ईश्वरतन्त्रसित घनिष्ठ हुनुहोस्
“परमप्रभु हाम्रा न्यायकर्त्ता हुनुहुन्छ। परमप्रभु हाम्रा शासक हुनुहुन्छ। परमप्रभु हाम्रा राजा हुनुहुन्छ।”—यशैया ३३:२२.
१. धेरैजसो मानिसको लागि सरकार किन चासोको विषय हो?
सबैलाई एकदम चासो लाग्ने विषय नै सरकार हो। असल सरकारले शान्ति र समृद्धि ल्याउँछ। बाइबल भन्छ: “राजाको न्यायसंगत शासनले राज्य स्थिर हुन्छ।” (हितोपदेश २९:४) अर्कोतर्फ, खराब सरकारले अन्याय, भ्रष्टाचार र शोषण फैलाउँछ। “दुष्टको हातमा अधिकार आउँदा [मानिसहरू] दुःखी हुन्छन्।” (हितोपदेश २९:२) इतिहासभरि मानिसहरूले थुप्रै प्रकारका सरकार चलाउने कोसिस गरेका छन्। तर दुःखको कुरा, शासकहरूको थिचोमिचोले गर्दा तिनीहरूले अक्सर सुस्केरा हालेका छन्। (उपदेशक ८:९) के आफ्ना नागरिकहरूलाई स्थायी सन्तुष्टि दिनसक्ने कुनै सरकार आउला?
२. पुरातन इस्राएलको सरकारलाई “ईश्वरतन्त्र” भन्नु किन सुहाउँछ?
२ इतिहासकार जोसेफसले अनुपम प्रकारको सरकारबारे उल्लेख गरे। तिनले लेखे: “कतिपय मानिसहरूले राजतन्त्रलाई, अरूले अल्पतन्त्रलाई अनि अन्य केहीले चाहिं जनताको हातमा सर्वोच्च राजनैतिक शक्ति सुम्पेका छन्। तथापि, हाम्रा कानुनदाता [मोशा] यी कुनै पनि राजनैतिक संरचनातिर तानिएनन् बरु तिनले आफ्नो संविधानलाई यस्तो रूप दिए जसलाई विस्तृत अर्थमा व्यक्त गर्नुपरेमा ‘ईश्वरतन्त्र’ भन्न सकिन्छ।” (अगेन्स्ट एपियन, २, १६४-५) कन्साइस अक्सफोर्ड डिक्शनरी-अनुसार ईश्वरतन्त्र भनेको “परमेश्वरको सरकार हो।” यो ईश्वरतन्त्र शब्द बाइबलमा देखिंदैन तर यसले पुरातन इस्राएलको सरकारको सही परिभाषा दिन्छ। इस्राएलीहरूले दृश्य राजा पाए तापनि तिनीहरूको वास्तविक शासक यहोवा हुनुहुन्थ्यो। इस्राएली भविष्यवक्ता यशैयाले भने: “परमप्रभु हाम्रा न्यायकर्त्ता हुनुहुन्छ। परमप्रभु हाम्रा शासक हुनुहुन्छ। परमप्रभु हाम्रा राजा हुनुहुन्छ।”—यशैया ३३:२२.
साँचो ईश्वरतन्त्र के हो?
३, ४. (क) साँचो ईश्वरतन्त्र के हो? (ख) अब चाँडै ईश्वरतन्त्रले सम्पूर्ण मानिसजातिलाई कुन आशिष्हरू दिनेछ?
