिलिपले उक्‍त व्यक्‍तिले धर्मशास्त्रको जुन भाग पढिरहेका थिए, त्यसै भागबाट कुराकानी सुरु गरेर “येसुको सुसमाचार उनलाई सुनाए।” (प्रेषि. ८:२६-३६) फिलिपले ती व्यक्‍तिसित कति लामो समय कुरा गरे, त्यो त हामीलाई थाह छैन। तर तिनले सुसमाचार राम्ररी बुझाए भनेर हामी पक्का हुन सक्छौँ किनभने उक्‍त व्यक्‍तिले येसुमा विश्‍वास गरे र बप्तिस्मा गराइदिन फिलिपलाई अनुरोध गरे। ती व्यक्‍ति येसु ख्रिष्टको चेला बने।

१७ आज थुप्रै मानिससित बाइबलको ज्ञान छैन। त्यसैले तिनीहरूले बाइबलको कुरामा विश्‍वास गर्नुअघि र बप्तिस्माको लागि योग्य हुनुअघि तिनीहरूलाई थुप्रै पटक पुनःभेट गर्नुपर्ने हुन सक्छ। तिनीहरूलाई हप्तौँ, महिनौँ, एक वर्ष वा त्योभन्दा धेरै समय लगाएर विस्तृत रूपमा बाइबल अध्ययन गराउनुपर्ने हुन सक्छ। तर धीरजी र मायालु भई निष्कपट व्यक्‍तिहरूलाई चेला बन्‍न मदत गर्नुहुँदा तपाईँले इनाम पाउनुहुनेछ, जसबारे येसुले यसो भन्‍नुभयो: “लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ।”—प्रेषि. २०:३५.

१८ तपाईँले पक्कै पनि बाइबल अध्ययन सञ्चालन गर्दा त्यही उद्देश्‍यको लागि भनेर तयार पारिएका प्रकाशनहरू चलाउनुहुनेछ। मध्यहप्ताको सभामा दिइएका निर्देशनहरू लागू गरेर र मण्डलीका अनुभवी प्रकाशकहरूको मदत लिएर तपाईँ प्रभावकारी तरिकामा बाइबल अध्ययन सञ्चालन गर्न र अरूलाई येसुको चेला बन्‍न मदत दिन सक्नुहुनेछ।

१९ बाइबल अध्ययन सुरु गर्न र सञ्चालन गर्न तपाईँलाई मदत चाहिएको छ भने मण्डलीको कुनै एल्डरसित वा बाइबल अध्ययन गराउन सिपालु साक्षीसित मदत माग्न नहिचकिचाउनुहोस्‌। जीवन र सेवा अभ्यास पुस्तिका-मा दिइने सुझावहरू र यस सभामा देखाइने प्रस्तुतिहरूबाट पनि तपाईँले धेरै कुरा सिक्न सक्नुहुन्छ। यहोवा परमेश्‍वरमा भर पर्नुहोस्‌ र बाइबल अध्ययन सञ्चालन गर्ने तपाईँको इच्छा प्रार्थनामा राख्नुहोस्‌। (१ युह. ३:२२) सम्भव भएसम्म आफ्नो परिवारको सदस्यबाहेक कम्तीमा अर्को एक जना व्यक्‍तिसित बाइबल अध्ययन गर्ने लक्ष्य राख्नुहोस्‌। बाइबल अध्ययन सञ्चालन गर्दा प्रचारकार्यमा अझ धेरै आनन्दित हुन सक्नुहुनेछ।

जिज्ञासु व्यक्‍तिहरूलाई यहोवाको सङ्‌गठनतर्फ डोऱ्‍याउनुहोस्‌

२० मानिसहरूलाई यहोवालाई चिन्‍न र येसु ख्रिष्टको चेला बन्‍न मदत दिँदा तिनीहरू मण्डलीको भाग बन्छन्‌। बाइबल विद्यार्थीहरूले आध्यात्मिक उन्‍नति गर्न र परिपक्व हुँदै जान यहोवाको सङ्‌गठनलाई चिन्‍नुपर्छ र यस सङ्‌गठनसित मिलेर काम गर्नुपर्छ। त्यसो कसरी गर्न सकिन्छ भनेर तिनीहरूलाई सिकाउनु महत्त्वपूर्ण छ। यसै उद्देश्‍यले विभिन्‍न भिडियो र आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌? पुस्तिका तयार पारिएको छ। यस सन्दर्भमा यस किताबको अध्याय ४ मा भएका केही जानकारी पनि मदतकारी हुन सक्छ।

२१ यहोवाले प्रचारको काम पूरा गर्न एउटा सङ्‌गठन चलाइरहनुभएको छ भनेर बुझ्न बाइबलबाट छलफल गर्न थालेदेखि नै विद्यार्थीलाई मदत गर्नुहोस्‌। बाइबल अध्ययन गर्न हामीले चलाउने प्रकाशनहरूको महत्त्वबारे बताउनुहोस्‌। यहोवामा समर्पित स्वयंसेवकहरूले ती प्रकाशनहरू कसरी प्रकाशित गर्छन्‌ र संसारभरि वितरण गर्छन्‌, त्यो पनि बताउनुहोस्‌। तिनलाई तपाईँसँगै सभामा आउन निम्तो दिनुहोस्‌। सभाहरू कसरी सञ्चालन गरिन्छ भनेर बताउनुहोस्‌। अनि सभामा दाजुभाइ दिदीबहिनीसित तिनको परिचय गराउनुहोस्‌। तिनलाई अधिवेशन र सम्मेलनहरूमा पनि अरू साक्षीहरूसित चिनजान गराउनुहोस्‌। यी तथा अन्य अवसरहरूमा यहोवाका सेवकहरू साँचो ख्रिष्टियनको चिनारी अर्थात्‌ प्रेम कसरी देखाउँछन्‌, त्यो तिनी आफैले हेर्ने मौका पाउनेछन्‌। (युह. १३:३५) चासो देखाउने व्यक्‍तिले यहोवाको सङ्‌गठनलाई जति धेरै कदर गर्न सिक्छन्‌, त्यति नै उहाँसित नजिक हुन सक्नेछन्‌।

बाइबलमा आधारित प्रकाशनहरू प्रयोग गर्नुहोस्‌

२२ प्रथम शताब्दीका ख्रिष्टियनहरू परमेश्‍वरको वचनका जोसिला प्रचारकहरू थिए। तिनीहरूले व्यक्‍तिगत प्रयोगको लागि र मण्डलीमा चलाउन धर्मशास्त्रका प्रतिलिपिहरू बनाए। अनि अरूलाई परमेश्‍वरको सत्य वचन पढ्‌न प्रोत्साहन दिए। तिनीहरूसित थोरै हस्तलिखित प्रतिलिपिहरू थियो। तिनीहरू त्यसलाई एकदमै जतन गरेर राख्थे। (कल. ४:१६; २ तिमो. २:१५; ३:१४-१७; ४:१३; १ पत्रु. १:१) आज यहोवाका साक्षीहरू अत्याधुनिक छपाइ मेसिनहरू प्रयोग गर्दै सयौँ भाषामा लाखौँ थान बाइबल र करोडौँ थान बाइबलमा आधारित पर्चा, पुस्तिका, किताब तथा पत्रिका प्रकाशित गर्छन्‌।

२३ सुसमाचार प्रचार गर्दा यहोवाको सङ्‌गठनले तयार पारेको बाइबलमा आधारित प्रकाशनहरू चलाउनुहोस्‌। यहोवाका साक्षीहरूद्वारा प्रकाशित प्रकाशनहरू पढेर अनि अध्ययन गरेर तपाईँ आफैले कत्ति लाभ उठाउनुभएको छ, विचार गर्नुहोस्‌। यसो गर्दा आफूले सिकेको कुरा अरूलाई बताउन तपाईँ उत्प्रेरित हुनुहुनेछ।—हिब्रू १३:१५, १६.