३ जोसेफसले त्यो शब्द रचना गरेदेखि थुप्रै समुदायहरू आफूलाई ईश्वरतन्त्र भन्न थालेका छन्। तीमध्ये कतिपय सहिष्णुता नभएको, कट्टर र क्रूर अत्याचारी देखिए। के ती साँचो ईश्वरतन्त्र थिए? जोसेफसले जुन अर्थमा त्यो शब्द प्रयोग गरे, त्यसअनुसार त थिएनन्। समस्या के छ भने “ईश्वरतन्त्रको” अर्थ लम्ब्याइएको छ। द वर्ल्ड बूक इन्साइक्लोपीडिया-ले यसलाई “एक प्रकारको सरकार जसमा पूजाहारी वा पूजाहारीहरूले राज्य शासन गर्छन् अनि पूजाहारीगिरीका सदस्यहरूसित निजामति तथा धार्मिक अख्तियार हुन्छ” भनेर परिभाषित गर्छ। तथापि, साँचो ईश्वरतन्त्र भनेको पूजाहारीहरूको सरकार होइन। वास्तवमा, यो परमेश्वरको शासन अर्थात् ब्रह्माण्डका सृष्टिकर्ता यहोवा परमेश्वरको सरकार हो।
४ अब, चाँडै सम्पूर्ण पृथ्वी ईश्वरतन्त्रअन्तर्गत हुनेछ। अनि त्यो कस्तो आशिष् हुनेछ! “परमेश्वर आफै [मानिसहरूसँग] भएर . . . उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्।” (प्रकाश २१:३, ४) असिद्ध मानिसहरूद्वारा चलाइएको पूजाहारीहरूको शासनले यस्तो खुसी ल्याउन सकेन। परमेश्वरको शासनले मात्र ल्याउनसक्छ। तसर्थ, साँचो मसीहीहरू राजनैतिक क्रियाकलापद्वारा ईश्वरतन्त्र ल्याउने प्रयास गर्दैनन्। बरु, परमेश्वरले आफ्नो समय र तरिकामा विश्वव्यापी ईश्वरतन्त्र स्थापित गर्नुहुने घडीको तिनीहरू धीरजी भई बाटो हेर्छन्।—दानियल २:४४.
५. अहिले, साँचो ईश्वरतन्त्र कहाँ परिचालन हुन्छ र यसबारे के कस्ता प्रश्नहरू खडा हुन्छन्?
५ तथापि, त्यतिञ्जेल एउटा साँचो ईश्वरतन्त्र परिचालन भइरहन्छ। कहाँ? स्वेच्छापूर्वक परमेश्वरको शासन स्वीकार्ने र उहाँको इच्छा पूरा गर्न मिलीजुली काम गर्नेहरूबीच। यस्ता विश्वासी जनहरूलाई आध्यात्मिक “देशमा” आध्यात्मिक “जातिको” हैसियतमा भेला गराइएको छ। तिनीहरू “परमेश्वरको इस्राएलको” शेष जन तथा तिनीहरूको साढे पचपन्न लाखभन्दा बढी मसीही मित्रगण हुन्। (यशैया ६६:८; गलाती ६:१६) यिनीहरू “अनन्त . . . राजा यहोवा परमेश्वरले अभिषेक गर्नुभएको स्वर्गमा हुनुहुने राजा येशू ख्रीष्टको अधीनमा छन्। (१ तिमोथी १:१७; प्रकाश ११:१५) कुन तरिकामा यो संगठन ईश्वरतान्त्रिक हो? यसका सदस्यहरूले सांसारिक सरकारहरूका अख्तियारलाई कुन दृष्टिले हेर्छन्? अनि आफ्नो आध्यात्मिक समुदायभित्र अख्तियार चलाउने मानवहरूले कसरी ईश्वरतन्त्रको सिद्धान्त कायम राख्छन्?
ईश्वरतान्त्रिक संगठन
६. कसरी परमेश्वरले मानव दृश्य संगठनलाई शासन गर्न सक्नुहुन्छ?