२४ आजभोलि जानकारी हासिल गर्न इन्टरनेट चलाउनेहरूको सङ्‌ख्या दिनानुदिन बढ्‌दै छ। त्यसैले बाइबलमा आधारित प्रकाशनहरूको अलावा हाम्रो आधिकारिक वेबसाइट jw.org सुसमाचार फैलाउने एउटा प्रभावकारी माध्यम साबित भएको छ। यस वेबसाइटमा संसारभरिका मानिसहरूले सयौँ भाषामा उपलब्ध बाइबल र बाइबलमा आधारित प्रकाशनहरू पढ्‌न वा त्यसको अडियो रेकर्डिङ सुन्‍न सक्छन्‌। हामीसित कुराकानी गर्न अप्ठ्यारो मान्‍ने वा यहोवाका साक्षीहरूसित सजिलै नभेटिने ठाउँमा बस्ने व्यक्‍तिहरूले आफ्नै घरमा बसेर jw.org मार्फत हाम्रो विश्‍वासबारे थाह पाउन सक्छन्‌।

२५ त्यसैले हामी मौका पाउनेबित्तिकै मानिसहरूलाई jw.org बारे बताउँछौँ। घरधनीले हाम्रो विश्‍वासबारे कुनै प्रश्‍न सोधेमा मोबाइल, ट्याब्लेट वा कम्प्युटरबाट तुरुन्तै जवाफ दिन सक्छौँ। अर्कै भाषा बोल्ने व्यक्‍ति अथवा साङ्‌केतिक भाषा बोल्ने कोही भेट्यौँ भने हाम्रो वेबसाइटबाट तिनकै भाषामा बाइबल र बाइबलमा आधारित प्रकाशन देखाउन सक्छौँ। थुप्रै प्रकाशकले हाम्रो वेबसाइटमा भएका भिडियोहरू चलाएर मानिसहरूसित कुराकानी सुरु गर्न सकेका छन्‌।

अनौपचारिक साक्षी

२६ येसुले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “तिमीहरू संसारका ज्योति हौ। . . . मानिसहरूसामु तिमीहरूको ज्योति चम्कोस्‌ र तिमीहरूको सुकर्म देखेर तिनीहरूले स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाको महिमा गरून्‌।” (मत्ति ५:१४-१६) ती चेलाहरूले येसुको अनुकरण गरेर परमेश्‍वरको स्तरअनुसार चलेको देखाए। येसुले “म संसारको ज्योति हुँ” भन्‍नुभयो। “जीवनको ज्योति” चम्काउने सन्दर्भमा उहाँले ख्रिष्टियनहरूको लागि राम्रो उदाहरण बसाल्नुभयो। सुसमाचार सुन्‍ने सबैले यो ज्योतिबाट लाभ उठाउन सक्छन्‌।—युह. ८:१२.

२७ त्यसैगरि प्रेषित पावलले पनि हाम्रो निम्ति राम्रो उदाहरण बसाले। (१ कोरि. ४:१६; ११:१) एथेन्समा छँदा तिनी हरेक दिन बजारमा ज-जसलाई भेटिन्छ, उनीहरूलाई साक्षी दिन्थे। (प्रेषि. १७:१७) फिलिप्पिका ख्रिष्टियनहरूले तिनको उदाहरण अनुकरण गरे। त्यसैले पावलले तिनीहरू “टेढो र बेइमान पुस्ताबीच” बाँचिरहेका छन्‌, ‘जुन पुस्तामाझ तिनीहरू यस संसारमा ज्योतिझैँ चम्किरहेका छन्‌’ भनेर तिनीहरूको प्रशंसा गरे। (फिलि. २:१५) आज हामी पनि आफ्नो बोली र कामबाट परमेश्‍वरको राज्यको सुसमाचारलाई ज्योतिझैँ चम्काउँछौँ। त्यसैले हामी मौका पाउनासाथ मानिसहरूलाई सुसमाचार सुनाउँछौँ। हुनत हामी संसारका मानिसहरूभन्दा फरक छौँ भनेर अरूले हाम्रो इमानदारी र असल बानीबेहोराबाटै थाह पाउन सक्छन्‌। तर यदि हामीले तिनीहरूलाई सुसमाचार सुनायौँ भने तिनीहरूले हामी फरक हुनुको खास कारण के हो भनेर थाह पाउनेछन्‌।

२८ थुप्रै यहोवाका साक्षीहरू काम गर्ने ठाउँ, स्कुल र सार्वजनिक यातायातमा भेटिने मानिसहरूलाई सुसमाचार सुनाउँछन्‌। साथै दिनहुँ भेटिने मानिसहरूलाई पनि साक्षी दिन्छन्‌। हामी कतै जाँदै छौँ भने सँगै यात्रा गरिरहेको व्यक्‍तिसित कुरा गर्ने मौका पाउँछौँ। मानिसहरूसित सामान्य कुराकानी गर्दा साक्षी दिने मौकाप्रति हामी सजग हुनुपर्छ। त्यसैले साक्षी दिन सधैँ तयार रहौँ।