६ अदृश्य स्वर्गमा बस्नुहुने यहोवाले मानव संगठनमाथि कसरी शासन चलाउन सक्नुहुन्छ? (भजन १०३:१९) यो सम्भव छ किनभने यस संगठनमा भएकाहरूले यो प्रेरित सल्लाह पालन गर्छन्: “तेरो सारा भरोसा परमेश्वरमा राख्, र तेरो आफ्नै समझ-शक्तिमा भरोसा नगर्।” (हितोपदेश २:६; ३:५) तिनीहरूले “ख्रीष्टको व्यवस्था” पालन गरेर अनि दैनिक जीवनमा प्रेरित बाइबल सिद्धान्तहरू लागू गरेर आफूमाथि परमेश्वरको शासन चल्न दिन्छन्। (गलाती ६:२; १ कोरिन्थी ९:२१; २ तिमोथी ३:१६; हेर्नुहोस् मत्ती ५:२२, २८, ३९; ६:२४, ३३; ७:१२, २१) यसो गर्नको लागि तिनीहरू बाइबल विद्यार्थी हुनुपर्छ। (भजन १:१-३) तिनीहरू मानिसहरूको लहैलहैमा लाग्दैनन् बरु पुरातन बिरियाको “उत्तम” मानिसहरूजस्तै आफूले सिकेको कुरा बाइबलबाट निरन्तर जाँच्छन्। (प्रेरित १७:१०, ११; भजन ११९:३३-३६) तिनीहरू भजनरचयिताले जस्तै यसरी प्रार्थना गर्छन्: “मलाई असल विवेकशक्ति र ज्ञान सिकाउनुहोस्। किनकि मैले तपाईंका आज्ञाहरूमा विश्वास गरेको छु।”—भजन ११९:६६.
७. ईश्वरतन्त्रमा देखरेखको कस्तो प्रबन्ध छ?
७ हरेक संगठनमा अख्तियार चलाउने वा निर्देशन दिने मानिसहरू हुनैपर्छ। यहोवाका साक्षीहरूमा पनि यस्तै छ। तिनीहरू प्रेरित पावलले दिएको अख्तियारसम्बन्धी रूपरेखा पालन गर्छन्: “हरेक मानिसको शिर ख्रीष्ट हुनुहुन्छ, औ स्त्रीको शिर पुरुष हो, र ख्रीष्टका शिर परमेश्वर हुनुहुन्छ।” (१ कोरिन्थी ११:३) यसअनुरूप योग्य पुरुषहरूले मात्र मण्डलीमा प्राचीनको हैसियतमा सेवा गर्छन्। अनि “हरेक मानिसको शिर” येशू स्वर्गमा हुनुभए तापनि उहाँसित शासन गर्ने आशा भएका उहाँका अभिषिक्त भाइहरूका ‘शेष जनहरू’ अझै पृथ्वीमा छन्। (प्रकाश १२:१७; २०:६) तिनीहरू मिलेर नै “विश्वासी र बुद्धिमान दास” बनेको छ। मसीहीहरूले ती “दासको” निर्देशन स्वीकारेर येशू र उहाँका शिर यहोवाको अधीनमा रहेको पुष्टि दिन्छन्। (मत्ती २४:४५-४७; २५:४०) यसरी ईश्वरतन्त्र व्यवस्थित छ। “परमेश्वर गोलमालका परमेश्वर होइन, तर शान्तिका परमेश्वर हुनुहुन्छ।”—१ कोरिन्थी १४:३३.
८. मसीही प्राचीनहरूले कसरी ईश्वरतन्त्रको सिद्धान्तलाई समर्थन गर्छन्?
८ मसीही प्राचीनहरू ईश्वरतन्त्रको सिद्धान्तलाई समर्थन गर्छन् किनभने आफ्नो सीमित अख्तियार तिनीहरू कसरी चलाउँछन्, त्यसको लागि आफू जिम्मेवार छन् भनेर तिनीहरू स्वीकार्छन्। (हिब्रू १३:१७) अनि निर्णय गर्दा तिनीहरू आफ्नो बुद्धिमा होइन तर परमेश्वरको बुद्धिमा भर पर्छन्। यसरी तिनीहरू येशूको अनुकरण गर्छन्। उहाँ आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा बुद्धिमान् मानिस हुनुहुन्थ्यो। (मत्ती १२:४२) तैपनि, उहाँले यहूदीहरूलाई भन्नुभयो: “पिताले जे गर्नुहुन्छ, त्यो नदेखेसम्म पुत्र आफैले केही गर्नसक्तैन।” (यूहन्ना ५:१९) प्राचीनहरूले राजा दाऊदको जस्तै मनोवृत्ति पनि राख्छन्। तिनले ईश्वरतन्त्रमा रहेर गहकिलो अख्तियार चलाए। यद्यपि, तिनी आफ्नो होइन, यहोवाको तौरतरिका पछ्याउन चाहन्थे। तिनले प्रार्थना गरे: “हे परमप्रभु, तपाईंको मार्ग मलाई सिकाउनुहोस्, र मेरा शत्रुहरूका कारणले मलाई सम्म बाटोमा अगुवाइ गर्नुहोस्।”—भजन २७:११.