२९ सुसमाचार सुनाउँदा हामीले हाम्रो सृष्टिकर्ताको महिमा गरिरहेका हुन्छौँ र उहाँको नामको आदर गरिरहेका हुन्छौँ। यो कुरा मनमा राखेका छौँ भने मौका पाउनेबित्तिकै साक्षी दिन जुरमुरिनेछौँ। साथै अनौपचारिक साक्षी दिँदा हामी निष्कपट मानिसहरूलाई यहोवाबारे सिक्न मदत गर्न सक्छौँ। यसरी तिनीहरूले पनि उहाँको सेवा गर्न सक्नेछन्‌ र येसु ख्रिष्टमा विश्‍वास गरेर अनन्त जीवनको आशा पाउन सक्नेछन्‌। हाम्रो यस्तो प्रयास देख्दा यहोवालाई खुसी लाग्छ र उहाँ यस्तो सेवालाई पवित्र ठान्‍नुहुन्छ।—हिब्रू १२:२८; प्रका. ७:९, १०.

इलाका

३० सहर-सहर अनि गाउँ-गाउँलगायत संसारको सबै ठाउँमा राज्यको सुसमाचार प्रचार होस्‌ भन्‍ने यहोवा चाहनुहुन्छ। त्यसैले मण्डलीहरूलाई र पृथक्‌ ठाउँहरूमा सेवा गर्ने व्यक्‍तिविशेषलाई शाखा कार्यालयले इलाकाहरू छुट्ट्याइदिएको हुन्छ। (१ कोरि. १४:४०) प्रथम शताब्दीमा पनि यहोवाको निर्देशनअनुसार यसरी नै प्रचार गर्ने इलाका छुट्ट्याइन्थ्यो। (२ कोरि. १०:१३; गला. २:९) यस अन्तको दिनमा प्रचारको काम द्रुत गतिले अघि बढिरहेको छ। त्यसैले इलाकाहरू व्यवस्थित ढङ्‌गमा छुट्ट्याइएको छ भने अझ राम्रा नतिजाहरू प्राप्त गर्न सकिन्छ।

३१ इलाकाहरू व्यवस्थित गर्ने काम सेवा निरीक्षकले गर्छन्‌। एक जना सहायक सेवकले इलाका बाँड्‌ने काम गर्न सक्छन्‌। इलाका दुई किसिमको हुन्छ: समूहको इलाका अनि व्यक्‍तिगत इलाका। मण्डलीको इलाका सानो छ भने हरेक प्रकाशकलाई छुट्टाछुट्टै इलाका दिनुको साटो क्षेत्र सेवा समूहका निरीक्षकहरूलाई इलाका दिन सकिन्छ। अनि समूहका सबै प्रकाशकले त्यस इलाकामा प्रचार गर्नेछन्‌। तर इलाका ठूलो छ भने प्रकाशकहरूलाई व्यक्‍तिगत इलाका दिन सकिन्छ।

३२ व्यक्‍तिगत इलाका लिएका छौँ भने क्षेत्र सेवाको लागि सभा नभएको बेला वा भेलामा जान नसकेको अवस्थामा उक्‍त इलाकामा प्रचार गर्न सकिन्छ। उदाहरणको लागि, केही प्रकाशकले आफ्नो काम गर्ने ठाउँनजिकै इलाका लिएका छन्‌। तिनीहरू खाजा खाने समयमा वा काम सिद्धिएपछि त्यस इलाकामा प्रचार गर्छन्‌। केही परिवारले आफ्नो घरनजिकै इलाका लिएका छन्‌ र तिनीहरू त्यहाँ साँझपख प्रचार गर्छन्‌। यसरी आफूलाई नजिकै पर्ने इलाका लिएका छौँ भने आफूले प्रचारकार्यमा बिताउने समयको अझ सदुपयोग गर्न सक्नेछौँ। व्यक्‍तिगत इलाका क्षेत्र सेवा समूहसँगै मिलेर प्रचार गर्न पनि प्रयोग गर्न सकिन्छ। तपाईँ व्यक्‍तिगत इलाका लिन चाहनुहुन्छ भने इलाका सेवकसित कुरा गर्नुहोस्‌।