९. समर्पित मसीहीहरूले ईश्वरतन्त्रमा हुने सेवासम्बन्धी विभिन्न आशा र सुअवसरहरूबारे कस्तो सन्तुलित दृष्टिकोण राख्छन्?
९ मण्डलीमा योग्य पुरुषहरूले मात्र अख्तियार चलाउनु अथवा कसैले स्वर्गीय आशा पाउँदा कसैले चाहिं पार्थिव आशा पाउनु के न्यायसंगत हो र? भनेर कतिपयले प्रश्न उठाएका छन्। (भजन ३७:२९; फिलिप्पी ३:२०) तथापि, यी प्रबन्धहरू परमेश्वरको वचनअनुरूप छन् भनेर समर्पित मसीहीहरू मूल्यांकन गर्छन्। ती ईश्वरतान्त्रिक छन्। त्यसमा प्रश्न उठाउनेहरू साधारणतया बाइबल सिद्धान्त नजान्नेहरू नै हुन्। यसबाहेक, जहाँसम्म मुक्तिको कुरा छ, यहोवाको दृष्टिमा पुरुष र स्त्री समान छन् भनेर मसीहीहरूलाई थाह छ। (गलाती ३:२८) ब्रह्माण्डीय सार्वभौमका उपासक हुन पाउनु मसीहीहरूका लागि एकदमै ठूलो सुअवसर हो अनि तिनीहरू यहोवाले दिनुभएको कुनै पनि काम गर्न खुसी हुन्छन्। (भजन ३१:२३; ८४:१०; १ कोरिन्थी १२:१२, १३, १८) यसबाहेक, अनन्त जीवन चाहे स्वर्गीय होस् या पार्थिव, यो साँच्चै अद्भुत आशा हो।
१०. (क) जोनाथनले कुन असल मनोवृत्ति देखाए? (ख) आज मसीहीहरू कसरी जोनाथनको जस्तै मनोवृत्ति देखाउँछन्?
१० यसप्रकार, यहोवाका साक्षीहरू राजा शाऊलका ईश्वरभीरु छोरा जोनाथन जस्तै छन्। सायद जोनाथन उत्कृष्ट राजा बन्थे होलान्। तथापि, शाऊलको अविश्वासको कारण यहोवाले दाऊदलाई इस्राएलको दोस्रो राजा हुन चुन्नुभयो। यसले गर्दा के जोनाथनलाई नमीठो लाग्यो? अहँ, लागेन। तिनी दाऊदका असल मित्र भए र यहाँसम्म कि दाऊदलाई शाऊलबाट बचाए। (१ शमूएल १८:१; २०:१-४२) त्यस्तैप्रकार, पार्थिव आशा हुनेहरू स्वर्गीय आशा हुनेहरूदेखि ईर्ष्याले जल्दैनन्। अनि साँचो मसीहीहरू मण्डलीमा ईश्वरतान्त्रिक अख्तियार चलाउनेहरूको डाह गर्दैनन्। बरु, उनीहरू तिनीहरूले आफ्ना आध्यात्मिक भाइबहिनीहरूको खातिर मेहनत गरेको बुझेर “तिनीहरूलाई प्रेमसाथ अति उच्च आदर” गर्छन्।—१ थिस्सलोनिकी ५:१२, १३.
सांसारिक शासनप्रति ईश्वरतान्त्रिक दृष्टिकोण
११. आफूलाई ईश्वरतान्त्रिक शासनको अधीनमा सुम्पिने मसीहीहरूले सांसारिक अख्तियारप्रति कस्तो दृष्टिकोण राख्छन्?
११ यदि यहोवाका साक्षीहरू ईश्वरतन्त्र अर्थात् परमेश्वरको शासनअन्तर्गत छन् भने तिनीहरू मुलुकका शासकहरूप्रति कस्तो दृष्टिकोण राख्छन्? येशूले आफ्ना अनुयायीहरू “संसारका” भाग हुनेछैनन् भन्नुभएको थियो। (यूहन्ना १७:१६) तथापि, मसीहीहरू “सिजर” अर्थात् सांसारिक सरकारलाई दिनुपर्ने कुरा के हो, सो जान्दछन्। येशूले तिनीहरूलाई “जे जे सिजरका हुन् सिजरलाई, र जे जे परमेश्वरका हुन् परमेश्वरलाई” दिनुपर्छ भन्नुभयो। (मत्ती २२:२१) बाइबलले बताएअनुसार मानव सरकारहरू “परमेश्वरबाट खटिएका” हुन्छन्। सबै अख्तियारका स्रोत, यहोवाले सरकारहरूलाई रहन अनुमति दिनुहुन्छ अनि तिनीहरूले आफ्नो प्रशासनमा बस्नेहरूका लागि असल काम गरेको उहाँ तिनीहरूबाट आशा गर्नुहुन्छ। अख्तियारवालाहरूले त्यसो गर्दा तिनीहरू “परमेश्वरको सेवक” हुन्छन्। मसीहीहरू आफ्नो “अन्तस्करणको निम्ति” आफू बस्ने देशको सरकारको अधीनमा रहन्छन्। (रोमी १३:१-७) निस्सन्देह, यदि आफू बस्ने देशले परमेश्वरको व्यवस्था विपरीत केही माग गऱ्यो भने मसीहीहरू “मानिसहरूको भन्दा परमेश्वरको आज्ञा” मान्छन्।—प्रेरित ५:२९.
१२. अख्तियारवालाहरूबाट सतावट आइपर्दा मसीहीहरू कसको उदाहरण पछ्याउँछन्?
१२ सरकारी अख्तियारवालाहरूले साँचो मसीहीहरूलाई सताउँछन् भने नि? त्यतिबेला तिनीहरूले ठूलठूलो सतावट सहने प्रारम्भिक मसीहीहरूको उदाहरण पछ्याउँछन्। (प्रेरित ८:१; १३:५०) ती परीक्षाहरू आसै नगरेको चाहिं थिएनन् किनभने येशूले ती आउनेछन् भनी चेताउनी दिनुभएको थियो। (मत्ती ५:१०-१२; मर्कूस ४:१७) यद्यपि, ती प्रारम्भिक मसीहीहरूले सतावट दिनेहरूलाई बदला लिएनन्; नता त्यो सतावटले तिनीहरूको विश्वास नै कमजोर भयो। बरु, तिनीहरूले येशूको यो उदाहरण पछ्याए: “जसले गाली खाएर आफूले फेरि गाली गर्नुभएन। दुःख भोगेर धम्काउनुभएन, तर धर्मसँग इन्साफ गर्नेकहाँ आफैलाई सुम्पिदिनुभयो।” (१ पत्रुस २:२१-२३) हो, शैतानको भड्काउने कामलाई मसीही सिद्धान्तहरूले जित्छन्।—रोमी १२:२१.
१३. यहोवाका साक्षीहरूले आफूमाथि आइपरेको सतावट र निन्दनीय अभियानप्रति कस्तो प्रतिक्रिया देखाएका छन्?