३३ समूहको इलाका लिएका समूह निरीक्षक होऊन्‌ वा व्यक्‍तिगत इलाका लिएका प्रकाशक, सबैले आफ्नो इलाकाको प्रत्येक घरमा कम्तीमा एक जनालाई साक्षी दिने कोसिस गर्नुपर्छ। इलाका ढाक्ने प्रबन्ध मिलाउँदा जानकारीको सुरक्षासम्बन्धी नियमकानुनलाई पनि विचार गर्नुपर्छ। समूह निरीक्षक तथा प्रकाशकहरूले आफूले लिएको इलाका चार महिनाभित्र ढाक्ने लक्ष्य राख्नुपर्छ। इलाका ढाकेपछि इलाका सेवकलाई खबर गर्नुपर्छ। त्यसपछि समूह निरीक्षक वा प्रकाशकले त्यही इलाकामा फेरि प्रचार गर्न उक्‍त इलाकाको कार्ड आफूसँगै राख्ने अथवा इलाका सेवकलाई फिर्ता दिने निर्णय गर्न सक्छन्‌।

३४ मण्डलीका सबै यस प्रबन्धअनुसार चले भने इलाकालाई विस्तृत रूपमा ढाक्न सकिन्छ। यस प्रबन्धअनुसार नचल्दा एउटै समयमा अनि एउटै घरमा बेग्लाबेग्लै साक्षीहरू एकपछि अर्को गर्दै प्रचार गर्न पुग्न सक्छन्‌। यसले गर्दा घरधनी हामीदेखि रिसाउन सक्छन्‌। त्यसैले यस प्रबन्धअनुसार चल्यौँ भने हामीले इलाकाका मानिसहरूको र मण्डलीका दाजुभाइ दिदीबहिनीको ख्याल गरिरहेका हुन्छौँ।

सबै भाषाका मानिसलाई साक्षी दिन मिलेर काम गर्नुहोस्‌

३५ यहोवा परमेश्‍वर, उहाँको छोरा अनि उहाँको राज्यको विषयमा सबैले सिक्नु आवश्‍यक छ। (प्रका. १४:६, ७) सबै भाषाका मानिसले यहोवाको नाम पुकारेर उद्धार पाऊन्‌ अनि ख्रिष्टियन व्यक्‍तित्व धारण गरून्‌ भन्‍ने हामी चाहन्छौँ। (रोमी १०:१२, १३; कल. ३:१०, ११) भिन्‍नाभिन्‍नै भाषा बोल्ने मानिसहरू भएको इलाकामा राज्यको सुसमाचार प्रचार गर्दा कस्ता चुनौतीहरू आइपर्छन्‌? सकेसम्म धेरै मानिसलाई तिनीहरूकै भाषामा परमेश्‍वरको राज्यको सन्देश सुनाउन हामी कसरी ती चुनौतीहरूको सामना गर्न सक्छौँ?—रोमी १०:१४.

३६ मण्डलीको इलाका भाषाअनुसार छुट्ट्याइएको हुन्छ। त्यसैले भिन्‍नाभिन्‍नै भाषा बोल्ने मानिसहरू भएको इलाकामा विभिन्‍न मण्डलीले प्रचार गर्छन्‌। यस्तो अवस्थामा प्रत्येक मण्डलीका प्रकाशकहरूले आफ्नै भाषा बोल्ने मानिसहरूलाई साक्षी दिने काममा ध्यान दिनु बेस हुन्छ। प्रत्येक वर्ष निम्तोपर्ची बाँड्‌ने अभियानहरूमा भाग लिँदा पनि यो कुरा लागू हुन्छ। तर सार्वजनिक साक्षीकार्यमा भाग लिँदा वा अनौपचारिक साक्षी दिँदा भने प्रकाशकहरूले जुनसुकै भाषा बोल्ने मानिसहरूलाई प्रचार गर्न सक्छन्‌ र जुनसुकै भाषाका प्रकाशनहरू दिन सक्छन्‌।

३७ कहिलेकाहीँ बेग्लै भाषाको मण्डलीले टाढा पर्ने इलाका नियमित रूपमा ढाक्न सक्दैन। यस्तो अवस्थामा एउटै इलाकामा प्रचार गरिरहेका विभिन्‍न मण्डलीका सेवा निरीक्षकहरूले इलाका कसरी ढाक्ने भनेर राम्ररी सल्लाह गर्नुपर्छ। यसरी व्यवस्थित रूपमा प्रचार गर्दा सबैले राज्यको सन्देश सुन्‍ने मौका पाउनेछन्‌। तर यसो गरेनौँ भने एउटै समयमा अनि एउटै घरमा बेग्लाबेग्लै साक्षीहरू एकपछि अर्को गर्दै प्रचार गर्न पुग्न सक्छन्‌।—हितो. १५:२२.