१३ आज पनि त्यस्तै छ। यस शताब्दीको दौडान यहोवाका साक्षीहरूले येशूले अग्रिमवाणी गर्नुभएजस्तै तानाशाही शासकहरूबाट भयानक सतावाट भोगेका छन्। (मत्ती २४:९, १३) केही मुलुकमा यी इमानदार मसीहीहरू विरुद्ध अख्तियारवालाहरूलाई कारबाही गर्न लगाउन दबाब दिनेहरूले झूटा कुराहरू फैलाएका छन्। तैपनि, यस्तो “खराब रिपोर्टको” बावजूद यी साक्षीहरूले असल आचरण देखाएर आफूलाई परमेश्वरको सेवक भनी चिनाएका छन्। (२ कोरिन्थी ६:४, ८) सम्भव भएसम्म तिनीहरूले आफूलाई निर्दोष साबित गर्न अधिकृत र अदालतसामु मामिला पेश गर्छन्। सुसमाचारको जन सुरक्षा गर्न तिनीहरू पाए जति उपाय गरेर हेर्छन्। (फिलिप्पी १:७) तर तिनीहरूले कानुनअनुसार गर्नसक्ने जति सबै गरिसकेपछि मामिलालाई यहोवाको हातमा छोड्छन्। (भजन ५:८-१२; हितोपदेश २०:२२) आवश्यक परेमा तिनीहरू प्रारम्भिक मसीहीहरूजस्तै धार्मिकताको खातिर दुःख भोग्न पछि सर्दैनन्।—१ पत्रुस ३:१४-१७; ४:१२-१४, १६.
परमेश्वरको महिमालाई प्राथमिकता दिनुहोस्
१४, १५. (क) ईश्वरतन्त्रको सिद्धान्तलाई समर्थन गर्नेहरूका लागि सर्वश्रेष्ठ कुरा के हो? (ख) देखरेख गर्ने व्यक्तिको हैसियतमा सुलेमानले कुन अवसरमा नम्रताको उत्तम उदाहरण बसाले?
१४ येशूले आफ्ना अनुयायीहरूलाई प्रार्थना गर्न सिकाउनुहुँदा सर्वप्रथम उल्लेख गर्नुभएको कुरा यहोवाको नाउँ पवित्र गर्नु थियो। (मत्ती ६:९) यसअनुरूप ईश्वरतन्त्रको अधीनमा बस्नेहरूले आफ्नो होइन, परमेश्वरको महिमा खोज्छन्। (भजन २९:१, २) यो कुरा, बाइबलको रिपोर्टअनुसार प्रथम शताब्दीमा येशूको अनुकरण नगर्नेहरूका लागि ठोकरको कारण भयो किनभने “तिनीहरूले . . . मानिसहरूको प्रशंसालाई बढ़ता रूचाउँथे,” मानिसहरूबाट प्रशंसा पाएको चाहन्थे। (यूहन्ना १२:४२, ४३) वास्तवमा, आफूलाई भन्दा यहोवालाई महत्त्वपूर्ण ठान्न नम्रता चाहिन्छ।
१५ यस सन्दर्भमा सुलेमानले असल मनोवृत्ति देखाए। तिनले बनाएको भव्य मन्दिरको समर्पणको बेला तिनका शब्दहरू र नबूकदनेसरले आफ्नो महान् निर्माणकार्य सकेपछि भनेका शब्दहरू तुलना गर्नुहोस्। घमण्डले फुल्दै नबूकदनेसरले यसो भने: “के यो त्यही महान् बाबेल होइन जो मैले आफ्नो ठूलो शक्तिले मेरो महोत्तमको गौरवको निम्ति निवासस्थान बनाएको होइन र?” (दानियल ४:३०) यसको विपरीत, सुलेमानले आफ्नो कार्यलाई तुच्छ ठान्दै नम्रतापूर्वक यसो भने: “के परमेश्वर साँच्चैनै मानिससित पृथ्वीमा बस्नुहुन्छ र? स्वर्ग, अर्थात् उच्च स्वर्ग तपाईंको निम्ति सानो छ भने मैले निर्माण गरेको यो भवन तपाईंको निम्ति कति सानो छ।” (२ इतिहास ६:१४, १५, १८; भजन १२७:१) सुलेमानले आफ्नो बढाइचढाइ गरेनन्। आफू त केवल यहोवाको प्रतिनिधि हो भनेर तिनलाई थाह थियो र यसो लेखे: “जब अहंकार आउँछ, तब अपमान पनि आइलाग्छ, तर नम्रताले बुद्धि ल्याउँछ।”—हितोपदेश ११:२, नयाँ संशोधित संस्करण।
१६. प्राचीनहरूले आफ्नै महिमा नगरीकन कसरी आफूलाई साँचो आशिष् साबित गरेका छन्?
१६ त्यसरी नै मसीही प्राचीनहरूले पनि आफ्नो होइन, यहोवाको प्रशंसा गर्छन्। तिनीहरू पत्रुसको यो सल्लाह पालन गर्छन्: “कसैले सेवा गर्छ भने, परमेश्वरले दिनुभएको बलले, कि सबै कुरामा परमेश्वरको महिमा येशू ख्रीष्टद्वारा गरिओस्, जसको सदा महिमा र पराक्रम छ।” (१ पत्रुस ४:११) प्रेरित पावलले ‘निरीक्षकको काम’ प्रतिष्ठा र ओहदा खोज्नु होइन तर ‘असल काम’ गर्नु हो भनेर बताए। (१ तिमोथी ३:१) प्राचीनहरू शासन गर्न होइन, सेवा गर्न नियुक्त गरिएका हुन्छन्। तिनीहरू परमेश्वरको बगालका शिक्षक र गोठाला हुन्। (प्रेरित २०:२८; याकूब ३:१) नम्र, आत्मत्यागी प्राचीनहरू मण्डलीका लागि साँच्चै आशिष् हुन्। (१ पत्रुस ५:२, ३) “यस्ताहरूलाई आदरणीय” मान्नुहोस् र यी “आखिरी दिनमा” ईश्वरतन्त्र थाम्न थुप्रै योग्य प्राचीनहरू दिनुभएकोमा यहोवाप्रति कृतज्ञ हुनुहोस्।—फिलिप्पी २:२९; २ तिमोथी ३:१.
“परमेश्वरका देखा-सिकी गर्नेहरू” हुनुहोस्
१७. ईश्वरतन्त्रको अधीनमा बस्न चाहनेहरूले कुन तरिकामा परमेश्वरको अनुकरण गर्छन्?
१७ प्रेरित पावलले आग्रह गरे: “बालकहरूझैं परमेश्वरका देखा-सिकी गर्नेहरू होओ।” (एफिसी ५:१) ईश्वरतन्त्रको अधीनमा बस्नेहरू असिद्ध मानवको हैसियतले सके जति परमेश्वरजस्तो हुने कोसिस गर्छन्। उदाहरणका लागि, बाइबलले यहोवाबारे भन्छ: “उहाँनै चटान हुनुहुन्छ। उहाँको काम सिद्ध छ, किनकि उहाँका सबै काम न्यायसँगत छन्। परमेश्वर विश्वासयोग्य र अधर्मविहीन, न्यायी र सत्य हुनुहुन्छ।” (व्यवस्था ३२:३, ४) यस सन्दर्भमा परमेश्वरको अनुकरण गर्न मसीहीहरूले विश्वास, धार्मिकता र सन्तुलित न्याय खोज्छन्। (मीका ६:८; १ थिस्सलोनिकी ३:६; १ यूहन्ना ३:७) संसारलाई स्वीकार्य भइसकेका अनैतिकता, लालच र लोभ जस्ता थुप्रै कुराहरूदेखि तिनीहरू अलग बस्छन्। (एफिसी ५:५) किनभने यहोवाका सेवकहरूले मानव स्तरहरू होइन तर ईश्वरीय स्तरहरू पालन गर्ने हुँदा उहाँको संगठन ईश्वरतान्त्रिक, स्वच्छ र हितकर छ।
१८. परमेश्वरको सर्वोत्कृष्ट गुन के हो अनि मसीहीहरूले कसरी यो गुन झल्काउँछन्?