३८ प्रचारकार्यमा बेग्लै भाषा बोल्ने व्यक्‍तिलाई भेट्यौँ भने हामीले के गर्नुपर्छ? तिनको भाषा बोल्ने प्रकाशकहरूले तिनलाई प्रचार गरिहाल्छन्‌ नि भनेर सोच्नु हुँदैन। केही प्रकाशकले इलाकामा बारम्बार भेटिने बेग्लै भाषाका मानिसहरूलाई प्रचार गर्न उक्‍त भाषाको छोटो प्रस्तुति सिकेका छन्‌। तिनलाई हाम्रो आधिकारिक वेबसाइट jw.org मा कसरी तिनकै भाषाका प्रकाशनहरू पढ्‌न वा डाउनलोड गर्न सकिन्छ भनेर पनि देखाउन सक्छौँ। अथवा अर्को पटक तिनकै भाषामा कुनै प्रकाशन ल्याइदिन्छु भन्‍न सक्छौँ।

३९ ती व्यक्‍तिले साँच्चै चासो देखाएमा हामीले तिनको भाषा बुझ्ने र तिनलाई मदत गर्न सक्ने प्रकाशक खोज्नुपर्छ। तिनको भाषामा कहाँ सभा हुन्छ भनेर पनि तिनलाई बताउन सक्छौँ। यदि तिनी आफ्नो भाषा बोल्ने व्यक्‍तिसित बाइबलको कुरा सिक्न चाहन्छन्‌ भने jw.org मा कसरी आफ्नो ठेगाना भर्ने भनेर तिनलाई सिकाउन सक्छौँ। त्यसपछि शाखा कार्यालयले त्यस व्यक्‍तिलाई थप मदत गर्न तिनी बस्ने ठाउँ नजिकैको प्रकाशक, समूह वा मण्डलीलाई खोज्नेछ।

४० ती व्यक्‍तिको भाषा बोल्ने प्रकाशक नभेटिएसम्म हामी तिनलाई भेट्‌न गइरहनुपर्छ। कहिलेकाहीँ शाखा कार्यालयले एल्डरहरूलाई तिनको भाषा बोल्ने कोही प्रकाशक भेटिएन भनेर खबर गर्न सक्छ। यस्तो अवस्थामा हामीले नै तिनलाई मदत गर्न सक्दो गर्नुपर्छ। सम्भव छ भने हामी तिनको भाषामा भएको प्रकाशन चलाएर तिनीसित बाइबल अध्ययन गर्न सक्छौँ। चित्रहरू देखाउँदै कुरा गऱ्‍यौँ र बाइबल पदहरू तिनलाई नै पढ्‌न दियौँ भने तिनले बाइबलका आधारभूत शिक्षाहरू थोरै भए पनि बुझ्नेछन्‌। अथवा तिनको भाषा र हाम्रो भाषा दुवै जान्‍ने कोही व्यक्‍ति तिनको परिवारमा छन्‌ भने उनलाई दोभाषेको काम गरिदिन अनुरोध गर्न सक्छौँ।

४१ चासो देखाउने व्यक्‍तिलाई परमेश्‍वरको सङ्‌गठनतर्फ डोऱ्‍याउन तिनलाई सभाहरूमा आउन निम्तो दिनुपर्छ। हुनत तिनले सभामा हुने सम्पूर्ण कार्यक्रम राम्ररी बुझ्न सक्दैनन्‌ होला। तर सभाबाट केही न केही लाभ भने उठाउन सक्छन्‌। सभामा कुनै बाइबल पद पढिँदा तिनलाई बाइबलमा त्यो पद भेट्टाउन मदत गर्न सक्छौँ। उपलब्ध छ भने तिनकै भाषाको बाइबल चलाउनु बेस हो। सभामा अरूसित सङ्‌गत गर्दा तिनले प्रोत्साहन पाउनेछन्‌। अनि यसले तिनलाई आध्यात्मिक रूपमा उन्‍नति गर्न मदत गर्नेछ।