१८ यहोवा परमेश्वरको सर्वोत्कृष्ट गुन प्रेम हो। प्रेरित यूहन्ना भन्छन्, “परमेश्वर प्रेम हुनुहुन्छ।” (१ यूहन्ना ४:८) ईश्वरतन्त्रको अर्थ परमेश्वरको शासन भएकोले त्यो प्रेमपूर्ण शासन पनि हो। येशूले भन्नुभयो: “यदि तिमीहरूले आपसमा प्रेम गऱ्यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्नेछन्।” (यूहन्ना १३:३५) ईश्वरतान्त्रिक संगठनले यी आखिरी दिनमा प्रेमको उल्लेखनीय प्रदर्शन देखाएको छ। अफ्रिकाको जातिसंहारमा यहोवाका साक्षीहरूले आफू जुनसुकै जातिको भए पनि सबैलाई प्रेम देखाए। पहिलाको युगोस्लाभियामा युद्ध चल्दा अरू धार्मिक समूहहरूले तथाकथित जातीय नरसंहारमा भाग लिए भने चारैतिरका यहोवाका साक्षीहरूले चाहिं एकअर्कालाई मदत गरे। यहोवाका साक्षीहरू व्यक्तिगत तवरमा पावलको यो सल्लाह पालन गर्ने प्रयत्न गर्छन्: “सबै तीतोपना, क्रोध, रीस, हो-हल्ला, निन्दा, सारा वैर-भावसमेत तिमीहरूबाट त्यागिओस्। औ जसरी परमेश्वरले पनि ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एकले अर्कोलाई क्षमा गरेर तिमीहरू एक अर्कोप्रति कोमल मनको र दयालु होओ।”—एफिसी ४:३१, ३२.
१९. आफूलाई ईश्वरतन्त्रको अधीनमा सुम्पिनेहरूले वर्तमान र भावी कुन आशिष्हरू पाउँछन्?
१९ ईश्वरतन्त्रको अधीनमा बस्नेहरूले महान् आशिष्हरू पाउँछन्। परमेश्वर र सँगी मसीहीहरूसित तिनीहरू शान्तिमा रहन्छन्। (हिब्रू १२:१४; याकूब ३:१७) तिनीहरूको जीवन उद्देश्यपूर्ण हुन्छ। (उपदेशक १२:१३) तिनीहरूले आध्यात्मिक सुरक्षा र भविष्यको लागि निश्चित आशा पाउँछन्। (भजन ५९:९) हो, तिनीहरूले सबै मानिसजाति ईश्वरतान्त्रिक शासनअन्तर्गत हुँदा स्थिति कस्तो हुनेछ, त्यसको स्वाद अहिल्यै पाउँदैछन्। तसर्थ, बाइबल भन्छ, “तिनीहरूले मेरा सबै पवित्र पर्वतमा नता केही हानि न नोक्सानी गर्नेछन्, किनकि समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।” (यशैया ११:९) त्यो कस्तो शानदार समय हुनेछ! आउनुहोस्, अहिले ईश्वरतन्त्रसित घनिष्ठ भएर त्यो भावी प्रमोदवनमा आफ्नो स्थान सुरक्षित राखौं।
के तपाईं बताउन सक्नुहुन्छ?
◻ साँचो ईश्वरतन्त्र के हो र आज यो कहाँ पाइन्छ?
◻ मानिसहरू कसरी ईश्वरतान्त्रिक शासनको शरण पर्छन्?
◻ ईश्वरतन्त्रको अधीनमा बस्न चाहने जति सबैले कुन तरिकामा आफ्नोभन्दा परमेश्वरको प्रशंसा खोज्छन्?
◻ ईश्वरतन्त्रको समर्थन गर्नेहरूले अनुकरण गरेका केही ईश्वरीय गुनहरू के हुन्?
[पृष्ठ १७-मा भएको चित्र]
सुलेमानले आफ्नोभन्दा परमेश्वरको प्रशंसालाई प्राथमिकता दिए