४२ पूर्व-समूहहरू: पूर्व-समूह भनेको मण्डलीको भाषाभन्दा फरक भाषामा प्रचार गर्ने प्रकाशकहरूको समूह हो, जसमा नियमित रूपमा सभा सञ्चालन गर्नको लागि कुनै एल्डर वा सहायक सेवक हुँदैनन्‌। निम्न आवश्‍यकताहरू पूरा गरेको छ भने शाखा कार्यालयले कुनै मण्डलीलाई पूर्व-समूहको रेखदेख गर्ने मण्डलीको रूपमा मान्यता दिन सक्छ:

  1. (१) त्यस इलाकामा मण्डलीको भाषाभन्दा फरक भाषा बोल्ने मानिसहरूको सङ्‌ख्या धेरै छ।

  2. (२) थोरै प्रकाशकलाई भए पनि त्यो भाषा बोल्न आउँछ वा त्यो भाषा सिक्न इच्छुक छन्‌।

  3. (३) एल्डरहरूको निकाय त्यो भाषामा प्रचार गर्ने काममा अगुवाइ लिन इच्छुक छ।

पूर्व-समूह सुरु गर्न एल्डरहरूको निकाय इच्छुक छ भने तिनीहरूले क्षेत्रीय निरीक्षकसित सल्लाह गर्नुपर्छ। अरू मण्डलीहरूले पनि उक्‍त भाषामा प्रचार गर्न कोसिस गरिरहेको कुरा तिनलाई थाह हुन सक्छ। अनि तिनले कुनचाहिँ मण्डलीले उक्‍त भाषामा पूर्व-समूह सुरु गर्दा सबैभन्दा बेस हुन्छ भनेर महत्त्वपूर्ण जानकारी दिन सक्छन्‌। कुन मण्डलीले पूर्व-समूह सुरु गर्ने भनेर पक्का भएपछि त्यस मण्डलीका एल्डरहरूले शाखा कार्यालयलाई पत्र पठाएर आधिकारिक रूपमा पूर्व-समूह भएको मण्डलीको रूपमा मान्यता दिन आग्रह गर्नेछन्‌।

४३ समूहहरू: निम्न आवश्‍यकताहरू पूरा गरेको छ भने शाखा कार्यालयले कुनै मण्डलीलाई समूहको रेखदेख गर्ने मण्डलीको रूपमा मान्यता दिन सक्छ:

  1. (१) चासो देखाउने मानिसहरू पर्याप्त मात्रामा छन्‌ र त्यस भाषाको क्षेत्रमा वृद्धि हुने सम्भावना छ।

  2. (२) केही प्रकाशकलाई त्यो भाषा आउँछ वा त्यो भाषा सिक्दै छन्‌।

  3. (३) नेतृत्व लिन सक्ने र कम्तीमा पनि हप्ताको एक चोटि त्यही भाषामा सभा सञ्चालन गर्न सक्ने वा सभाको कुनै भाग, जस्तै: जनभाषण वा प्रहरीधरहरा अध्ययन सञ्चालन गर्न सक्ने एल्डर वा सहायक सेवक उपलब्ध छन्‌।

यी आवश्‍यकताहरू सन्तोषजनक हदसम्म पूरा भएको छ भने त्यस मण्डलीको एल्डरहरूको निकायले विस्तृत विवरणसहित शाखा कार्यालयलाई पत्र पठाउँछ। अनि त्यस पत्रमा आफ्नो मण्डलीलाई समूहको रेखदेख गर्ने मण्डलीको रूपमा मान्यता दिन आग्रह गर्नेछ। समूहमा अगुवाइ लिइरहेका एल्डरलाई “समूह निरीक्षक” भनिन्छ। समूहमा सहायक सेवकले अगुवाइ लिइरहेका छन्‌ भने तिनलाई “समूह सेवक” भनिन्छ। तिनीहरूको जिम्मेवारी त्यस समूहको रेखदेख गर्नु हो।

४४ समूह सुरु भएपछि त्यस समूहको रेखदेख गर्ने मण्डलीको एल्डरहरूको निकायले सभाका अरू भाग पनि उक्‍त भाषामा सञ्चालन गर्ने या नगर्ने वा महिनामा कति पटक सभा सञ्चालन गर्ने भनेर निर्णय गर्न सक्छन्‌। त्यस समूहको लागि क्षेत्र सेवाको सभा पनि सञ्चालन गर्न सकिन्छ। समूहमा भएका सबै प्रकाशक त्यस समूहको रेखदेख गर्ने मण्डलीको एल्डरहरूको निकायको निरीक्षणमा हुन्छन्‌। एल्डरहरूले समूहलाई डोऱ्‍याउँछन्‌ र आवश्‍यक मदत दिन अग्रसर हुन्छन्‌। क्षेत्रीय निरीक्षकले त्यस मण्डलीमा भ्रमण गर्दा उक्‍त समूहका प्रकाशकहरूसित पनि प्रचारमा जानेछन्‌। अनि उक्‍त समूहको उन्‍नतिबारे र कुनै खास आवश्‍यकता छ भने त्यसबारे शाखा कार्यालयलाई छोटो रिपोर्ट पठाउनेछन्‌। पछि त्यो समूह मण्डली पनि बन्‍न सक्छ। सबैले सङ्‌गठनको निर्देशन पालन गरेमा यहोवा खुसी हुनुहुनेछ।—१ कोरि. १:१०; ३:५, ६.

दाजुभाइ दिदीबहिनीसँगै मिलेर प्रचारकार्यमा भाग लिनुहोस्‌

४५ अरूलाई सुसमाचार सुनाउनु प्रत्येक ख्रिष्टियनको कर्तव्य हो। हुनत अरूलाई सुसमाचार सुनाउने थुप्रै तरिका छन्‌ तर हामीमध्ये धेरैलाई दाजुभाइ दिदीबहिनीसँगै मिलेर प्रचारकार्यमा भाग लिन मन पर्छ। (लुका १०:१) त्यसैले मण्डलीमा हरेक सप्ताहन्त अनि हप्ताको अरू दिनहरूमा प्रचारको लागि भेला हुने प्रबन्ध गरिएको हुन्छ। छुट्टीको दिनमा अरूसँगै मिलेर प्रचारमा जाने राम्रो मौका पाउँछौँ। मण्डलीको सेवा समितिले प्रकाशकहरूलाई पायक पर्ने समय र स्थानमा क्षेत्र सेवाको सभाको प्रबन्ध मिलाउँछ।

४६ मण्डलीले प्रबन्ध गरेको भेलामा जाँदा हामीले अरू प्रकाशकसित मिलेर प्रचार गर्ने र ‘एकअर्कालाई प्रोत्साहन दिने’ मौका पाउँछौँ। (रोमी १:१२) नयाँ प्रकाशकहरूले सिपालु अनि अनुभवी प्रकाशकहरूसित प्रचार गर्ने मौका पाउँछन्‌। यसबाट तिनीहरूले राम्रो प्रशिक्षण पाउँछन्‌। कुनै-कुनै इलाका असुरक्षित हुने भएकोले दुई वा दुईभन्दा धेरै प्रकाशक मिलेर प्रचार गर्नु राम्रो हो। एक्लै प्रचारमा जाने योजना बनाउनुभएको छ भने पनि मण्डलीले प्रबन्ध गरेको भेलामा जानु बेस हुन्छ। यसो गर्नुभयो भने भेलामा आएका सबैले प्रोत्साहन पाउनेछन्‌। आफूले प्रचार गरिरहेको इलाकामा अरू दाजुभाइ दिदीबहिनी पनि सँगै छन्‌ भनेर थाह पाउँदा तपाईँले ढुक्क महसुस गर्नुहुनेछ। मण्डलीले हरेक दिन प्रचारको भेला राखेको छ भने अग्रगामीहरू र अरू प्रकाशकहरू ती सबै भेलामा जानै पर्छ भन्‍ने छैन। तर हरेक हप्ता कम्तीमा पनि केही भेलामा जानु राम्रो हो।

४७ हामी सबै येसु अनि उहाँका प्रेषितहरूले बसालेको नमुना अनुकरण गरौँ। राज्यको सुसमाचार प्रचार गर्ने यस्तो महत्त्वपूर्ण काममा पूरापूर भाग लिने हाम्रो प्रयासमा यहोवाले आशिष्‌ दिनुहुनेछ भनेर हामी ढुक्क छौँ।—लुका ९:५७-६२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने